किराँती लोक कथा : तोयामा-खियामा र हेचाकुप्पा

~सङ्कलन : रामविक्रम थापा~

माझकिराँतको नामले चिनिने खोटाङ जिल्ला र आसपासका धामी-बिजुवाहरू आफ्नो रिसिया (मुद्धुम) फलाक्दै तोयामा- खियामा र हेचाकुप्पा (रैछाकुले वा खोचेलिपा) को नामोच्चारण गर्छन् । किराँतीहरूको आदिम संस्कृतिको ऐतिहासिक सन्दर्भमा खोटाङ जिल्लाको ‘मलायाथुम्की’ (तोयामा-खियामा अथवा तुवाचुङ-जायजुङ) डाँडाको विशेष महत्त्व रहेको छ । हलेसी महादेवस्थानदेखि पाँच किलोमिटर उत्तर-पूर्वको गुराँस फुल्ने यो मनोरम डाँडो (मलायाथुम्की) बाट उत्तरको सगरमाथा हिमाल र दक्षिणको फाँटिलो तराई प्रष्ट देख्न सकिन्छ । हलेसीका महादेवको दर्शन गरेर र्फकने तीर्थयात्रीहरू यो मलायाथुम्की डाँडामा चढेर यहाँको तानढुङ्गामा धागो चढाएर तोयामा- खियामाप्रति भक्तिभाव दर्शाउँछन् । किराँतहरूका आदिम पुर्खा यी तोयामा, खियामा र हेचाकुप्पाका बारेमा यो माझकिराँत क्षेत्रमा प्रचलित मिथकीय कथा यस्तो छ :

खोटाङ जिल्लाको मलायाथुम्कीमा पातेसुङ र दिलिदुङ नामका किराँत पति-पत्नी बस्थे । उनीहरू कपासखेती गर्थे, धागो काट्थे र तानमा कपडा बुन्थे । यी किराँत दम्पत्तिका तोयामा र खियामा नामका दुई छोरी र हेचाकुप्पा भन्ने एउटा छोरा थिए । हेचाकुप्पा सानै (दूधे बालक) हुँदा पातेसुङ र दिलिढुङको देहान्त भयो । उनीहरूले मर्ने बेलामा तोयामा- खियामालाई भनेका थिए : ‘सानो भाइलाई राम्रोसित पाल्नु-तिमीहरू सधैँ मिलेर बस्नु !’

छिमेकीहरूका घरमा गएर ढिकीजाँतोलगायतका बनीबूतो गर्दै र कपासको धागो कातेर तानमा कपडा बुन्दै तोयामा-खियामा आफ्नो जीवन निर्वाह गर्न थाले । एकदिन हेचाकुप्पा भोकले रुन थाल्यो । घरमा खानेकुरा केही थिएन । तोयामा-खियामाले एउटा बुछालु (माटोको हाँडी) मा कडा वस्तु राखेर अगेनामा बसाइदिए । उनीहरूले भाइ हेचाकुप्पालाई भने-‘यो नपाकुञ्जेल आगो फुकिरहनु, हातले छाम्दा पाकेपछि झिकेर खानु !’ यति भनेर दिदी र बैनी खानेकुरा खोज्न गाउँतिर गए । हेचाकुप्पाले धेरैबेरसम्म आगो फुक्दा पनि त्यो खानेकुरा नपाकेपछि दिक्क र निराश भएर आगो फुक्न छाडेर त्यत्तिकै बसिरहृयो । तोयामा-खियामा अर्काको ढिकी कुटेर अलिकति कनिका-चामल लिएर घर आए । अनि त्यो बुछालुको लोहोरो (मसला पिस्ने ढुङ्गो) फालेर चामल हाली अगेनामा बसाए । उनीहरू तान बुन्न बाहिर गए । ‘अँ, अबचाहिँ भात खान पाइने भयो’- यसो भन्दै खुसीले उफ्रिंदा हेचाकुप्पाको खुट्टाले अगेनाको दाउरो टेक्यो र त्यो दाउराले बुछालु उछिट्टएिर घोप्टियो । छड्कदै गरेको बुछालुको भात -जाउलो) अगेनामा पोखियो । यो तीब्र आशा पनि मरेपछि भोकले इन्तु न चिन्तु भएको हेचाकुप्पा रुँदारुँदै लोलाएर त्यही निदाएछ ।

तोयामा-खियामा तानबाट फर्केर घरमा पस्दा भातको बुछालु घोप्टिएको र भाइ निस्लोट भएर लडिरहेको देख्दा मर्माहत भएछन् । ‘एउटा भएको माइती पनि मरेछ’- भनेर रुँदै र विलाप गर्दै भाइलाई जङ्गलमा लगी खाल्डो खनेर राखेछन् । जाँडको छोक्रा र सिलाम छर्केर केराको पातले छोपछाप गरेर फर्केछन् । आफ्नो प्यारो भाइको सम्झनाले सताउने यस्तो विरक्तिलो ठाउँमा तोयामा-खियामालाई बस्न मन लागेनछ । त्यो मलायाथुम्कीबाट अन्यत्रै जाने विचार गरेछन् । दिदी तोयामाले बैनी खियामालाई ‘कवैबुङ’ र बैनी खियामाले दिदी तोयामालाई ‘लिच्किबुङ’ (यी दुबै फूलका प्रकारहरू) दिँदै एकापसमा भने ः ‘यो फूल जब ओइलाउँछ तब म मरेको भनेर मान्नु !’

यसो भनेर फूल आदानप्रदान गर्दै तोयामा उँभो र खियामा उँधो लाग्दै दिदी र बैनी छुट्टएिछन् । रहँदा-बस्दा एकदिन ‘कवैबुङ’ ओइलाएछ र खियामाले सोचिन्-‘लौन ! दिदी तोयामा त मरिछन् !’ अलापविलाप गर्दै खियामा रुन थालिछन् । भएको के रहेछ भने तोयामालाई मायाजालमा पारेर एउटा राक्षसले आफ्नो ओडारमा लगी मारेर खाएछ र हाडखोड एकातिर फालेको रहेछ । दिदी तोयामाको मृत्युको शोकले विरक्तिएर किंकर्तव्यविमूढ घुम्दै जाँदा खियामाले तोयामाको हाडखोड देखिछिन् । त्यो हाडखोड नजिकै हातको ‘कवैबुङ’ राखेर मुद्धुम गाउँदै वरिपरि घुम्दा ओइल्याएको ‘कवैबुङ’ ताजा भएर फक्रिएछ । ठीक त्यहीबेला त्यो हाडखोडको थुप्रोबाट हा-ई काढ्दै तोयामा उठिछिन् ः ‘ओ हो ! कति साह्रो निदाएछु !’ खुसीले अङ्कमाल गर्दै तोयामा-खियामा सँगै रहन, बस्न थालेछन् ।

उता, भाइ हेचाकुप्पा निद्रा पुगेर ब्यूँझदा घना जङ्गलबीचको खाल्डोमा केराको पातले छोपिएर पुरिएको अवस्थामा आफूलाई पायो । आफूलाई मरेको ठानेर दिदीहरूले यस्तो गरेछन् भनेर हेचाकुप्पा साह्रै दुःखी भएछ । उठेर घुम्दै हलेसी गुफा पुगेछ र ऊ त्यही बस्न थालेछ । जीवन गुजाराका लागि हेचाकुप्पा माछा मार्न नित्य खोलामा जाँदो रहेछ । एकदिन जालमा माछा होइन एउटा चिल्लो र राम्रो ढुङ्गा परेछ । त्यो ढुङ्गा फालेर खोलामा जाल थाप्दा फेरि पनि त्यही ढुङ्गा नै परेछ । दिनभर यस्तै उपक्रम चलेपछि बेलुकी त्यही ढुङ्गा आफ्नो जाबी (माछा राख्ने) मा हालेर हेचाकुप्पा घर (हलेसी गुफा) फर्केछ । घर पुगेर अगेनामाथिको भारमा त्यो ढुङ्गालाई राखेछ । माछा नपरेकाले त्यस रात ऊ भोकै सुतेछ ।

भोलिपल्ट फेरि माछा मार्न हेचाकुप्पा खोलामा गयो । माछा लिएर घर आउँदा तयार भइरहेको भात तिहुन देखेर छक्क पर्दै खपाखप खाएछ । हरेकदिन माछा लिएर आउँदा अगेनामा भात-तिहुन पाकिरहेको हुन्थ्यो र ऊ बसेर आरामले खान्थ्यो । ‘कहाँबाट, को आएर यसरी भात-तिहुन पकाउँछ र फेरि कहाँ जान्छ ?’ अबचाहिँ यो रहस्यको उद्घाटन गर्नु पर्‍यो भनेर एकदिन हेचाकुप्पा खाना खाएर गुफा नजिकै चियो गर्दै लुकेर बसेछ । केही क्षणमै भारमा राखेको त्यो ढुङ्गो त सुन्दरी नारी भएर ‘यो हेचाकुप्पाले आफूले खाएको थालबटुका पनि नमाझी हिँडेछ’- भन्दै जुठा भाँडा माझ्न थालिछ । यस्तो दृश्य देख्नासाथ झटपट गएर पछाडिबाट च्याप्प समात्दै हेचाकुप्पाले त्यो सुन्दरीलाई भनेछ ‘तिमी को हौ ?’

‘म नागेलुङ सिम्मा हुँ – अब मलाई छाडिदेऊ !’ केटीको यस्तो प्रत्युत्तर सुनेर हेचाकुप्पा आकषिर्त भयो । उसले मोहित भएर त्यो सुन्दरी केटीलाई विवाहको प्रस्ताव राखेछ । नागेलुङ सिम्माले पनि सहर्ष स्वीकार गरी । त्यसपछि आफ्नो रीत-संस्कारअनुसार विवाहको तयारी कार्य सुरु भएछ । आफ्ना नातानालाहरू सम्झने क्रममा साफप्ते (मावली) लाई विवाहको तिम्तो पठाएछ । त्यहीबेला हेचाकुप्पाले हराएका आफ्ना दिदीहरू तोयामा र खियामालाई पनि सम्झेछ । दिदीहरूलाई खोजेर विवाहको निम्तो गर्नका लागि उसले दुईओटा भाले (कुखुरा) पठाएछ । ती जोडी भालेहरू तोयामा-खियामालाई खोज्दै जाँदा रात परेछ र त्यहीँ बास बसेछन् । भोलिपल्ट बिहानै ‘कुखुरीकाँ’ गरेर दुबै भाले जोडले बास्दा तोयामा-खियामाले आफ्नो भाइको नाम (हेचाकुप्पा-हेचाकुप्पा) काढेको सुनेछन् । यस्तो आवाज सुनेर दुबै दिदी बैनी भाले कराएको ठाउँमा पुगेर भालेलाई पक्डन खोजेछन् । भालेहरू पनि उफ्रँदै भागेछन् । अघिअघि भालेहरू र पछिपछि तोयामा-खियामा दौडँदा-दौडँदै हेचाकुप्पाको घर (हलेसी गुफा) पुगेछन् । मर्‍यो भनेर खाल्डोमा पुरेको भाइ हेचाकुप्पालाई जीवितै देखेर तोयामा-खियामा छक्क परेछन् । हराएका दिदीहरू भेटेर हेचाकुप्पा पनि दङ्गदास थियो ।

भाइ हेचाकुप्पाको विवाहको तयारी हुँदै गरेको र यही विवाहमा निम्तो गर्ने हेतुले भाइले आफूहरूलाई खोज्न पठाएको कुरा थाहा पाएर तोयामा-खियामाले निकैबेर हर्षाश्रु बगाइरहे । अब भाइ हेचाकुप्पाको विवाहको रीत (संस्कार) सुरु भयो तर भाइको ‘शिरउभ्याउनी’ का लागि तोयामा-खियामाको साथमा केही थिएन । लाजले रातोपिरो हुँदै शिर झुकाएर उनीहरू उभिरहे । अन्त्यमा सबैको सल्लाहानुसार ‘रिच्चिबुङ’ (एकजातको फूल) ले भाइको शिरउभ्याउनी गरे । त्यही बेलादेखि विवाहमा चेलीले माइतीलाई फूलमाला लगाइदिएर ‘शिरउभ्याउनी’ गर्ने चलन चलेको मानिन्छ । यसरी हेचाकुप्पा (रैछाकुले, टुहुरो) को सुन्दरी नागेलुङ सिम्मासित धुमधामले विवाह सुसम्पन्न भयो । विवाह सम्पन्न भएपछि दिदी-भाइको छुट्टनिे बेलामा बिदाइ रीत भयो । भाइ-बुहारीले दुबै दिदीहरू तोयामा-खियामाला ई ढोल-झ्याम्टा बजाएर बिदाइ गरे । त्यसैबेलादेखि आजसम्म किराँत समुदायमा छोरीचेलीलाई बिदाइ गर्दा ढोल-झ्याम्टा बजाउने चलन छ । आजकाल पनि रिच्चिबुङ, कवैबुङ र लिच्किबुङ एकै ठाउँमा राखेर जान्ने धामी(बिजुवाले रिसिया -मुद्धुम) गायो भने कारुणिक रुवाइको आवाज सुनिने विश्वास गरिन्छ ।

नोटः -दोर्पा, खोटाङका पर्खनबहादुर राईको सांस्कृतिक लेख (वाङ्मय -११, खोटाङ) र माझकिराँत क्षेत्रमा प्रचलित ऐतिहासिक किंवदन्तीमा आधारित लोककथा

फाक्टाङ-२, खोटाङ

(स्रोत : मधुपर्क २०६७ कात्तिक)

This entry was posted in लोककथा / दन्त्यकथा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.