छन्द कविता : आँधी हुरीमा कावा खाँदै

~रामप्रकाश पुरी~

छन्द : समानिका, वातोर्मी


राजनीति देशमा
चल्छ रीतहीनको ।
शक्ति मादमत्त भो
पोल्छ गोठ दीनको ।।

राजनीति देशमा
काल हुन्छ दीनको ।
राज चल्छ जंगको
जाल बन्छ हीनको ।।

जंग चल्छ देशमा
भेल बग्छ रक्तको ।
घाम डुब्छ ओठमा
खेल हुन्छ द्वन्द्वको ।।

उठ्छ अग्निको फणा
जिन्दगी लपेटछ झन् ।
मर्छ शस्त्रहीन त्यो
रक्तले भरिन्छ झन् ।।

युद्ध हो कि बुद्ध हो
क्रोस हो कि शान्ति हो ?
मुक्ति हो कि मृत्यु हो
क्रान्ति हो कि भ्रान्ति हो ??

युद्ध भेषमा थियो
शस्त्रमा सजाउने ।
बुद्ध भन्नु के गरी
रक्तमा निदाउने ।।

क्रान्ति भेषमा थियो
भेल गड्गडाउने ।
भ्रान्ति भन्नु के गरी
दाँत कट्कटाउने ।।

मुक्तिको कुरा थियो
जिन्दगी निशासरी ।
मृत्यु साथमा थियो
बन्धकी कठैवरी ।।

हाय ¤ जिन्दगी भनी
आँसु बग्छ बेसरी ।
गोलीमा छ प्राण नै
आर्त कालमा घरी ।।
१०
“भाग भाग चोर हो”
नाद हुन्छ रातमा ।
ड्याड्ड बन्दुकै भई
पस्छ कम्प आँतमा ।।….

(रामप्रकाश पुरीको “विचरण महाकाव्य” बाट)

(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक ७ – Dec. 26, 2012 – २०६९ पौष ११ गते, बुधबार)

This entry was posted in छन्द कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.