~हेमबहादुर गन्धर्व~
एउटा क्षितिजबाट
अर्को क्षितिज छुने
इन्द्रेणी जस्तै लामो रेल
कोठैकोठा
र, बेडै–बेडहरूले भरिएको
विशाल हस्पिटल जस्तै रेल
तब,
त्यो लामो र विशाल
रेल चल्न
हजारौँ पाङ्ग्राहरू चाहिन्छ
हजारौँ चक्काहरू चाहिन्छ
किनकि
पजेरो जस्तो होइन रेल
बोलेरो जस्तो होइन रेल
रेल र देश
उस्तै उस्तै हुन्छन्
फरक
यति मात्र हुन्छ कि
रेलमा डब्बाहरू हुन्छन् तर देशमा
अञ्चलहरू
रेलमा कोठाहरू हुन्छन् तर देशमा
जिल्लाहरू
रेलमा बेडहरू हुन्छन् तर देशमा
जनता
तब
देश चल्न पनि
हजारौँ पाङ्ग्राहरू चाहिन्छ
हजारौँ चक्काहरू चाहिन्छ
किनकि
पजेरो जस्तो होइन देश
बलेरो जस्तो होइन देश
तर यति बेला
रेल चलाउन खोज्ने
केही
स्वघोषित हकदारहरूले
देश चलाउन खोज्ने
केही
स्वघोषित ठेकेदारहरूले
कुनै
प्रवाह नै नगरी दुर्घटनाको
चार चक्काले
रेल चलाउन खोज्दैछन्
तब हामी
रेल यात्री र देश यात्रीहरू
उठौँ–जागौँ
हकदार र ठेकेदारहरू
विरूद्ध
सडक–सडकमा लगाऔँ नाराहरू
खबरदार
चार चक्काले रेल चल्दैन
चार पाङ्रग्राले देश चल्दैन
– हाल पान्डीचेरी, भारत
(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक १६ – Feb. 27, 2013 – २०६९ फागुन १६ गते, बुधबार)