~लक्षिराम आचार्य ‘अविरल’~
मलाई थाहा छ
जारशाहीको सत्ता कसरी ढ्ल्यो भनेर
मलाई याद छ
उसको टाउको कसरी गिँडियो भनेर ।
मैले पढ्ेको छु,
दुनियाँको इतिहास कसरी निर्माण भयो भनेर
मैले नजिकवाट बुझेको छु
निर्माण र ध्वँसको परिभाषा
अनि रसिया, भियतनाम र चीनका
शासकहरूको पराजय ।
जहाँ मजदुर विद्रोह भएको थियो
हो, त्यही सामन्त र साम्राज्यवादीहरूले
घुँडा टेक्नु परेको थियो ।
मात्रै ती त इतिहासका कुरा हुन्
वर्तमानमा पनि हामी मजदुर हौँ
हाम्रै पौरखले संसार सजाइन्छ
काठमाडौँ, दिल्ली र वासिङटनमा
गगनचुम्बी महल खडा गरिन्छ ।
हाम्रै मिहिनतवाट मिसाइल र अणुहरू
तयार भएका छन्
हाम्रै पाखुराले गास, वास र कपासको
सृजना गरेका छन्
हाम्रै अठोटले भासु अनि सेती, कालीमा
गोरेटो निर्माण भएका छन् ।
हाम्रै रगतले सिँचिएर
हिमालका गुराँसहरू राता भएका छन्
हाम्रै पौरखका मलजलले
तराईका फाँटहरूमा काठमाडौँ पाल्ने
दानापानीहरू भकारी भरिएका छन् ।
के कम छौँ, हामी र हाम्रो संसार
हाम्रै महानता र मिहिनतल बचेका छन्
लालबोझी, प्याराताल, ब्रह्मदेव
अनि, शीररूपी अपि र सैपालहरू
हामीसँगै अङ्कमाल गरिरहेका छन्
सेती र कालीका छालहरू
त्यसैले त प्राणभन्दा प्यारा छन्
हाम्रै पौरखले समथर पारिएका तराईका फाँटहरू
अनि, स्वाभिमानतालाई जोगाएका छन्
हामीले सजाएका पहाडका पर्खालहरूले
एकता र सदभावको कल्पबृक्ष बनी
सन्देश प्रवाह गरिरहेका छन
अपि, सैपाल हिमालहरूले
देख्दै लाग्छ हामीलाई
बहुजाति, बहुभाषी र बहुसंस्कृतियुक्त
साझा हाम्रा भलाकुसारी
को पहाडी, को मघेसी, को हिमाली
आखिर हामी एउटै आमाका सन्तान
स्वाभिमानी पौरखी नेपाली ।
यही नै हाम्रो दिनचर्या
यही नै साझा काम
शोषण, विखण्डन, अन्याय र बिग्रहका विरुद्ध
दरिलो र कसिलो मुठ्ठी उठाई
एकता र अखण्डताको सन्देश
प्रवाह गर्ने ज्यामी मजदुर हो
हाम्रो नाम ।
(लेखक प्रगतिशील लेखक सङ्घ नेपालको कैलाली शाखाका अध्यक्ष हुन्)
(स्रोत : हाँक विक्ली – वर्ष ३१, अङ्क २५ – May 14, 2014 – २०७१ बैशाख ३१ गते, बुधबार )