टेक्छु पट्यार कोलाहल
र गन्छु औंला भाची समय
उन्मुक्त दिनहरु
कल्पन्छु
मात्रै फक्रोस उज्यालो
तर पाहुना साझ
टुप्लुकिए पछि
परदेसीन्छ दिन
क्रमश…
जीन्दगीको
कुर्इनेटो नाप्दै
आरोह अवरोहमा
छलाङ्ग मार्दै उमेर
बगी रहे
युगसंग सुसेली हालेर
बाच्नु शब्दजालसंग मुछीदै
वेहिसावकिताप
विरानीन्छ दिन
सदा झैं घाम
छाद्छ उज्यालो
र बुनिन्छन् सपनाहरु अनेक
अनि कोर्न खोज्छु त्यसलाई
खोपडीको क्यान्भाषमा
भ्रमका र वास्तविकताका
नक्साहरु
त्यो पनि अध्यारोले चाट्दा
आकार नवनिदै
भत्किन्छ दिन
जीवनले
कर्तब्यका पाईलाहरु
कुल्चदै
भीरको यात्रा
छिचोल्न खोज्दा
झन तन्किछ समय डोरी
हत्तारोमा घामका प्रकाशहरु
छेक्न खोज्छु
पाउभरि
र छाम्छु उज्यालो
तर त्यसै मेटिन्छ दिन
यूग हुन्छ भनेर
अल्मलिदा
फड्को मार्छ एक्कासी शताब्दिले
क्षणसंग
सन्धि गर्न खोज्दा
छुट्छन् आग्रहका हातहरु
नरोकिएको प्रवाह
कैयौ प्रयासको बाँध हाल्दा पनि
हेर्दा हेर्दै
चिप्लिन्छ दिन
(स्रोत : कविता कुसुम)