कथा : कोर्टमार्सल

~सरल सहयात्री पौडेल~

गाउँभरी सनसनी फैलिएको थियो । झुलथुंगेको भञ्ज्याङ्ग, पीपलडाँडाको चौतारी र सुन्तलीको चिया पसल जताततै हिजो भएको घटनाको विषयमा चर्चा चलिरहेको थियो । सुन्तलीको पसलमा चिया खानेमध्ये एकजना अर्धवैंशे किसानले बोले, ‘साँच्चै यी सेनाले त आफ्नो र अरु केही नछुट्याउँदा र’छन हो ! ती विचरीले ती झ्याक्नेका के चाहिँ बिरा’कि थिन् त ?!’

‘दश कक्षाको जाँच देर फर्कदै थिइ रे ! एकजनाले मात्रै हो र ? पाँच–पाँच जनाले पो बलात्कार गरेका रे ! उपल्लो कान्छाले भेट्दा बेहोस् भएर लडिरहे’कि थिइन् रे !’ ढोकामा बसेको साइलो दर्जीले चियाको सुर्पो लिनु अघि थपे ।

‘त्यसै चाहिँ माओवादीले बन्दुक बोकेका होइनन् है…!’ कुरामा कुरा थपियो ।

‘धेर वक्वक् नगर् है काले जालास् तँ पनि माथितिर ! ख्याउटे बाहुनले सचेत गराउन खोजे ।

‘छोड्देउ हो बाजे यस्ता लाछि कुरा ! बोले पनि नबोले पनि मर्नु परिहाल्दो रछ… ! दिनदहाडै निर्दोष चेलीको इज्जत लुटियो कि लुटिएन ? ती नानीमैँया माओवादी हुन् ? बहालवाला शाही सेनाको सुविदारकी बहिनी हुन् । माओवादी भनेपछि तिनका सन्तानले पहिले–पहिले त सुराकी पनि गर्थे रे ! ती बज्यै माओवादी लेखेको अक्षरमा समेत थुक्दै हिँड्थिन । चिन्दा रै’छन् ती पशुहरूले ? उल्टो उनकै छोरीमाथि बलात्कार गरे । हेर बाजे, ती राक्षस हुन् राक्षस । सैतानलार्ई रगत चुस्न पाए हुन्छ । चाहे त्यो मान्छेको होस् वा जनावरको ।’ कालुमानले बाजेलार्ई झम्टुँला नै जत्तिकै गरेर बम्क्यो । बाँकी सबजना मौन …।

    ‘बिर्सिदे मैया अब बिर्सिदे ! जे हुनु भइसक्यो । अब रोएर पीडा थप्ने मात्रै हो ।’ नानीमैयाँ’कि आमाले आफ्नो मुटु थिचेर सम्झाउने कोशिस गरिन् । उनको मुटु नानीमैयाको भन्दा बढी जलिरहेको थियो । संसारमा कुन चाहिँ आमा हुन सक्थिन् र त्यति कठोर जो आफ्नै सन्तानको अस्मिता लुटिँदा सहजै सहन गर्न सकून् । तैपनि उनले धैर्यता टुटाएकी थिइनन् ।

साँझ झमक्क परेको थियो । अन्धकार रातका विरुद्ध प्रत्येक अँगेनाहरू प्रज्ज्वलित बनेका छन् । तर उनीहरूको मनभित्र आगो सल्किएको थियो, बरु अँगेनु सेतो खरानीमा चिसै पल्टिएको छ ।

‘आमा !’ नानिमैयाले आँसुसँगै उनलार्ई पुकारिन् । आमाले केवल ढाडस दिँदै कपाल सुम्सुम्याइन् । ‘सायद दाजुले पनि मजस्ता थुप्रै निर्दोष किशोरीलार्ई यसैगरी बलात्कार गर्दै होला है…?’

अनपेक्षित शब्दको बाँण आमाको मुटुमा रोपिन पुग्यो । नाजवाफ ओठ चल्न सकेन । ‘शाही सेनाले गाउँमा ज्यादति गर्छन् । निर्दोष चेलीहरूको अस्मिता लुट्छन् । निर्दोष र निशस्त्र मान्छेहरू विनाकारण मारिदिन्छन्’ जस्ता कुराहरू थुुप्रै पटक सुनेकी थिइन् । तर, उनलार्ई पत्यार लाग्दैन्थ्यो । सुवेदारकी आमा भएकोमा आफूलाई गर्व गर्थिन र साथसाथै शाही नेपाली सेनालाई समेत । छोराले बेलाबखत बताउने देशभक्तिपूर्ण कुराले उनीमा मात्र होइन सिंगै परिवारमा राम्रो प्रभाव परेको थियो । तसर्थ शाही नेपाली सेनाले यस्तो घृणित कार्य पनि गर्छन् भन्ने कुरा हृदयको सानो कुनामा समेत लागेको थिएन । यसकारण आमालार्ई माओवादी भनेपछि देखिसक्नु हुन्न थियो । फतफताउथिन्, ‘कहिँ नभएका भिकारीहरू, दुनिँयाका घरमा जोगी जस्तैगरी माग्दै खाएर हिँड्यो । जसको खायो त्यसैका सन्तानको विरोध गर्दै ग¥यो । काम नभएका तिघे्रहरू, गर्लान् यस्ताले मुक्ति ! खुब सम्झाउने भाका । राजाका मुखिन्जेली बाबाको दबाई !’

बिडम्बना ! त्यतिबेला माओवादीले सुनाएका कुरा आफ्नै घरमा दर्दनाक यथार्थ बनेर खिज्याइरहेको थियो । बेहालत अवस्थामा नानीमैँया रोइरहेकी थिइन् । स्कुलबाट फर्कदैँ गर्दा ५ जना शाही सेनाले गिरफ्तारपछि बलत्कार गरेका थिए फुल्नुअघिकी एक कोपिला नानीमैँयालार्ई । तैपनि सारा कुरा सहजै पचाउन सफल नारीझैं छोरीलार्ई सम्झाउने कोशिस गर्दै भनिन्, ‘छोरी ! तिम्रो दाई तिमीलार्ई असाध्यै माया गर्छ । परिवारलार्ई हृदयदेखि सम्मान गर्छ । देशभक्तिका आदर्शहरू उसको मस्तिष्कमा दगुरिरहेका छन् । गर्दैन मैँया उसले त्यसो गर्दैन । किनकि ऊ मेरो छोरो हो ।’

‘मलार्ई बलात्कार गर्ने पशुहरू पनि तपाईंजस्तै कोही आमाका छोरा नै त थिए होलान् नि ! एउटै कोखबाट उस्तै सन्तान जन्मिन्छन् भन्ने केही ग्यारेन्टी नहुँदो रहेछ । शमसेर दाई र सुना दिदीले भन्नुभएको कुरा वास्तवमै सही रहेछ ।’ उनी कठोर कुरा गर्दै थिइन् । आमाको मनमा अकस्मात् चिसो पस्न थाल्यो । नानीमैया माओवादीका कुरालार्ई समर्थन गर्न थालेकी थिइन् । आफ्नो कुरालाई निरन्तरता दिँदै भनिन्, ‘साँच्चै मान्छेहरूलार्ई पीडा नभईकन बन्दुक उठाएको होइन रहेछ । मेरा दाजुले पनि ज्यादती गर्दैन भनेर मलार्ई विश्वास छैन । फोहोर आहालमा पौडी खेल्ने मान्छेलार्ई नुहाउँदैछन् भन्नु मूर्खता हो ।’

केहिबेरको चकमन्नतापछि पुनः आफ्नो कुरालाई निरन्तरता दिन थालिन्, ‘हेर्नुस आमा ! यतिबेला म बलात्कृत भएको छु । यो समाजमा अब मलार्ई तिरस्कार, घृणा, हेला र प्रहारबाहेक अर्काे केही हुने छैन । यसर्थ अब मसँग दुईटा बाटो छ । या त आत्महत्या गर्ने या त ममाथि भएको अन्यायको बदला लिन माओवादीले अपनाएको मुक्तिको बाटोमा हिंड्ने । मैले निर्णय लिएँ कि म पनि त्यही बाटो हिँड्नेछु । तर जानुभन्दा पहिले दाजुलार्ई एउटा पत्र लेखेर जानेछु ।’ यति भनेर उनी बसेको ठाउँबाट उठिन् र माथिल्लो तलातिर लागिन् । आमा केही बोल्न खोज्दै थिइन् तर बोली आएन ! के बोल्ने ? बोल्ने शब्द थिएन । एकोहोरो बनेर हेरिरहिन्…।

आदरणीय दाजु
पीडित बहिनीको चित्कारयुक्त सम्झना !

देशमा तपाईंजस्तै हतियारधारी मान्छे रूपका जन्तुहरू घुमिरहेसम्म यहाँ के आरामै छ भन्नु र, तापनि एउटै कोखको नाता जोडिएकोले तपाईंको सु–स्वास्थ्यको कामना गर्दछु ।

दाजु ! मलार्ई थाहा छ, मप्रति तपाईको अगाध स्नेहले आजसम्म अगाडि बढ्ने प्रेरणा प्रदान गरिरह्यो । बिडम्बना भन्न मन लागिरहेछ, त्यही स्नेहको जलपभित्र म बेकारमा मख्ख पारिरहेको रहेछु । जतिबेला तपाईं लोककल्याणकारी कुरा गर्नु हुन्थ्यो, देशभक्तिका आदर्श छाँटनु हुन्थ्यो, शान्ति–सुरक्षा र सत्यको निम्ति गहन जिम्मेवारीको विषय हामीलार्ई सिकाउनु हुन्थ्यो, हामी पत्याउँथ्यौ ।

तपाईंले माओवादी जनमुक्ति सेना भनेको देशको विरुद्ध बन्दुक बोक्ने देशद्रोही हुन् भनिरहँदा तिनीहरूप्रति घृणा लाग्थ्यो । विवश भएँ आज, म तपाईंको आदर्शविरुद्ध माओवादीले भन्ने गरेका कुरालार्ई पत्याउन बाध्य भएकी छु । आरोप नठान्नु होला, यतिबेला म तपाइँबाट बलात्कृत भएको छु र मेरो अस्मिता लुटिएको छ । अचम्म नमान्नु, आफ्नी प्रिय बहिनीले यति ठूलो अपराधिक आरोप किन लगाउँदै छे भनेर । होला मेरो नग्न शरीरमाथि प्रत्यक्ष रुपले तपाईंले खेल्नुभएन । तर, तपाईंका निकट सहयोद्धा जल्लादहरू ५ जनाको शिकार भएर अस्मिताविहीन भएको छु आज म । थाहा पाएँ दाजु, तपाईंले पढाउनुभएको तपाईंहरूको ज्युँदोजाग्दो आदर्श यस्तै रहेछ । तपाईं घरभन्दा सुदूर रहेर कसैकी चेलीको अस्मिता लुट्नुहुन्छ र सुदूरका जल्लादहरू तपाईंका चेलीलार्ई लुट्दै गर्छन् । यतिबेला म तिरस्कार, घृणा र अपहेलनाको पात्र बनेकी छु । तर म त्यसरी बाँच्न सक्दिन ।

मैले मुक्तिको बाटो रोजिसकेकी छु । दाजु ! तपार्इं पनि कुकृत्यबाट अवश्य विमुख हुनुहुन्न । त्यसैले तपाईं लगायत यो सत्ताकै विरुद्ध बन्दुक उठाएर लड्ने प्रतिबद्धता जाहेर गर्दैछु । अन्त्यमा, बहिनीले आफ्नै दाजुलार्ई बलात्कारको आरोप लगाई भन्ने नठान्नुहोला । सत्यहरू भ्रमको कालो बादल चिरेर झुल्किआउनेछन् । म त्यही सम्झन विवश छु । तपाईंले जे सम्झनुहोस्, म बदलाको भावमा बन्दुक बोकेर आजै हिँड्दैछु । बिदा ।

तपाईंकी
बलात्कृत बहिनी नानीमैँया

वीरबहादुर बहिनीको चिठ्ठी पढेर लल्याक लुलुक गल्यो । वास्तवमा ऊ सोझो छ । यतिबेला उसले बहिनीको नग्न शरीरमाथि ¥याल काट्दै खेलिरहेको सम्झ्यो । आफ्नी प्रियभन्दा प्रिय फुलजस्ती नानीको हालत सम्झेर चिच्यायो । रुन थाल्यो र बर्बरायो, ‘मेरो नानी यो कसरी भयो ? यो हुनै सक्दैन । हे भगवान् ! हे मेरी बहिनी ! म निर्दोष छु । म निर्दोष छु ।’ निकैबेरको आँसु, पीडा र आक्रोशको निष्कर्षमा दोषीविरुद्ध सैन्य अदालतमा मुद्दा हाल्ने निर्णयमा पुग्यो ।

सैन्य अदालतको एक छेउमा न्यायाधीश बसेका थिए । त्यस घटनाको दोषी सिपाही भनेर केहीलार्ई त्यहाँ उभ्याइएको थियो । वीरबहादुर एक छेउमा बसेर न्यायको प्रतिक्षा गर्न थाल्यो । बयानको क्रम सुरु भयो, ‘मैले त होइन पहिले लप्टनसा’पले गरेको देखेपछि हो सर !’ एउटा दोषी सिपाही तनक्क तन्किएर बोल्यो ।
त्यसपछि लप्टनलार्ई झिकाइयो । ‘अस्ति मेजरसा’पले गिरफ्तार गरेर ल्याएकी महिलामाथि बलात्कार गरेको देखेर सर !’ भन्दै त्यो पनि तनक्क तन्कियो ।

प्रक्रिया लामो भयो । केही दिनपछि मेजरलार्ई पनि झिकाइयो । जवाफ उस्तै थियो, ‘उही माथिल्लो निकायको सिको गरेको ।’ यो प्रक्रिया यसरी नै अघि बढ्यो । अन्ततः सैन्य अदालतको न्यायाधीशको रुपमा खडा गरिएको सैनिक न्यायमूर्ति पनि दोषी ठहरिने देखिएपछि मुद्दाको करिब अन्त भयो । निष्कर्षमा बाहिर घोषणा गरियो, ‘त्यस घटनामा सम्पूर्ण दोषी सिपाही तथा अफिसरलार्ई कोर्टमार्सल गरिएको छ ।’ तर वीरबहादुर पीडितको पीडित नै बन्यो । असन्तुष्टि जाहेर ग¥यो । बर्बरायो, चिच्यायो । उसको बोली हावामै बिलाइयो । बिस्तार–बिस्तारै रिस शान्त पार्न बाध्य भयो, किनकि दानवको भिडमा मानवको अभावै हुन्थ्यो । बहिनीप्रतिको स्नेहभावले चोट परे पनि व्यक्तिगत स्वार्थलार्ई त्याग्न सकेन । यता नानीमैँया पनि प्रतिशोधले प्रज्ज्वलित बन्दै निरन्तर संघर्षमा डटिरहिन् ।

एकदिन फेरि वीरबहादुरको क्याम्पमा एकजना महिला गिरफ्तार गरेर ल्याइएको रहेछ । वीरबहादुरलार्ई यो विषयमा जानकारी थिएन । एउटा घृणित बहसको बीचमा ऊ पुग्यो । ‘त्यो केटी आतंककारी हो’ उसले सुनेर थाहा पायो । ‘असाध्यै राम्री छे अरे, म जाऊँ….?’ एकजना कमाण्डर ग्रुपको अफिसरले बोल्यो ।

‘चुप् लाग् !’ मेजरसा’प ले हप्काए । वीरबहादुरको मनमा हल्का खुसी छायो । उसलार्ई लाग्यो, ‘मेजर स्वच्छ छ ।’ केहिबेर कोठा शान्त भयो । मेजर मौनतामा घोरिइरह्यो । वीरबहादुर टोलाएर हेरिरह्यो ।

‘ठीक छ !’ मेजरको चेहरा एकाएक खुसी देखियो । ‘कमाण्डर सिस्टममा जाने, फस्टमा म, त्यसपछि… सिरियल अनुसार ! ठीक छ ?’ सबैले ओके गरे ।

वीरबहादुर मुकदर्शक बनेर उभिरह्यो । उसले शाही सेनाको वास्तविक मुहार भर्खर देख्दै थियो । आफूलार्ई शाही सेना भएकोमा घृणा जाग्न थाल्यो । एकाएक बहिनीले लेखेको पत्रलार्ई सम्झियो । अस्तिको सैन्य अदालती कारबाही (कोर्टमार्सल) लार्ई सम्झियो । ‘धिक्कार छ मलार्ई !’  आफैँलार्ई धिक्का¥यो ।

‘ए वीरे ! ल जाऊँ हिड् । के सोंच्दैछस् ? अहिले नै नडुब है कल्पनामा । केहीबेरपछि चाखिजालास मज्जा कस्तो हुन्छ ?’ एउटाले उसलार्ई अँगालो हालेर तान्दै भन्यो । सबैजना हाँसे तर उसको ओठ समेत चलेन ।

जबर्जस्ती गरेझैँ वीरवहादुरलाई तान्दै एउटा कोठाको नजिकै पुगे । सबैजना रोकिए । वीरबहादुरलार्ई आफ्नु अगाडि भइरहेका दृश्य सपना हो कि बिपनाझैँ लागिरह्यो । मेजर सर्टको कलर मिलार्ई खँकार फ्याँँक्दै ढोका खोलेरभित्र गयो । ढोका बन्द भयो ।

‘अगाडि नबढ् ! अगाडि नबढ् ! ए जल्लाद ! ए पशु ! यदि मान्छे होस् भने मान्छेसँग मान्छेको व्यवहार गर्न सिक् ।’ भित्रबाट एक किशोरी महिलाको चित्कार बाहिर आइरह्यो । अन्य पालो कुरेर बस्ने अफिसरहरू अट्टाहाँस गरे । भित्र मेजर यौन उन्मादले बर्बराउँदै बोलिरहेको थियो, ‘प्रिया त्यसो नभन न । मेरी प्रियसी ! मैले भनेको मान्यौँ भने म तिमीलार्ई छाडिदिनेछु । आउन प्लिज !!’ भन्दै महिलालार्ई समातेको बुझियो । एकचोटि ती अपरिचित महिलाको  चित्कार फेरी गुन्जियो ।

‘ना…ईं…!’ त्यसपछि केहीबेर मेजरको यौनउन्मादी स्वर रोकियो । र आत्तिएको स्वर गुञ्जियो, ‘आइया आमा…!’ उनले आफ्नो घुँडाले मेजरको फलानो थोकमै बजाइदिइछन् । त्यही चोटले रन्थनिएर चिच्याउँदै बाहिर निस्क्यो र करायो, ‘मारी रण्डीले मारी आमा ! ए केटा हो तीन–चार जना एकैपटक जाओ र मारिदेओ त्यस वेश्यालार्ई ।’

मेजरले गोदाइ खाएकोमा वीरबहादुर भित्रैदेखि खुसी भयो । क्याप्टेन लगायत ३ जना लप्टनहरू ढोकाबाट एकाएकभित्र छिरे । फेरी उही चित्कार –‘ना…इँ ! आमा नाइँ ! ए पशु थुईकक ! तैंले कहिल्यै पनि मान्छेलार्ई मान्छे ठान्न जानिनस् । छि ! थुइक्क पशु…!’ यसरी नै उनको चित्कार करिब एकघण्टा जति बाहिर निस्किएर हावामा बिलायो ।

वीरबहादुर आक्रोश र घृणाले जलिरह्यो । एकघण्टापछि ती चारैजना यौनपिपाशुहरू बाहिर निस्किए । ‘ए वीरे ! एक्लै जा थाकेकि छे ।’ पछिल्लोले भन्यो तर वीरबहादुर जान मानेन । पछाडिबाट मेजरले एक लात्ती हान्यो, ‘खुब साधु बन्न खोज्छ गधा !’ मेजरको लात्ती र गालीसँगै ऊ झटारिएरभित्र पुग्यो । रन्थाउँदै उसले बहिनीको चिठ्ठीलार्ई पुनः सम्झियो, ‘सायद, यस्तै हालत भएको हुँदो हो मेरी नानीमैँयाको ।’ नतमस्तक जहाँ झटारिएको थियो त्यहाँबाट एक पाइला चलेन ।

‘ए कुकुर अगाडि बढ् ! के सोच्दैछस् । तँ पनि मेरो शरीरसँग ¥याल चुहाउँदै आएको होइनस् ?’ उतै फर्केर बोलेको त्यस युवतीको आवाजले झस्कियो वीरबहादुर ।

‘किन मुकदर्शक बनिराख्छस् आखिर तेरो ड्युटी नै यही हो भने !’

‘होइन, म गलत सोचले…!’ वीरबहादुरले केही बोल्न खोजेको थियो तर बीचैमा उसको कुरा काटेर बलात्कृत उनी चिच्याइन् ।

‘फोहोर आहालमा बसेर खुब सफा ठान्दैछस् आफूलार्ई ? गलत, झुट, बेइमान…!’ उनले हलचल केही गरिनन् न त वीरेलार्ई नै हेरिन् ।

‘बरु एउटा कुरा ध्यान दिएर सुन्, तँजस्ता यौनपिपासुहरू घरभन्दा टाढा रहेर अर्काकी चेली भन्ठान्छन् । तेरो घरनजिकै भएका तेरै साथी भन्ने पशुहरू तेरो आफ्नै चेलीमाथि बलात्कार गरिरहन्छन् । तँ बुझ्छस् यस्ता कुरा ? बुझ्दैनस् । किनकि, तिमीहरू पशु हौ ।’

तीनको आवाजमा बहिनीले लेखेको चिठ्ठीको हुवहु वाक्य प्रतीत भयो । आवाज आफ्नै बहिनीको जस्तो लाग्न थाल्यो । भावावेगमै उसको मुखबाट खुस्कियो, ‘बहिनी !’

‘बहिनी म निर्दोष छु । म दोषी छैन । तिम्रा वचनहरूले तिमी मेरो बहिनीभन्दा फरक लागिरहेकी छैनौं । सत्य बैनी, गाउँमा मेरी बहिनी पनि तिमीजस्तै बलात्कृत भई रे भनेर चिठ्ठी लेखे’कि थिई । र तिमीले जे भन्दैछौ त्यही कुरा लेखेर पठा’कि थिई । …बहिनी ! म पशु बनेर यो आहालमा डुबिरहेको छु । विश्वास गर, म अहिल्यै यहाँबाट निस्कन चाहन्छु ।’ आँसु दर्द र हिम्मतका साथ  मनको उद्धेलना पोख्यो ।

वीरबहादुरको यति कुरा नसकिँदा उनी बसेको ठाउँबाट उठिसकेकी थिइन् । दुवैजनाको आँखा जुधेर चकित, थकित र लल्याक लुलुक परे । यो बिडम्वना तीनै अभागी दाजु बहिनीको भागमा परेको थियो । अर्थात् भर्खरै बलत्कृत ती किशोरी नानीमैया थिइन्, अर्थात वीरबहादुरकी बहिनी ! पार्टी कामको सिलसिलामा गिरफ्तार परेर दोस्रो पटक यो हालत सहन गरिरहेकी थिइन् ।

मुटुमा परेको भक्कानो र आँखामा बर्सेको आँसु पुछ्दै एकाएक हाम्फालेर दाजुको अँगालोमा पुगिन, नानीमैँया । वीरबहादुर पीडा, आक्रोश र घृणाले चुर बन्यो । तत्कालै त्यो घेरा तोडेर स्वतन्त्र जीवन जिउने कसम खाँदै बहिनीको हात कसिलो गरी समात्यो । ढोकातिर अगाडि बढ्यो र ढोका खोल्न खोज्यो । तर ढोकाको चुकुल बाहिरबाट पहिले नै लागिसकेको थियो । भोलिपल्टबाट  बाहिर व्यापक प्रचारप्रसार गरियो, …त्यस घटनाको दोषी सुवेदार वीरबहादुरलार्ई कोर्टमार्सल गरिएको छ ।

(स्रोत : समाचार दैनिक डट कम)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.