बहरबद्ध गजल : के नै भनूँ साथी ?

~शेखर ‘अस्तित्व’~

बहरको नाश गर्दैमा गजल के नै भनूँ साथी ?
सबैले ‘वाह’ भन्दैमा गजल के नै भनूँ साथी ?

गजल हो भन्नको लागि गजलका तत्व चाहिन्छन् !
कुनै ‘ठूला’ ले रच्दैमा गजल के नै भनूँ साथी ?

मलाई छैन यो मतलब कि कसको रै’छ त्यो रचना !
कसैको नाम चल्दैमा गजल के नै भनूँ साथी ?

कहाँ लेख्या छ यो भन्नुस कि अग्रज गल्ती गर्दैनन् ?
सिंहासनमाथि बस्दैमा गजल के नै भनूँ साथी ?

छ जसमा काफिया मात्रै त्यो ‘तुकबन्दी’ गजल हुन्न !
म ताली मात्र बज्दैमा गजल के नै भनूँ साथी ?

यहाँको ‘व्यक्ति-पूजा’को चलन यो आत्मघाती हो !
सबैले नाम जप्दैमा गजल के नै भनूँ साथी ?

गजलको व्याकरण, जम्मै नियम छन् पूर्व निर्धारित !
जबरजस्ती झगड्दैमा गजल के नै भनूँ साथी ?

कुनै जन्मान्धले – ‘यो घाम कालो हो’ भने जस्तै !
अहम् को पाठ पढ्दैमा गजल के नै भनूँ साथी ?

विधाता छन्द -बहरे हजज मसुम्मन सालिम) १६ अक्षर
य.र.त.म.य.गु (।sss.।sss.।sss.।sss) (मफार्इलुन् x ४) रुक्नमा आधारित

बुटवल–६
हाल : मुम्बई,

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.