गीति कविता : गरिबको दिन

~मनु वि.क.~

फेरि आयो तीज आमा नेपालीको आँगन
दिदीबहिनी छैनन् घरमा रुन्छ यो मन

दाजुभाई दिदीबहिनी विदेशमा गएका
धेरै वर्ष बितिसक्यो छैनन् आएका

विदेशबाट खबर राम्रो कहिल्यै पनि आएन
देशमा हुँदा होचे जस्तो कहिल्यै भएन

दलालले गफ लायो, हुन्छ राम्रो भनेर
आँसु मै जीवन बित्यो दिन गनेर

एउटी दिदी बेचिइछन् अर्की यौन शिकार
नेपालीको जीवन, बर्बाद भयो बेकार

रोजीरोटी देशमा नपाई परदेशमा जानुछ
शोषण,दमन,हत्या, हिंसा सबै सहनु छ

मालिकबाट गरिएका थिचोमिचो लाख छन्
भन्ने, बोल्ने सुन्ने छैन एक बात झन्

यो देशको बेथितिले परदेश लाग्नु परेको
गरिबको दुःख हेर छैन हरेको

नयाँ नयाँ सत्ता आयो धनी जाली मोटायो
देश बनाउने जनतालाई विदेश पठायो

सत्ताधारी गरिबकै पसिनामा अमन
गरिबलाई बस्न खान कहिल्यै भएन

फर्क अब परदेशी देश राम्रो बनाउँला
सबल देश बनाई हामी बल्ल रमाउँला

(स्रोत : हाँक विक्ली – वर्ष २९, अंक ४३ – Sep. 12, 2012 – २०६९ भाद्र २७ गते, बुधबार)

This entry was posted in गीति कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.