~प्रकाश थापा मगर~
स्वाँ.. स्वाँ… गर्दै “यो उकालो कति लामो होला ?” भन्ने जिज्ञासाका साथ यसो माथितिर हेर्न थालेकै थिएँ कि एउटा अनुहारले मलाई मन्द मुस्कानका साथ सलाम ठोकिरहेको थियो । कालो वर्णको त्यो अनुहार त्यही उकालोमा बसिरहेका थियो । एउटा अपरिचित व्यक्तिले हार्दिकताका साथ ठोकिरहेको सलामलाई बेवास्ता गर्ने हिम्मत मसित थिएन, देब्रे हातले आफ्नो कालो झोला समाउँदै दाहिने हातले मैले पनि सलाम ठोकेँ ।
ती अपरिचित युवक र मेरा बीचमा मुश्किलले ५० मिटरको दूरी थियो होला । दिउसोको टण्टलापुर घाम । अन्दाजी एघार बजेको समय । ५० मिटर माथि बसेका ती युवकसम्म पुग्नका लागि मैले नागबेली परेको लगभग १०० मिटरको उकालो चढ्नु पथ्र्यो ।
उनी माथिबाट तलतिर मलाई हेर्दै मुस्कुराउँदै रहे । म पनि बेलाबेलामा माथितिर हेर्दै, जवाफमा मुस्कुराउँदै उकालो चढ्दै गरेँ । नजिक पुग्दासाथ उनी जुरूक्क उठे र मसित दरिलो हात मिलाए । मलाई धेरै खुसी लाग्यो । मेरो आफ्नो सोचाइमा दहि«लो हातमिलाइ हार्दिकताको प्रतीक हो भने सुस्तरी मिलाइएको हात खालि औपचारिकताको प्रतीक । उनको त्यो हातमिलाइबाट म प्रभावित भएको थिएँ । उनीसँग मैले कुराकानी अगाडि बढाउनुभन्दा पहिले नै उनले इसाराले “माथि जाने हो ?” भनेर सोधे । मलाई यस प्रकारका बोल्न नसक्ने अपाङ्गहरूसित इसारामा कुराकानी गर्न आउँदैन† तैपनि उनको हातको इसाराबाट मैले यही अनुमान लगाएँ । मैले पनि टाउको हल्लाएर “हो” भनी इसारा गरेँ । उनले हातको इसाराले भने– “यही बाटो माथि जाऊ । माथि मोटरबाटो आउँछ । त्यही बाटैबाटो जाऊ ।” उनले मोटरगाडीको स्टेयरिङ घुमाएको सङ्केत गर्दा मोटरबाटोबारे बताएको बुझ्न मलाई कुनै कठिनाइँ भएन ।
म बाटो लाग्न हिड्न लागेकै बेला उनले फेरि विदाइको भावमा एक पटक पुनः त्यसरी नै हात मिलाए । म पनि मुस्कुराउँदै अगाडि बढेँ । अलि माथि पुगेर मैले तल हेरेँ । उनी त्यही ठाउँमा उभिएर मलाई हेर्दै थिए । मैले हेर्नासाथ उनले मुस्कुराएर “अझै माथि” भन्ने सङ्केत गरे । माथि मोटरबाटोसम्म पुग्दा मैले दुई÷तीन पटकसम्म तलतिर हेरेँ । जति पटक हेर्दा पनि उनी मुस्कुराएर उभिँदै, मलाई बाटो देखाउँदै थिए । मोटरबाटोमा पुगिसकेपछि मैले देखेँ : अब उनी बसेका थिए । अब उनको ध्यान बाख्राहरूतिर थियो । कालो, सेतो रङका माऊ, बोका र पाठापाठीहरू गरी ११ वटा जति उनका बाख्राहरू रहेछन् । खासगरी उनी त्यहाँ बाख्रा हेर्न आएका रहेछन् ।
फागुनको अन्तिम सातातिरको समय थियो । घाँस भुइँमा अझै पलाइसकेको थिएन । यद्यपि जङ्गलभरि नयाँ पालुवाको साम्राज्य थियो । एकाध रूखहरू त्यस माझमा अपवाद देखिन्थे । ती रूखहरूमा एउटा पनि पातहरू थिएनन् । टाढाबाट हेर्दा वा ती रूखका बारेमा जानकारी नभएकाहरूका लागि ती सुकेका जस्ता देखिन्थे । तर तिनीहरू हरिया थिए । नजिकैबाट हेर्दा ती खिर्रो र लाँकुरीका हाँगामा मसिनो, हरियो कोपिला उम्रिन लागेको देख्न सकिन्थ्यो । यसरी पातहीन भएर पनि ती रूखहरू पालुवामान थिए । आवरणमा पात नभएता पनि यथार्थमा स्थिति त्यस प्रकारको थिएन ।
मोटरबाटोबाट ४०÷५० कदम अघि वर, पिपल र समीको रूख सहितको चौतारो थियो । दिउसोको पहिलो पहरको समय भएर होला, ती रूखका पातहरू हल्लिएका थिएनन् । हावा नचले पनि त्यहाँ एक जना प्रौढ महिला बसेकी थिइन् । यस्तो लाग्दथ्यो कि उनी हावा, शितलताका लागि भन्दा पनि बिसाइ मार्न वा थकाइ मेट्न त्यहाँ बसेकी थिइन् । उनको नजिकै सुकेको खरको भारी थियो । उनी खरको घाँस काटेर फर्किदै थिइन् । म त्यहाँ पुग्दा रातो रङको आफ्नै पटुकीको एउटा छेउलाई हल्लाउँदै ती महिलाले आफैलाई हावा दिँदै थिइन् । पारी खरवारीमा भने रूखको घाँस काट्दै महिलाहरू गाउँदै थिए : “आरू फुल्दा गएको माइत मयल फुल्दा फर्किन् बुहारी”
लगभग १५ मिनटको उकालो भए पनि दिउसोको समय भएर होला, मेरो सास तेज गतिमा चलिरहेको थियो । निधार र सरिरभरि पसिनैपसिना थियो । नजिकै चौतारो भएकाले हावा नचले पनि छायाँमुनि बस्नु मेरा लागि आवश्यक भैरहेको थियो । आफ्नो कालो रङको झोला भुइँमा राख्दै म पनि त्यही बिसाउन पुगेँ ।
बसेको मिनटभर पनि भएको थिएन कि ती महिलाले सोधिहालिन्– “कहाँ हिड्न लाग्नु भएको ?”
मैले भनेँ– “जान त तम्घासतिर हो ।”
“मोटरबाटो छोडेर किन पैदल हिड्नु भयो त ? यताबाट त फेरो होला । समय पनि बढी लाग्ला”—ती महिलाले त्यहाँको भौगोलिक अवस्थाबारे बताइन् ।
“यही बाटो वरपरका साथीहरूलाई भेट्नु छ । त्यसैले यो बाटो लागेको”—मैले स्पष्टीकरण दिएँ ।
गफगाफका लागि उचित प्रसङ्ग झिक्न नसक्नु मेरो एउटा कमजोरी हो । कहिलेकाँही त मैले छेउ न टुप्पोको प्रसङ्ग निकाल्छु । त्यसले गर्दा आफ्नो खिसीट्युरी हुने भयले सकेसम्म कम बोल्ने मेरो बानी छ । त्यहाँ पनि त्यस्तो नहोस् भनेर म चुप रहन कोसिस गरेको
थिएँ । तर ती महिलाले नै प्रसङ्ग निकालिन्– “तपाई त पछाडि फर्कदै, हेर्दै आउनु भएको थियो त ।”
म झसङ्ग भएँ । मलाई लाग्यो– ती महिलाले मेरो जासुसी गरेकी रहिछन् । म अलि सतर्क भएँ र स्थिति स्पष्ट पार्न थालेँ । तल उकालोको बीचमा बोल्न नसक्ने अपाङ्ग मानिसले मसित दह«ो गरी हात मिलाएको, मुस्कुराएर बाटो देखाएको घटना मैले ती महिलालाई बताएँ । उनले पनि चुपचाप मेरो कुरो सुनिरहिन् । प्रसङ्ग सकिएपछि मैले सोच्न थालेँ कि कुरो सकियो, अब सुस्ताउनु पर्छ । ५÷१० मिनटपछि हिँड्नु पर्ला । एकै ठाउँमा धेरै समय बिसाउनुभन्दा ठाउँठाउँमा थोरैथोरै समय बिसाउँदा छिटो गन्तब्यमा पुग्न सकिएला । आफूलाई हिड्ने मानसिकतामा तयार गर्दै झोला समात्न थालेकै बेला ती महिलाको मुखबाट निस्क्यो– “बिचरा ।” त्यसपछि मेरो जिज्ञासा त्यतै मोडियो । झोलाको फितालाई छोड्दै म फेरि मौन मुद्रामा त्यहीँ बस्न थालेँ । ती महिला बोल्न थालिन् ः “यिनीहरू दमाई हुन् । यो केटोको दाइ भारतमा नोकरी गर्दछ । पहिले घर आउने–जाने गर्दथ्यो । दुई÷तीन वर्ष पहिले बिवाह गरेपछि श्रीमती उतै लिएर गएको छ । बच्चाहरू जन्मेका छन् रे ¤ बाबुले घर बनाउने काम गर्छन् । सधै काम पाइँदैन । जेठो छोराले केही कमाएपछि परिवार पाल्नमा मद्दत गर्ला भन्ने आशा व्यर्थै भयो । जमिनको नाममा एक हल लाग्ने बारी मात्र छ । तर त्यहाँ कोदो पनि फल्दैन । मकै र फापरसम्म हुन्छ । उसको एउटी बहिनी पनि छ । उनको बिवाह भयो । तर लोग्ने असल परेछ । बेलामौकामा पैसा, लत्ता कपडाले यो केटोका परिवारलाई मद्दत गर्छन् । उसको आमा र यो केटोले मात्रै घरको काम गर्छन् । बाबु घर बनाउने कर्मी, आधा पैसा जहाँ काम ग¥यो, उतै रक्सी र मासुमा उडाउँछन् । त्यही कुरालाई लिएर बुढाबुढीबीच भनाभन हुन्छ । कहिलेकाहीँ त हातै हालाहालसम्म हुन्छ । यो केटो घर भएको बेला भने बाबुआमाको बीचमा पसेर झगडा रोक्छ । दुवैलाई बोल्न दिँदैन । दुई वटा भैँसी, एउटा गाई, दुई वटा बाच्छाहरू । आमा बिहानै घाँस काट्न गई होलिन् । त्यही भएर यो केटो बाख्रो लिएर यता आयो । बाख्राहरू पनि ११÷१२ वटा होलान् । खुबै सप्रेको छ । माऊहरूले दुई÷दुई वटा पाठापाठी जन्माउँछन् । वर्षेनी २÷४ वटा बेच्छन् पनि । यसैले यिनीहरूको निर्वाह भएको छ ।
ती महिलाले कुरा सकिन् । शायद उनलाई घर फर्कन अबेर भैसकेको थियो । ११ भन्दा बढी बजिसकेकाले उनलाई भोक पनि लागेको थियो होला । तर उनी आफैले झिकेको प्रसङ्गबाट म भने अझै सन्तुष्ट भैसकेको थिइनँ । मैले उनलाई “यी मान्छे यस्तो अपाङ्ग कसरी भए ?” भनेर एउटा प्रश्न तेस्र्याइहालेँ ।
आफूलाई आत्तुरी भए पनि मेरो प्रश्नले गर्दा उनका अगाडि जवाफ दिनु पर्ने बाध्यात्मक स्थिति उत्पन्न थियो । त्यहाँबाट उठ्नका लागि भारीतिर आँखा लगाइसकेकी भए पनि ती महिला मतिर फर्केर जवाफ दिन थालिन् ः “खै घ् रेडियोले त आयोडिन भएको नुन नखाएकाले यस्तो भएको हो भन्छ । ठ्याक्कै कुरा के हो ? त्यो त थाहा छैन । फेरि पनि यो गाउँकाले पहिले पहिले खानीबाट उम्रिएको पानी पिउथे । त्यही भएर हो भन्छन् यहाँकाले । हुन पनि खानी नभएका अरू गाउँमा यस्ता अपाङ्गहरू छैनन् । यही गाउँमा मात्रै छन् । अहिले अन्तैबाट पाइपको पानी पिउन थालेपछि यही गाउँमा पनि कोही यस्तो जन्मेको छैन ।”
महिलाले शायद सङ्क्षिप्तमा कुरा सकेकी थिइन् । उनले चौतारोबाट झरेर खरको भारी बोक्न थालिन् । तर म भने अझै कुराकानी गर्न चाहान्थेँ ।
“लौ बाबु जानुस् है” ती महिलाले भारी बोकिन् र बाटो लागिन् पनि । म भने तिर्खा नमेटिएको बटुवा झैँ त्यहीँ बसिरहेँ । मेरो मस्तिष्कले बोल्न नसक्ने ती अपाङ्ग युवकमा एक प्रकारको आवाजहीन धुन थम्याइरहेको थियो । एक प्रकारको धुन, जसमा आवाज छैन, तर कला छ । सङ्गीत छ । जीवनको गति छ । त्यही धुनमा म पनि तरङ्गित भैरहेको थिएँ ।
(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक २५ – May 8, 2013 – २०७० बैशाख २५ गते, बुधबार)