कविता : श्रद्धान्जली

~दीपा राई पुन~Deepa Rai Pun

तिमी जान अगाडि
श्रद्धान्जलीको फूल गुच्छा
हातमा थमाई दिएथ्यौ
र थाह भयो
आफ्नै मृत्युको सौन्दर्य उत्सव
मुटु टुक्रिदै टुक्रिदै
प्रेमको चट्टान छात्तिमा
सालिक भएको
जीवनको घागोहरू फुत्कदै
मृत्यु बगैँचामा
याद फूल बनी बाँचेको

जीवनको सङ्घारमा उभिएर
जीवनलाई हेरिरहनु
र बुझ्नु मृत्युको खबर
बाँच्नै त कति बाँचिने रहेछ र !
हरेक दिन छुटिनु
आफ्नैले छाडि जानु
बाटोहरू छुटिनु
गन्तव्यहरू फरक पर्नु
सपनाहरू फरक हुनु
फेरि भेट्ने आस नहुनु
छुट्ने बेलाको त्यो पल
दिलको खाममा
श्रद्धान्जली हाँस्नु
मर्नु नै हो

जीवन समाजमा बाँचे पछि
कैयौँ जीवनको ओहोर दोहोर भइरहन्छ
आफन्त ,आफ्नो ,चिनेको ,जानेको
पराई ,अचिनारूहरूको पाइतला डोबबाटै
एउटा अर्को बाटो बन्छ
जीवन जिउने बाटो
तिमी त्यतै तिर जाँदैथ्यौ
र म श्रद्धान्जली बोकेर
आफ्नै मलामी जाँदै थिए
जानु त दुवै गइरहेथ्यौ
उकालो र ओरालो
आकाश र धर्ती
जसको फेरि मिलन नहोला
पर अमूर्त क्षितिजमा
एउटा भ्रम सधैँ जोडिएको छ

भ्रम अनि भ्रमित दुनियाँ
सम्बन्धका गाँठोहरू
अक्षरहरूलाई जुग र युग सम्म जोडेर
वर्तमान फिस्स पागल हाँस्ने
भावनाका फूलहरू निमोठेर
बिचारलाई आदर नगरी
सोचलाई सुघार नगरी
समयको हत्या हुँदा
मरेकै हुन्छ मान्छे भित्रको मान्छे
समय कै अन्तस्करणमा
समयको श्रदान्जली

हामी धेरै त मरेरै बाँच्ने रहेछौ
कहिले विश्वास मरेर
कहिले सपना मरेर
कहिले आसा मरेर
कहिले जिउने आधार मरेर
यही मृत्युको लस्करमा
श्रद्धान्जलीको फूल गुच्छा हाँस्नु
यादको अविस्मरणीय सालिक बनेर
चिहानघारीमा तीतेपाती उम्रिरहनु हो।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.