~शिशिर शर्मा~
कुर्सी, कुर्सी, कुर्सी
किन चाहियो सबलाई कुर्सी ?
के छ आखिर कुर्सीमा ?
कुर्सीमा धेरै चीज छ,
कुर्सी छ त धन छ,
कुर्सी छ त आलिशान महल छ,
कुुर्सी छ त “पावर” छ,
कुर्सी छ त भत्ता र सत्ता छ,
कुुर्सी छ त विदेश भ्रमण छ,
कुर्सीमा पुगेपछि
जतिसुकै क्रान्तिकारी भनिएका नेता पनि
प्रतिक्रियावादी हुँदा रहेछन्
जतिसुकै सर्वहारावादी भनिएका नेता पनि
पुँजीवादी हुँदा रहेछन्
जतिसुकै विकासवादी भनिएका नेता पनि
देशद्रोही हुँदा रहेछन्
जतिसुकै राष्ट्रवादी भनिएका नेता पनि
विदेशी कठपुतली हुँदा रहेछन् ।
वाह, क्या चीज रहेछ यो कुर्सी ¤
आखिर
जतिसुकै ठूलो चीज भए पनि
जतिसुकै शक्तिशाली चीज भए पनि
त्यो कुर्सी,
श्रमिक मजदुरको उत्पादन हो
श्रमिक मजदुरको परिश्रमको फल हो
तर हाम्रा शोषक नेताहरू
त्यही मजदुरको उत्पादन कुर्सीमा बसेर
मजदुरको शोषण गरिरहेका छन्
तर हे नेताहरू हो, होशियार
श्रमिक मजदुरलाई नहेप
मजदुरलाई कमजोर नठान
तिनीहरू मजदुर नै थिए,
जसले फ्रान्समा पेरिस कम्युन गरे
जसले रूसमा अक्टोबर क्रान्ति गरे
र पुँजीवादी शासकको हातबाट सत्ता खोसे
नेपालमा पनि मजदुर उठे भने,
सर्वहारा वर्ग जागे भने,
यहाँ पनि क्रान्ति हुनेछ,
र, तिमीहरूको हालत रूसका जारको जस्तो हुनेछ ।
त्यसैले कुर्सीको लागि हानथाप नगर,
कुर्सीका लागि लुछाचुँडी नगर,
मात्र देश विकास गर
नेपाललाई स्वीजरल्यान्ड र अमेरिका होइन,
नेपाललाई नेपाल नै बनाऊ,
तर यस्तो नेपाल होइन
विकसित नेपाल बनाउ,
नेपाली जनतालाई धेरै दुःख नदेऊ
कुर्सीको सदुपयोग गरी
नेपाललाई विकसित तुल्याऊ ।
–काठमाडौं
(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक १६ – Feb. 27, 2013 – २०६९ फागुन १६ गते, बुधबार)