~प्रह्लाद पोख्रेल~
सधैँ देख्दा आफ्नै वरिपरि नराम्रा गतिविधि
तिमी टाढा भागी किन मन दुखायौ यतिविधि ?
खनेका छौँ खैरो अपरिमित आन्दोलित बनी
जमे हाम्रा सारा मगज, मुटु, नाडी र धमनी।
तिमी ब‚दा साथै स्वपरिचय आफ्नो पनि थियो
तिमी लाग्यौ अन्तै अपरिचय पो ठिङ्ग उभियो
भयो नौलो भाषा अपरिचित आश्चर्यचकित !
निराशा वाणीमा अरूचिमय उल्लासरहित !!
न तिम्रो मायामा रूचिकर कुनै काव्य रचियो
न तिम्रो रक्षामा क्षणभर कुनै काम गरियो
सबै खेद्नै लाग्यौं अनवरत उल्टो गतिसित
त्यसैले भो तिम्रो तन र मन अत्यन्त गलित।
तिमी आ‚था बोल्थ्यौ समय पनि उत्प्रेरक थियो
सबै भन्थे – तिम्रो परिचय सधैँ उज्ज्वल दियो
निभायौँ हामीले झलमल बलेको जब दियो
खरानी भो ऊर्जा अभिलषित यात्रा छिरलियो।
उभिन्डो बानीले पलपल पिरोल्यौँ तर पनि
क्षमाशाली बन्दै श्रमसित सजाऊ न सपनी
तिमी आऊ, टाढा परपर नजाऊ वर बस
सबै नेपालीका मन र मुटुभित्रै अब पस।
(स्रोत : मधुपर्क २०७० कात्तिक)