~यकिना अगाध~
देशमा गणतन्त्र आयो । सबैतिर खुशी र उमंगको दीपावली भयो । सबैजना भन्न थाले– अब दुःख हरण भयो, सुखको दिन आयो ।
केही समयपछि चुनावको घोषणा गरियो । प्रतिस्पर्धीहरु गाउ गाउ पस्यो । पहिला रावण आयो र सीता पुत्री हरण गरेर लग्यो । लगतै राम आयो र हनुमान पुत्र लिएर गयो । त्यसपछि कहिल्यै न रावण, न राम, न सीता, न हनुमान कोही पनि फर्केर गाउ आएनन् ।
बेलाबखत खबरहरु मात्र सुनिन्छन् । कहिले सुनिन्छ– रावण पक्षको जीत भएको छ र राक्षसीराज्य गर्दैछन् । कहिले सुनिन्छ– राम पक्षको जीत भएको छ र रामराज्य चलाउँदै छन् ।
यता गाउमा भने सबै सीता पुत्री र हनुमान पुत्रहरुका बुढाबुढी बा आमा, पुष्पा बिमान चढेर भाग्नलाई उमेर नपुगेका स–साना केटाकेटीहरु मात्र छन् । जो एकमुठी सास धान्ने उपाय नपाएर कालसँग पैठाजोरी खेल्दैछन् । विचरा उनीहरुको निम्ति जुनसुकै व्यवस्थाको तन्त्र पनि कागलाई बेल बन्यो ।