~गेहराज थापा~
म त एउटा शोषकै हुँ शोषण मात्रै गर्ने
अरू चाहे भोकै मरून् आफ्नै भुँडी भर्ने
शोषण गर्न पाइनँ भने मलाई हुन्छ डाह
अरूको भोक, पिर–मर्का मलाई के थाह ?
ईश्वरैले मलाई शोषक बनाएको जान
मेरो विरोध ईश्वरैको विरोध जस्तो मान
मेरो देउता खुशी हुन्छ आफ्नै थैलो भर्दा
मेरो देउता खुनासिन्छ अरूको ताक पर्दा ।
किन गर्छौ गाली मलाई शोषक भनी ?
यति राम्रो शोषण गर्ने शक्ति ममा छ नि
शोषण शक्ति नभएका मरञ्च्याँसे भा’छन्
उपेक्षित भै संसारबाटै विदा भएर गा’छन् ।
पोषण भन्नु शोषण नै हो शोषण गर्नै पर्छ
शोषण गर्न नसक्ने त अजीर्ण भै मर्छ
पाचन शक्ति बढाउँदा नै शोषण हुन्छ राम्रो
खुराकीको शोषणबाटै ज्यू–ज्यान बन्छ हाम्रो ।
स्याउ जस्तो गाला मेरो त्यसै भएको हैन
कुभिण्डो झैँ ज्यान मेरो त्यसै भएको छैन
आलिशान भवन मैले त्यसै पा’को हैन
खाने मुखमा जुँगा मेरो त्यसै आ’को छैन ।
आफू मरे डुमै राजा शासन उसले गर्छ
समय र मौकामा नै चौका हान्नु पर्छ
जसले हान्यो उसले जान्यो भन्ने कुरा जानी
मोज गर्छु मस्ती गर्छु यही हो जिन्दगानी ।
आफ्नो प्राणभन्दा प्यारो ठान्दिनँ म अरू
कसका लागि मैले सेवा परोपकार गरूँ ?
किन गर्ने अरूको हित ? आफ्नै हित खोज्छु
विकल्पमा देश कि आफू ? आफूलाई नै रोज्छु ।
समय र अवसर हेरी कुरा मैले गर्छु
तिया, चौका, छक्का–पञ्जा सबै लागु गर्छु
वलियो कोही आयो भने शरण पनि पर्छु
निर्धालाई त बाघै बनी खान अघि सर्छु ।
आफ्नो हित नै संसारमा सर्र्वोपरि ठान्छु
कुर्ची पाउन विधिविधान सबलाई गोली हान्छु
आफ्नो गणलाई विरोधीले जित्न कहाँक दिन्छु ?
संविधान र देशको दौलत सबै हातमा लिन्छु ।
अनेक जाति, लिङ्ग, दल, तहैभित्र पनि
यस्तै मेरो चालामाला हावी भएको छ नि
स्वीकार गर÷इन्कार गर यही हो मेरो बोली
बताऊ अब शोषकलाई कसले हान्ने गोली ?
–पुण्यखोला, प्यूठान
(स्रोत : हाँक विक्ली – वर्ष ३१, अङ्क १८ – March 19, 2014 – २०७० चैत्र ५ गते, बुधबार)