पत्रकथा : आजलाई यति नै

~प्रकाशमणि दहाल~

मेरो राजा !

भनेजति र भनेजस्तो नभएकामा मलाई गुनासो होला भन्ने तिम्रो ठम्याइ अनुसार तिमीचाहिँ निकै गुनासोमा रहेछौ। मेरो यसमा प्रतिवाद छ तर बिनागुनासो कारण कोमाथि कसको कति हकदाबी? ‘पराई हुन्छन् सपना र खुसी अधूरै रहन्छन्/तैपनि जीवन गुजार्न केही भ्रम अनिवार्य बन्छन्’ भन्ने मानेपछि फेरी के गुनासो? जति जे मिल्ला, सकिएला ‘ग्रिस्ट फोर द मिल’ हो जीवन, ‘कठिन है राह गुजर थोडी देर साथ चलेँ ‘सँग बाँचेको ! मान्छे दु:ख भुलेझैँ वा सुख पाएझैँ रक्सी खान्छ, त्यसको व्यर्थता देखीदेखी, सिनेमा हेर्छ, संगीतमा डुब्छ, पत्थरको मूर्तिलाई नमस्ते गर्छ, कहिले त पञ्चबलिसहित…। तर, यथार्थबाट उम्किन सक्तैन। उम्किएको र बिर्सिएको बहानाबाहेक। वस्तुत: त्यति नै हो पनि यद्यपि त्यो भ्रमै होस्, आफैँलाई छक्याउनु एकछिन् र यथार्थमै नारनिु फेरी गुनासो गर्दै। होइन र?

तिमीलाई थाहा छ, हाम्रो प्रेम फाउ हो। तथाकथित कानुन, परम्परा, नैतिकताका दररेटविपरीत। तथाकथित किनभने पटकपटक चुँडिने र गाँसिने गाँठैगाँठायुक्त डोरीजस्तै बाहेक यहाँ कुनचाहिँ कानुन, नैतिकता वा परम्परा सद्दे र सर्वमान्य छ? हामी पनि कानुनत: तिमी उनको र म उनकी। तर, हामी के नै गर्न सक्छौँ जब प्रत्यक्ष डोरीले पशुलाई थाम्दैन, त्यसभन्दा गौण नैतिकताको डोरीले झन् बाठो मनवाला मान्छेलाई? यही मनकै कारण होइन र उसले बदनामीदेखि घरबारै तहसनहस पारेको अझ दायित्व अनुसार हजारौँ लाखौँको समेत र यही दोहोरो चरत्रि नै मान्छेको असली परचिय होइन र? हेर त एउटा बाबु वा आमा, एउटा शिक्षक, एउटा चिकित्सक, एउटा बसचालक, अझ एउटा नेताको मन अर्थात् सोच, चाहना र आचरणका कारण कतिको जीवनमा कति उतार-चढाव भइरहेको हुन्छ ! मात्रै व्यस्त दैनन्दिन भएका कारण त्यो यति गम्भीर लाग्दै लाग्दैन। हाम्रै देशको वर्तमान कहानी दुई-तीन वा पाँच-सात सारथिहरूका मनको देन होइन र? फेरी के गुनासो? सम्झ त : ‘ तिम्रा लागि एकछिनको रमझम मेरा लागि जुनीभरकिो पासो तर पनि मेरो छैन तिमीलाई गुनासो’ !

हुन त गुनासोबिनाको दुनियाँ हुँदैन, यद्यपि कसको गुनासोले के लछारपाटो लगाउनु? तिमी उनीसँगको गुनासोले मतिर ढल्किएका? तर, म हो इन। मलाई उनीसँग पनि गुनासो छैन। कारण, उनले पनि अरूले जस्तै उनको लाग्दो, जान्दो, सक्दो गर्ने त्यति त हो। तर, मान्छेलाई पुग्दैन, एउटै किताब पढेर, एउटै सहर डुलेर वा एउटै सिनेमा हेरेर वा एकपल्ट खाएर नपुगेजस्तै। कति किताब, सिनेमा, सहर कसरी डुल्दै-पढ्दै जाने मुख्य कुरा त्यत्ति हो। यद्यपि, हरेक किताब एउटा किताब, रहेक सिनेमा एउटा सिनेमा र हरेक सहर एउटा सहर हुन्छ। बस्, उस्तै करबि उस्तै। तर, मान्छे भौँतारइिरहन्छ अर्को र फेरी अर्को पात्र-प्रयासको खोजीमा जबसम्म पर्दा खस्दैन। यही भाैँतारो नै सायद जीवन हो भने कोकोसँग केके कति गुनासो?

‘जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बीँड’ भनेको यही होइन र? तिमी जति धेरै गोला खेलाउँछौ, उति ठूलो मदाडी, उति धेरै दर्शक मक्ख। एउटालाई मारे हत्यारा, सय-हजारलाई मारे हिरो। चुक्यौ भने खत्तम ! तब त भनिन्छ, ‘सा विद्या विमुक्तए। विद्या ही परमो धनम्।” अर्थात् ‘नलेज इज पावर ….।’ एउटै छ सर्त : जे गर ज्ञान वा ढंगपूर्वक गर ओबामा प्रभृत्तिले जस्तो, नाक नभाँचोस् सद्दाम वा लादेनको जस्तो। नत्र नआइछोड्दैन गुनासो ‘नाच्न जान्दैन आँगन टेढो’ भन्दै। यद्यपि, आँगन आँगन मात्र हुन्छन्, टेढो न सोझो। बिल क्लिन्टनको इतरसम्बन्ध कत्रो हाइहाइ भयो अझ कृष्णका सोह्र सय !

अस्ति एउटा साथीको ‘घरै पिँडालु, वनै पिँडालु, ससुराल गए बाह्रहाते पिँडालु’लाई राष्ट्रिय प्रसंगसँग जोडेर ‘२००७ सालअघि पनि गुनासो, पछि पनि गुनासो, ०६३ पछि त बाह्रहाते गुनासो’ बनाएको प्यारोडी सुन्दा गज्जब लाग्यो। यो पनि गुनासै होइन र अर्को शब्दमा?

साँच्चै ००७ सालअघि होस् वा पछि, नेपाली जनताको एउटै गुनासो रह्यो : राज्य वा शासक आफ्नो स्वार्थबाहेक जनताप्रति जिम्मेवार भएनन् तथा समग्र राष्ट्रको उन्नति उनीहरूको प्राथमिकतामा कहिल्यै परेन। बन्दुक बोक्ने र शास्त्रपुराण बक्ने एकमुठ्ठी समूहको भरमा जनतालाई कंगाल र देशलाई बेहाल राखेर राणाहरूले निरंकुश एकतान्त्रिक जहानियाँ शासन चलाएकामा ठूलो गुनासो भयो तर त्यो गएर पनि पिँडालु गएन। मात्रै राजाको पञ्चायती नामे हातमा सरेर झन् पन्ध्रहाते भयो। ०४६ मा त्यो पनि गयो तर पिँडालु गएन बरु झन् अठारहाते भएर नवनेताहरूसँग आयो, जब उनीहरूले पिँडालुको अन्त्य होइन, त्यसको माओवादी नामे झन् हिंसात्मक संस्करणचाहिँ जन्माए, जुन बल्ल ०६२/६३ मा विसर्जित भयो, संविधानसभा र गणतन्त्रको शुभ मुहूर्तसाथ। तर, पिँडालु गएन। उल्टो ‘शाही पिँडालु, कांग्रेसी पिँडालु, माओवादी त झन् पच्चीसहाते पिँडालु’ भयो र जनता ‘मानमाथि पनि भुक्तमान् थपिदिया कल्यै नछुट्न्या गरी’ भन्न थाले। अर्को शब्दमा गुनासो गएन।

बसमा महिला सिट लेखिएका ठाउँमा बसेका दुई युवतीसँग खुट्टामा डाक्टरी काम्रो बाँधेर लाठीका भरमा उभिएका जवान र ७५ वर्षतिरका व ृद्धको वाक्युद्ध परेको यहाँ प्रासंगिक हुनसक्छ। जसमा पितृसत्ताको अत्याचार र महिलाका नाममा अनेक सुविधा लिएर पुरुषलाई सताउने आचारको गुनासो र प्रतिगुनासो सुन्नलायक थियो।

एक हातले न ताली बज्छ, न झगडा वा विवादै हुन्छ। अर्द्धनारीश्वर, रथका पांग्रा, प्रकृति-पुरुष पनि त्यसैकारण भनिएको होला। तर, गुनासो छ अन्तरंगदेखि बहिरंगसम्मै, बोली फुटेदेखि वाक्य नबसुन्जेलसम्मै, गुप्त प्रेमदेखि खुला दाम्पत्य र सिंहासनदेखि सडकसम्मै छताछुल्ल छ गुनासो।

त्यसो त गुनासो न राजनीतिक विसंगति वा लिंगभेदसम्म सीमित हुन्छ, न यसलाई सुख-दु:ख वा अरू कुनै सर्तै चाहिन्छ। यातायात नहुँदा छैन, हुँदा मनपरी भाडा, धूलो, दुर्घटना आदिको गुनासोजस्तै। जीवनको कुन पक्ष, क्षेत्र वा काल गुनासोरहित थियो वा छ? साँच्चै क्षेत्रभेद, जातिभेद, रंगभेद, वर्गभेद, विचार वा दृष्टिभेद अझ एकै ठाउँमा खाब्जे परेका विभिन्न भेदको गुनासो कम पीडादायी होला? घटीबेसी, अघिपछि होला तर कहिले, कहाँ, कुन समाज भेदभाव र त्यसका कारण पीडित, खण्डित र श्रापित छैन? हो, धरती विविधतापूर्ण भइदियो तर सबैथोक एकनास, एक रंग, एक आकार, एक गुण भइदिएको भए? अझ तथाकथित धर्म, कानुन, वाद, विचार, क्षेत्र, लिंग विविधताका सम्पूर्ण विवादबाट निरपेक्ष ‘जो होचो उसका मुखमा घोचो’ कहीँ, कहिल्यै नसिद्धिएको यथार्थको क्षतिपूर्ति के गुनासो मात्रैले पुग्ला?

सायद अभिसप्त छ, मान्छे चेतनासँगै गाँसिएर होस् सम्भालेका दिनदेखि होस् नबिसाउन्जेल अभिन्न रहने गुनासोमा बाँच्न। उसको चाहनाको सीमा हुँदैन। अझ जति पूर्ति हुँदै गयो उति बढ्दै जान्छ भने त्यसका मार्गमा हजार व्यवधान हुन्छन्, आफ्नै भौतिक-बौद्धिक कमजोरीसमेत। त्यसबाहेक स्वभावत: ऊ सीमामा नबस्न, भएकामा सन्तुष्ट नहुन, आफ्नै कमजोरी नस्वीकार्न र सीधा मार्गमा मात्रै नहिँड्न, उल्टो त्यसै लाई गुनासो बनाउन र त्यसैका बहानामा हजारौँ विसंगति सिर्जेर गुनासो मात्र होइन, युद्धमय रहन अभिसप्त वा अभिदत्त छ। यसलाई मानवीयता र उसका विकासको कारक पनि ठानिन्छ। तर, उसका विकासको यो मोडेल र यो गति अनालोच्य भएन। आँसु बगाउँदै हाँसेको के हाँसो, हतारहतार भाग्दैभाग्दै खानुको के स्वाद ! सम्भवत: रविशंकर वा त्यस्ता बाबाहरूका पाठको सारांश यही हो (यद्यपि, उनीहरू स्वयंमा पनि कति लागू हुँदो हो !)। तर, मान्छे प्रबुद्धताको स्वैरकल्पनामा आफ्नै दाहिने र देव्रे हातलाई भेद गर्न, छोरा र छोरीलाई छुट्याउन, साइला -माइला आनामानी गर्न छोड्दैन, अरूले चाहिँ त्यसो नगरुन् भन्दै र यही भेदाभेदजनित गुनासोमा उम्लिरहन्छ, पुन:पुन: आपसमै जुध्छ, थला पर्छ, उठ्छ र यही दोहोर्याइरहन्छ !

वस्तुत: ऊ एक दिनको काम एक वर्षमा पनि गर्दैन, सय रुपियाँले हुनेमा हजारले पुर्याउँदैन, हजारलाई पुग्ने एक्लै उडाउँछ, बातैले हुनेमा लात चलाउँछ, पसिनैले पुग्नेमा रगत बगाउँछ, हाँसेरै हुनेमा रुन्छ/रुवाउँछ, उँधो बगाएर उँभो खोज्छ (हाम्रो देशमा शान्ति र संविधान खोजेजस्तै) अनि हजार गुनासो गर्छ : सामान्यीकरणमा हराएको एउटा नित्य सत्य !

सम्भवत: त्यसैले गुनासोका पनि साधार-निराधार, आत्मपरक-वस्तुपरक, स्वपरक-परपरक, कार्यप्रायोजित-अनुभूति प्रायोजित अनेक वर्गीकरण हुँदा हुन्।

लाग्छ, गुनासोकै बीउबाट परिवार, समाज, संगठन, सम्प्रदाय हुँदै क्रमश: वाद, विचार, रंग, वर्ण, वर्ग उम्रिए। तर, गुनासो सिद्धिएन अनि त्यसमा दिव्यताको प्लास्टर थोपरयिो, सर्वजनहितायको रंग चढाइयो, प्रेम र अपनत्वको सुगन्ध दलियो, राष्ट्रियता-जातीयताको दुहाइ मिसाइयो तर त्यसैका आडमा आफैँ मात्र ठूलो, राम्रो र सुखी हुने सिलसिला र त्यसका निमित्त साम, दाम, दण्ड, भेदको पुरुषार्थ पनि समानान्तर चलिरह्यो। एक शब्दमा जीवन जिउने, विकसित पार्ने सँगै जिउन निषेध गर्ने अर्थात् एकमुठी बलिया-बांगाको जियाइलाई विशेष पार्न प्रकृति र प्रकृतिका सन्तानलाई सीमा लगाएर रत्तिै हुन्जेल लुट्न र लुटलाई अक्षुण्ण साँच्न, त्यसको उन्मादमा एक्लाएक्लै नाच्नमै मात्र विश्वास राख्न, त्यसकै तमतयारीमा व्यस्त रहन र धेरैधेरै त्यसका आलोचकलाई ठेगान लगाउन सकेकामा मक्ख हुनुलाई मात्र असल जीवन भन्नेमा विश्वास गरयिो। फलत: जीवन भनेको हिसाबकिताब, भेद, श्रेणी, वर्ग हो भन्ने स्थापित भयो र त्यसैसँग विकसित भइरहे गुनासोका उन्नत रूप आक्रोश, विद्रोह र युद्धका अनन्त शृंखला पनि। लर्ड अफ द फ्लाइजमा जस्तै अन्तत: खेलतमासा, मनोरञ्जन, हाँसख्याल, शिक्षा, शास्त्रसमेत खोसाखोस, भागाभाग, खेदाखेद, मारामार सबै गुनासो र प्रतिगुनासोमय बन्यो। निष्कन्टक लुट्ने, मन लागेको जम्मै गर्ने र प्रकृतिको सबै देन एक्लै सोहोर्ने मार्गका प्रतिस्पर्धा र अवरोधमा गुनासो कसैलाई भयो भने कसैलाई सामान्य बाँच्नुका प्रतिबन्ध र त्यसको प्रतिकारको असमर्थतामा। फलत: जीवन अनन्त रणभूमिकृत भयो, वीर भोज्या वसुन्धरा !

पछिल्लो समय खासगरी पश्चिमा नवजागरण वा पुन:जागरण र क्रमश: बौद्धिक-औद्योगिक क्रान्तिपछि यही आदर्शका खोलमा अग्लिएर सामन्तवादलाई पाखा लगाउँदै आएको पुँजीवादी प्रजातन्त्र पनि दुई-दुईवटा महाविनाशक साम्राज्यवादी विश्वयुद्धद्वारा थेचारिएपछि सवर् साधारणको एक मात्र हिमायती भन्ने डंका पिट्दै आएको मार्क्सवादले झन् ठूलो गुनासोको खेती गर्यो, सामन्तबाट पुँजीवादी अनि प्रजातान्त्रिक बनेका भेदभावका उनै सौदागरहरूले । निधारमा मार्क्सवादी टाँचा लगाउन थालेपछि अनि झन् अवरुद्ध भयो सभ्यता र झन् विकराल गुनासो।

के गुनासोरहित बन्न नसक्ला यो दुनियाँ? के छ त्यसको अन्तिम सर्त? घरीघरी उठिरहन्छ यो प्रश्न निरुत्तर-निरुत्तर। राम-कृष्णको युद्ध, सोक्रेटस-प्लेटोको चिन्तन, मार्क्सको अन्वेषण, लेनिनको प्रयोग, ईशु, बुद्ध, गान्धीको सहिष्णुता, कान्ट-कन्फुसियस-लाओत्सेको ज्ञान के सम्पूर्ण व्यर्थ हुन् त?

लाग्छ, गुनासोरहित हुँदैन मान्छे, न्यूनीकृत होला। मानवलगायत प्रकृतिमा हुने विविधतालाई एक्लै उच्चिने स्वार्थका निमित्त नभएर कुशलतापूवर् क मन हुनेको मन मिलाई तन मात्र हुनेको अस्तित्व नमासी सबैको योग्यता, योगदान, आवश्यकता अनुसार स्थान, मान, पालन हुनसके कायर् प्रायोजित साधार गुनासो पक्कै घट्दो हो। यो भनेको व्यवस्थापन मात्र हो, जुन आज समस्या भएको छ र मानवीय ज्ञानका उचाइको परीक्षण। तर, उसले ईशुको ‘अर्काको मनलाई पनि आफ्नैजस्तो ठानेर’ लेखनाथको ‘मै खाउँ मै लाउँ’लाई बुझ्ने र तदनुरूप व्यवस्थित गर्ने समझदारी, संयम, सीप देखायो भने यसको न्यूनीकरण टाढा छैन।

लाग्छ, तिम्रो गुनासो पनि व्यवस्थापनकै पर्खाइमा छ र त्यो भनेको ‘मैले भनेजस्तो’मात्र पक्कै होइन। आजलाई यत्ति नै।

तिम्री रानी ।

prakashmanidahal@gmail.com

(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक अङ्क ४६४)

This entry was posted in पत्र साहित्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.