~योगेन्द्र काउचा~
छेलिएँ
सकेसम्म छेलिएँ
माटोका अनगिन्ती ढिस्काहरूमा
चट्टानका अजिव चुचुराहरूमा
कैयौं वृक्षका छायाँहरूमा
जहाँ जहाँ रीप पर्दछ ।
अलापिएँ
एक्लै अलापिएँ
कसैले देख्न नसक्ने ठाउँमा
कसैले थाहा नपाउने ठाउँमा
कसैको याद नआउने ठाउँमा
कसैको आँसु नचुहिने ठाउँमा
शायद चिन्न नसक्ने ठाउँ
जहाँ शोकाकुल चेहराहरू देखिदैनन्
जहाँ हृदयका बेदनाहरू लेखिदैनन्
जहाँ आशाका पुञ्जहरू हेरिदैनन् ।
लुकेँ
लुक्न खोजेँ
सकेसम्म त लुकेँ
मलाई लुक्नु थियो
अध्यारो गुफा भित्र पसेँ
चिसा धर्तिहरू ओछ्याएँ
साना आकाशहरू ओढेँ
आखाँ बन्द गरेँ
अनि लम्पसार परेर रोएँ ।
अतित सम्झेर रोएँ
वर्तमान अँगालो हालेर रोएँ
मन हल्का नहुन्जेल रोएँ
आँखामा पानि रहुन्जेल रोएँ
जहाँ एक्लै अन्धकार अनि अन्कन्टारमा रोएँ
त्यहाँ छाती पिटी पिटी रोएँ ।
अहँ
पत्थरहरू गलेन्
आकाश खसेन्
धर्ति पनि भत्किएन्
कत्ति पनि ! उन्मुक्ति मिलेन्
अहँ भगवान पनि भेटिएन्
बरू बतासले सुम्सुम्याईरह्यो
बरू घामको एउटा रोशनीले न्यानो गरायो
बरू चिरविर चिरविर आवाजले झक्झक्यायो
झट्ट आखाँ खोलेँ
अनि हेरेँ टाढा टाढा सम्म
सुनेँ हृदयका धड्कन सम्म
रहस्य खोज्दै बाहिर निस्केँ ।
त्यहाँ त
शितले नुहाएर
चमकमा पल्वित भएका
दुर क्षितिजमा उभिएका शिरहरू
कष्टमय जिन्दगी बाँचेका जिवहरू
सिड्डो गगन अनि धर्तिहरू
सुन्न सकिने सबै तरड्ड र ध्वनीहरू
विरक्त जिवन प्रति घृणा गर्दै
अनवरत जिस्काईरहेका
गिज्याईरहेका
कुनै परिचित शत्रु झैँ झगडा गरिरहेका
र त, म लज्जित भएँ ।
अनि उठेँ
पछाडि नफर्कि अगाडी बढेँ
जहाँ आँसु निख्रिएका,
जहाँ लासका चौफेरो बीच उभिएका
जहाँ जञ्जिरमा कसिँएका
जहाँ चोटै चोटले कोपिएका
जहाँ सुन्दर सपना बोकेका जिन्दगीहरू
मात्र दासता चुँडाल्न आतुर थिए
आखिर पाईला उतैतिर सोझ्याए
क्रान्ति यात्रामा…
– गुल्मी
(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक ३२ – June 26, 2013 – २०७० आषाढ १२ गते, बुधबार)