कविता : वीर खुमप्रकाश वाग्ले जिन्दावाद !

~हेमन्त श्रेष्ठ~Hemanta Shrestha

खुमप्रकाश वाग्ले
जसको पवित्र बाहुलीबाट
बडेबडे सामाजिक संस्था
र पाठशालाहरुको समुद्घाटन भएको छ
जसले गरेको उद्घाटन पछि मात्रै   
कैयन धारा र टेलिफोनहरु
सुचिक्कै जीवन्त भएका छन्
जसको धाराप्रबाह बगेको
आदर्श वचनहरुले
पवित्र भएका छन् हाम्रा कानहरु
र जसको समर्पणले नै
आवाद भएको छ देशमा
प्रजातन्त्र र समाजवाद
त्यस्ता महामानवको
आउनुहोस् जयजयकार गरौं
र भनौं
वीर खुमप्रकाश वाग्ले जिन्दावाद !

खुमप्रकाश वाग्ले जिन्दावाद !
किन गर्ने प्रतिवाद
उहाँ नरहे
के प्रजातन्त्र रहन्छ भन्ने ठान्नुभाुछ
उहाँ नभए
के समाजवाद झाँगिन्छ भन्ने ठान्नुभाुछ
सरासर गलत हो त्यो
उहाँ नै प्रजातन्त्र हो
प्रजातन्त्र नै उहाँ हो

हेर्नुहोस्
उहाँको आशिर्वादले
मान्छेको आँसु पनि मोती बनेको छ
उहाँको आँटले
असंभव भन्ने शव्द नै मरेको छ
र उहाँको हाँकले
सिङ्गै राष्ट्र् नै
आफै तिर हाँकिएको छ
उहाँ नरहे भनी दिया छु
प्रजातन्त्र मात्र होइन
देशै नरहन सक्छ
त्यसैले आउनुहोस
महान तपश्वीको आरती गरौं
र भनौं
खुमप्रकाश वाग्ले जिन्दावाद !

आफ्नो बलिदानको मूल्य
उहाँले अलिकति सम्पति जोडेर
चुकाउनु भयो त के भो
आफ्नो तपस्याको प्रसाद
अलिकति आफन्तहरुलाई
बाँड्नु भयो त के भो
ढोका बन्द हुँदा
बार्दली चढ्नु भयो त के भो
प्रजातन्त्र ल्याएकै
सुविधा भोग्नलाई हो भने
सुविधा भोग्नु भयो त के भो

मात्र नमिल्ने कामहरुलाई
मिलाउनु भएको हो उहाँले
के तपाई यसलाई
पुरुषार्थ नभनेर अपराध भन्नुहुन्छ
मात्र आफु होईन
सबैलाई उठाउन खोज्नु भएको हो उहाँले
के तपाई यसलाई
मार्ग निर्देशन नठानेर भ्रष्टाचार ठान्नु हुन्छ

प्रजातन्त्रमा
यति स्वतन्त्रता पनि हुन्न भने
प्रजातन्त्रको लािग
बूढॊे जिन्दगी घोटीरहने किन
जनताले चुनेको नेतालाई
नियुक्त मान्छेले नचाउँछ भने
यस्तो ब्यवस्थाको निम्ति
ज्यूँदै मरिरहने किन

याद गर्नुहोस् महाशय
प्रजातन्त्र उहाँकै दाँईजो हो
जसलाई हामीले नै
टीका लगाएर दिएका हौं
सिङ्गै राष्ट्र् उहाँको सम्पति हो
जसको भोगचलनको अधिकार
हामीले नै सुम्पिएका हौं

उहाँको गुरुले जे गर्नु भयो
उहाँले पनि त्यही गर्नु भएको छ
र उहाँका चेलाहरुले पनि
त्यही गर्दै जानेछन्
प्रजातन्त्रकेै बंशानुगत् परम्परा हो यो
जसलाई निर्वाह गर्नु
हर भक्तको धर्म भएको छ
यसर्थ बुझ्नु पर्छ –
दालमा नून होइन
नूनमा दाल पाके जस्तै
प्रजातन्त्रमा
खुमप्रकाश वाग्ले होईन
खुमप्रकाश वाग्लेमा
प्रजातन्त्र पाकि रहेछ

दोष थोपर्नै मन लागेको भए
आउनुहोस थोपरौं
उहाँको आफन्त हुन नसकेका
अभागी हाम्रा खप्परहरुलाई
खिया लागेको जन-अधिकारलाई
नोटमा बिक्ने हाम्रा भोटहरुलाई
अपराधी कोही भए
त्यो स्वयं हामी नागरिक हौं
र अपराध छोप्नु
हर अपराधीको पहिलो कर्तव्य हो
त्यसैले आउनुहोस्
अपराध छोप्ने ढोंँगमा
महामानवको जयजयकार गरौं
र भनौं
प्रजातन्त्र जिन्दावाद
खुमप्रकाश वाग्ले जिन्दावाद ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.