कविता : म कवि

~हरिभक्त कटुवाल~Haribhakta Katuwal

आफैँलाई खोजिरहनुको उत्सुकताको पछि
गुमाउँदै जानुको चिसो विवशताले
पीडित मेरो मुटु
खै आज कविता सोच्नै मान्दैन
सायद त्यसैले होला सुनगाभा !
तिम्रो मुस्कानभन्दा
मेरो आँखामा यसबेला
ती वृद्ध सज्जनको मलिन अनुहार खेलिरहेछ
जो घन्टौँ एउटा लामो क्यूमा उभिएर पनि हिजो साँझ
मट्टितेलको रित्तो भाँडो हल्लाउँदै
घर फर्किरहेका थिए
जाती हुन्थ्यो बरु
म कवि नभएर
त्यही रित्तो भाँडोभरि
मट्टितेल हुन सकेको भए
मेरो देशको एउटा घरमा
एक रात
एक छाक बल्न सक्थेँ
एउटा वृद्धको खिन्न अनुहार
केही क्षण उज्यालो पार्न सक्थेँ
तर, सुनगाभा !
मेरो देशको
कुनै समस्या पनि टार्न नसक्ने
म कवि भएँ
जो तिम्रै मुस्कानमा मात्र अल्झिरह्यो ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.