~प्रकाश सुनुवार ‘निराकार’~
युद्धका सिपाही हामी
युद्धभुमिमा होम्मिन बिदाई हुँदैछौं
बिदाईको समय
बुद्धको पुजा गरेका छौं
देबिमाताको चरणमा फुल चढाएका छौं
अल्लाहको नाममा ढोगेका छौं
जिससको क्रस अघि प्रार्थना गरेका छौं
आफु बिजय हुन सकुं भनेर
भएभरका सबैखाले आस्थाका धरोहरलाई पुजेका छौं ।
हामी हार्न जान्दैनौं
हामी जित्न जानेका हुन्छौं
हामी जितेर फर्कौंला
हाम्रो जितमा मानवता कतै न कतै हारेको हुन्छ
मानव सभ्यतामा चोट पुगेको हुन्छ ।
हामीलाई थाहा छ
हामी मानवताको कदर गर्छौं
कागजको बाक्लो ढड्डामा
मानवताको चिहान केवल आस्थाको कफन ओडेर
कुनै पानामा गाडिएर वसेको छ
त्यसको रङरुप हामीलाई प्रष्ट थाहा छ
त्यसको आकार प्रकार हरेक बर्णन कण्ठस्त छ
मुखजुवानी छ त्यहाँ लेखिएका प्रत्येक हरफहरु ।
तर त्यसलाई जिवित गराउन सकिरहेका छैनौं ।
व्यवहारमा उतार्न सकिरहेका छैनौं
ति ढड्डामा कैद गरिएका अक्षरहरुलाई मुक्ति दिलाएर
युद्धभुमिमा लान सकिरहेका हुंदैनौं
र त्यो सोंच पनि वनाउन सकेका छैनौं
र त जितेर पनि आफु ढलिरहेका हुन्छौं ।
हारिरहेका हुन्छौं ।
हाम्रो प्राथना स्विकार गर्ने ति ढुंगाका मुर्तिहरु
आप्mनो सुरक्षित ज्यानको भिख मागोस् भन्ने मुर्तिहरु
मलाई फुल अछेता चढाओस् भन्ने आस्थाका धरोहरहरु
आफु पनि ढालि माग्छन्
अरु ढलेको पनि हेरिरहन्छन्
जताततै ध्वस्त वाहेक वाँकि केहि हुन्नन् ।
ढल्न सक्ने र ढाल्न सकिने मुर्तिहरुमा आस्था किन राख्नु ?
न त सिपाहीको रक्षा गर्न सक्छन्
न त जनताको सुरक्षा नै गर्न सक्छन् ।
शान्ति स्थापित गर्न
केवल युद्ध सक्षम छैन भन्ने पुष्टि भएको छ ।
हामी आफैले वनाएका देउताहरुले
हाम्रो रक्षा गर्छ भन्ने विस्वास किन गर्नु ?
हाम्रो विस्वासलाई आफैले घात गरिरहेका हुन्छौं
स्वार्थको निमित्त त्यसैलाई ढालेर जितेको स्वाङ पार्छौं
विजयको भिख मागेर शुरु गरेको भ्रम
विजय भएको अनुभुतिसंगै अर्को भ्रम थप्दै जान्छौं
र आफैलाई जिउंदै मारिरहन्छौ ।
(२२ अक्टोबर २०१५, फार्नबोरो)
(स्रोत : रचनाकारको ब्लगबाट सभार)