~समर चेम्जोंग “आभाष”~
सखारै मझेरीमा
चिरबिराउँछन् चराहरु
टिप्छन् धान, मकै कोदो र तोरिका दाना
झुत्तिखेल्छन् आँगन छेउ थांक्राहरुमा
गर्छन् होड्बाजी को भन्दा को कम।
चराहरुसँगै
लडीबुडी गर्छन् केटाकेटीहरु
खेल्छन् टालाटुली बाटुली
यति यति पानी गंगे रानी
बनाउछन् माटोको घर
बन्छन् बेहुला र बेहुली
गर्छन जिजीविषाको अभ्यास
पोखेर आगार्निक शैशव चञ्चलता।
धुलो मैलो हुन्छन्
ताप्छन् लालीमाको न्यानो
उन्मुक्त आमोद-प्रमोद मनोभावमा।
घाम छिपिदै जाँदा
फेरिदै जान्छ चराहरुका लय
हराउदै जान्छ उनीहरुका चकचक
पंख फिजारेर उडी जान्छन् कतै टाढा
केटा केटीहरु भत्काउछन् माटोको घर
लाग्छन् आ-आफ्नो बाटो
अलप हुन्छन् आँखाहरुबाट।
मध्य दिन,
शून्य शून्य छ आँगन
चराहरु छैनन्
चिरबिर छैन
छैनन् केटाकेटीहरु
खस्नै लागेको धुरी टोलाइ रहन्छ अजस्र।
सन्ध्याकाल
बिर्सेर मनोरम आँगन
सखारैको आपसी प्रेम र सद्भाव
प….र…. बाँसको झ्याङ्तिर झगडिन्छन्
अघि नै एकैसाथ झुत्ति खेल्ने चराहरुमा
मच्चेको छ स्वरगुलहरु
हिर्काई रहन्छन्
संघार, झ्याल, ढोका र पालिमा
वेमेल कर्कश आवाजहरु।
सम्झन्छ बिहानीको लालित्य उषा
सुनौलो आवोहवा
केटा केटीहरूको सहचार्य
चराहरुको कर्णप्रिय कलरव
शून्य शून्य मध्यान्न
सुन्छ चराहरुको अनमेल स्वरगुल
हेर्छ अगाडिको अस्ताचल
उफ….गरेर सुसाउछ डाँडा माथिको घाम।
१३ बैशाख ७५ / 26-04-18 बिहीबार
समर चेम्जोंग “आभाष”
प्रदेश न. ०१, मोरंग, लेटांग न.पा.
हाल: युएइ अल आइन
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )