कविता : अमर बन कविता

~मनु वि.क.~

ए कविता
मैले बोलाएँ
उसले सुनेको नसुने झैँ गर्‍यो
समयका हरेक पलमा
मुटका प्रत्येक चालमा
म ऊसित खेल्न चाहेँ
प्रत्येक उपमा, अनुप्रास र लयमा
कवितालाई मलजल गरी
फुलाउनु र फलाउनु कर्तव्य ठानेँ
कविता आँगनमा रोपुँ, रोपुँ झैँ लाग्यो
तर मबाट टाढा टाढा छु,
ऊ मबाट परपर छ ।
उसको र मेरा मित्रता कति ?
बीचमा प्रश्न उभियो
उसले आशङ्कामा हेर्‍यो
तैले धेरै कवितालाई डढाएकी छस्
तैले धेरै खजानालाई भत्काएकी छस्
सम्भार गर्नु पर्ने जवानीका तेरा हातहरू
निमोठ्नमा खर्चिएका छस्
तेरा सुकोमल हातले मिचिनु
तेरो जलिरहेको मुटुले डढिनु
मेरो यात्रामा बाध्यता बनेर आयो
मक्किनु, डढिनुको बाध्यताभित्र पनि
म आफ्नो अस्तित्व खोजिरहेछु
हल्लिरहेको पृथ्वीमा
भत्किसकेका भग्नावशेषमा
लेक, बेशी र समथर फाँटहरूमा
तुफान र आँधीका बेगहरूमा
विशाल गङ्गा र सागरहरूमा
मेरा पैतला अड्याउन चाहिरहेको छु
कविता बोल्दै रह्यो
म तेरै आँगनमा फुल्न नचाहने हुँ र ?
म तेरो मनमा खुल्न नचाहने हो र ?
म पनि त चाहन्थेँ
गरिब दुःखीका बस्तीहरूमा पुग्न
उनैका आँसु र हाँसोमा मिसिएर
संसार घुम्न
टालिएका, फाटिएका नानाको न्यानो नजानेको हुँ र ?
गरिबको रगतमा बग्ने उत्कट चाहना छ मेरो
तर तेरो बेवास्ता र लापर्वाही
मेरो यात्राको अवरोधक हो

कविताको गुनासो सुनेर
उसको अथाह बहमा पोखिएर
उसको महान यात्राको
कल्पनाभित्रको यथार्थतालाई बुझेर
भन्न मन लागिरहेछ
अब त आऊ कविता
ढिलो नगरी आउ
मेरो हृदयमा रमाऊ
तिमी फुल मेरो प्रिय आँगनीमा
तिमी खुल मेरो हृदयमा

(स्रोत : हाँक विक्ली – वर्ष ३२, अङ्क ३० – June 24, 2015 – २०७२ असार ९ गते, बुधबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.