~गोविन्ददेव आचार्य~
छन्द :- शार्दूलविक्रीडित
दोस्राले रुन, डर्न, भाग्न नपरोस् मेरा कुनै काममा
निन्दा गर्न, खसाल्न, थुक्न नसकून् आचार वा नाममा
सारा वैभव, मान यो समयले पारोस् खरानी बरु
मेरो “मानिस” एक नाम नमरोस् ! चाहिन्न केही अरू !
मेरो “मन्दिर” आर्तका घर बनून् सेवा बनोस् पूजन
झर्दै तर्तर आँसुले जखममा बग्दै गरोस् सिञ्चन
बोली वेद र नम्रता जपन होस्, सौहार्द लाजा-चरु
पीडाभित्र सवार ईश्वर चिनूँ ! चाहिन्न केही अरू !!
“तिर्खा” लोभविना म सेवक बनूँ साहित्य सेवा गरूँ
आफ्नै राष्ट्र-समाज चित्रण गरी भाका र सज्जा भरूँ
लेखूँ सत्य र तथ्य ! अस्त्रबलले घाँटी छिनालोस् बरु
मेरा सामु कला र शिल्प उभिए चाहिन्न केही अरू !!
दर्जा, मान, उपाधि मर्छ अडिने मौका नपाएपछि
माला, च्यादर, रङ्ग बग्छ जलमा थापी नुहाएपछि
अग्लेको दरबार उच्च पद वा त्यागूँ म मस्तीहरू
हाँसोस् प्रेम भरेर “राम झुपडी” चाहिन्न केही अरू !!
ज्यादा दूर-समीप मित्र नबनून् होऊन् सबै औसत
चर्को कष्ट, अभाव भोग्नु नपरोस्, ज्यादा नहूँ उन्नत
होऊन् दैनिक छाक टार्न सकिने खाना-खजानाहरू
नाचोस् पेट भरेर गुन्द्रुक-ढिँडो ! चाहिन्न केही अरू !!
लम्काऊँ सहयोगका भुजहरू फर्की निहत्थातिर
पूरा जीवन सभ्य सार्थक बनोस् “कल्याणको मन्दिर”
जाँदा लान सकिन्न दौलत कुनै गोदाम, खाताहरू
बाँचेसम्म सदैव “मानिस” बनूँ ! चाहिन्न केही अरू !!
मेरो जीवन लोभियोस् लगनमा ! सम्मानभन्दा अघि
“मान्छे”को शुभ नाम धारण गरोस् “विद्वान”भन्दा अघि
मेरो देह ढलेर “पार्थिव” हुँदा दर्केर आँखाहरू
रोऊन् लास-समीप मानिस बसी ! चाहिन्न केही अरू !!
– विदुर न•पा• 3 शेरा, नुवाकोट ।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)