पत्र कथा : परदेशी दाजुलाई चिठी

~दुर्गा शर्मा~

आदरणीय दाजु,
सादर नमस्कार

आराम छु आरामै हुनुहोला भन्ने आसा गर्दछु । दाजु, हजुर परदेश गएको पनि लामो समय भैसकेको छ । घरमा कहिले फर्किने हो भन्ने कुनै ठेगान छैन । भनिन्छ, “परदेश गएको व्यक्तिलाई दुःख र वेदनाका खबर सुनाउनु हुँदैन । जस्तोसुकै पीडा र दुःख भए पनि राम्रै छ भन्नु पर्छ”† किनकि उसलाई परदेशको पीडा त छ नै, त्यसमा पनि घर र समाजको पीडा थप्नु हुँदैन रे घ् तर दाजु यहाँको दुःख, पीडा र समाजमा व्याप्त विभेद, अनि, देशको भ्रष्ट राजनीतिको शिकार बनिरहेका तपाई–हामी अनि सारा दुःखी गरिब जनताको भावना साट्नु पर्छ । सबैले त्यसलाई बुझ्नु पर्छ र यो विभेदकारी जनद्रोही गरिवको आँशुमा रमाउने शासकका विरूद्ध एक भई लड्नका लागि स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दाजुभाइ दिदी–बहिनीहरू एक हुनु पर्छ । त्यसले मात्र गरिबको आँगनीमा पनि उषाका किरणहरू मुस्कुराउने छन् । त्यसैले दाजु बाध्य भई यहाँ घर परिवार अनि समाजको दुःखमा छचल्किएका भावनाहरूलाई पत्रद्वारा प्रस्तुत गर्न गइरहेको छु ।

दाजु साहुको ऋणले घरवारी गुम्यो । पल्लो पाखाको बारी, अनि, गैरीखेत सबै साहूले आफ्नो बनाइसक्यो । बुढी आमाको उपचार गर्ने पैसाको अभावमा छट्पटिरहनु प¥यो । हजुरले बेलावखत पठाएको पैसा घरमा नपुग्दै साहुले लैजान्छ । आमाको उपचारका निम्ति सारा ठाउँ गुहार मागेँ । यो देशका नेतादेखि मन्त्रीसम्म भेटेर उपचारको भिक्षा मागेँ । सबैको आश्वासन मात्र पाएँ । सहयोग पाउन सकिनँ । अचनाको पिर खुकुरीलाई के थाहा ? हाम्रै खुन–पसिनाबाट अरबौँको सम्पत्ति थुपार्न तल्लीन शासकलाई हामी जस्ता गरिबले उपचार पाओस् वा नपाओस् ? उनीहरूलाई के चासो ? दाजु आमालाई विमारले साह्रै नै च्यापेर सहनै नसक्ने अवस्थामा छटपटिइरहेका बेला डम्मरे साहूको घरमा काम गर्ने हाम्रा ती पल्लाघरे सानो बुबा र माथि गाउँको ठूलेको सहाराले बल्लतल्ल हस्पिटलसम्म त पु¥याएँ । तर हस्पिटलमा आवश्यक रकम जम्मा गर्न नसकेपछि आधा रातमा बेडबाट गलहत्याउँदै निकालिदियो । त्यसपछि हाम्रा अगाडि उपचार गर्ने अरू कुनै उपाय भएन । उहाँ झन्भन्दा झन सिकिस्त बन्दै जानु भयो ।

एकातिर, उपचारको अभावमा छटपटिनु भएकी† अर्कातिर, यो पुँजीवादी स्वार्थी व्यवस्थाको घृणित व्यवहारले गर्दा आमाको अवस्था दिनदिनै बिग्रिँदै गयो । उहाँमा बाँच्ने आशाका किरणहरू पनि हराउँदै गए । उहाँले यो देशका नेता भनाउँदाहरू (जसले देशको बागडोर सम्हालेर बसेका छन्) को चाला देखेर धिक्कार गर्दै हुनु हुन्थ्यो । हामी जस्ता गरिबहरू निमुखा सर्वसाधारण जनता उपचार नपाएर जीवन गुमाउन बाध्य छौँ । तर देशका शासकहरू सामान्य पेट दुख्यो, टाउको दुख्यो भने लाखौँ खर्च गरेर उपचाको नाममा विदेश शयर गरिरहेका छन् । देशको ढुकुटी स्वाह पारिरहेका छन् । जनता भने सामान्य उपचार पनि गर्न नसक्ने अवस्थामा तड्पिरहेका छन् । यति मात्र होइन, छोराछोरीले पढ्न नसक्ने, बजारको सामान किनेर खान नसक्ने, किसानले उत्पादन गरेको वस्तुको मूल्य नै नहुने, काम गर्नेहरू भोकै मर्ने, उसैले उपचार नपाएर जीवन गुमाउनु पर्ने अवस्थामा देश गुज्रिरहेको छ । यस्तो दुर्दशा देखेर आमा भन्नुहुन्छ– “बाबु, म मरे पनि यो अन्यायपूर्ण शासनको विरूद्ध निरन्तर लडिरहे । तिमीलाई म जस्ता हजारौँ आमाहरूको यही आह्वान छ । परदेशमा रहेको तेरो दाजु, अनि, लाखौँ ती मेरा छोराछोरीहरू, जो विदेशिन बाध्य भएका छन्, उनीहरूलाई पनि यहि सन्देश सुनाइदिनू । छिट्टै स्वदेश फर्केर विद्यमान शोषणमूलक व्यवस्थाका विरूद्ध लड्न र आफ्नै देशमा रोजगारीको ग्यारेन्टी गर्ने स्वाभिमानपूर्वक बाँच्न पाउने व्यवस्था ल्याउनका लागि एकजुट भएर लड्नू । भोलि तिमीहरूले पनि म जस्तै उपचार नपाएर छट्पटिनु नपरोस् । मुटुभन्दा प्यारो सन्तान कोही स्वदेश, कोही परदेश हुन नपरोस् । बाबु निरन्तर लागिरहनु हरेस नखानू । जीत तिमीहरूको नै हुनेछ । शोषणको अन्त्य अवस्यमभावी छ । बाबु यही खबर सबैलाई पु¥याऊ ल ।” भन्दा भन्दै उहाँले पनि हामीबाट सदाका लागि विदा लिनु भयो । त्यसको केही दिनमा “तेरी आमाले लगेको ऋण फिर्ता ले” भन्दै डम्बरे साहू घरमा हप्कीदप्की गर्न आयो । घरमा भएको एक हल गोरू पनि डम्बरे साहूले फुकाई लग्यो ।

दाजु, यो दर्दनाक र कारूणिक क्षणलाई म कसरी कपीमा उतार्न सकूँ ? म अक्क न बक्क परिरहेको छु । हृदय भक्कानिएर आउछ । आक्रोश ज्वाला दन्किरहन्छ । तैपनि फेरि मनलाई सान्त पार्छु । अनि, मनमनै अठोट गरेको छु– म एक्लै आक्रोशमा आएर होइन, म जस्ता लाखौँ दुखीहरू यही बेदनाले छट्पटिरहेका छन् । ती सबैलाई एकजुट पारेर लड्नु पर्छ । त्यसैले दाजु, हजुरलाई पनि पत्रद्वारा ती बुढी आमाको खबर पु¥याउन कोशिश गर्दैछु । दाजु, गाउँमा सक्षम युवाहरू कोही बाँकी छैनन् । सबै बृद्ध र विरामीहरूले सिङ्गै गाउँ ब्याकुल भएको छ । सबै घरमा यस्तै दर्दनाक पीडा छ । देशका शासकहरू तपाई जस्तै उर्जाशील युवाशक्तिलाई विदेश पठाउनमा गर्व गर्छन् । आफ्नो स्वार्थ पूरा गर्न जनतामा विभाजन ल्याउन खोजिरहेका छन् । यो जात र त्यो जात भनेर निमुखा गरिब सोझासाझा जनतालाई झुक्याइरहेका छन् । हाम्रो एकता टुटाएर मोज गर्ने योजनामा छन् उनीहरू । उनीहरूलाई न त देशको मायाँ छ, न जनताको, उनीहरूलाई केबल सत्ता र कुर्ची चाहिएको छ ।

देशमा अस्थिरता छ । अन्याय छ । महङ्गी छ । लुट, भ्रष्टाचार, कमिसनतन्त्र, कालाबजारी, दन्डहीनता, महिला हिंसा जस्ता कुराले देश आक्रान्त छ । समयमा नै संविधान बन्न सकेन । जनतालाई सङ्घीयता र जातीय राज्यको जाल फ्याकिएको छ तर आम जनतालाई थाहा छैन कि सङ्घीयता के हो ? यसले भोलि कस्तो परिणाम आउँछ ? यतिसम्म कि चोकचोकमा राज्य बाँड्दै हिड्नेहरूले पनि यसलाई प्रस्टाउन सकिरहेका छैनन् । यहाँ त केवल जनताको कमजोर चेतनामा बौद्धिक लुट मच्चाइरहेका छन् ।

दाजु, आज मैले हाम्रो घरको वेदना र देशको अवस्थाको सामान्य चित्रण मात्र गरेको छु । वास्तवमा हाम्रो यो घटना केवल प्रतिनिधि घटना मात्र हो । समग्र गरिब जनताको अवस्था यस्तै छ । सिङ्गो समाज युवाविहीन छ । दुःख छ । पीडा छ । रोग, भोक, असुरक्षा छ । पानीले लिन पँधेरामा गएकी चेली उतै बलात्कृत भएकी छिन् । स्कुल गएका छोरीहरूको त्यही हाल छ ।

जबसम्म तपाई जस्तै विदेशिएका लाखौँलाख युवा शक्ति स्वदेश फर्केर हामीलाई विचल्ली बनाउनेमाथि मुठ्ठी उठाउने छैनन्† स्वदेशमा नै रोजगारीको ग्यारेन्टी गर भनेर जनदवाव सिर्जना गर्ने छैनन्† तबसम्म यहाँका शासकहरू गरिबको नाममा गरिबमाथि रजाइँ गरिरहने छन् । यति मात्र होइन, नेपाल आमाको अस्तित्व समेत सङ्कटमा पर्नेछ ।

त्यसैले दाजु, यो कहालीलाग्दो घरपरिवार, समाज र राष्ट्रको अवस्था देखेर निराशा होइन, आशा र भरोशाका साथ आँखामा आँसु होइन, आँगोको फोहरा लिएर स्वदेश फर्कनु हुनेछ । साथै त्यहाँ रहेका सम्पूर्ण साथीहरूलाई पनि यो सन्देश सुनाउनु होला । यो देशको शोषणमूलक विभेदकारी भ्रष्ट व्यवस्थाको अन्त्य गर्न नेपालीलाई विभाजन गरेर हाम्रो एकतालाई टुटाउन जातीय सङ्घीयताको विष वमन गर्नेहरूका निम्ति ज्वारभाटा भएर उभिनका लागि सम्पूर्ण परदेशी मेरा दाजुभाइ, दिदीबहिनीहरूमा पत्रद्वारा अनुरोध गर्दछु ।

आशा छ, तपाई अनि तपाई जस्ता विदेशिन वाध्य पारिएका नेपाली दाजुभाइ, दिदीवहिनीहरू स्वदेश फर्किनु हुनेछ । त्यति बेला जनताका खुन र पसिनामा मोटाएका शासकहरूको अन्याय, अत्याचार र झुटको महल ढल्नेछ ।

–उही तपाईको प्यारो भाइ

(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक ४० – Aug. 28, 2013 – २०७० भाद्र १२ गते, बुधबार)

This entry was posted in नेपाली कथा, पत्र साहित्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.