कविता : मेरो धरती बाँचिरहोस्

~कुन्ता शर्मा~

उर्लिरहेको विशाल सृष्टिसिन्धुको
एउटा सुक्ष्म विन्दु म
सुन्दर फोका भएर हराऊँ लहर तरङ्गहरूमा
या बिलाउँ बालुवाका विराट व्यूहहरूमा
म नरहे पनि
युगले मेरो कथा कहे पनि नकहे पनि
मानव सभ्यता हाँसिरहोस्
मेरो धरती बाँचिरहोस् ।

तप्कँदै छन् निरन्तर आयुका थोपाहरू
एकदिन रिक्त हुनेछ अंजुली यो समयको
जीवनहीन हुनेछ, शुष्क हुनेछ
मृत्युको चिसो अङ्गालो फैलिएपछि
जीवनपुष्प ओइलिएपछि
त्यसपछिको समयमा
लाखौँ शताब्दीहरूमा, करोडौँ युगहरूमा
जीवनशुन्य नहोस् धरतीको काख
मेरो शरीर पञ्चभूतमा मिलेपछि पनि
आत्मा कतै जीवित रहेछ भने
चेतना कतै बाँकी रहेछ भने
सम्बन्धविच्छेद भएपछि पनि धरतीसँग
यसको पारी कुनै स्थान रहेछ भने
म त्यतै रहेर
यस धरतीको हरित–परिधानयुक्त वक्ष
सरसराउँदै बग्ने मधुर बासन्ती बतास
नीर नीलिमायुक्त शारदीय आकाश
झर्ना र झीलहरू
खोल्सा र खोल्सीहरू
नदी र सागर र महासागरहरू
घना जङ्गलहरू, चिसा चिस्यान र ओसहरू
शीतल जुन र झलमल घामहरू
कुनै कुनै बिर्सने छैन
नियालिरहेछु हरेक क्षण प्रत्येक पल
ऊर्वर माटोलाई मेरो प्यारो धरतीलाई
फैलाएर आशिषका अदृश्य हत्केलाहरू
प्रवाहित गर्दै वाणीविहिन शब्दका पुञ्जहरू
मानव सभ्यता हाँसिरहोस्
मेरो धरती बाँचिरहोस् ।

म जे बाँचे जस्तो बाँचे
भक्कानो पारेर रोएँ
या खित्का छोडेर हाँसे
मैले भोगेको जीवन
सुखको रमझम बृष्टिले
भिज्यो होला कतै
मैले बाँचेको समय
बिझेर तीखो सुइरो हृदयमा
पीडाले असाध्य दुख्यो होला कतै
समग्रमा म बाँचेको समयमा
उभ्याउन नसके पनि
सगरमाथाहरू आत्मबलिदानका
मैले भत्काइनँ सुखको चौतारी कसैको
मैले सल्काइन
आकांक्षाको फलबारी कसैको
जे होस् समय जसरी बित्यो,
जे गरी बित्यो
चिन्ता छैन, पश्चाताप छैन
कदमहरू जहाँ परे जसरी परे
चले बतास सुस्केराका
या आँसुका झरी झरे
हासिन म हृदयहीन भएर
बाँचिन म बिमुढ भएर
सृष्टिले मभित्र
जुन कोमलता भर्‍यो,
संवेदनशीलता भर्‍यो
भर्दै जाओस् सधै मानव हृदयमा
हृदयहीन नहोस् मानिस
यही कामना फुलिरहोस्
मेरो धरती बाँचिरहोस् ।

बुढो नहोस् कहिल्यै यो तेजस्वी सूर्य
आलिड्डनबद्ध रहोस्स धरती सधैसधै
ननजिकिऊन् छुद्र उल्काहरू
नदोहोरिऊन् अखण्ड प्रलय
र लामा हिमयुगका कथाहरू
भयावह विस्फोटनका व्यथाहरू
करोडौँ करोड युगका यात्राहरूमा पनि
सकिएर उर्जा सिताड्ड हुन नपाओस्
मानव सभ्यता हाँसिरहोस्
मेरो धरती बाँचिरहोस्

सौर–मण्डलको ऊर्वर
अनि मोहकस्वरूपा धरती
कहिल्यै चञ्चल नहोस्, जर्जर नहोस्
अनन्त–अनन्तसम्म
युगौँ–युगको यात्रा तय गरेर
व्यूँझदैं असभ्यताको गाढा निद्राबाट
प्राप्त गरेका सुन्दरम् उपलब्धिहरू पुर्खाहरूले
ओजस्वी र समृद्ध इतिहास भावी पुस्ताको लागि
सुरक्षित रहोस् संरक्षित होस्
यही आकांक्षा फलोस् फुलोस्
मेरो धरती बाँचिरहोस्

(स्रोत : हाँक विक्ली – वर्ष ३१, अङ्क ४० – Sep. 3, 2014 – २०७१ भाद्र १८ गते, बुधबार )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.