~बिपना ढुङ्गाना~
त्यो कालो दिन
तिखा शब्दहरूको प्रहारले
छेडिँदै थियो उसको मन,
गलत बुझाइको शिकार बन्न गए
उसका ती निर्दोष सा-साना खुसी
यसैकारण,
आत्मविश्वास कुँडिएर फितलो बनिदियो
जब उसको समय उसै सँग टाढा भईदियो ।
अभागी खप्पर,जताततै ठक्कर
बिना गल्ती शब्दको भुमरीमा
बेरिँदै थिई ऊ
कठै!
ढुकढुकी बढ्थ्यो अनि
पाइला पाइलामा झसङ-झसङ
तर्सिन्थी ऊ ।
हरेक रात त सायद
डर मै बित्यो होला,
अब उसको हृदयमा
न केही पाउने उत्साह थियो
न त केही गुमाउने दुख,
जिन्दगीको भयानक लडाइमा
खोक्रो मन, छरिएका सपना
अनि कहिल्यै नपुरिने घाउ
बिचरी!
निशब्द आखिर रित्तिई ऊ ।
बिपना ढुङ्गाना
म्याङ्गलुङ्-२, तेह्रथुम
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )