~अर्जुन शर्मा~
प्राकृतिक घटना परिघटना सदैब आई नै रहन्छन्
भुइँचालो कहिले ज्वालामुखी हावाहुरी गई नै रहन्छन्
प्राकृतिक विपत्तिले हाम्रा संस्कार फेरिएका हुन्नन्
क्षणिक सद्भाव रहला दाग चरित्र मेटिएका हुन्नन्
नाफाका पारखीहरू फाइदाकै काइदामा हुन्छन्
मानवताका भावनाहरू मद्धत मै तल्लीन बन्छन्
स्वार्थी भेलहरूको दरिलो मेल भइरहेकै हुन्छ
जनताका दुश्मन खुनीहरूको खेल चलिरहेकै हुन्छ
चेतनशील जमात आफ्नो बाटो पहिल्याएरै छाड्छन्
प्रगतिका पाइलाहरू अनवरत रूपमा लम्काएरै छाड्छन्
बिपत्कै बीचबाट जिन्दगी जिउनु छ रोएर मात्र हुन्न
अथक यात्रामा जानु छ बीचमै पाइला रोकेर काम हुन्न
जन्म–मृत्यु स्वाभाविक चक्र बढ विचार उच्च लिई
समानताको राज ल्याउन जागौँ अब बाँच्नेहरू एक भई ।
(स्रोत : हाँक विक्ली – वर्ष ३३, अङ्क ६ – Dec., 30, 2015 – २०७२ पौष १५ गते, बुधबार)