~डि.एल. भन्डारी~
ध्वंसका केही खेतालाहरुलाई नचाउन सिपालु
दशगजा टाढाका मित्रहरु
साम्यवादको मृत्युको हल्ला गर्दै
दुनियाँका साम्राज्यवादी लुटाहाहरु
क्यूवाको तागत हेर्न नसकि
संसारलाई जकटने प्रतिक्रियावादीहरु
बाफ जमेको ऐनामा धमिलो तिम्रो अनुहार
सुदुर अतितदेखि वर्तमानसम्म
जनताका बैरीहरुभन्दा जनावर बुद्धिमानी हुन्छ भन्ने
एउटा तितो पीडा नेपाली मानसपटलमा छ
किनभने
माछाहरुको बस्तीमा बकुल्लाहरुलाई खेताला राखेर
शान्तिको नाममा बारुदको बोरा उपहार दिंदैमा
आहात र अशान्त संवेदनामाथि बाँध कहिलेसम्म बाँध्न सक्छौं र ?
सिस्नाको विरुवामा फुलफुल्न सक्दैन भन्ने
भोकानांगा जनताको मुक्तिको चेतनामाथि
कतिदिनसम्म माकुराको जालो बुन्न सक्छौं र
हृदयविदारक दुःखका दृश्यहरु आकाशमा मडारिंदै गर्दा
पानीमा डुबेको व्यक्ति पानीबाटै पौडेर बाहिर निस्कन सक्छ भन्ने
विज्ञानको नियमलाई हेर्न नसक्ने वैरीहरु
सुन्दर भूगोलमा नग्न नृत्य कति दिन नाच्न सक्छौं र ?
दशगजा टाढाका मित्रहरु
– दाङ
(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक 43 – Sep. 18, 2013 – २०७० असोज २ गते, बुधबार )