~हरिप्रसाद भण्डारी~
पुरानो सामन्ती सत्ता ढालेपछि आन्दोलनकारी जनताले चौबाटोको बीचमा रहेका पुराना शासकका सालिकहरू पनि ढाल्न सुरु गरे ।
नायकले आफूसँग भएका सबै हतियारहरू सालिकमाथि प्रहार गर्न आदेश जारी ग¥यो । सालिकहरू ढालिए । सडकमा लम्पसार परेका सालिकहरूलाई टुक्राटुक्रा पार्ने काम पनि सँगसँगै भयो ।
सालिक ढालेपछि नायक पहिले सालिक भएको उच्च स्थानमा गयो र भाषण गर्न थाल्यो— ‘यस्ता निरङ्कुश र सामन्ती प्रतीकहरूलाई हामी एकपछि अर्को नामेट पार्दै जानेछौँ ।’
ठाउँठाउँ भाषण गर्दागर्दा तल सडकमा उभिएका मान्छेहरूभन्दा आफू निकै उँचो स्थानमा आएको महसुस हुन थाल्यो उसलाई । भाषण गर्ने स्थानमा उभिँदा ऊ सालिकभन्दा पनि अग्लो भएको अनुभव ग¥यो । केही बेरपछि उसले तल सडकमा छरिएका मान्छेहरूलाई सानासाना देख्न थाल्यो । उसको भाषण सुन्नेहरू जोडजोडले ताली पिट्दै र खुसीले उफ्रदै थिए ।
अस्ति जुलुसको अग्रपङ्क्तिमा हिँड्दा सबैले अबिर र माला लगाइदिएको घटना पनि सम्झ्यो ।
‘अहा ! सालिक भएर सधैभरि यो ठाउँमा बस्न पाए त !’
त्यसपछि उसको मन सालिक हुने ध्याउन्नमा लागिरह्यो ।