~गोविन्दप्रसाद आचार्य~
सहिद तिमीलाई फूलको गुच्छा दिएँ
तर तिम्रो यात्रामा साथ दिन सकिनँ
सहिद तिमीलाई रगत धर्तीमा पोख्न लगाएँ
तर म एक थोपा पोख्न सकिनँ
तिमी मरेर बाँचेछौँ म खाएर मरेछु
तिमी फाँसीमा झुण्डिएछौ
म मस्तीमा झुम्मिएछु
तिम्रा सपनाहरू मेरो निद्रामा देख्ने गर्छु
र, तिम्रो अमरत्वका दिनहरू
मेरो खुशीमा देख्ने गर्छु
तिम्रो मृत्युका क्षणलाई साधुवाद दिन मन लाग्छ
किनकि म दम फुलाउँदै छाती फुलाएर
निर्भिकतापूर्वक बाँचिरहेछु
सहिद तिमी मेरो सहारा
त्यसैले स्वास्नीका आँसु
र, औपचारिकताका पूmलका गुच्छा दिन्छु
तिमी यो देख्न सक्तैनौँ, कति हाँसिरहेछ ?
तिमी यो स्वप्न देख्न सक्तैनौँ,
तलाहरू कति थपिदो रहेछ ?
सहिद तिम्रो नाम नलिँदा
म बिटुलो भए झैँ लाग्छ
किनकि त्यो भन्दा भ्रमको ठूलो मन्त्र छैन ।
सहिद म तिम्रो गीत गाउने गर्छु
किनकि पूmल तिमीले टिपेको हो
स्वाद मेरो जिब्रोमा रसाउँछन्
प्रकृति पूmल फुलाउँछ, चुस्ने मौरी हुन्छ
बटुल्ने मौरी हुन्छ, काढ्ने मान्छे हुन्छन्
ज्यान तिम्रो जान्छ, बाटो अर्कैको खुल्छ
काम तिम्रो हुन्छ, माम अर्कैैको हुन्छ
मेरो बिन्ती छ सहिद
तिम्रा सन्तानले खुशीका रहर नभँचिदिउन्
मेरो बिन्ती छ सहिद
तिम्रो रगतमा हुर्किएको मेरो भाग्यको भग्नावशेष
कसैले नभत्काइदिउन्
म तिमीलाई पूmलको गुच्छा दिउँला
तिमी मलाई अगाडि बढ्ने अवसर देऊ
म तिमीलाई श्रद्धाका रित्ता अँजुली र मीठो भाषण दिन्छु
तिमी मलाई कहिल्यै नढल्ने दरिलो शासनसत्ता देऊ
सहिद तिमी मेरो जग, अनि खम्बा हौ
त्यसैले भरोसा तिमीमा गर्छु
सहिद तिम्रो मलाई माया लाग्छ
त्यसैले तिम्रो तस्विर, अनि शालिकमा सम्मान व्यक्त गर्छु
सहिद म तिम्रो सालिकमा दुई थोपा आँसु दिन्छु
तिमी मलाई त्यो कला देऊ
जसलाई सबैले आनन्दको कला मान्ने गर्छन्
म तिमीलाई स्वागत गर्छु
किनकि मैले पेट पनि भर्नु परेको छ
तिमी मेरो स्वादिष्ट गास पनि बनेका छौ
तिमी विना म हाँस्न सक्दिनँ सहिद
किनकि तिमी मेरो जीवनको साहस बनेका छौ
सहिद सपनाहरू बिपना हुँदा रहेछन्
किनकि मैले गरेको जीवन यात्रामा
पूmलैपूmलको वासना मात्र आउँछ
तिमी मेरो शीतल पानी र हावा हौ सहिद
किनकि मैले आनन्दको अनुभूति पाइरहेछु
सहिद म जीवनमा तिम्रो सहानुभूति खाइरहेछु
तिम्रो सपनाका फलहरू
मेरा हातले बिपनामा टिप्ने गर्छन्
रगत तिम्रो बगेको हो, खुशी मभित्र मुस्कुराउँछन्
शरीर तिम्रो ढलेको थियो, सुख मभित्र मौलाउँछन्
बिउ तिमीले छरेको हो, फल मेरा हातले टिप्ने गर्छन्
परिक्षा तिमीले दिएको हो, नतिजाले मेरो जीवन सजाउँछन्
तिमी मलाई जीवनभरि उत्साह, गौरवको हाँसो देऊ
सहिद तिमी मेरो झोलीका, अनी कुलका देउता हौ
त्यसैले मान, नाम, माम कमाएको छु
मलाई जीवन फुलेको हेर्ने रहर छ
त्यसको जल, मल, तिम्रो रगत र शरिरलाई मानेको छु
तिमी इतिहास र शालिकमा बाँच्छौ
म सुखसयलको जीवनमा बँँच्छु
तिमी मानव हृदयमा बस्छौ
म भौतिक संसारमा बस्छु
तिमी हार्दिक माया पाउँछौ
म तर्साएर लाठीको भरमा सम्मान पाउँछु
तिमी मलिलो माया पाउँछौ
म रुखो मन कुँडिएको अनि चुँडिएको माया पाउँछु
सहिद मैले माया पैसाले किन्नु पर्छ
सहिद मैले बन्दुक देखाएर सम्मानित हुनु पर्छ
तिम्रो शालिकमा जीवन छैन, त्यसैले स्वतन्त्र छ
मभित्र जीवन छ
त्यसैले बन्धन छ, जीवन छ, त्रासले लुकेर बस्नु पर्छ
मन छ, तर डरको पोको बोकेको छ
म तिमीलाई सम्झनाका भाव दिन्छु
तिमी मलाई उच्चताका पखेटा देऊ
तिमी मलाई वामनको अवतार देउ
तिम्रा सपना सजिन्छन् मेरा सपना बालि भई लहराउाछन् ।
तिमी शीर दिएर वीर भएछौ
म शीर बोकेर कसैका मुठुको तीर भएछु
तिमी गोलीका शिकार भएछौ
मैले गोलीले शिकार बनाएछु
सहिद मभित्र तिम्रो शब्द, अनी सम्झना मात्र बाँकी छ
किनकि म नविन मस्तीको दुनियामा पसिसकेको छु….
सहिद, म मेरा हिजोको तस्विर आज चिन्दनँ
किनकि म आजको मात्र चश्मा लगाएको छु
या आँखाको हेराइ परिवर्तन गरिसकेको छु
सहिद, तिम्री आमाले मसँग तिम्रा सपना माग्दा
मैले आजको के अनुहार देखाउँला ?
सहिद, तिम्रा सन्तानले मसँग तिम्रो हिजोको तस्विर मागे
म केवल तिम्रो सालिक देखाउँला
सहिद, मैले हिजोलाई सम्झना गरे वर्तमान भत्काउनु पर्छ
सहिद, मेरो अतीतको बाकस खोलेर
रगत मासु सबै नयाँ फेरिसकेको छ
सहिद, रातो रगत न हो
पखाले पखालिँदो रहेछ
सहिद, शरीर हाड मासु न हो
अँखिर माटोमा मिल्दो रहेछ
सहिद तिमीलाई सुगन्धित धुपको
अनि पूलको मालाले सम्मान गर्दा
मनको कुनामा रहेको हिजो झस्किन्छ
मैले शब्दको उज्यालोमा तिम्रो नाम पढ्नु पर्छ
किनकि त्यहाँ तिम्रा सपनाका भाकाले
बढ्याइँका जेरी पकाउनु पर्छ
सहिद, सुधारको चास्नीमा भविष्यका योजना बनाउनु पर्छ
सहिद मसँग कसैले केही मागे
तिम्रो सपना देखाइदिनु पर्छ
सहिद, मैले धर्ती बिर्सेर पनि तिम्रो सपना साँच्नु पर्छ
किनकि त्यसभित्र मेरो जीवन बाच्नु पर्छ
सहिद, हिजो लागेका चोटहरू वर्तमानले मेटिसकेको छ
जीवन खरीअक्षर जस्तै जो मेट्दा मेटिदो रहेछ
जीवन सुकेको पात
जसलाई घात–प्रतिघातको झिल्काले खरानी पार्दो रहेछ
वसन्तको हरियाली आउँदा
पालुवा, हरिया बोट सहिदको सपना भएर पाउने गर्छ
ग्रिष्म सहिदकै सपना भएर तात्ने गर्छ
बर्षा सहिदको सपना भएर बर्सिने गर्छ
शरद सहिदकै सपना भएर पूmल्ने गर्छ
हेमन्त सहीदकै सपना भएर चिसिँदै कठ्याङ्ग्रिने गर्छ
शिशिी धुलो, मैलोसँग सहिदका सपना उडाउने गर्छ
चन्द्रमा सहिदका शीतल सपना पोख्ने गर्छ
सूर्य कुनै बेला न्यानो कुनै बेला चर्को भएर
सहिदका सपना तात्ने गर्छ
चराहरू बिहानसँगै सहिदका सपनामा चिर्बिराउने गर्छन्
असिना, रूखपात नाङगा पार्दै
सहिदका सपनाका पसिना झार्ने गर्छन्
जीवन त्रस्त छन् भोको खडेरीले सताएका
तैपनि सहीदका सपना भन्छन्
पूmर्तिहरू ओइलाएका छन्
सासभित्र सहिदका सपना भन्छन्
अस्पतालका बिरामीहरू औषधी निल्दा
सहिदका सपना भन्दै निल्ने गर्छन्
ठूला होटेलका बैठकहरू रक्सी नशामा
सहिदका सपना फलाक्ने गर्छन्
पधेर्नीहरू गाग्रीभरी सहिदका सपना बोक्ने गर्छन्
प्रेमी र प्रेमिकाहरू मायाप्रीतिको बैँशालु रहरमा
सहिदका सपना गाँस्ने गर्छन्
ओठ निचोर्दा दुध निस्कने कलिला तोते बोलीभरि
सहिदको सपना बोल्ने गर्छन्
आमाको स्तनपान गर्ने शिशुहरू दुधभरि
सहिदका सपना चुस्ने गर्छन्
गरिबी निवारणका योजनाका कागजभरि कोरिएका बुट्टे अक्षरमा
सहिदको सपना सिर्जिन्छन्
खहरे अनि नदीहरू गड्गडाउँदै कलकलाउँदै
सहिदका सपना बग्ने गर्छन्
मान्छेका गर्धनमा बज्रिएका धारिला खुकुरी
सहिदका सपना काट्ने गर्छन्
ठुस्स गन्हाउने दाँतगिँजाहरू
सहिदको सपना गन्हाउने गर्छन्
सहिद, म तिम्रा लागि वर्षको एक दिन छुट्याएको छु
रित्तो हात जान लाज लाग्छ
पूmलको गुच्छा समाउँछु
मेरा सफा हातमा पूmलको मैलो दाग लाग्ने डर लाग्छ
चञ्चले मनलाई तिम्रो शोक मनाउन रोक्न खोज्छु
तर षडयन्त्रको आँधीले उडाइदिन्छ
वामपुड्के अग्लो बन्ने दाउमा तिम्रो सपना देख्छ
पसले महङ्गो भाउमा तिम्रा सपना बेच्छ
जोगी तिम्रो सपनाका खरानी घस्छ
सारङ्गी तिम्रो सपनाका तार रेट्ने गर्छ
यस्तो लाग्छ सहिद
तिमी हावाका कणकणमा उडिरहेछौ
मोटरका पाङ्ग्रा बनेर दौडिरहेछौ
तिम्रा तस्विरहरू भित्तामा टाँसिएका छन्
जीवनका पेटहरू तिमीसँग गाँसिएका छन्
श्रमका खेतहरू तिम्रो अभावमा बाँझिएका छन्
सपना नदेख्नेहरू तिमी विना कुँजिएका छन्
सपना देख्नेहरू देउता बनेर पुजिएका छन्
नाता रगतको साइनो मानवताको मित्रता हार्दिकताको
जीवन माटोको सपना, निदाएका आँखाको भावना
जीवन र जगतको परिवर्तन
समाज अनि युगको
क्रान्ति रगतको शान्ति गास, बास कपासको
श्रम हात अनि, मूल्यको, विद्रोह अनिकालको
(समाप्त)
(स्रोत : हाँक विक्ली – वर्ष ३१, अङ्क ११ – Feb.5, 2014 – २०७० माघ २२ गते, बुधबार)