~जयबहादुर श्रेष्ठ “सहयात्री”~
समयले कोल्टो फेर्दा आज को को के के भए
हिजो जंगल बस्ने मानिस आज शहर पस्न गए
क्रान्तिका नाममा जंगलबाटै बेमौसमी बाजा बजे
गरिबका दुःखी दिन अझै उस्तै रहिरहे
कोही मान्छे शहीद हुँदा आफन्त चाहिं रोइरहे
कोही मान्छे स्वार्थी हुँदै मुग्लानतिर भाग्न गए
महलमा बसाई सर्दै आज करोडपति भए
जनता भने भोकै नांगै विचल्लीमा परिरहे
जताततै महिला हिंसा बलात्कार भईरहे
देशले शान्ति नपाउँदा गरिब जनता रोइरहे
एक्काइसौं शताब्दीमा आज को को के के भए
देशले निकास नपाउँदा विकास पनि रोइरहे
चिल्ला गाडी र उच्च महलमा नेताहरू रम्न गए
केही मान्छे शहीद हुँदा कोही घाइते अपांग भए
नेताहरुले त राहत पाए निमुखा चाहिं रोइरहे
पीडितहरू न्याय माग्दा अपराधी ती उम्किरहे
समयले कोल्टो फेर्दा आज को को के के भए
नेपाली एकतालाई फुट्न दिनुहुन्न
आफ्नो भाषा, भेष कहिल्यै छुट्न दिनुहुन्न
सबै मिली रक्षा गरौं राष्ट्र र राष्ट्रियताको
नेपाल आमाको अस्मिता लुटन् दिनु हुन्न
(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक १७ – March 06, 2013 – २०६९ फागुन २३ गते, बुधबार)