~त्रिभुवनचन्द्र वाग्ले~
मैले भातखाने थालले
मलाई सम्झन्छ ?
जुवा हारेको खाल जस्तै
रित्तो र निराश उसलाई भनिदेऊ
म थालभरि भात भर्सन
पराई चुलोमा छड्किरहेछुु
पसिनाको खोले
सानो छोरोजस्तै
मैले पानी खाने
डल्ले अम्खोरा
लड्थ्यो र उठ्थ्यो
रित्तिन्थो, भरिन्थ्यो
भनिदेऊ उसलाई
सन्तुष्टिको जल भर्न उसमा
म मरुभूमिमा
पसिनाको नहर बगाइरहे छु ।
छोरीले गर्ने सन्ध्यामा
अँधेरो चिर्ने उसको विजयलाई
बधाई दिन
निर्वासनबाट देशको आकाशतिर फर्केर
अन्धकारमा छोरी चिहाइरहेको छु ।
उसका हररात कस्ता होलान् ?
बादलजस्तै कच्चा त छैनन्
छोरीका रात ?
जो हरबर्खा आँशुमा पोखिन्छन्
तिमीले लगाउने सिन्दुरमा
म हरदिन मेटिन्छु र हरदिन थपिन्छु
तिम्रो सिउँदोमा फुल्न
म हररात ओइलाउँछु
र हरबिहान जुर्मुराउँछु
बालुवाको ऐन हेरर ।
कसरी भनूँ तिमीले लगाउने सिन्दूर
मैले मुटु पिनेर बनाएको हुँ,
रुपियाँले किनेको कहाँ हुँ ?
थालजस्तै समथर सपना थिए
छोरो जस्तै नाच्ने ओम्खरा थिए
सन्ध्यामा बल्ने पाला थिए
र थियो
आँचलमा लुकाएको सिन्दुर
नढाँटी भन साहिँली
मलाई सम्झन्छन् त तिनले ?
२०७४ जेठ १२ गते
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )