~गोविन्दप्रसाद आचार्य~
मान्छेको मोल पैसामा देशका बनिया गरे
बनियाहरूका आँखा रसिलो फाँटमा परे
हलिका घर खोसेर बसेका हुन् दलालले
रसिलो फाँट देखेर रोजेका हुन् दलालले
सर्वहारा भिजेका हुन् राम्रो फाँट रसाउन
पसिनाले भिजेको छ मिठो थान बसाउन
हरवा, चरवा भन्दै काम मात्रै कज्याउने
गरिब सर्वहाराको पसिनामा रमाउने
जोत्नेको हातमा हुन्छ जमिन बनिया सुन
उठ हे सर्वहारा हो जमिन हातमा लिन
झिक हे घरमा जे छन् जमिन्दार धपाउन
रसिलो फाँटका नेता हरवा चरवा हुन्
कुडडेका दुधको नेता बिरालो हुन सक्छ र
बनिया सर्वहाराको हितमा हुन सक्छ र
पैसाको धाकमा मान्छे मर्नलाई अह्राउने
मरेका लासको मासु जमिन्दार चपाउने
खराव चरावा खाए मारेका हुन् कति कति
बाँध है बनियाँलाई माग मानिसको क्षति
औलो र घाममा जुध्ने हरवा चरवाहरू
घुम्टोले जन्दिगी छोप्ने नारीका जीन्दगीहरू
शसक्त धारमा आउ जमिन्दार धपाउन
रसिलो फाँटको नेता सर्वहारा बनाउन
रित्तो हात पसेका हुन् बसे अड्डा जमाउँदै
रसिलो फाँट पारेका सर्वहारा दबाउँदै
पशुको साथमा आए गाई भैंसी चराउँदै
कतै पन्डाहरू आए धर्म लौरो समाउँदै
जमिन सर्वहाराको हातमा हुनुपर्दछ
मर्नलाई अह्राउने बनियाँ भाग्नु पर्दछ
नग्न छन् बनियाँ हेर मान्छेको मोल गर्दछन्
मोलेर मासु संसदभित्र गिजोल्दछन्
गिजोल्दै मान्छेको मासु देशलाई विथोल्दछन्
देशलाई बिथोलेका जमिन्दार गनाउँछन्
पैसाको कुटुरो पारे सर्वहारा दबाउँदै
मर्न उर्दि दिएका छिन् नर माक्स चपाउँदै
पैसाको लोभमा मर्ने बनिया बन्छ को यहाँ
भतुवा बनिया भाग मान्छेले भन्छ लौ यहाँ
बनिया बद्शालामा मान्छेको बद् गर्ने रे
जल्लादहरूका निम्ति गरिब मर्नु पर्ने रे
पासो थापेर पैसाको देश टुक्रा गराउने
जल्लाद बनिया नेता माथिबाट कराउने
देशको एकता कोही डग्न हुन्न कतै पनि
जल्लादहरूका पैसा लोभका टल्किए पनि
ज्यानमार बनियाले दिन्न आशा नगर्नु है
सर्प हुन् ती जमिन्दार भर कोही नपर्नु है
(स्रोत : हाँक विक्ली – वर्ष ३२, अङ्क ४० – Sep, 9, 2015 – २०७२ भाद्र २३ गते, बुधबार )