~प्रकाश सुनुवार ‘निराकार’~
भत्किंदै चुलिएका मनहरु
लगातार प्रहार भइदिंदा
एस्तो लाग्छ
रोपिएको कोमल प्रेम फेरि पनि ढले भने
सजाय विछोड सम्झी
भोगी सहिदिउँला बरु ।
भत्किनुको पिडा बोकेर
सुनामी भन्दा विभत्स छाल छछल्कीएर
सिसा जस्तै छार्लाम्छुर्लुम् चर्किएर
विक्षिप्त अनुभुति बटुलिरहेकै बेला
यो मन फेरि
कुनै सिमा र शर्त नराखी
सगरमाथा होचो बनाइदिने गरि चुलिदिन्छ ।
र त्यसरी आकाशिएका मनहरु
बादलहरु भित्र दुख लिपेर
रिसाइकल भइ दिन्छन्
अघिल्लो घाउ पुरिन नपाउँदै
नयाँ घाउमा मलम दल्छन्
यो नियमीत छ
सिलसिलेवार छ ।
प्रहार यस्तो भइदिन्छ
भत्किनुमा कुनै पिडा वाँकि राख्तैन
एकै झट्कामा
सागरको पिंधमा पु¥याएर कुचिदिन्छ
तर पनि पटक पटक
फुलिदिने तयारी गरिरहन्छ
रिसाइकल मनहरु ।
(२८ मार्च २०१०, फार्नबोरो)
(स्रोत : रचनाकारको ब्लगबाट सभार)