~भवानी पाण्डे~
बिहान उठ्न अल्छी भएँ गृहकार्य थाती
साथीभाइ स्कुल पुगे म मात्रै छु बाँकी
ढिला भएँ गेटबाहिर परेँ म आज
साथीसँगी सबैमाझ परेँ म लाज
दिनैपिच्छे फरक–फरक गर्थें बहाना
पढ्नु–लेख्नुभन्दा हुन्थ्यो अर्कै चाहना
दिनैपिच्छे गर्नुपर्ने विद्यार्थीको कार्य
छलछाम गर्दागर्दै लाग्न थाल्यो शर्म
लक्ष्य कता जीवनको आफू हराएँ
गल्ती धेरै गर्दाखेरि आफैँ डराएँ
सम्झी ल्याउँदा शिक्षा रैछ जीवन तर्ने नाउ
आमा–बाबा, गुरुसँग खोजेँ धरै भाउ
राम्रोभन्दा नराम्रोमा अघि बढ्यो पाउ
खराब बानी–व्यवहारले लाग्यो ठुलो घाउ
पश्चात्ताप गर्दा पनि हुन्न अब केही
लाग्छ कहिले कपाल समाई बसिरहूँ रोई
(स्रोत : नेपालभूमी – २०७४ माघ १६ गते मङ्गलबार प्रकाशित अङ्कबाट)