कविता : आमा, उद्देश्य बदल्नुस् !

~हेमराज आश्रम~

आमा,
हजुरको चाहना बदल्नुस्
हजुरको एक मात्र छोरा भएर
कठोर यो जिन्दगीमा
हजुरको इच्छा पूरा गर्न असम्भव छ
त्यसैले अमा
हजुरको चाहना बदल्नुस् ।

हजुरको इच्छा त म लाहुरे होस् भन्ने छ
म त स्वाभिमानी हुँ, अरूको देश कहाँ जान सक्छु ?
आफ्नो देश बाँझै राखी
विदेशीको चाकडी गर्न, अरूको गुलामी हुन
त्यसैले आमा
हजुरको इच्छा बदल्नुस् ।

हजुर त मेरो ठूलो महल होस् भन्नु हुन्छ
मलाई त ठूलो सिसाको घरमा निद्रा आउँदैन
लाखौँ निमुखा खुल्ला आकाशमुनि रात बिताउँदा
भोकानाङ्गाहरूको शत्रु म कसरी बन्न सक्छु ?
त्यसैले आमा
हजुरको सपना बदल्नुस् ।

तपाई त म ठूलो व्यापारी होस् भन्नु हुन्छ
देशको राजस्व छल्ने, पेट्रोलमा मट्टितेल मिसाउने
महङ्गीले जनता मर्दा
कालाबजारी, ठगी म कसरी गर्न सक्छु
त्यसैे आमा
कृपया हजुरको उद्देश्य बदल्नुस् ।

हजुर त मलाई करोडपति भएको हेर्न चाहानु हुन्छ
यहाँ त मिहिनेती, परिश्रमी कहाँ बन्छन् करोडपति ?
पूँजीवादी स्वार्थी समाजमा
गरिबलाई निर्चोनु पर्छ, अरूको गास खोस्नु पर्छ
चोरी, डकैती, ठगी, नीच काम मबाट कहाँ हुन्छ ?
त्यसैले आमा
कृपया हजुरको चाहना बदल्नुस् ।

कृपया यो असम्भव कुरा नगर्नुस्
तर आमा मलाई ठूलो साहस दिनुस्
म समाजमा लड्छु, अन्याय र अत्याचारका विरुद्ध
मलाई कफन सिलाइदिनु
म आँधीको बेगमा दौडिन्छु
सारा निमुखाको मुक्तिको खातिर
त्यसैले आमा
कृपया आमा सम्भव कुरा गर्नुस् ।

रङ्गिन पथहरूमा वर्गीय लडाइँको झण्डा फहराउँदै
प्रतिक्रियावादीहरूको बन्दुकको नालहरू पन्छाउँदै
छाति खोलेर
त्यसैले आमा
तपाईको उद्देश्य बदल्नुस् ।

(स्रोत : हाँक विक्ली – वर्ष ३२, अङ्क ७ – Dec. 31, 2014 – २०७१ पौष १६ गते, बुधबार )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.