शोधपत्र : विष्णु भण्डारीको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन

~ध्रुवराज ढकाल~

विष्णु भण्डारीको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन
त्रिभुवन विश्वविद्यालय मानविकी तथा समाजशास्त्र
सङ्काय अन्तर्गत स्नातकोत्तर–तह नेपाली
द्वितीय वर्षको दशौँ–पत्रको
प्रयोजनका लागि
प्रस्तुत

शोधपत्र

शोधार्थी
ध्रुवराज ढकाल
नेपाली केन्द्रीय विभाग
कीर्तिपुर, काठमाडौं
२०७०


शोधनिर्देशकको सिफारिस

त्रिभुवन विश्वविद्यालय मानविकी तथा समाजशास्त्र सङ्काय अन्तर्गत नेपाली केन्द्रीय विभाग स्नातकोत्तर तह दोस्रो वर्षको दशौँ पत्रको प्रयोजनका निम्ति ध्रुवराज ढकालले ‘विष्णु भण्डारीको जीवनी, व्यक्तित्व, कृतित्वको अध्ययन’ शीर्षकको शोधपत्र मेरो निर्देशनमा निकै मेहनतका साथ तयार गर्नु भएको हो । उक्त शोधपत्र आवश्यक मूल्याङ्कनका निम्ति विभागसमक्ष प्रस्तुत गर्न सिफारिस गर्दछु ।
मिति : २०७०/९/२६
………………..
ईश्वरीप्रसाद गैरे
उपप्राध्यापक
नेपाली केन्द्रीय विभाग
त्रि.वि.कीर्तिपुर
काठमाडौं

त्रिभुवन विश्वविद्यालय
मानविकी तथा समाजशास्त्र सङ्काय
नेपाली केन्द्रीय विभाग, कीर्तिपुर
स्वीकृतिपत्र

त्रिभुवन विश्वविद्यालय मानविकी तथा समाजशास्त्र सङ्काय अन्तर्गत विश्वविद्यालयका छात्र ध्रुवराज ढकालले त्रि.वि. स्नातकोत्तर तह (एम.ए.) मा नेपाली विषयको दशौँ पत्रको प्रयोजनका लागि गर्नुभएको ‘विष्णु भण्डारीको जीवनी, व्यक्तित्व, कृतित्वको अध्ययन’ नामक शोधपत्र स्वीकृत गरिएको छ ।
शोत्रपत्र मूल्याङ्कन समिति
१. विभागीय प्रमुख प्रा.डा. देवीप्रसाद गौतम
२. शोधनिर्देशक उपप्रा. ईश्वरीप्रसाद गैरे
३. बह्य परीक्षक प्रा. मोहनराज शर्मा
मिति : २०७०/१०/०९


कृतज्ञता ज्ञापन

प्रस्तुत ‘विष्णु भण्डारीको जीवनी, व्यक्तित्व, कृतित्वको अध्ययन’ शीर्षकको शोधपत्र मैले आदरणीय गुरु उपप्रा. ईश्वरीप्रसाद गैरेको कुशल निर्देशनमा तयार पारेको हुँ । आफ्नो विविध कार्यव्यस्तता हुँदाहुँदै पनि मलाई यस शोधकार्यमा अभिप्रेरित गर्नु भएकोमा उहाँप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु ।
प्रस्तुत शोधपत्र लेखनको सिलसिलामा आवश्यक सरसल्लाह, सुझाव र टीकाटिप्पणी गर्नु हुने, समग्री सङ्कलमा तथा शोधकार्यका लागि आवश्यक पुस्तक पत्र–पत्रिका, शोधपत्र, आदि सामग्री उपलब्ध गराई सहयोग पु¥याउने आदरणीय गुरुहरू एवम् त्रि.वि.केन्द्रीय पुस्तकालयप्रति आभार व्यक्त गर्दछु । यस कार्यमा प्रस्तुत शीर्षक चयन गर्न सहयोग गरी अनुसन्धान गर्न स्वीकृति प्रदान गनरी शोत्रपत्र लेख्ने अवसर प्रदान गर्नु हुने अदरणीय विभागीय प्रमुख प्र.डा. देवीप्रसाद गौतमज्यूप्रति पनि कृतज्ञता ज्ञापन गर्दछु । आफ्नो सम्पूर्ण जानकारी, कृतिहरू उपलब्ध गराइदिनु र आवश्यक सरसल्लाह, सुझाव र सहयोग प्रदान गर्नुहुने मेरो शोधका नायक विष्णु भण्डारी र उहाँका परिवार एवम् आफन्तजनप्रति पनि हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु ।
साथै यस शोधकार्यका सिलसिलामा सामग्री सङ्कलन तथा अन्य कार्यमा प्रत्यक्ष एवम् परोक्ष रूपमा सहयोग पु¥याउने सहपाठी मित्रहरू शैलज पौडेल ‘प्रकाश’, जयराम घिमिरे, गोकुल पोखरेल, राजकुमार लम्साल लगायत सम्पूर्ण मित्रहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । साथै मलाई आर्थिक, भौतिक, नैतिक र अन्य सहयोग गर्नुहुने आदरणीय बुवा चिरञ्जीवी ढकाल, आमा लक्ष्मीकला ढकाल, दाजु कृर्तिराज ढकाल, भाउजू गीता ढकाललगायत दिदी, भिनाजु तथा भाञ्जाहरू सुबोध र राजनप्रति पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।
अन्त्यमा, प्रस्तुत शोत्रपत्र आवश्यक मूल्याङ्कनका लागि त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभाग, कीर्तिपुर समक्ष प्रस्तुत गर्दछु ।
मिति : २०७०/०९/२६
शैक्षिक सत्र : २०६८/०६९

धु्रवराज ढकाल
नेपाली केन्द्रीय विभाग
त्रिभुवन विश्वविद्यालय,
कीर्तिपुर


विषय–सूची

अनुच्छेद एक
शोधपत्रको रूपरेखा

१. १ विषय परिचय
१.२ समस्याकथन
१.३ शोधकार्यको उद्देश्य
१.४ पूर्वकार्यको समीक्षा
१.५ शोधकार्यको महत्त्व
१.६. शोधकार्यको सीमाङ्कन
१.७ शोधविधि
१.७.१ सामग्री सङ्कलन विधि
१.७.२ विश्लेषण विधि
१.८ शोधपत्रको रूपरेखा

अनुच्छेद दुई
विषणु भण्डारीकाे जीवनी

२.१ वंशावलीे
२.२ जन्म र जन्मस्थान
२.३ पारिवारिक अवस्था
२.४ पैतृक व्यवसाय
२.५ पारिवारिक पृष्ठभूमि
२.६ बाल्यकाल
२.६.१ बाल्यकालको पर्यावरणीय स्थिति
२.६.२ बाल्यकालको पारिवारिक आर्थिक स्थिति
२.६.३ बाल्यकालको सांस्कृतिक स्थिति
२.६.४ बाल्यकालको राजनीतिक परिवेश
२.७ शिक्षादीक्षा
२.७.१ अक्षराम्भ र विद्यालय शिक्षा
२.७.२ उच्च शिक्षा
२.७.३ अनौपचारिक शिक्षा
२.८ बहुभाषा ज्ञान
२.९ विवाह र दाम्पत्य जीवन
२.१० सन्तान
२.११ आजीविका
२.१२ आर्थिक अवस्था
२.१३ स्थायी बसोबास
२.१४ राजनीति र सङ्घसंस्थागत सम्लग्नता
२.१५ सिर्जनात्मक गतिविधि
२.१५.१ साहित्यिक सिर्जनाको प्रभाव र प्रेरणा
२.१५.२ साहित्यिक रचनाको प्रारम्भ र प्रथम प्रकाशित रचना
२.१५.३ प्रकाशित पुस्तककार कृतिको विवरण
२.१६ रुचि र स्वभाव
२.१६.१ रुचि
२.१६.२ स्वभाव
२.१७ निष्कर्ष

परिच्छेद तीन
विष्णु भण्डारीको व्यक्तित्व

३.१ पृष्ठभूमि
३.२ व्यक्तित्वका विभिन्न पाटाहरू
३.२.१ निजी व्यक्तित्व
३.२.१.१ आन्तरिक व्यक्तित्व
३.२.१.२ बाह्य व्यक्तित्व
३.२.२ सार्वजनिक व्यक्तित्व
३.२.२.१ साहित्यिक व्यक्तित्व
३.२.२.१.१ कवि व्यक्तित्व
३.२.२.१.२ कथाकार व्यक्तित्व
३.२.२.२ साहित्येतर व्यक्तित्व
३.२.२.२.१ राजनीतिक व्यक्तित्व
३.२.२.२.२ अभिप्रेरक व्यक्तित्व
३.२.२.२.३ शिक्षक व्यक्तित्व
३.२.२.२.४ बहुभाषिक व्यक्तित्व
३.२.२.२.५ पत्रकार व्यक्तित्व
३.३ जीवनी, व्यक्तित्व र साहित्य लेखनका बीच अन्तर्सम्बन्ध
३.४ निष्कर्ष

परिच्छेद चार
विष्णु भण्डारीको साहित्यिक यात्रा र कृतित्वको अध्ययन

४.१ पृष्ठभूमि
४.२ विष्णु भण्डारीको काव्यिक यात्राको चरण विभाजन
४.२.१ पहिलो चरण
४.२.२ दोस्रो चरण
४.३. कृतित्वको अध्ययन
४.३.१ ‘विद्रोहको छाल’ खण्डकाव्यको विश्लेषण
४.३.१.१ संरचनाः
४.३.१.२ कथावस्तुः
४.३.१.३ पात्र विधान
४.३.१.४ परिवेशः
४.३.१.५ लयविधानः
४.३.१.६ भाषाशैलीः
४.३.१.७ उक्ति ढाँचा र अलङ्कार
४.३.१.८ शीर्षक सार्थकताः
४.३.२ ‘आँधी तुफान’ मुक्तक सङ्ग्रहको अध्ययन
४.३.३ ‘ब्वाँसोको अन्त्यको खेल’ खण्डकाव्यको विश्लेषण
४.३.३.१ संरचना
४.३.३.२ विषयवस्तु
४.३.३.३ पात्र विधान
४.३.३.४ परिवेश विधान
४.३.३.५ लय विधान
४.३.३.६ भाषाशैली
४.३.३.७ बिम्बालाङ्कार योजना
४.३.४ ‘कालो नाटक’ काव्यको विश्लेषण
४.३.४.१ विषयवस्तु
४.३.४.२ पात्र विधान
४.३.४.३ लय विधान र भाषाशैली
४.३.४.४ उक्ति ढाँचा र अलङ्कार
४.३.५ ‘फेरि अर्को तारा खस्यो’ कवितासङ्ग्रहको विश्लेषण
४.३.६ ‘देश जागेको बेला’ कविता सङ्ग्रहको अध्ययन
४.३.७ ‘उत्सर्ग’ महाकाव्यको विश्लेषण
४.३.७.१ संरचना
४.३.७.२ प्रबन्ध विधान
४.३.७.३ भाषाशैली
४.३.७.४ उक्ति ढाँचा
४.३.७.५ लयविधान
४.३.७.६ बिम्बालाङ्कार विधान
४.३.८ ‘घाइते ह्विलचेयर’ कविता सङ्ग्रहको विश्लेषण
४.३.९ ‘विश्वासमा अडिएको जीवन’ फुटकर कथाको विश्लेषण
४.३.९.१ कथानक
४.३.९.२ पात्र
४.३.९.३ परिवेश
४.३.९.४ भाषाशैली
४.३.९.५ दृष्टिबिन्दु
४.३.९.६ उद्देश्य
४.४ भण्डारीका फुटकर प्रकाशित रचनाहरुको विवरण
४.५ निष्कर्ष

परिच्छेद पाँच
विष्णु भण्डारीको साहित्यिक योगदान

परिच्छेद छ
उपसंहार तथा निष्कर्ष

६.१ उपसंहार
६.२ निष्कर्ष
सन्दर्भग्रन्थसूची
परिशिष्टाङ्क
अन्तर्वार्ता


अनुच्छेद एक
शोधपत्रको रूपरेखा

१. १ विषय परिचय
नेपाली साहित्यको कविता विधामा एउटा छुट्टै परिचय बनाउन सफल कवि विष्णु भण्डारीको जन्म वि.सं. २०२० फागुन २९ गतेका दिन पश्चिम नेपालको, लुम्बिनी अञ्चल, गुल्मी जिल्ला, धुर्कोट वस्तु गा.वि.स.मा भएको हो । जन्मथलो गुल्मी धुर्कोटमै आफ्नो जीवनका ५० औं वसन्त पार गरेका भण्डारीको कर्मथलो भने काठमाडौं भएको देखिन्छ । बाल्यकालदेखि नै साहित्यप्रति झुकाव राख्दै र साहित्य सिर्जना गर्दै आएका भण्डारीको साहित्यिक सिर्जन यात्राले काठमाडौँ आइपुगेपछि मात्र उत्कर्ष पाएको देखिन्छ । कविता, कथा र सांस्कृतिक लेखनका क्षेत्रमा कलम चलाउँदै आएका उनी साहित्य सर्जक, सांस्कृतिक चिन्तन, सचेत देशप्रेमी र राजनीतिक व्यक्तित्व हुन् । उनी वि.सं. २०४८ सालमा अर्घखाँची जिल्ला किमडाँडा गाविस निवासी भोजराज भुसाल र पवित्रा भुसालको छोरी पार्वता भुसालसँग वैवाहिक बन्धनमा बाँधिएका हुन् । उनलाई वि.सं. २०४८ सालमा पहिलो सन्तानको रूपमा छोरा प्रदीप प्राप्त भएको हो । त्यस्तै वि.सं. २०४९ सालमा दोस्रो सन्तान छोरी अस्मिता र वि.सं. २०५४ सालमा तेस्रो सन्तान छोरी सुस्मिता प्राप्त भएको देखिन्छ ।

साहित्यिक क्षेत्रमा लाग्न आफ्ना दाजु हरि भण्डारी र विद्यालयको साहित्यिक वातावरणबाट प्रेरणा पाएका विष्णु भण्डारीले सानै उमेरदेखि कविता लेख्न सुरू गरे । साहित्यिक कविता, कथा र सांस्कृतिक लेख रचनाका क्षेत्रमा कलम चलाएका भण्डारीका एस.वि. विवेक उपनामबाट विद्रोहका छाल (खण्डकाव्य) २०४३, आँधी–तुफान (मुक्तक सङ्ग्रह) २०४४, ब्वाँसोको अन्त्यको खेल (खण्डकाव्य)२०४५, कालो नाटक (लघुकाव्य) २०४५ र विष्णु भण्डारीका नामबाट फेरि अर्को तारा खस्यो (कविता सङ्ग्रह) २०६३, देश जागेको बेला (कविता सङ्ग्रह) २०६३, उत्सर्ग (महाकाव्य) २०६७, घाइते ह्विलचेयर (कविता सङ्ग्रह) २०६९ पुस्तककार कृतिहरू र विश्वासमा अडिएको जीवन एउटा मात्र फुटकर कथा प्रकाशित छन् । त्यस्तै भण्डारीका विभिन्न पत्रपत्रिकाहरूमा संस्कृतिसम्बन्धी लेखहरू पनि प्रकाशित छन् । सानै उमेरदेखि साहित्यमा रुचि देखाउने भण्डारीले विद्यार्थीकालमा नै थुप्रै फुटकर कविता र कथा लेखेका थिए तर विद्यार्थी जीवनको आर्थिक अभावका कारण ती रचनाहरू प्रकाशित गर्न सकेको देखिदैन । वि.सं. २०४३ देखि औपचारिक रूपमा साहित्यमा देखिएका भण्डारी साठीका दशकमा निकै सक्रिय रूपमा देखिएका छन् । उनी प्रगतिशील लेखक सङ्घ नेपालका केन्द्रीय कोषाध्यक्ष, अखिल नेपाल लेखक सङ्घका केन्द्रीय सदस्य, एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय सदस्य, ए.ने.क.पा. माओवादी सांस्कृतिक जिल्ला कमिटी सदस्य भई पदीय जिम्मेवारी निभाइरहेका छन् । विभिन्न साहित्यिक सङ्घसंस्था आवद्ध भएर नेपाली साहित्यका क्षेत्रमा योगदान दिँदै आएका विष्णु भण्डारीको जीवनी, व्यक्तित्व र कृतित्व एक शोधको विषय हो ।

१.२ समस्याकथन
पहाडी जिल्ला गुल्मीको ग्रामीण क्षेत्रमा जन्मिएका विष्णु भण्डारीले साहित्यका विभिन्न विधामा कलम चलाएर आफ्नो साहित्यकार व्यक्तित्वको परिचय दिएका छन् । नेपाली साहित्यका क्षेत्रमा लामो समयदेखि साधनारत विष्णु भण्डारीको विषयमा हालसम्म सामान्य टिकाटिप्पणी र चर्चा भए पनि उनको बारेमा कुनै गम्भीर प्रकृतिको अध्ययन र उनको जीवनवृत्तसहित समग्र कृतिहरूको विस्तृत अध्ययन अनुसन्धान भएको पाइँदैन । अतः प्रस्तुत शोध समस्यामा केन्द्रित रहेर यस शोध लेखन कार्य गरिएको छ ः
क) विष्णु भण्डारीको जीवनका विभिन्न सन्दर्भहरू के कस्तो छन् ?
ख) विष्णु भण्डारीको व्यक्तित्वका के कस्ता पक्षहरू रहेका छन् ?
ग) विष्णु भण्डारीको कृतित्व के कस्तो पक्षहरू छन् ?

१.३ शोधकार्यको उद्देश्य
माथिको समस्याकथनमा भएका समस्याहरूको समाधान गर्न विष्णु भण्डारीको जीवनी, व्यक्तित्व र कृतित्वमा विविध पाटाबाट विस्तृत र व्यवस्थित ढङ्गबाट अध्ययन गर्नु नै यस शोधकार्यको प्रमुख उद्देश्य रहेको छ । त्यसकारण विष्णु भण्डारीको समग्र जीवनको अध्ययन, जीवनका प्रमुख कार्य र घटनाको उद्घाटन, उनको व्यक्तित्वको चिनारी, उनका साहित्यिक रचनाहरूमा प्रवृत्तिको निर्धारण एवम् वस्तुपरक अध्ययन, विभिन्न सङ्घसंस्थाहरूमा रहेर नेपाली साहित्य र समाजलाई दिएको योगदान आदिलाई यो शोधपत्रले निक्र्यौल गरेको छ । यसलाई बुँदागत रूपमा निम्नानुसार देखाउन सकिन्छ ः
क) विष्णु भण्डारीको जीवनीका विभिन्न सन्दर्भहरूको खोजी गर्नु ।
ख) विष्णु भण्डारीको व्यक्तित्वका विविध पक्षहरू पत्ता लगाउनु ।
ग) विष्णु भण्डारीको कृतित्वको बारेमा अध्ययन गर्नु ।

१.४ पूर्वकार्यको समीक्षा
नेपाली साहित्यको इतिहासमा समसामयिक प्रतिभाहरूका बारेमा अध्ययन गर्ने परम्परा ज्यादै न्यून भए पनि उनीहरूका जीवनी, व्यक्तित्व र कृतित्वका पृष्ठभूमिमा टिकाटिप्पणी, समीक्षा र समालोचनाहरू भने भएका हुन्छन् । कुनै व्यक्ति र विषयमा कम र कुनैमा बढी अध्ययन भएको हुन्छ सक्छ । विष्णु भण्डारीका बारेमा पनि सामान्य टिकाटिप्पणी र केही पुस्तक तथा पत्रपत्रिकामा चर्चा गरिएका बाहेक उनका समग्र कृतिहरूको अध्ययन विश्लेषण र मूल्याङ्कन गरी साहित्यिक मूल्य निर्धारण गर्ने काम हालसम्म हुन सकेको छैन । उनका बारेमा जे–जति अध्ययन भएको छ, यो अध्ययन केवल परिचयात्मक एवम् जानकारीमूलक भेटिन्छ या अपर्याप्त नै भए पनि उनको जीवनी, व्यक्तित्व र कृतित्वका सम्बन्धमा ती पूर्वकार्यहरू कालक्रमिक रूपले निम्नानुसार रहेका छन् :
– बन्दना ढकालले (२०१० ई.) रातो झिल्को पत्रिकामा उत्सर्ग : जनयुद्धमा आधारित पहिलो महाकाव्य भन्ने शीर्षकमा एउटा समीक्षात्मक लेख लेखेकी छन् । उनले उक्त समीक्षामा विष्णु भण्डारी नेपाली जनताको त्याग, बलिदान र सङ्घर्षलाई साहित्यमा प्रतिबिम्बिन गर्ने स्रष्टामध्ये एक हुन् भनेकी छन् ।
– माधव घिमिरे अटलले (२०६७) उत्सर्ग महाकाव्यका बारेमा श्रृङ्खला पत्रिकामा उत्सर्ग महाकाव्य महासमरको जीवन्त प्रतिबिम्ब शीर्षकमा एउटा लेख लेखेका छन् । उनले उक्त लेखमा विष्णु भण्डारीले काव्य लेखनमा परम्परागत अवधारणा मान्यता र प्रचलनलाई भङ्ग गर्दै प्रगतिवादी अवधारणमा आधारित भएर चुनौती मोल्दै महाकाव्य लेखन गरेको बताएका छन् ।
– मुक्तिनाथ घिमिरेले (२०६७) उत्सर्ग महाकाव्यको बारेमा चन्द्रागिरी साहित्यिक पत्रिकामा विवेचनात्मक आलोकमा उत्सर्ग महाकाव्य शीर्षकमा एउटा समीक्षात्मक लेख लेखेका छन् । उक्त लेखमा उनले विष्णु भण्डारीको महाकाव्य लेखन कलात्मकता, सौन्दर्यबोध र शैली काव्यात्मक छ भनेका छन् ।
– राजेन्द्र सुवेदीले (२०६७) मा अन्वेषण पत्रिकामा उत्सर्ग महाकाव्यको वैचारिक पक्ष र यसमा अभिव्यक्त कलात्मक संवेदनाहरू भन्ने लेखमा उत्सर्ग महाकाव्यमा निहित सौन्दर्य र काव्य संवेदनका महानीय गुण समायोजनाका पक्षहरूको चयनले महाकाव्यात्मक यात्राको उचाइ उन्मुख भएको छ भनेका छन् ।
– लक्ष्मण गौतमले (२०६७)उत्सर्ग महाकाव्यका बारेमा मिर्मिरे पत्रिकामा महाकाव्यमा माओवादी युद्ध भन्ने समीक्षात्मक लेख लेखेका छन् । उक्त लेखमा विष्णु भण्डारीको उत्सर्ग महाकाव्यमा शोषण, दमन र सामाजिक अन्तर्विरोध, सामाजिक यथार्थ र आदर्शको प्रकटीकरण, क्रान्ति र सशत्र द्वन्द्व एवम् प्रणयको प्रस्तुतीकरण छ भनेका छन् ।
– केशव सिलवालले (२०६७) विष्णु भण्डारीको उत्सर्ग महाकाव्यका बारेमा कलम पत्रिकामा नयाँ यथार्थको नयाँ महाकाव्य भन्ने समीक्षामा विष्णु भण्डारीले महाकाव्यको शास्त्रीय मान्यतालाई भत्काउँदै जनयुद्धको गद्यगाथालाई महाकाव्यमा उतार्न खोज्नु आफैँमा एउटा नवीन कार्य हो भनेका छन् ।
– जि.के. पोखरेलले (२०६७) विष्णु भण्डारीको उत्सर्ग महाकाव्यका बारेमा लालरक्षक मासिकमा माक्र्सवादी सौन्दर्यशास्त्रीय काव्य चेतको उत्कर्ष : उत्सर्ग महाकाव्य भन्ने समीक्षात्मक लेखमा उत्सर्ग महाकाव्य नेपाली राजनीतिमा ऐतिहासिक गरिमा ओढेको जनयुद्धको चित्रण हो र यसमा विद्रोहात्मकता र क्रान्ति चेत प्रतिबिम्बित भएको छ भनेर भनेका छन् ।
ड्ड तारा प्रकाश भट्टराइले (२०११ ई.) मा रिप्रिजेन्टेसन अफ द रिभोलुसनरी कन्सियसनेस इन भण्डारीज् उत्सर्ग शीर्षकमा त्रि.वि. अङ्ग्रेजी केन्द्रीय विभागमा स्नातकोत्तर तहको शोधपत्र तयार परेका छन् । उक्त शोधपत्रमा निम्नवर्गमा जनताहरूको आन्दोलनले सम्पूर्ण समस्याहरूको समाधान गर्ने धारणा व्यक्त गरेका छन् ।
– छायादत्त न्यौपाने ‘बगर’ले (२०६८) हाम्रो नौलो बिहानी मासिक पत्रिकामा नयाँ मूल्यको महाकाव्य शीर्षकमा समीक्षात्मक लेख लेखेका छन । उक्त लेखमा विष्णु भण्डारीले पुरानो महाकाव्य लेखन परम्परालाई उछिन्दै कवित्व शक्ति, जीवनबोध, आख्यानात्मक, समाजप्रतिको नवीन दृष्टिकोण निर्धक्कसँग प्रस्तुत गरेका छन् भनिएको छ ।
– कृष्णप्रसाद भण्डारीले (२०६७) मधुपर्क पत्रिकामा दसवर्षे जनयुद्धको कथाव्यथा शीर्षकको समीक्षा लेखेका छन् । उक्त लेखमा विष्णु भण्डारीको उत्सर्ग महाकाव्यलाई माओवादी जनयुद्धको सचित्र वर्णन गरिएको आधुनिक शैलीको महाकाव्य भनेका छन् ।
– रमण घिमिरेले (२०६७) विष्णु भण्डारीको उत्सर्ग महाकाव्यको बारेमा नेपाल साप्ताहिकमा एकतर्फी बयान शीर्षकमा समीक्षा लेखेका छन् । उक्त लेखमा विष्णु भण्डारीको उत्सर्ग महाकाव्यमा जनयुद्धका घटनाहरूको एकतर्फी वकालत मात्र नभएर कलात्मकता सौन्दर्यबोध र काव्यात्मक शैलीले उत्कृष्ट छ भनेका छन् ।
– ऋद्धिरमण घिमिरेले (२०६८) विष्णु भण्डारीको उत्सर्ग महाकाव्यको बारेमा गरिमा पत्रिकामा महाकाव्यमा जनयुद्धको गाथा शीर्षकको समीक्षा लेखेका छन् । उक्त लेखमा उनले नयाँ विचार, नयाँ संस्कृति र नयाँ मूल्यको स्थापनाको अभीष्ट सन्निहित यो काव्य जनयुद्धको विषयवस्तुमा पूर्णतः केन्द्रित पहिलो महाकाव्य भएकाले विवेच्य र पठनीय छ भनेका छन् ।
– रामप्रसाद ज्ञावलीले (२०६९) मा अभिव्यक्ति पत्रिकामा घाइते ह्विलचेयर ः आशाले गरिएको बलिदान र निराशाले भरिएको वर्तमानको काव्यिक अभिव्यक्ति शीर्षकामा एउटा समालोचनात्मक लेख लेखेका छन् । उनले उक्त लेखमा घाइते ह्विलचेयर कविताले इतिहासको बलिदान, वर्तमानको उपेक्षा र अपाङ्गपन बोकेर उपेक्षित जीवन बाँच्नुपर्दाको वेदना एकसाथ अभिव्यक्त गरेको छ भने जनयुद्धमा घाइते भएका र अहिले नारकीय जीवन बिताइरहेकाहरुको पीडादायी जीवन र जटिल मनोभावको उद्घाटन पनि गरेको छ भनेका छन् ।

१.५ शोधकार्यको महत्त्व
प्रस्तुत शोधपत्रका माध्यमबाट नेपाली साहित्यमा विष्णु भण्डारीलाई चिनाउने प्रयास गरिएको छ । माथिका कार्यको समीक्षाको अध्ययनले मात्र उनका बारेमा व्यवस्थित अध्ययन हुन सक्दैन । नेपाली साहित्यका क्षेत्रमा भण्डारीको योगदान हृदयङ्गम गर्दै उनको जीवनी, व्यक्तित्व र कृतित्वको समग्र अध्ययनलाई उद्देश्यमा राखेर गरिएका शोधपत्रको अध्ययनबाट हालसम्म ओझेलमा परेका साहित्यकार विष्णु भण्डारीको बारेमा जान्न चाहने तथा अनुसन्धान क्षेत्रमा यसको महत्व स्वतः देखिनेछ । नेपाली साहित्यका इतिहास लेखनका क्रममा पनि यस शोधपत्रले टेवा पु¥याउनेछ । यिनै विविध दृष्टिकोणले गर्दा शोधकार्य औचित्यपूर्ण वा महत्वपूर्ण रहनेछ ।

१.६. शोधकार्यको सीमाङ्कन
प्रतुस्त शोधपत्र विष्णु भण्डारीको जीवनी र व्यक्तित्वका बारेमा उल्लेख गर्दै हालसम्म प्रकाशित कृति र फुटकर कृतिको परिचयात्मक सामान्य विश्वेषण मात्र समावेश गरिएको छ । यसमा भण्डारीको जन्मदेखि २०७० असारसम्मका समयवधिलाई सीमाङ्कन गरिएको छ । समग्रमा यो शोधकार्य विष्णु भण्डारीको जीवनी, व्यक्तित्व र कृतित्वसँग नै सम्बन्धित रहेको छ ।

१.७ शोधविधि
शोधविधि अन्तर्गत सामग्री सङ्कलन विधि र विश्लेषण विधि पर्दछन् । शोध प्रस्तावका अङ्गअन्र्तगत आएका ती अवधारणा अनुसार यहाँ तिनीहरूको प्रयोगसम्बन्धी विधिको प्रस्ताव गरिएको छ :

१.७.१ सामग्री सङ्कलन विधि
प्रस्तुत शोध विष्णु भण्डारीको व्यक्तित्व र कृतित्वको लेखनका क्रममा आवश्यकता अनुसार प्राथमिक र द्वितीयक स्रोतका सामग्रीको यथोचित प्रयोग गरिएको छ । शोध लेखनका क्रममा यस शोधका नायकसँग प्रत्यक्ष रूपमा जानकारी लिनुका साथै भेटवार्ता, पत्रपत्रिकामा प्रकाशित लेख रचनाका साथै उनका परिवारका सदस्यहरू र अन्य सम्बन्धित व्यक्तिहरूसँग सम्पर्क गरेर आवश्यक जानकारी लिँदै सामग्री सङ्कलन गरिएको छ । त्यस्तै यस शोधमा केही मात्रामा पुस्तकालयीय अध्ययन पद्धति पनि अपनाइएको छ ।

१.७.२ विश्लेषण विधि
सामग्री विश्लेषणको सैद्धान्तिक आधार ढाँचा प्रस्तुत शोध सामाग्रीको अध्ययन, विश्लेषणमा जीवनी, व्यक्तित्व र कृतित्व लेखनको सैद्धान्तिक ढाँचाअन्तर्गत रहेर अध्ययन अनुसन्धान गरिएको छ अर्थात् यसमा सामग्री विश्लेषणको मूल आधार जीवनीपरक र कृतिपरक समालोचनालाई बनाइएको छ । यसमा पुस्तकालयीय तथा क्षेत्रीय विधिबाट सङ्कलित सामग्रीको अध्ययन विश्लेषणमा पूर्वीय तथा पाश्चात्य साहित्यमा चलेका सिद्धान्त र वादलाई आधार बनाइएको छ ।

१.८ शोधपत्रको रूपरेखा
प्रस्तुत शोधपत्रलाई सुव्यवस्थित सङ्गठित बनाउनका निम्न लिखित परिच्छेदहरूमा विभाजन गरिएका छ ः
परिच्छेद एक : शोध परिचय
परिच्छेद दुई : विष्णु भण्डारीको जीवनी
परिच्छेद तीन : विष्णु भण्डारीको व्यक्तिŒव
परिच्छेद चार : विष्णु भण्डारीको साहित्यिक यात्रा र कृतिहरुको विवेचना
परिच्छेद पाँच : विष्णु भण्डारीका साहित्यिक योगदान
परिच्छेद छ : उपसंहार तथा निष्कर्ष


परिच्छेद–दुई
विष्णु भण्डारीको जीवनी

२.१ वंशावलीे
पश्चिम नेपालको कर्णालीको सिंजा राज्यमा बसोबास गर्दै आइरहेका विष्णु भण्डारीका वंशज अछामको धमाली हुँदै रिघा र रिघाबाट प्युठानको लुप्लुङमा बसाइसराइ गर्दै आइपुगेका हुन् । लुप्लुङबाट विष्णु भण्डारीभन्दा तेह्रौँ पुस्ता अगाडिका पुर्खा जितु (जिता पनि भनिने) गुल्मीको धुर्कोटमा स्थायी बसोबास गर्न पुगेका हुन् । जिताका सन्तान नै आपूm भएको उनी बताउँछन् (शोधनायकबाट प्राप्त जानकारी)। उनका पूर्खाहरूले पहिल्यैबाट खेतीपाती गर्दै आएको देखिन्छ । प्राप्त जानकारी अनुसार उनको तीन पुस्ता निम्न अनुसार छः

२.२ जन्म र जन्मस्थान
विष्णु भण्डारीको जन्म वि.सं. २०२० फागुन २९ गतेका दिनमा लुम्बिनी अञ्चल, गुल्मी जिल्लाको धुर्कोट वस्तुमा भएको हो । उनी बुबा स्व. परमानन्द भण्डारी आमा विन्तादेवी भण्डारीका माइला छोरा हुन् (ऐजन) । साहित्यमा यायावर, गगन, एस.वि.विवेक, शैलवी, विष्णु भण्डारी नामद्वारा लेख रचना प्रकाशनमा आए पनि विष्णु भण्डारी नामले विशेष परिचित देखिन्छन् । उनको न्वारनको नाम खिमलाल भण्डारी हो (विन्तादेवी भण्डारीबाट प्राप्त जानकारी) । नेपालको सुन्दर पहाडी र रमणीय जिल्ला गुल्मीको धुर्कोट वस्तुमा विष्णु भण्डारीको बाल्यकाल बितेको हो । नेपालमा राणाशासनको अन्त्यपछिको अस्थिर राजनीतिक अवस्थाका समयमा भण्डारीको जन्म भएको देखिन्छ ।

२.३ पारिवारिक अवस्था
विष्णु भण्डारीको पारिवारिक रूपरेखा निम्न रेखाचित्रमा देखाउन सकिन्छ : एकल परिवारमा हुर्किएका विष्णु भण्डारीको परिवारमा एक दाजु, एक भाइ र दुई दिदी बहिनीहरू छन् (विन्तादेवीः पूर्ववत) । अध्ययनका सिलसिलामा घरबाट टाढिएका भण्डारी हाल काठमाडौं कोटेश्वरमा जीवनसङ्गिनी पार्वता भण्डारीका साथ बस्दै आएको देखिन्छ ।

२.४ पैतृक व्यवसाय
विष्णु भण्डारीका पूर्खाहरू ब्राह्मण परिवारका हुन् । यिनीहरू जुम्लाको सिंजाबाट धुर्कोटमा बसाइसराइ गरी आएका थिए । उनका पूर्खाहरूले पढ्ने, पढाउने, खेतीपाती तथा पशुपालन गर्ने गर्दथे । उनको बुबाले पनि खेतीपातीको काम नै गर्दथे (विन्तादेवी : पूर्ववत) । पहाडी क्षेत्रमा भएको थोरै जमिनबाट जीविकोपार्जन गर्न गाह्रो भएपछि बुबा परमानन्द भण्डारीले केही समय बुटवल बजारबाट चुरोट र कपडा किनेर गाउँ–गाउँमा लगी बेच्ने काम गरेको देखिन्छ (ऐजन) ।

२.५ पारिवारिक पृष्ठभूमि
विष्णु भण्डारीका पूर्खाहरू जुम्लाको सिंजाबाट धुर्कोट आई बसोबास गरेको देखिन्छ । यिनीहरूको मुख्य पेशा खेतीपाती नै थियो । विष्णु भण्डारीको बुबाको मुख्य पेशा कृषि नै थियो । थोरै जग्गा जमिन र त्यसमा पनि उब्जाउ जमिन साहूको नाममा बन्धकी राखिएका हुनाले बाँकी रूखो जमिनबाट परिवारका लागि पर्याप्त अन्न उत्पादन हुँदैनथ्यो (शोधनायकबाट प्राप्त जानकारी) । आर्थिक दृष्टिकोणले यिनको परिवार निम्न वर्गको देखिन्छ । हरि भण्डारी, विष्णु भण्डारी, नारायण भण्डारी गरी तीन दाजुभाइ, जमुना र तारा भण्डारी गरी दुई दिदीबहिनीसहित सात जनाको परिवार थियो । कृषिको आयस्रोतभन्दा परिवारमा आय आर्जनको बाटो थिएन । घरमा बिहान बेलुकाको छाक टार्ने समस्या बढ्दै गएपछि बुबाले व्यापार प्रारम्भ गरेका देखिन्छ (बिन्तादेवीबाट प्राप्त जानकारी) । केही वर्षको व्यापार पश्चात् बुबा परमानन्द भण्डारीले भारतका आसाम, दार्जिलिङलगायत थुप्रै ठाउँमा काम गरेको देखिन्छ । भण्डारीका बुबा इमान्दार, समाजसेवी, राजनीतिक पार्टीमासमेत संलग्नभएकाले समाजमा मसाल बा का नामले परिचित थिए (ऐजन) त्यसैले विष्णु भण्डारीमा पनि इमान्दारिता, समाजसेवी भावना र राजनीतिक छाप परेको देखिन्छ ।

२.६ बाल्यकाल
गुल्मी धुर्कोटको रमणीय पहाडी गाउँ बस्तीमा विष्णु भण्डारीको बाल्यकाल बितेको हो । निम्न वर्गीय परिवार भएकाले उनले बाल्यकालमा अभाव र सङ्घर्षको सामना गर्नुपरेको देखिन्छ (शोध नायकबाट प्राप्त जानकारी) । उनको बाल्यकालको पर्यावरणीय स्थिति, पारिवारिक आर्थिक स्थिति, सांस्कृतिक स्थिति र राजनीतिक स्थितिलाई यसरी छुट्टाछुट्टै शीर्षकमा उल्लेख गर्न सकिन्छ :
२.६.१ बाल्यकालको पर्यावरणीय स्थिति
प्राकृतिक छटाहरूले सजिएको धुर्कोट वस्तुको रमणीय पहाडी परिवेशमा विष्णु भण्डारीको बाल्यकाल बितेको हो । पहाडी भू–भाग, वनजङ्गल, खोल्साखोल्सी, नदीनाला, भीरपाखा, गाउँवेशी, खेतबारी आदि भण्डारीको बाल्यकालको भौगोलिक पर्यावरणीय स्थिति देखिन्छ । यिनै स्थानहरूमा खेल्दै रमाउँदै उनको बाल्यकाल बितेको हो (पूर्ववत) । उनको परिवार निम्नवर्गको थियो र परिवारमा प्रशस्त जग्गा जमिन थिएन । खेतीयोग्य जमिन पनि साहूको नाममा बन्धकी थियो । बिहान बेलुकी खानका लागि पर्याप्त अन्न हुँदैनथ्यो । उनका बुवाले गाउँ पञ्चायतमा वचत सङ्कलको जिम्मा पाएका थिए । प्रधानपञ्च लगायतले उनले उठाएर बुझाएको अन्न भरपाइ बेगरै बुझ्ने गरेका थिए । उनीहरूले पछि उक्त अन्नको पुनः दावी गरेपछि बुवालाई अप्ठेरो परेको थियो । यही कारण उनको परिवारले एउटै रकम पटक पटक बुझाउनु परेको थियो (ऐजन) । समाजमा शोषक र शोषितवर्ग प्रस्टै देखिन्थ्यो । यस्तो अवस्थालाई नजिकबाट नियालेका भण्डारीको बाल मानसिकतामै परिवर्तनकामी छाप परेको देखिन्छ । उनी साथीहरूसँग खेल्न र घुम्न अति नै रूचाउँथे । उनले समय अनुसारका फलपूmल खाँदै साथीहरूसँग वन जंगल घुम्दै घण्टौँ बिताएको पाइन्छ । उनको बाल्यकालमा दलित साथीहरू पनि थिए । उनले ती साथीहरूसँगै हिँड्ने, खाने खेल्ने गर्दथे । समाजमा भूतप्रेत, जातपात, धामीझाँक्री तथा छुवाछुतको अवस्था विद्यमान थियो (ऐजन) । यस्तो वातावरणमा बाल्यकाल बिताएको भएपनि बालक भण्डारी त्यही समयदेखि नै अन्धविश्वास र रूढीवादी परम्पराप्रति टाढिएको पाइन्छ ।
२.६.२ बाल्यकालको पारिवारिक आर्थिक स्थिति
विष्णु भण्डारीको बाल्यकालको पारिवारिक आर्थिक स्थिति अत्यन्तै कमजोर थियो । निम्नवर्गीय परिवार भएका कारण उनले बाल्यकालमा धेरै अभावहरू सामना गर्नुप¥यो (शोधनायकबाट प्राप्त जानकारी) । पूर्खाहरू आर्थिक रूपले सक्षम भएका भए पनि उनको बाल्यकालमा आइपुग्दा आर्थिक रूपमा कमजोर भएको देखिन्छ । परिवार छाक टार्ने समस्याले पिल्सिएको थियो । उनका बुबा कामको खोजीमा भारतका विभिन्न स्थानमा जाने गर्दथे । आमाले मेलापात, अर्मपर्म गरेर घरको गर्जो टार्ने गर्दथिन् (हरि भण्डारीबाट प्राप्त जानकारी) । परिवारको समस्याप्रति बाल्यकालदेखि नै भावुक हुने भण्डारी आमालाई घरको काममा सघाउने गर्दथे । पारिवारिक आर्थिक समस्याका कारण साथीसङ्गीसँगै खेल्ने, रमाउने उमेरका भण्डारी १३ वर्षको उमेरमा कामको खोजीमा बुबासँग भारतमा गएको देखिन्छ (शोधनायकबाट प्राप्त जानकारी) । यसरी विष्णु भण्डारीको बाल्यकाल अभावमा नै गुज्रिएको देखिन्छ ।
२.६.३ बाल्यकालको सांस्कृतिक स्थिति
विष्णु भण्डारीको परिवार हिन्दू धर्मावलम्बी थियो । घरमा सधैँ बिहान बेलुका पञ्चायन पूजा गरिन्थ्यो । गाउँमा बेलाबेलामा हुने सप्ताह, विवाह, व्रतबन्ध र त्यहाँ हुने बाजा तथा नाचगानले उनलाई लोभ्याउथ्यो (ऐजन) । घर परिवार तथा समाजमा जातीय भेदभाव कायम थियो । तल्लो जात भएकाहरूलाई उपल्लो जातको घरभित्र प्रवेश निषेध एवम् छोइछिटो गरिन्थ्यो । तर, विष्णु भण्डारीका साथीहरूमा दलित साथी पनि थिए । उनी तिनीहरू सँगसँगै खेल्ने, हिँड्डुल गर्ने, घुम्ने खाने र घरमा पनि लिएर जान्थे (ऐजन) । त्यस समयमा उनको घरमा तथा समाजमा ब्राह्मणहरूले कुखुरा पाल्नु हुँदैन भन्न संस्कार विद्यमान थियो तर उनले घरमा कुखुरा पालेर समाजलाई चुनौति दिएको देखिन्छ । उनी ११ वर्षको हुँदा धर्म संस्कृति अनुरूप उपनयन (व्रतबन्ध) गरिएको हो । हिन्दू धर्ममा उपनयन पश्चात् बिहान उठेर नुवाइधुवाई गरी मन्त्र जप गर्नुपर्दथ्यो तर उनले उपनयनको केही समयपछि नै जनै लगाउन तथा मन्त्र जप गर्न छोडेको देखिन्छ (ऐजन) । यसरी बाल्यकालदेखि उमेरको बृद्धिसँगै भण्डारी विकृत सांस्कृति र रूढी परम्पराको अन्त्य चाहन्छन् ।
२.६.४ बाल्यकालको राजनीतिक परिवेश
विष्णु भण्डारीको बाल्यकाल पञ्चायती शासन व्यवस्थाको समयमा नै बितेको देखिन्छ । त्यस समयमा समाजमा सोझासाझा जनताहरू विभिन्न नामबाट शोषित हुन पुगेका थिए । गाउँघरमा प्रजातन्त्रको लागि तत्कालीन पञ्चायती शासन विरूद्धका स्वरहरू धुमिल रूपमा सुनिन थालेका थिए (शोधनायकबाट प्राप्त जानकारी) । विष्णु भण्डारीका परिवार तथा भाइखलकहरू वामपन्थी विचार राख्दै पञ्चायती व्यवस्थाका विरोध भित्रभित्रै गर्दथे । गाउँघरमा रातिराति भेला बैठक बसी कार्य योजना निर्माण तथा जनचेतना जगाउने कार्य हुने गर्दथ्यो । यस्तो वातावरणमा हुर्कदै गरेका भण्डारी अन्जानमै वामपन्थी भएका थिए । पछि २०३८ मा भएको स्व.वि.यू. निर्वाचनमा घोषित रूपमै मसाल छैठौँको तर्फबाट उपसभापतिका उमेद्वारमा उठेको देखिन्छ (शोधनायक : पूर्ववत) । यसरी विष्णु भण्डारी बाल्यकालदेखि नै आन्जान अवस्थामै विद्यार्थी राजनीतिमा प्रवेश गरेको देखिन्छ ।

२.७ शिक्षादीक्षा
विष्णु भण्डारीले औपचारिक रूपमै प्रमाणपत्र तहसम्मका अध्ययन गरेका छन्(पूर्ववत) । औपचारिक शिक्षाका अलवा उनले अनौपचारिक शिक्षामार्फत आफ्नो ज्ञानको क्षेत्र व्यापक बनाएको देखिन्छ । उनको विभिन्न तहको शिक्षादीक्षालाई निम्न उपशीर्षकमा उल्लेख गर्न सकिन्छ :
२.७.१ अक्षरारम्भ तथा विद्यालयीय शिक्षा
विष्णु भण्डारीको अक्षरारम्भ तथा विद्यालयीय शिक्षाको सुरूवात वि.सं. २०२९ मा हिमालय प्रा.वि. वस्तु हटियामा शिशु कक्षाबाट भएको हो (विन्तादेवी भण्डारीबाट प्राप्त जानकारी) । यिनले शिशु कक्षामै प्रथम भई आफ्नो प्रतिभा देखाएको देखिन्छ । पहाडी क्षेत्र भए पनि घर नजिकै विद्यालय भएकाले शिक्षा आर्जनका लागि टाढा टाढा पुग्नुपर्ने समस्या भण्डारीलाई परेको देखिँदैन । कक्षा चार पास गरेपछि अध्ययन छाडेर वि.सं. २०३३ म १३ वर्षको उमेरमा पारिवारिक आर्थिक समस्याका कारण कामको खोजीमा भारत गएको पाइन्छ । उनले पुनः वि.सं. २०३४ मा नेपाल फर्की हिमालय मा.वि.मा कक्षा पाँचमा भर्ना भई अध्ययनलाई निरन्तरता दिए । उनी माध्यमिक तहको शिक्षाका लागि हिमालय मा.वि. वस्तुमा भर्ना भए । विद्यालयीय शिक्षा अवधिभर प्राय द्वितीय हुने भण्डारी कक्षा ९ मा भने स्कुल फस्ट भए । उनले वि.सं. २०४० मा २० वर्षको उमेरमा प्रवेशिका परीक्षा द्वितीय श्रेणीमा उत्तीर्ण गरी विद्यालयीय शिक्षा पूरा गरेको देखिन्छ (शोधनायकबाट प्राप्त जानकारी) । बीचमा अध्ययन छोडेर भारत गए पनि नेपाल फर्केपछि आफ्नो अध्ययन कार्यलाई उनले पुनः निरन्तरता दिएको पाइन्छ ।
२.७.२ उच्च शिक्षा
गाउँकै हिमालय मा.वि.बाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेपछि विष्णु भण्डारी उच्च शिक्षा अध्ययन गर्न बुटवल आएको देखिन्छ । उनले वि.सं. २०४१ मा बुटवल बहुमुखी क्याम्पस, बुटवलमा भर्ना भई विज्ञान विषय लिएर अध्ययन प्रारम्भ गरे (पूर्ववत) । त्यस समयमा देशमा पञ्चायती व्यवस्था थियो । जनताका हक अधिकारहरू खोसिएका थिए भने पञ्चायतले मच्चाएको स्वेतआतङ्कले गर्दा जनतामा त्रास छाएको थियो । चारैतिर निर्दलीय पञ्चायती व्यवस्थाविरूद्ध आवाज उठ्न थालेको थियो । उनी पनि निरङ्कुश व्यवस्थाविरूद्ध मोर्चाबन्दीमा लाग्न थाले जसले गर्दा पढाइ पूरा गर्न सकेनन् (पूर्ववत) । उनी उच्च शिक्षा अध्ययनकै क्रममा पटक–पटक पाटन क्याम्पस, रत्नराज्य क्याम्पस, पिपुल्स क्याम्पस, विश्वभाषा क्याम्पसमा प्रविणता तहमा भर्ना भए पनि अध्ययन कार्यले पूर्णता प्राप्त भने गर्न भने सकेको देखिँदैन । अन्त्यमा उनले वि.सं. २०४७ सालमा प्राइभेटबाट प्रविणता तह उत्तीर्ण गरेको देखिन्छ । त्यस्तै स्नातक तहको अध्ययनका लागि रत्नराज्य क्याम्पसमा भर्ना भएका भण्डारीले पढाइमा भन्दा बढी समय विद्यार्थी राजनीतिमा दिएका कारण उनको यस तहको अध्ययन पूरा हुन सकेको थिएन ( पूर्ववत) । यसपछि पनि भण्डारीमा अध्ययनको प्यास भने रहि नै रहेको पाइन्छ ।
२.७.३ अनौपचारिक शिक्षा
विष्णु भण्डारीले आफ्नो औपचारिक शिक्षाका अतिरिक्त स्वअध्ययन पनि गरेका छन् । उनको औपचारिक अध्ययन सिलसिला स्थगित भए पनि अनौपचारिक अध्ययन भने निरन्तर चलिरहेको छ । उनले आफ्नो बिहानको समय अध्ययन तथा साहित्य सिर्जनामा नै दिएको देखिन्छ (शोधनायकबाट प्राप्त जानकारी) । माक्र्सवादी साहित्य र राजनीतिमा गम्भीर रुचिका कारण उनको अनौपचारिक अध्ययन पनि यसै क्षेत्रसँग सम्बन्धित छ । उनले साहित्यका अलवा दर्शन, राजनीतिकशास्त्र, अर्थशास्त्र र संस्कृतिसँग सम्बन्धित विषयमा पनि गहन अध्ययन गरेको देखिन्छ । अध्ययनका लागि भण्डारीलाई समय र प्रेरणा उनको घरपरिवार जसमा विशेषतः जीवनसङ्गिनी पार्वता भुसाल (भण्डारी) बाट मिलेको छ (ऐजन) । पार्वता भुसालले (भण्डारी) घर व्यवहार चलाउनेदेखि लिएर अध्ययनका लागि पुस्तकहरू किन्न सघाउने सम्मको काम गरेको पाइन्छ ।

२.८ बहुभाषा ज्ञान
मातृभाषा नेपाली भएका विष्णु भण्डारीलाई विभिन्न भाषाको राम्रो ज्ञान छ । उनलाई नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा लेख्न तथा पढ्न आउछ (ऐजन) । उनले कामको सिलसिलामा भारत जाँदा त्यही हिन्दी भाषा सिक्न र हिन्दी साहित्यका पुस्तक तथा पत्रपत्रिका पढ्न पाएको देखिन्छ । त्यस्तै अङ्ग्रेजी भाषा विद्यालय स्तरीय शिक्षा, उच्च शिक्षा तथा विभिन्न इन्सिच्युटबाट सिकेका हुन् । यी भाषाको अतिरिक्त भण्डारीलाई संस्कृत भाषा पनि केही मात्रामा आउछ । विष्णु भण्डारीलाई नेपाली, हिन्दी र अङ्ग्रेजी भाषाको राम्रो ज्ञान भए पनि साहित्य सिर्जनामा भने नेपाली भाषामा मात्र गरेको पाइन्छ ।

२.९ विवाह र दाम्पत्य जीवन
विष्णु भण्डारीको वि.सं. २०४८ सालमा पार्वता भुसालसँग जनवादी किसिमको विवाह भएको हो । पार्वताको माइत किमडाँडा गा.वि.स.अर्घखाँची हो । भोजराज भुसाल र पवित्रा भुसालका छोरी पार्वता भुसालसँग दाम्पत्य सूत्रमा बाँधिदा विष्णु भण्डारी २८ वर्षका थिए (विन्तादेवीबाट प्राप्त जानकारी) । तत्कालीन मसालका नेता विनबहादुर कुँवर र टोपबहादुर रामाझीले पार्वतासँगको वैवाहिक सम्बन्धको कुरा ल्याएका हुन् । पार्वतासँग विष्णु भण्डारीको वैचारिक मेल भएका कारण हिन्दू परम्पराभन्दा भिन्न तरिकाले जनवादी विवाह गरेका हुन् (शोधनायकबाट प्राप्त जानकारी) । विवाहपश्चात् भण्डारीलाई हरेक क्षणमा पार्वता भण्डारीको सहयोग रहेको देखिन्छ । दाम्पत्य जीवनका सम्बन्धमा कुरा गर्दा विष्णु भण्डारीले यसरी प्रसङ्ग अघि बढाउँछन् :
‘विवाहपश्चात हाम्रो काठमाडौंमा सङ्घर्षमय जीवन प्रारम्भ हुन्छ । भोटेवहालमा किराना पसल चलाएका थियौँ । बिहानदेखि बेलुकासम्म उनले मलाई साथ दिन्थिन् । हामीलाई खाना खाने समय निकाल्न पनि गाह्रो हुन्थ्यो तर उनले खै कसरी–कसरी घरका लागि समय निकाल्थिन् । ‘सधैँ जीवन नै सङ्घर्ष हो सङ्घर्ष गर्नुपर्छ’ भन्दै खुसी साथ कुरा गर्दथिन् ( पूर्ववत)।’

काठमाडौँको क्षेत्रपाटीमा केही समय स्टेशनरी र पछि भोटेबहालबाट किराना व्यापार प्रारम्भ गरेका भण्डारी दम्पत्तिले अहिले पनि आफ्नै निजी घर कोटेश्वरमा किराना व्यापार गरिरहेका छन् । हाल सम्पूर्ण पसलको जिम्मेवारी पार्वता भण्डारीले समालेको देखिन्छ । साहित्य सिर्जना तथा प्रकाशन गर्नका लागि विष्णु भण्डारीलाई आर्थिक तथा आत्मिक बल जीवनसङ्गिनी पार्वता भुसाल (भण्डारी) ले प्रदान गरेको देखिन्छ । पार्वता भुसाल (भण्डारी) घर व्यवहार चलाउन, व्यापार गर्न सक्षम, शिक्षित, समाज सेवा गर्न इच्छुक नारी भएकाले विष्णु भण्डारीलाई लेखन कार्यका लागि गृहस्थी समस्या र पारिवारिक जञ्जालको केही असर गरेको देखिँदैन (पूर्ववत) । समान वैचारिक मान्यता र आदर्शले गर्दा विष्णु र पार्वताको दाम्पत्य जीवन सहज र सुखी भएको देखिन्छ ।

२.१० सन्तान
भण्डारी दम्पतिका तीन सन्तान रहेका छन् । उनीहरूको पहिलो सन्तानको रूपमा वि.सं. २०४८ सालमा छोरा प्रदीप भण्डारीको जन्म भएको हो भने दोस्रो सन्तानका रूपमा वि.सं. २०५० सालमा छोरी अस्मिता भण्डारी र त्यस्तै वि.सं. २०५४ सालमा अर्की छोरी सुस्मिता भण्डारीको जन्म भएको देखिन्छ (पार्वताबाट प्राप्त जानकारी) । हाल प्रदीप भण्डारी न्याथम कलेज, रविभवनमा बि.एच.एम., छोरी अस्मिता आइ.एम.एस. कलेज थापाथलीमा बि.बि.ए. र कान्छी छोरी सुस्मिता युनाइटेड कलेजमा कक्षा ११ मा पढिरहेका छन् ।

२.११ आजीविका
प्रत्येक मानिसलाई आफ्नो जीवन चलाउनका लागि केही न केही काम गर्नुपर्दछ । विष्णु भण्डारीले पनि आफ्नो जीवन निर्वाह गर्ने क्रममा मुख्यतः सुरूका दिनमा शिक्षक, निजामती कर्मचारी, व्यापारी र पछिल्ला दिनहरूमा सक्रिय रूपमा ए.ने.क.पा माओवादी पार्टीमा राजनीतिकर्मीको रूपमा भूमिका निर्वाह गरिरहेको देखिन्छ । विष्णु भण्डारीले वि.सं. २०४२ वैशाख १ देखि मङ्सिरसम्म ८ महिना पिपलटार प्रा.वि धादिङमा शिक्षक भई अध्यापन गरे । यही नै उनको जागिरे जीवनमा प्रवेश थियो (शोधनायकबाट प्राप्त जानकारी) । वि.सं. २०४३ वैशाख १७ मा लोकसेवा आयोगबाट मुखिया पदमा नियुक्त भई पायोनिर गण भद्रकालीमा काम गरेका भण्डारीले २०४३ पुसमा विद्यार्थी राजनीतिमा पनि सक्रिय भएकाले भण्डारीले मुखिया पदबाट राजीनामा दिएको देखिन्छ । वि.सं. २०४३ फागुत १८ मा भण्डारीले पुनः लोकसेवा आयोगबाट खरदार पदमा नियुक्त भई धादिङवेशीको भूमिसुधार शाखामा काम गरेको देखिन्छ (ऐजन) । २०४४ चैत ९ गते नापी विभागमा काम गर्न थालेका उनले राजनीति गर्ने उद्देश्यका साथ २०४६ मङ्सिर २ मा राजीनामा दिएका भण्डारीले वि.सं. २०४६ देखि सङ्घर्ष गर्दै विभिन्न स्थानमा व्यापार व्यवसाय गर्दै आएका र हालसम्म पनि त्यसले निरन्तरता पाएको देखिन्छ ।

शिक्षक तथा निजामती कर्मचारी भएको समयमा पनि उनी राजनीतिक क्रियाकलापमा सक्रिय हुँदै आन्दोलन, आमसभामा जाने भाषण दिने गर्दथे (ऐजन) । सरकारी सेवाबाट राजीनामा दिई राजनीतिमा सक्रिय हुँदै र व्यापार व्यवसाय गर्दै आएका भण्डारीले अहिले व्यापार व्यवसाय र घर व्यवहारको कुनै चिन्ता छैन । यी सम्पूर्ण कार्यहरू श्रीमती पार्वता भण्डारीले गर्दै आएकी छन् ।

२.१२ आर्थिक अवस्था
विष्णु भण्डारीको बाल्यकालमा पारिवारिक आर्थिक अवस्था अत्यन्त कमजोर देखिन्छ । पुख्र्यौली सम्पत्ति बाबुबाजेको पालामा आइपुग्दा अनेक बहानामा शोषक सामन्तका हातमा पुगेको पाइन्छ (ऐजन) । बाल्यकालदेखि नै अत्यन्तै मेहनती भण्डारी कडा मेहनत र सङ्घर्ष गर्दै शिक्षण तथा निजामती सेवामा केही समय संलग्न रहेको देखिन्छ । शिक्षण पेशा तथा निजामती सेवा र व्यवसायबाट भण्डारीको पारिवारिक आर्थिक अवस्था केही मात्रामा समृद्धि भएको छ (ऐजन) । वि.सं. २०४८ सालदेखि नै श्रीमान् र श्रीमती दुवै मिली व्यापार गर्दै आइरहेकाले जीविकोपार्जन सहज बनेको देखिन्छ ।

पुख्र्यौली सम्पत्तिको रूपमा अहिले पनि जन्मथलो गुल्मी धुर्कोट वस्तुमा घरजग्गा रहेको छ । जसमा उनको भोगचलन छैन (विन्तादेवीबाट प्राप्त जानकारी) । उनको हाल काठमाडौं कोटेश्वरमा घरघडेरी रहेको छ । यसमा भण्डारीको पाँच जनाको परिवार २०५९ सालदेखि बसोबास गर्दै आइरहेको देखिन्छ ।

२.१३ स्थायी बसोबास
विष्णु भण्डारीको जन्मभूमि गुल्मी जिल्लाको धुर्कोट वस्तु भए पनि अध्ययनको सिलसिलामा माध्यमिक तह उत्तीर्ण गरेपछि त्यस स्थानबाट टाढिन पुगेको देखिन्छ । उनी लामो समयदेखि अध्ययन, जागिर तथा व्यापार व्यवसाका कारण काठमाडौंमा बसोबास गर्दै आएका छन् । कडा मेहनत र परिश्रमद्वारा भण्डारीले काठमाडौंमा आफ्नो निजी घर घडेरी बनाउन सफल देखिन्छन् । काठमाडौंको कोटेश्वरको घरमा स्थायी रूपमा बसोबास गरे पनि उनी आफ्नो स्थायी ठेगाना गुल्मी धुर्कोट नै भन्न रूचाउँछन् (शोधनायकबाट प्राप्त जानकारी) ।

२.१४ राजनीति र संघसंस्थागत सम्लग्नता
विष्णु भण्डारी आफ्नो जीवनको पूर्वाद्ध समयदेखि नै वाम राजनीतिमा सक्रिय व्यक्ति हुन् । घरपरिवारबाटै वामपन्थी प्रभाव परेको बताउने भण्डारी अखिल छैटौँबाट २०३८ मा कक्षा ८ मा पढ्दा प्रथम पटक स्व.वि.यू. उपसभापतिको उमेद्वारमा उठे पनि पराजित भएको देखिन्छ (पूर्ववत) । उनी वाम राजनीतिमा संलग्नहुँदै पञ्चायतकालमा पञ्चायती विरोधी र बहुदल कालमा बहुदलका नाममा जनतामाथि गरिएको दमन र शोषणको विरोधमा सक्रिय रूपमा लागिपरेको देखिन्छ । यसबाट उनको राजनीतिक मार्ग प्रस्ट हुन आउछ । वि.सं. २०४० जेठ २ मा पहिलो पटक सरकारद्वारा वारेन्ट र साउन १ मा गिरफ्तार भई कस्टडीमा परेका भण्डारी विद्यार्थी आन्दोलन, २०४२ को शिक्षक आन्दोलन, सरस्वती सदनको चैत्र ३ को स्रष्टाहरूको भ्रद्र अभज्ञा तथा कालोपट्टी सहितको विरोधमा, २०६२÷६३ को जनआन्दोलन अगाडि विभिन्न निषेधित क्षेत्र तोड्दा गरी पटक–पटक कस्टडीमा परेको देखिन्छ (ऐजन) । पहिल्यैबाट तत्कालीन ने.क.पा. माओवादीलाई नैतिक समर्थन गर्दै आएका भण्डारी वि.सं. २०६३ असार १३ गतेबाट औपचारिक रूपमा तत्कालीन ने.क.पा. माओवादी सांस्कृतिक मोर्चाको क्षेत्रीय सदस्य रूपमा मोओवादी पार्टीमा प्रवेश गरी हालसम्म सक्रिय रूपमा राजनीतिमा संलग्नरहेको देखिन्छ ।

राजनीतिसँगै विष्णु भण्डारी केही सामाजिक संघसंस्थाहरूमा पनि संलग्नछन् । उनी हाल प्रगतिशील लेखक संघमा केन्द्रीय कोषाध्यक्ष, अखिल नेपाल लेखक संघका केन्द्रीय सदस्य, जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य पदमा रहेर कार्य गर्दै आईरहेका छन् (ऐजन) । उनी वि.सं. २०४४ सालदेखि २०४६ सालसम्म हल्कारा साहित्यिक त्रैमासिक पत्रिकामा एस.वि. विवेकको नामबाट सम्पादन सहयोगी भएर काम गरेका छन् । त्यस्तै उनले चन्द्रागिरी साहित्यिक पत्रिकाको प्रकाशक÷सम्पादक, अभिज्ञान आन्दोलन अध्यक्ष भएर काम गरेको देखिन्छ (ऐजन) । साहित्यिक पत्रकार संघको केन्द्रीय सदस्य रहेका विष्णु भण्डारीले वि.सं.२०४२ बैशाख १ गतेदेखि ८ महिनासम्म शिक्षक पदमा र मुखिया पदमा वि.सं. २०४३ बैशाख १७ देखि पुससम्म र खरदार पदमा वि.सं. २०४३ फागुन १८ देखि २०४६ मङ्सिर २ सम्म रही कार्य गरेको देखिन्छ । यस बाहेक अनौपचारिक रूपमा उनी विभिन्न संघसंस्थाहरूमा कार्यरत पनि छन् ।

२.१५ सिर्जनात्मक गतिविधि

२.१५.१ साहित्यिक सिर्जनाको प्रभाव र प्रेरणा
गुल्मी धुर्कोटको रमणीय प्राकृतिक वातावरणमा हाँस्दै खेल्दै त्यही माध्यमिक शिक्षा पूरा गरेका विष्णु भण्डारीको साहित्य लेखनमा त्यहाँको प्राकृतिक मनोरम छटाहरू तथा तत्कालीन सामाजिक सांस्कृतिक पक्षहरूको प्रभाव पारेको देखिन्छ । विद्यालयमा साप्ताहिक रूपमा साहित्यिक कार्यक्रम हुने गरेको र उक्त कार्यक्रममा उनका दाजु हरि भण्डारीले भाग लिने गर्दथे । उनलाई पनि त्यस्ता साप्ताहिक कार्यक्रममा भाग लिन दाजुको प्रेरणा मिलेको हो (शोधनायकबाट प्राप्त जानकारी) । विष्णु भण्डारीले साहित्यिक कार्यक्रममा कविता वाचन गरेको देखेर शिक्षकहरू उनलाई हौसला दिँदै साहित्य लेखनका लागि प्रोत्साहन गरेको देखिन्छ ।

बाल्यकालमै पारिवारिक समस्याका कारण कामको खोजीमा भारत पुगेका भण्डारीले त्यहाँ नेपाली पद्य सङ्ग्रह भाग एक, महाभारत र रामायण पढ्ने अवसर पाए जसले उनीमा साहित्य लेखनका लागि प्रभाव पारेको देखिन्छ । म्याक्सिम गोर्कीको आमालगायत थुप्रै साहित्यिक कृतिको अध्ययन विष्णु भण्डारीले विद्यालय तहमै गरेको देखिन्छ । गरिबी र अभावग्रस्त घरपरिवार, समाजमा भएको सामाजिक आर्थिक विभेद र शोषणले विद्रोहात्मक लेखनका लागि भण्डारीलाई ऊर्जा प्रदान गरेको बताउँदछन् (पूर्ववत) । प्रगतिशील साहित्यका फाँटमा चम्किएका तारा विष्णु भण्डारीलाई साहित्य लेखनमा उनको पारिवारिक पृष्ठभूमि, तत्कालीन समाज, साथीभाइ, भौगोलिक परिवेश, विद्यालयीय साहित्यिक कार्यक्रम, गुरुहरू, राजनीतिक सम्र्पक तथा विद्रोही स्वभावले उत्प्रेरणा जगाएको देखिन्छ ।

२.१५.२ साहित्यिक रचनाको प्रारम्भ र प्रथम प्रकाशित रचना
विष्णु भण्डारीको साहित्यिक लेखनको प्रारम्भ विद्यार्थी जीवनदेखि नै भएको हो । उनले विद्यार्थी जीवनमा थुप्रै कविता, कथा लेखेका भए पनि प्रकाशित भने छैनन् । उनले विद्यार्थीकालमै लेखेको कविता रेडियो नेपालको साहित्य संसार कार्यक्रममा प्रसारण भएको देखिन्छ (ऐजन) । उनको पहिलो कृति प्रकाशन हुनुभन्दा अघिका फुटकर रचना अप्रकाशित रहेका छन् । उनी नेपाली साहित्यका फाँटमा कविता विधाको विद्रोहको छाल खण्डकाव्य लिएर औपचारिक रूपमा देखिएको पाइन्छ । उनले वि.सं. २०४३ सालमा एस.वि.विवेक उपनामबाट यो कृति प्रकाशित गराएका हुन् । यो नै भण्डारीको प्रथम प्रकाशित कृति र रचना हो ।

२.१५.३ प्रकाशित पुस्तककार कृतिको विवरण
विष्णु भण्डारीले नेपाली साहित्यको कविता र कथा विधामा कलम चलाएका छन् । उनले कविता विधाको लघुत्तम रूपदेखि बृहत् रूपसम्ममा कृतिको रचना र प्रकाशन गरेका छन् । त्यस्तै उनको कथा विधाका क्षेत्रमा एउटा मात्र फुटकर रूपमा कथा प्रकाशित भएको छ । उनको हालसम्म प्रकाशित कृतिहरू निम्न छन् :
१. विद्रोहको छाल (खण्डकाव्य), २०४३
२. आँधी तुफान (मुक्तक सङ्ग्रह), २०४४
३. ब्वाँसोकोे अन्त्यको खेल (खण्डकाव्य), २०४५
४. कालो नाटक (लघु काव्य), २०४५
५. फेरि अर्को तारा खस्यो (कविता सङ्ग्रह), २०६३
६. देश जागेको बेला (कविता सङ्ग्रह), २०६३
७. उत्सर्ग (महाकाव्य), २०६७
८. घाइते ह्विलचियर (कविता सङ्ग्रह), २०६९
९. विश्वासमा अडिएको जीवन (फुटकर कथा)

२.१६ रुचि र स्वभाव

२.१६.१ रुचि
व्यक्ति विशेष अनुसार नै उसका रुचि र इच्छाहरू फरक–फरक हुन्छन् । व्यक्तिको पहिचान उसको रुचिका आधारमा पनि गर्न सकिन्छ । विष्णु भण्डारीको रुचि भनेको साम्यवादी समाजको निर्माण गर्नु हो (पूर्ववत) । सानै उमेरदेखि उनी पढाइ लेखाइमा असाध्यै रुचि राखेको देखिन्छ । पढाइमा सधैँ प्रथम र द्वितीय हुने भण्डारी बाल्यकालमा पढाइ लेखाइका अलवा वक्तृत्वकला र हाजिरी जवाफमा पनि रुचि देखिन्छ । बाल्यकालदेखि नै साहित्यमा असाध्यै रुचि राख्ने भण्डारीको रुचिक्षेत्र साहित्य सिर्जना र अध्ययन नै देखिन्छ । उनी अध्ययनका लागि एकान्त मन पराउँछन् (पार्वताबाट प्राप्त जानकारी) । ‘मानवता नै धर्म हो’ भन्ने मान्यता बोकेका विष्णु भण्डारी मूर्तिपूजाका विरोधी भएको बताउँछन् (पूर्ववत) । समाजका असहाय, दीन दुःखीहरूलाई सहयोग गर्दा परमानन्दको अनुभूति गर्छन् । उनको रुचि भौतिक सुखसयलभन्दा ‘सादा जीवन उच्च विचार’सँग मिल्दछ । बिहानका समय पत्रपत्रिका पढ्न छुट्याउने भण्डारीको मुख्य साथी कलम हो । उनले देशमा व्याप्त धार्मिक अन्धविश्वास, रुढिवादी परम्परा, शोषण, दमन, अन्याय, अत्याचारप्रति कलमका सहायताले प्रतिकार गर्छन (ऐजन) । उनको साहित्यका सबै विधामा रुचि भए पनि विशेषरुचि कविता विधामा रहेको पाइन्छ ।

परिश्रमी, निश्च्छल, चिन्तनशील र निस्वार्थ आचरण भएका मानिस भण्डारीलाई मन पर्छ । उनी त्यस्ता मानिससँग घुलमिल हुन चाहन्छन् । सामान्यतया सर्ट पाइन्ट नै उनलाई मन पर्ने परिहन हो । उनी सादा नेपाली खाना मन पराउँछन् । खानामा भात, तरकारी, दूध, फलपूmल र मासु मन पराउँछन् । दैनिक खानाका साथमा दही उनलाई अत्याधिक मन पर्छ (पार्वताबाट प्राप्त जानकारी) । यसरी हेर्दा उनी खानामा खासै सौखिन नरहेको देखिन्छ ।

२.१६.२ स्वभाव
बाल्यकालदेखि नै अध्यनशील र रचनात्मक स्वभाव भएका विष्णु भण्डारी प्रमुख साधानाको क्षेत्र नेपाली साहित्य नै हो । सानोमा अत्यन्त लजालु भएका विष्णु भण्डारी अध्ययनका अलवा एकान्तमा रमाउने घुमफिर गर्ने गर्दछन् । बाल्यकालदेखि नै उमेरको बृद्धिसँगै भण्डारीमा नराम्रो पक्षप्रति विद्रोहात्मक स्वभावको विकास भएको देखिन्छ । विद्रोही स्वभावसँगै भण्डारीमा सरल बानी व्यहोराका साथै मिलनसार स्वभाव छ । उनको यही स्वभावका कारण सबै तहका व्यक्तिसँग सुमधुर सम्बन्ध र सम्पर्क रहेको देखिन्छ । भण्डारीमा जस्तो सुकै जटिल परिस्थिति आइपर्दा पनि धैर्य, संयमित र विचार पु¥याएर निर्णयमा पुग्ने स्थिर र स्वभिमानी प्रवृत्ति जस्ता मानवीय गुणहरू देखिन्छन् (ऋद्धिरमण घिमिरेबाट प्राप्त जानकारी) । परिवारका सदस्यहरूसँग पनि साथीसङ्गीको जस्तो व्यवहार गर्ने भण्डारी औपचारिक कार्यक्रमहरूमा प्रस्तुत हुँदा सौम्य र भद्र देखिन्छन् । शिष्ट व्यवहार, मिठो बोली, सरल भेष, मझौला कद र हँसिलो अनुहार भएका भण्डारी सरल र विश्वासयोग्य देखिन्छन् । कर्ममा विश्वास गर्ने भण्डारीले फुर्सतको समयमा साहित्य लेखन तथा अध्ययनमा लगाएको देखिन्छ ।

२.१७ निष्कर्षः
वि.सं. २०२० फागुन २९ गते धुर्कोट वस्तु, गुल्मीमा जन्मिएका विष्णु भण्डारी नेपाली साहित्यको कविता तथा कथा विधामा उदाएका एक चम्किला नक्षत्र हुन् । गुल्मी धुर्कोटको रमणीय ग्रामीण परिवेशमा आफ्नो बाल्यकाल बिताएका भण्डारीका बुबाआमा स्व. परमानन्द भण्डारी र विन्तादेवी भण्डारी हुनुहुन्छ । हालै मात्र पितृवियोग सहेका भण्डारीका एक छोरा र दुई छोरी छन् । साहित्य यात्राका हरेक खुड्किलामा आफ्नी जीवनसङ्गिनीको योगदान मान्ने भण्डारीको सहयात्राका रूपमा पार्वता भण्डारी रहेकी छन् । माक्र्सवादी साहित्यको अध्ययन, सिर्जना र सौन्दर्य चिन्तनमा रुचि लिने भण्डारीले जीवनका पचास वसन्त पार गरिसकेका छन् । उनी राजनीतिमा पनि सक्रिय रहेको देखिन्छ । जनतालाई साहित्यमार्फत आफ्नो हक, अधिकारका निम्ति अघि बढ्न आह्वान गर्दछन् । प्रगतिशील लेखक संघका केन्दीय कोषाध्यक्ष, जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य र एकीकृत ने.क.पा. माओवादी सांस्कृतिक जिल्ला कमिटी सदस्य भई काम गरिरहेका भण्डारी हाल काठमाडौं कोटेश्वरस्थित घरमा बसोबास गरिरहेका छन् ।

खास गरी यस परिच्छेदमा साहित्यकार विष्णु भण्डारीको जीवनसँग सम्बन्धित रहेर उनका जीवनीका विभिन्न पाटाहरूलाई खोतल्ने काम भएको छ । यस जीवनी परिच्छेदअन्तर्गत भण्डारीको जन्म र जन्मस्थान, पारिवारिक अवस्था, पैतृक व्यवसाय, पारिवारिक पृष्ठभूमि, बाल्यकालको स्थिति, शिक्षादीक्षा, विवाह र दाम्पत्य जीवन, सन्तान, आजीविका, आर्थिक अवस्था, स्थायी बसोबास, संस्थागत सङ्लग्नता, साहित्यिक गतिविधि, रुचि र स्वभाव जस्ता पक्षहरूलाई देखाउने प्रयास गरिएको छ । यस जीवनी परिच्छेदले विष्णु भण्डारीका जीवनीका विविध पाटाहरूलाई उजिल्याउने विश्वास गर्न सकिन्छ ।


परिच्छेद तीन
विष्णु भण्डारीको व्यक्तित्व

३.१ पृष्ठभूमि
व्यक्तित्व शब्दले व्यक्ति विशेषमा हुने वैयक्तिक गुण वा निजीपनालाई बुझाउँछ । व्यक्तित्व निर्माणमा हरेक व्यक्तिको पारिवारिक वातावरण, संस्कार, सामाजिक, सांस्कृतिक, आर्थिक एवम् राजनीतिक पृष्ठभूमिले उल्लेखनीय भूमिका खेलेको हुन्छ । (आचार्य, २०६९ ः १९) । साथै व्यक्तिको जीवन जगत्का अनुभव, आरोह–अवरोध, उतार–चढाव, सुख–दुःख एवम् उसमा भएको सिर्जनशील प्रतिभा, अध्ययन चिन्तनमनन र उसभित्रको महत्वाकांक्षाले पनि व्यक्तित्व निमार्णमा गहन प्रभाव पारेको हुन्छ । व्यक्तित्वभित्र निहित प्रतिभा नै व्यक्तित्व हो । व्यक्तिभित्र रहेका आन्तरिक रूपलाई दृढ बनाउँदा उसको व्यक्तित्व देखिन्छ । व्यक्तिले आफ्नो प्रतिभाको प्रस्तुति गर्दा उसको व्यक्तित्व देखिन्छ । त्यसैले व्यक्तित्व भन्नाले व्यक्तिभित्र अन्तरनिहित समयानुकूल चल्न सक्ने शक्ति सामथ्र्य हो । सामान्यतया व्यक्तित्वका दुई पाटाहरू हुन्छन् । ती पाटाहरू आन्तरिक र बाह्य व्यक्तित्व हुन् । यही आन्तरिक र बाह्य व्यक्तित्व एक आपसमा परिपूरक भइरहेका हुन्छन् ।

विष्णु भण्डारी नेपाली साहित्यका एक सर्जक व्यक्तित्व हुन् । उनको मूलतः साहित्यकार व्यक्तित्व उच्च रहेको छ । भण्डारीको व्यक्तित्व निर्माण उनको पारिवारिक वातावरण, बाल्यकालको परिवेश, दाजु हरि भण्डारीको साहित्यप्रतिको झुकाव र विद्यालयीय साहित्यिक वातावरणले भूमिका खेलेको देखिन्छ । त्यस्तै देशमा व्याप्त पञ्चायतविरोधी राजनीतिक क्रियाकलाप, सामाजिक सचेतनाका कार्यहरू, शिक्षा तथा निजामती क्षेत्रमा संलग्नभई गरेका जागिरे अनुभवबाट उनको व्यक्तित्वमा प्रभाव परेको छ । प्रत्येक मानिसमा अन्तरनिहित प्रतिभा र व्यक्तित्वहरू हुन्छन् तर सबैले कुशलता प्राप्त गर्न सकेका हुँदैनन् । व्यक्तिको व्यक्तित्व उसका जीवनमा आइपर्ने विभिन्न घटना र मोडहरूबाट समेत निर्मित हुन्छ । विष्णु भण्डारीले जुन–जुन क्षेत्रमा संलग्नरहेका छन् ती क्षेत्रमा उनले प्रभाव छोड्न सफल रहेका छन् । बाल्यकालदेखि नै साहित्यप्रति रुचि राख्ने भण्डारीले नेपाली साहित्यको कविता र कथा विधामा महत्त्वपूर्ण काम गरेका छन् । उनले कविता विधाको लघुत्तम् रूपदेखि वृहत रूपसम्म सिर्जना गरी साहित्यिक बहुविद् व्यक्तित्वको निमार्ण गरेका छन् ।

३.२ व्यक्तित्वका विभिन्न पाटाहरू
कुनै पनि मानिसको जीवन भोगाइका क्रममा हुने विविध घटना एवम् परिवेशले व्यक्तित्व निर्माणमा भूमिका निर्वाह गर्दछ । त्यसैले ऊ बाँचेको परिवेश, सामाजिक, सांस्कृतिक, आर्थिक अवस्था, पारिवारिक पृष्ठभूमिले पनि व्यक्तित्वमा प्रभाव पार्दछ । यिनै परिवेशबाट निर्मित व्यक्तिको व्यक्तित्वलाई हामीले निजी र सार्वजनिक गरी दुई भागमा बाँढेर हेर्न सकिन्छ । निजी व्यक्तित्वभित्र व्यक्तिका निजी व्यवहारसँग सम्बन्धित पक्षहरू पर्दछन् । निजी व्यक्तित्वलाई पनि आन्तरिक र बाह्य गरी दुई उपभागमा विभाजन गरेर हेर्न सकिन्छ । त्यसै गरी सार्वजनिक व्यक्तित्व भन्नाले समाजका लागि गरिएका व्यवहारिक पक्ष भन्ने बुझिन्छ । सार्वजनिक व्यक्तित्वलाई पनि साहित्यिक र साहित्येत्तर व्यक्तित्व गरी वर्गीकरण गरेर हेर्न सकिन्छ । समाजभित्रका साहित्यसँग सम्बन्धित कार्यहरू व्यक्तिको साहित्यिक व्यक्तित्वभित्र पर्दछ भने समाजभित्र व्यक्तिका साहित्यइतर विभिन्न पक्षहरूमा संलग्न रही गरिएका कार्यहरूबाट साहित्येतर व्यक्तित्व देखिन्छ ।

विष्णु भण्डारी मूलतः नेपाली साहित्यका एक स्रष्टा व्यक्तित्व हुन् । उनी ५० वसन्त पार गरेका नेपाली साहित्यका सिर्जनशील व्यक्तित्व हुन् । साहित्य सिर्जनामा निरन्तर सक्रिय र साधनारत विष्णु भण्डारीको व्यक्तित्व उनले विविध क्षेत्रमा निर्वाह गरेको भूमिका र योगदानका कारण बहुआयमिक हुन पुगेको देखिन्छ । उनले आफ्नो कार्यक्षेत्रमा निर्वाह गरेको भूमिकालाई हेर्दा उनको बहुआयमिक व्यक्तित्व गौरवमय र अविस्मरणीय बन्न पुगेको छ । भण्डारी जुन–जुन क्षेत्रमा संलग्न र क्रियाशील छन् त्यस क्षेत्रमा उनले आफ्नो स्थान बनाउन सफल भएको देखिन्छ । लामो समयदेखि नेपाली साहित्य, संस्कृति र समाजको उन्नयनमा क्रियाशील भण्डारीको व्यक्तित्वका पाटाहरूलाई यसरी उल्लेख गर्न सकिन्छ :

३.२.१ निजी व्यक्तित्व
व्यक्तिको निजी जीवनजगत्, व्यवहार, गुण, स्वभाव, आचरण, शारीरिक वनावट आकार–प्रकार आदिलाई निजी व्यक्तित्व मानिन्छ । व्यक्ति विशेषमा निजी व्यक्तित्व फरक–फरक हुन्छ । व्यक्तिको व्यक्तित्वको अध्ययन अलिक जटिल पक्ष हो । त्यसमा पनि निजी व्यक्तित्व सूक्ष्म अध्ययन भएकाले संयमित भएर गर्नुपर्ने हुन्छ । निजी व्यक्तित्वलाई पनि आन्तरिक र बाह्य दुई उपशीर्षकमा राखेर अनुसन्धान गर्न सकिन्छ ।
विष्णु भण्डारीको व्यक्तित्वको एउटा पाटो निजी व्यक्तित्वलाई आन्तरिक र बाह्य गरी प्रस्तुत गर्न सकिन्छ ।

३.२.१.१ आन्तरिक व्यक्तित्व
विष्णु भण्डारीको व्यक्तित्व केलाउँदै जाँदा उनी सानै उमेरदेखि लजालु एकान्त मन पराउने, रचनात्मक स्वभाव भएका, साथीहरूसँग मिलनसार, सहयोगी, आमासँग बढी घुल्ने, घरको कामकाजमा आमालाई सहयोग गर्ने देखिन्छ । उनमा उमेरको बृद्धिसँगै लजालु स्वभाव हराउँदै निडर, निर्भिक, कुनै विषयप्रति गम्भीर भई सोेच्ने, मृदुभाषी, शिष्ट र प्रकृतिप्रेमी हुँदाहुँदै पनि विद्रोहात्मक स्वभावको विकास भएको देखिन्छ । उनी बाल्यकालदेखि नै सामाजिक विकृति विसङ्गति र शोषणप्रति विरोध जनाउँदै चेतना ल्याउन चाहन्थे (शोधनायकबाट प्राप्त जानकारी) । पारिवारिक आर्थिक अवस्था कमजोर भएकै कारण बालश्रमिकमा रूपमा भारतमा वि.सं. २०३३ काम गर्न पुगेका भण्डारीले त्यहाँ पुराना फालिएका पत्रपत्रिका र नेपाली पद्य सङ्ग्रह भाग एक, महाभारत र रामायण अध्ययन गरेकाले स्वअध्ययनलाई सँगै लगेको देखिन्छ । उनी नेपाल फर्की आफ्नो अधुरो शिक्षालाई निरन्तरता दिएका हुन् । आफ्नो आन्तरिक रुचि, दाजुको हौसला, विद्यालयीय साहित्यिक वातावरण आदिले उनलाई साहित्यतर्फ प्रेरित गर्ने कारकतत्वका रूपमा देखिन्छन् । झ्वाट्ट हेर्दा सरल, शान्त र सहज देखिने विष्णु भण्डारी बौद्धिक र चिन्तनशील छन् ।

सबै उमेर र वर्गका व्यक्तिसँग सुमधुर सम्बन्ध राख्ने भण्डारीको सरल र मिजासिलो स्वभाव देखिन्छ । सबैको कुरा चाख दिएर सुन्ने उनी गरिब दुःखी देख्दा स्तब्ध हुन्छन् (जीवन सलामबाट प्राप्त जानकारी)। विष्णु भण्डारी जीवनका जस्तोसुकै परिस्थतिमा पनि धैर्य, संयम र विचार पु¥याएर सधैँ क्रियाशील भई निर्णयमा पुग्ने साहसी उच्च मनोबल भएका व्यक्तित्व हुन् । मुस्कुराउँदै बोल्ने सरल विनम्र बोली भएका भण्डारी सामाजिक वर्गभेदरहित समुन्नत राष्ट्रको निर्माणका लागि नेपाल र नेपाली समाजमा साहित्यिक कीर्ति फिँजाउन प्रयत्नशील देखिन्छन् । ‘आडम्बरी र घमण्डीपन मानिसको प्रगतिपथको बाधक हो भन्ने भण्डारी विनम्रता र समान व्यवहार गर्ने मानिस नै वास्तविक रूपमा ठूलो मानिस हो भन्दछन्’ (शोधनायकबाट प्राप्त जानकारी) ।

साहित्यिक लेखनबाट मानसिक सन्तुष्टि मिल्दछ भन्ने विष्णु भण्डारी फुर्सदको समय कति पनि खेर फाल्दैनन् । बिहानको समय सधैँ बाहिरको स्वच्छ वातावरणमा निस्कन र पत्रपत्रिका पढ्नमा छुट्याएका भण्डारी दुःखी असहायलाई देख्ने बित्तिकै सक्दो सहयोग गर्न पछि पर्दैनन् (प्रदीप भण्डारीबाट प्राप्त जानकारी) । ‘मानवता नै धर्म हो’ भन्ने मान्यतामा विश्वास राख्ने उनमा लोभ लालच जस्ता प्रवृत्ति देखिँदैन । उनको अनुहारमा देखिने सन्तुष्टिको कान्तिले अद्यावधिक व्यक्तित्वमा उत्कर्ष थपिरहेको देखिन्छ । उनी खानपानमा साधारण नेपाली खाना, मासुका साथै दही अत्यधिक मन पराउँछन् । मौसम अनुसारको फलपूmल खान नै मन पराउने भण्डारीमा मृदुभाषी, मिलनसार, सरल, सहयोगी, कर्मठ, भावुक र स्वावलम्बीका साथसाथै विद्रोहीजस्ता विशेषता रहेको देखिन्छ ।

३.२.१.२ बाह्य व्यक्तित्व
व्यक्तिको सबैले बाहिरबाट सजिलै देख्न सकिने रूपाकृति उसको बाह्य व्यक्तित्व हो । व्यक्तिको शारीरिक बनावट आकार प्रकार वा शारीरिक वनोटले उसको बाह्य व्यक्तित्व निर्माण गर्दछ । यो शारीरिक दृश्य संरचनामा आधारित हुन्छ । जीवनको पचास वसन्त पार गरेका हँसिलो र खुलेको अनुहार भएका विष्णु भण्डारीको कद मझौला किसिमको छ । उनी गहुगोरो वर्ण, सामान्य कद पाँच फिट दुई इन्च, उचाइ ६३ के.जी. तौल भएका पुष्ट शरीर, चम्किला आँखा, चौडा निधार, हँसिलो रसिलो मुखाकृति मिलेका दाँतहरू, चिटिक्क मिलाइएको कोरेको केश उनको व्यक्तित्व आकर्षक देखिन्छ । उनको शारीरिक वनावट मिलेको पूmर्तिलो देखिन्छ । बाल्यकालमा चरम अभाव भोग्दै जीवनमा अनेक सङ्घर्ष गर्दै अघि बढेका भण्डारीको मानसिक अवस्था सामान्य रहेको छ ।

अत्याधुनिक, फजुल र खर्चिलो किसिमको पोशाक मन नपराउने भण्डारी सधैँ सफा र शरीरमा टपक्क मिलेको सट पेन्ट लगाउँछन् । उनलाई आभूषणहरूको कुनै शौख छैन (शोधनायकबाट प्राप्त जानकारी) । जसले गर्दा उनको शारीरिक व्यक्तित्व अर्थात् निजी बाह्य व्यक्तित्व सरल र आकर्षक देखिन्छ । आफ्नो कार्यप्रति जिम्मेवार रहने विष्णु भण्डारी फुर्सदको समय अध्ययन, चिन्तन र साहित्य सिर्जनामा तल्लीन हुन्छन् । साथीभाइ इष्टमित्रसँगको भेटघाट र कुराकानीमा उनी अति सरल, शिष्ट, सौम्य र भद्र देखिन्छन् ।

३.२.२ सार्वजनिक व्यक्तित्व
मानिस चेतनशील सामाजिक प्राणी भएकाले ऊ समाजमा बसोबास गर्दछ र उसका सम्पूर्ण आवश्यकताहरू त्यही पूरा हुन्छन् । समाजका मान्यता र ढाँचा अनुरूप उसले समाजभित्रै ज्ञात वा अज्ञात रूप थाहै नदिई नयाँ रूप लिन सक्छ भने त्यो उसको सार्जनिक व्यक्तित्व हो । समाजमा हुने व्यवहारजन्य क्रियाकलापद्वारा व्यक्तिको सार्वजनिक व्यक्तित्व निर्माण हुने गर्दछ । व्यक्तिले समाजलाई जुन प्रभाव र प्रेरणा प्रदान गर्दछ त्यही नै उसको सार्वजनिक व्यक्तित्वभित्र पर्दछ (ढकाल, २०६५ : २५)

बाल्यकालदेखि नै साहित्यिक क्रियाकलापमा संलग्न भई औपचारिक रूपमा वि.सं. २०४३ मा विद्रोहको छाल खण्डकाव्य कृति लिएर औपचापरिक रूपमा नेपाली साहित्यका क्षेत्रमा देखापरेका हुन् । उनले नेपाली समाजको समुन्नत भविष्य चाहन्छन् । नेपाली समाजको उन्नति र प्रगतिका लागि साहित्यद्वारा परिवर्तनका सन्देशहरू दिएका छन् । विभिन्न राजनीतिक सङ्गठन एवम् सामाजिक संघसंस्थामा आबद्ध भई सक्रिय हुँदै आएका भण्डारीको वैचारिक प्रवाहको माध्यम पनि साहित्य नै हो । त्यसैले उनको सार्वजनिक व्यक्तित्वलाई साहित्यिक र साहित्येतर व्यक्तित्व गरी दुई तहमा उल्लेख गर्न सकिन्छ :

३.२.२.१ साहित्यिक व्यक्तित्व
व्यक्तिले साहित्यका विभिन्न विधामा गरेको योगदानबाट उसको साहित्यिक व्यक्तित्वको निर्माण हुन्छ । कुनै पनि व्यक्तिको साहित्यिक व्यक्तित्व त्यस व्यक्तिका साहित्यिक कृतिका आधारमा हेरिन्छ । विष्णु भण्डारीको साहित्यिक व्यक्तित्वलाई पनि उनका प्रकाशित कृतिहरूका विधागत सापेक्षताका आधारमा छुट्याउँदा सान्दर्भिक हुन्छ । वि.सं. २०४३ मा विद्रोहको छाल कृति लिएर औपचारिक साहित्य यात्रा प्रयोग गरेका भण्डारीको साहित्यिक व्यक्तित्वका विभिन्न पाटाहरूलाई निम्न अनुसार उल्लेख गर्न सकिन्छ :
— कवि व्यक्तित्व
— कथाकार व्यक्तित्व
उल्लेखित साहित्यिक व्यक्तित्वहरूको चर्चा अलग–अलग उपशीर्षकहरूमा तल प्रस्तुत गरिएको छ ः

३.२.२.१.१ कवि व्यक्तित्व
शोधनायक विष्णु भण्डारीको स्रष्टा व्यक्तित्वको ऊर्जाशील पक्ष कवि व्यक्तित्व हो । वि.सं. २०४३ मा विद्रोहको छाल खण्डकाव्य कृति प्रकाशन गरी औपचारिक रूपमा साहित्य यात्रामा समाहित भएका हुन् । उनको यात्रा कविता विधाको लघुत्तम रूपदेखि चरम रूप महाकाव्यसम्म फैँलिएको देखिन्छ । नेपाली साहित्यको कविता विधामा थुप्रै कृतिहरू रचना गरी साहित्यको श्रीवृद्धि गरेका भण्डारीका कवितामा भाव गाम्भीर्य र अन्तरवस्तुको गहनताको दृष्टिले कवित्व उच्च रहेको देखिन्छ ।

कवि विष्णु भण्डारीले कविता यात्राका क्रममा वि.सं. २०४४ सालमा आँधी तुफान (मुक्तक सङ्ग्रह) प्रकाशित गरेका हुन् । यस सङ्ग्रह फरक फरक विषयवस्तुका २३ वटा मुक्तकहर समावेश गरिएका छन् । उनले कविता विधाको लघुत्तम रूप मानिने मुक्तकको माध्यमबाट तत्कालीन युगीन शासन व्यवस्थाप्रति विरोध र व्यङ्ग्य प्रकट गर्दैै नयाँ समाज निर्माणको पक्षमा आफ्नो आवाजलाई उठाउने काम गरेको देखिन्छ ।

भण्डारीले फुटकर कविता लेखनकार्य विद्यार्थी अवस्थादेखि गरेको भए पनि वि.सं. २०४४ सालमा गोरेटो शीर्षका फुटकर कविता प्रकाशन भएको हो (शोधनायकबाट प्राप्त जानकारी) । त्यसपछिका समयमा विभिन्न पत्रपत्रिकाहरूमा फुटकर कविता प्रकाशन गर्दै आए पनि ती सबै कविताहरू उनले फेरि अर्को तारा खस्यो (२०६३), देश जागेको बेला (२०६३) र घाइते ह्विलचियर (२०६९) शीर्षकका कविता सङ्ग्रहमा सङ्कलित गरेका छन् ।

उनको पहिलो कविता सङ्ग्रह फेरि अर्को तारा खस्यो सङ्ग्रहमा विभिन्न विषय र आकारका ३५ वटा फुटकर कविताहरू गद्यालयमा संरचित रहेको देखिन्छ । यस कविता सङ्ग्रहमा सङ्कलित उनका कविताहरूमा यस समयको जीवन, उत्पीडन र निरङ्कुशताको छाप पाइन्छ । दासता, उत्पीडन र अन्यायबाट मानव मुक्तिका लागि उदात्त चाहनाको अभिबृद्धि गर्ने उनका कविताको मर्म उज्यालो एवम् परिवर्तन चाहनु हो । तल्कालीन सामन्ती निरङ्कुश शासनका कारण देश कठीन परिस्थितिमा रहेको सन्दर्भलाई भण्डारीले जनबोल अर्थात् जनउत्कर्षको प्रकटीकरण यस सङ्ग्रहका कवितामा गरेका छन् । यस सङ्ग्रहका अधिकांश कविताहरू बिम्बात्मक सूत्र पाइन्छ । प्रकृति, समाज, इतिहास, पुराकथा, माक्र्सवाद आदि विविध क्षेत्रसँग सम्बन्धित रहेर बिम्ब–प्रतीक र अलङ्कार योजना गरिएको देखिन्छ ।

विष्णु भण्डारको अर्को कविता सङ्ग्रह देश जागेको बेला (२०६३) हो । यस सङ्ग्रहमाविभिन्न विषयका ३० वटा कविताहरू रहेका छन् । यस सङ्ग्रहका सङ्कलित उनका सबै कविता २०६२/६३ को जनआन्दोलनको सेरोफेरोमा रचिएका कविताहरू हुन् । वास्तवमा यस सङ्ग्रहका कविताहरू १९ दिन जनआन्दोलनका दैन्दिन्यको काव्यिक अभिव्यक्ति हुन् । श्रम सङ्घर्ष, उत्पादन सङ्घर्ष र वर्गसङ्घर्षको कलात्मक दर्पण यस देश जागेको बेला कविता सङ्ग्रह बनेको छ । जनआन्दोलनको समयमा सारा देशमा बलेको आगोको साहित्यिक रूप यस सङ्ग्रहका कविताले लिएका छन् । गद्यलय ढाँचामा लेखिएका यस सङ्ग्रहका कवितामा सरल शब्द चयन हुँदाहुँदै पनि गहन अर्थ दिन सफल छन् । जनआन्दोलन जस्तो घटनालाई अनेक बिम्ब प्रतीक योजना गर्दै वैचारिक परिपाकपूर्ण बनाइएको छ । यस सङ्ग्रहका कविताहरू काँडाभित्र पूmलेका गुलाव हुन् र यिनले त्यही गुलावको सौन्दर्यलाई बोकेका छन् (भण्डारी : भूमिका) ।

त्यस्तै विष्णु भण्डारीको अर्को चर्चित कविता सङ्ग्रह घाइते ह्विलचियर (२०६९) रहेको छ । यस सङ्ग्रह ४६ वटा कविताहरू रहेका छन् । यस सङ्ग्रहका सम्पूर्ण कविताहरू गद्यलयमा रचिएका छन् । माक्र्सवाद दर्शन र सिद्धान्तबाट सोझै प्रभावित यस सङ्ग्रहका कविताका विषयवस्तु राजनीतिबाट उत्पन्न परिणाम हुन्, जुन विसङ्गत यथार्थ हुन् ।

हालसम्म तीनवटा कविता सङ्ग्रह प्रकाशित गरेका विष्णु भण्डारीको व्यक्तित्व फुटकर कविता रचनाका दृष्टिले सशक्त मान्नु पर्छ । वि. सं. २०४३ सालदेखि औपचारिक रूपमा कविता रूपी डुङ्गामा हेलिएका भण्डारीको घाइते ह्विलचियर कविता सङ्ग्रहका कवितासम्म आइपुग्दा कवि व्यक्तित्व पनि उचाइमा पुगेको छ ।

विष्णु भण्डारी कविता विधामा यात्राकै क्रममा दुई वटा खण्डकाव्य र एउटा लघुकाव्य प्रकाशन गरेका छन् । ती खण्डकाव्यमा विद्रोहको छाल (२०४३) र ब्वाँसोको अन्त्यको खेल (२०४५) र कालो नाटक (२०४५) लघुकाव्य हुन् । विद्रोहको छाल भण्डारीले एस.वि. विवेकको नामबाट प्रकाशन गरेका छन् । यस खण्डकाव्यमा नीलम र उषाका बीचको वार्तालापबाट नेपालमा प्रजातन्त्र ल्याउनका लागि गरिएको सङ्घर्ष र वस्तुस्थितिको चित्रण गरिएको छ । झ्याउरे लयको दुई सय श्लोकमा रचिएको अन्त्यानुप्रास योजना, सरल शब्द चयन र बिम्ब प्रतीक योजनाले भण्डारीको प्रथम प्रयासमै खण्डकाव्यकार व्यक्तित्व प्रष्टिन्छ । त्यस्तै उनको ब्वाँसोको अन्त्यको खेल खण्डकाव्यको विषयवस्तु आख्यान विकल्प विचारका रूपमा आएको छ । निर्दलीय पञ्चायती शासन व्यवस्थाप्रति व्यङ्ग्य र आक्रोश प्रकट गरिएको यस कृतिबाट प्रगतिवादी साहित्यले योगदान प्राप्त गरेको छ । त्यस्तै उनको अर्को लघुकाव्य कालो नाटक रहेको छ । सामन्तवादी पञ्चायती व्यवस्थाले जनताको आँखामा छारो हाल्दै निस्तेज गर्न अगाडि सारेको रणनीतिलाई विषयवस्तु बनाउँदै अनुष्टुप छन्दमा रचना गरिएको छ । यसरी नेपाली साहित्यको कविता विधाको मझौला रूपमा कृतिहरू प्रकाशित गरी आफ्नो कवि व्यक्तित्वलाई झन उजिल्याएको देखिन्छ ।
विष्णु भण्डारी विधामा यात्राकै क्रममा उत्सर्ग महाकाव्य लिएर नेपाली साहित्यमा वि.सं. २०६७ मा देखिएका छन् । वि.सं. २०५२ देखि २०६३ सम्मको चलेको जनयुद्धमा आधारित भएर यो महाकाव्य लेखिएको छ । प्रत्येक सर्गलाई अलग–अलग शीर्षक दिएर सर्गविधानमा नवीनता ल्याएको यस महाकाव्यमा बिम्ब–अलङ्कार र मिथकहरूको सौन्दर्यपूर्ण प्रयोग पाइन्छ । गद्यलय ढाँचामा लेखिएको यो महाकाव्य युद्धचेतनालाई देखाउन सक्षम भएको छ ।

तीनवटा कविता सङ्ग्रह, एउटा मुक्तक सङ्ग्रह, दुईवटा खण्डकाव्य, एउटा लघुकाव्य र एउटा महाकाव्य प्रकाशित गरेका विष्णु भण्डारीको व्यक्तित्व कविता रचनाका दृष्टिले सशक्त देखिन्छ । वि.सं. २०४३ मा विद्रोहको छाल खण्डकाव्य प्रकाशन गरी काव्ययात्रामा पदापर्ण गरी अघि बढेका भण्डारी वि.सं. २०६९ मा घाइते ह्विलचियरसम्म पुग्दा कवि व्यक्तित्व उचाइमा पुगेको छ । कविता विधाको लघुत्तम रूपदेखि बृहत् रूपसम्म कलम चलाएर विष्णु भण्डारीले आफ्नो परिचय बनाउन सफल छन् ।

३.२.२.१.२ कथाकार व्यक्तित्व
साहित्यिक व्यक्तित्वका विविध पाटाहरूमध्ये विष्णु भण्डारीको कथाकार व्यक्तित्व पनि एउटा पाटो हो । उनलाई कथाकारका रूपमा चिनाउने एउटा मात्र प्रकाशित कथा विश्वासमा अडिएको जीवन (दृश्यावलोकन, २०६६, आश्विन) हो । उनले थुप्रै कथाहरूको सिर्जना गरे पनि प्रकाशित छैनन् । भण्डारीको कथाकार व्यक्तित्वको निरूपण गर्ने आधार पनि यही एउटा कथा हो । सशत्र द्वन्द्वको केही झलक आएको यस कथामा गणतन्त्रको आगमनले जीवनमा परिवर्तन आउन सक्ने विश्वासमा बाँचेका पात्रको कथा समेटिएको छ । प्रगतिवादी प्रवृत्ति पाइने उनको यस कथामा समाजमा व्याप्त गरिबी, शोषण, दासता र अत्याचारको अब अन्त्य भई जनआकांक्षा अनुरूपको शासन रहनेछ भन्दै बेपत्ता परिवार सरकारप्रति आशातीत रहेको यथार्थको मार्मिक चित्रण गरिएको छ । यसरी भण्डारीले समयानुकूल विषयवस्तुलाई रोचकता र कौतुहलपूर्ण बनाई कथात्मक स्वरूप प्रदान गरेका छन् । यस कथामा प्रयोग विषयवस्तु र विचारलाई हेर्दा भण्डारी प्रगतिवादी कथाकारका रूपमा देखिन्छन् ।

३.२.२.२ साहित्येतर व्यक्तित्व
विष्णु भण्डारीमा साहित्यिक व्यक्तित्व जस्तै साहित्येतर व्यक्तित्व पनि पाइन्छ । उनी बहुआयमिक प्रतिभा भएका व्यक्तित्व हुन् । साहित्यका अलवा भण्डारी साहित्येतर विषयसँग पनि संलग्न रहेका छन् । साहित्येतर व्यक्तित्वले पनि उनको साहित्यिक व्यक्तित्वलाई उचाइ प्रदान गर्न परिपूरक भूमिका खेलेको पाइन्छ । उनका साहित्येतर व्यत्क्तित्वलाई निम्नअनुसार उल्लेख गर्न सकिन्छ ः
१. राजनीतिक व्यक्तित्व
२. अभिप्रेरक व्यक्तित्व
३. शिक्षक व्यक्तित्व
४. बहुभाषिक व्यक्तित्व
५. पत्रकार व्यक्तित्व

३.२.२.२.१ राजनीतिक व्यक्तित्व
विष्णु भण्डारीका व्यक्तित्वका पाटाहरूमध्ये साहित्येतर व्यक्तित्वको उर्जाशील पाटो राजनीतिक व्यक्तित्व हो । बाल्यकालदेखि नै वाम राजनीतिमा सक्रिय हुँदै आएका भण्डारी क्रान्ति र रूपान्तरणप्रति सधै आशावादी देखिन्छन् । देशको राजनीतिक अवस्थालाई राम्रैसँग बुझेका उनी राजनीतिक रूपमा सचेत व्यक्तित्व हुन । विद्यार्थी समयमा कक्षा–८ मा पढदा उनी नेकपा मसालको विद्यार्थी सङ्गठन अखिल छैटौँबाट स्व. वि. यु.मा उपसभापति पदमा उमेदवार बनेको भए पनि पराजित भएको देखिन्छ । उनी २०३८ साल माघमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियतको गुल्मी जिल्ला सम्मेलन अयोजक समितिको सहसचिव, २०३८ साल चैतमा सम्पन्न सातौँ राष्ट्रिय सम्मेलनमा जिल्ला प्रतिनिधि भएर काठमाडौं गएको पाइन्छ । त्यस्तै २०३९ कार्तिकमा छैटौको जिल्ला अध्यक्ष, २०३९ चैतमा राप्ती र लुम्बिनी उपकेन्द्रीय समितिको सह–सचिवमा मनोनित भएका हुन् (पूर्ववत) । मसालमा अएको फुट (२०४८) पछि राजनीतिमा निष्कृय रहेका उनी वि.सं. २०६३ असार १३ गतेबाट औपचरिक रूपमा तत्कालिन नेकपा माओवादी (हालको एनेकपा माओवादी) को सांस्कृतिक मोर्चाको क्षेत्रीय सदस्यका रूपमा प्रवेश गरी हाल उक्त पार्टीको सांस्कृतिक जिल्ला समित सदस्यका रूपमा सक्रिय रहेको देखिन्छ ।

३.२.२.२.२ अभिप्रेरक व्यक्तित्व
विष्णु भण्डारी अरूलाई प्रेरणा र हौसला दिई सत्मार्गमा लाग्नका लागि प्रेरणा प्रदान गर्ने व्यक्तिका रूपमा देखापर्दछन् । निरन्तर साधना गरे सफलता मिल्दछ भनी सबैलाई कर्ममा निवृत्त हुन आग्रह गर्दछन् (ऐजन) । उनी साहित्यकार, व्यावसायिक, संस्कृतकर्मी, शिक्षक, कर्मचारी, समाजसेवी र राजनीतिज्ञ समेत भएकाले उनीसँग सरसल्लाह र सहयोग लिने व्यक्तिको सङ्ख्या पनि उल्लेख्य रहेको देखिन्छ । साथै सबैसँग सरल व्यवहार गर्ने बानीका कारण उनीसँग सबै जना नजिकिन्छन् । उनले आपूmसँग सल्लाह लिन खोज्ने व्यक्तिलाई उचित मार्ग निर्देशन गर्दछन् (माधव घिमिरेबाट प्राप्त जानकारी) । उनको हँसिलो, मिजासिलो अनुहार र विनम्र बोली, पूmर्तिलो शरीर, निश्छल आँखाले जोसुकैलाई जीवनमा गम्भीर भई सोच्दै उचित निर्णयमा पुग्नु पर्दछ भन्ने सन्देश दिइरहेको भान हुन्छ । उनको सालिनता र विनम्र बोलीबाट यो शोधार्थी पनि प्रभावित नभइरहन सकेन । उनीसँग उचित सल्लाह दिएर उपयुक्त समयमा उपयुक्त बाटो देखाइदिने खुबी पनि रहेको देखिन्छ । आफ्नो कर्तव्यप्रति इमान्दार भण्डारी एक कुशल अभिप्रेरक व्यक्तित्व हुन् ।

३.२.२.२.३ शिक्षक व्यक्तित्व
विष्णु भण्डारीको अर्को व्यक्तित्वको पाटो शिक्षक व्यक्तित्व पनि हो । उनले वि.सं. २०४२ साल वैशाख १ गतेदेखि मङ्सिर महिनासम्म पिपलटार प्रा.वि., धादिङमा अध्यापन गरेको देखिन्छ (पूर्ववत) । युवा जोश जाँगरका साथ ज्ञानको ज्योती फैलाउन धादिङ पुगेका भण्डारीले एक शैक्षिक सत्र पूरा अध्यापन गरेको देखिँदैन । त्यहाँ उनले छोटै समय भए पनि कैयौँ बालबालिकालाई शिक्षक भई ज्ञानरश्मीले सिञ्चन गरेका छन् । भण्डारीले छोटो समय भए पनि शिक्षणका क्षेत्रमा अनुभव प्राप्त गरेकाले शिक्षण पेशा र विद्यार्थीका विषयमा सधैँ चासो व्यक्त गर्न गरेको देखिन्छ । शिक्षक व्यक्तित्वको प्रभाव उनका केही रचनाहरूमा पनि परेको छ ।

३.२.२.२.४ बहुभाषिक व्यक्तित्व
विष्णु भण्डारी बहुभाषी रहेका छन् । उनी नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा दक्ष रहेका छन् । उनको बहुभाषिक व्यक्तित्व उनका साहित्यिक रचनामा पनि पर्न गएको देखिन्छ । भण्डारीले खास गरी संस्कृत तत्सम शब्द, आगन्तुक, अङ्ग्रेजी शब्द र नेपालीका झर्रा शब्दहरूको प्रयोग आफ्ना रचनामा प्रचुर मात्रामा गरेको देखिन्छ । कामको सिलसिलामा बाल्यकालमै भारत जाँदा त्यही हिन्दी भाषा सिकेका र हिन्दी साहित्यका पुराना केही पुस्तक तथा पत्रपत्रिका पढ्न पाएका थिए । त्यस्तै विद्यालयीय शिक्षा तथा इन्सिच्युटहरूबाट अङ्ग्रेजी भाषा सिकेका कारण भण्डारीलाई अङ्ग्रेजी भाषामा पनि दख्खल छ (शोधनायकबाट प्राप्त जानकारी) । समग्रमा यही बहुभाषिक व्यक्तित्वले साहित्य लेखनमा सकरात्मक प्रभाव पारेको देखिन्छ । बहुभाषिक चिन्तन र क्षमताले उनको चिन्तनलाई उन्नत र परिष्कृत बनाएको छ । भण्डारीमा हिन्दी भाषा र अङ्ग्रेजी भाषाको ज्ञान भए पनि साहित्य सिर्जना भने नेपाली भाषामा मात्र गरेको पाइन्छ ।

३.२.२.२.५ पत्रकार व्यक्तित्व
विष्णु भण्डारीको व्यक्तित्वको अर्को महत्त्वपूर्ण पाटो पत्रकार व्यक्तित्व पनि हो । उनी विभिन्न समयमा विभिन्न पत्रपत्रिका, साहित्यिक सङ्घसंस्था र आन्दोलनहरूमा जोडिएर काम गरेका देखिन्छ । उनले वि.सं. २०४५ सालमा हल्कारा पत्रिकाको सहयोगी सम्पादकका रूपमा काम गरेको पाइन्छ भने वि.सं. २०६७ देखि चन्द्रगिरी साहित्यि पत्रिकाको प्रकाशक÷सम्पादकका रूपमा रहेर कार्य गरेको देखिन्छ (ऐजन) । अभिज्ञान पत्रिकाको पनि उनी सम्पादन मण्डलमा रहेर कार्य गरेका छन् भने प्रगतिशील लेखक सङ्घ लगायतका साहित्यिक सङ्घसंस्थामा उनी आवद्ध रहेर कार्य गर्दै आएको देखिन्छ । उनी साहित्यिक पत्रकार सङ्घको केन्द्रीय सदस्यका रूपमा रहेर कार्य गर्दै आइरहेका छन् ।

३.३ जीवनी, व्यक्तित्व र साहित्य लेखनका बीच अन्तर्सम्बन्ध
विष्णु भण्डारीको जन्म वि.सं. २०२० फागुन २९ गतेका दिन गुल्मी जिल्लाको वस्तु धुर्कोटमा स्व. परमानन्द भण्डारी र आमा विन्तादेवी भण्डारीका दोस्रो सन्तानका रूपमा भएको हो । वि.सं. २०४० सालपछि अध्ययनका क्रममा आफ्नो जन्मथलो देखि टाढिन पुगेका भण्डारी हाल काठमाडौं कोटेश्वरमा बस्दै आएका छन् ।

विष्णु भण्डारीको बाल्यकाल आर्थिक विपन्नतामा बितेका हो । उनले विपन्न वर्गमाथि सम्पन्न वर्गले शासन चलाएको सामाजिक पीडा नजिकैबाट देखेका र भोगेका छन् । साहित्यिक लेखनमा उनका यिनै जीवन भोगाई, पारिवारिक पृष्ठभूमि तथा पेशागत अनुभवहरूको भूमिका रहेको छ । निजामति सेवा, राजनीति, व्यापार व्यवसाय र साहित्य सिर्जनामा अधिकांश समय लगाएका शोधनायक विष्णु भण्डारीले ५० औँ वसन्त पार गरिसकेका छन् । कविता विधाको मझौला रूप खण्डकाव्य प्रकाशन गरी औपचारिक रूपमा साहित्य यात्रामा प्रवेश गरेका भण्डारीको सर्वाधिक महत्त्वपूर्ण व्यक्तित्व कवि व्यक्तित्व देखिन्छ भने उनको साहित्येतर व्यक्तित्वअन्तर्गत राजनीतिक व्यक्तित्व, अध्ययनशील व्यक्तित्व, अभिप्रेरक व्यक्तित्व, शिक्षक व्यक्तित्व, बहुभाषिक व्यक्तित्व, सांस्कृतिककर्मी व्यक्तित्व, पत्रकार व्यक्तित्व र सामाजिक व्यक्तित्व देखिन्छ । विष्णु भण्डारी बाल्यकालदेखि नै साहित्यप्रति रुचि राख्दछन् । विद्यालयीय साहित्यिक कार्यक्रममा भाग लिँदै थुप्रै कविता तथा कथा लेखन तथा वाचन गरेका छन् । तर उनको औपचारिक साहित्यिक यात्रा २०४३ बाट नै भएको देखिन्छ । उनले कविता तथा कथा दुवै विधामा कलम चलाएका छन् । उनको विद्रोहको छाल (खण्डकाव्य), ब्वाँसोको अन्त्यको खेल (खण्डकाव्य), कालो नाटक (लघु काव्य), आँधी तुफान (मुक्तक सङ्ग्रह), देश जागेको बेला (कविता सङ्ग्रह), फेरि अर्को तारा खस्यो (कविता सङ्ग्रह), घाइते ह्वीलचियर (कविता सङ्ग्रह) र उत्सर्ग (महाकाव्य) तथा विश्वासमा अडिएको जीवन (फुटकार कथा) आदि काव्य कृति प्रकाशिन छन् । जसबाट उनको साहित्यिक बहुविद् व्यक्तित्व प्रकट भएको देखिन्छ ।

विष्णु भण्डारीलाई साहित्य सिर्जनामा उनको जीवन भोगाइ, स्वाध्ययन, जन्मस्थानको बाल्यकालीन परिवेश, विद्वान् समाजसेवी तथा साहित्यकारसँगको साक्षात्कार, माक्र्सवादी दर्शन, साहित्यप्रतिको आन्तरिक रुचि, विद्यालय स्तरीय साहित्यिक वातावरण दाजु हरि भण्डारीको प्रभाव र प्रेरणा र आफ्नै विद्रोही स्वभाव जस्ता विभिन्न कारक तत्वहरूले अभिप्रेरित गरेका छन् ।

३.४ निष्कर्ष
विष्णु भण्डारीको साहित्यिक व्यक्तित्व नै उनको व्यक्तिको मूल पहिचान हो । उनी कवि, कथाकार, सांस्कृतिक चिन्तक र राजनीतिक व्यक्तित्वका रूपमा स्थापित भएका छन् । साहित्यिक रूपमा कवि तथा सांस्कृतिक व्यक्तित्वका रूपमा चर्चित भण्डारीको एउटा मात्र कथा प्रकाशित छ । यसबाट उनी कथा विधाका क्षेत्रमा पनि संलग्न रहेको देखिन्छ । खास गरी कवि र सांस्कृतिक चिन्तक व्यक्तित्वका रूपमा स्थापित भएका भण्डारीको अध्ययनको पक्ष पनि यही कविता विधा हो । बहुविधाका सर्जक भण्डारीका मुक्तकदेखि महाकाव्यसम्म प्रकाशित भएका छन् । हालसम्म भण्डारीका कविता विधामा तीनवटा कवता सङ्ग्रह, एउटा मुक्तक सङ्ग्रह, दुईवटा खण्डकाव्य, एउटा लघुकाव्यका साथै एउटा महाकाव्य प्रकाशित छ भने कथाका क्षेत्रमा एउटा मात्र फुटकर कथा प्रकाशित भएको छ । जनताका पक्षमा रचना गर्ने यी कृतिहरूले नेपाली प्रगतिवादी साहित्यका फाँटमा र समग्र नेपाली साहित्यमा उच्च स्थान प्राप्त छन् ।

साहित्यिक व्यक्तित्वसँगै उनमा साहित्येतर व्यक्तित्व पनि उल्लेखनीय रहेको देखिन्छ । उनको राजनीतिक र संस्कृतिकर्मी व्यक्तित्व नै प्रमुख साहित्येतर व्यक्तित्व हुन् । विद्यालयीय शिक्षाका समयदेखि नै विद्यार्थी राजनीतिमा संलग्न भण्डारी समाज र जनताका लागि निम्नवर्गीय पक्षधरता हुँदै साम्यवादी समुन्नत समाजको परिकल्पना गर्दछन् । उनले समाज तथा देशमा परिवर्तन र विकासका लागि जीवनमा धेरै सङ्घर्ष गर्दै आएको देखिन्छ ।


परिच्छेद चार
विष्णु भण्डारीको साहित्यिक यात्रा र कृतित्वको अध्ययन

४.१ पृष्ठभूमि
वि.सं. २०२० साल फागुन २९ गते पश्चिम नेपालको पहाडी जिल्ला गुल्मीको धुर्कोट वस्तुमा जन्मिएका विष्णु भण्डारी प्रगतिवादी नेपाली कविताका क्षेत्रमा परिचित नाम हो । तीन दशकदेखि निरन्तर साहित्यमा क्रियाशील भण्डारीको वि.सं. २०४३ सालबाट पुस्तककार कृतिहरू प्रकाशित भएका छन् । साहित्यिक यात्राको पहिलो कालखण्डमा कवि भण्डारीले एस.वि. विवेकका नामबाट विद्रोहको छाल (खण्डकाव्य, २०४३), आँधी तुफान (मुक्तक सङ्ग्रह, २०४४), ब्वाँसोको अन्त्यको खेल (खण्डकाव्य, २०४४), कालो नाटक (लघुकाव्य, २०४५) र दोस्रो कालखण्डमा विष्णु भण्डारीकै नामबाट फेरि अर्को तारा खस्यो (कविता सङ्ग्रह, २०६३), देश जागेको बेला (कविता सङ्ग्रह, २०६३), उत्सर्ग (महाकाव्य, २०६७) र घाइते ह्विलचियर (कविता सङ्ग्रह, २०६९) प्रकाशित गरेका छन् । कविताका बहुविधा भेदमा कलम चलाएका काव्य सर्जक भण्डारी लेखनका आभ्यासिक कालखण्डदेखि नै आफूलाई प्रगतिशील कित्तामा उभ्याउँदै अगाडि बढिरहेको देखिन्छ ।

४.२ विष्णु भण्डारीको काव्यिक यात्राको चरण विभाजन
विष्णु भण्डारीको काव्यकारिता उनकै समष्टि साहित्यिक यात्राको प्रमुख पाटो हो । उनको समग्र कविता कृतिको यात्रा भन्नु उनका कविता यात्राभित्र खास–खास समय, परिस्थितिमा देखापरेका कृतिहरू र तिनमा देखिएका प्रवृत्तिहरू र त्यसले नेपाली कविताको क्षेत्रमा पु¥याएको योगदान नै हो । उनले वि.सं. २०४३ मा विद्रोहको छाल खण्डकाव्य प्रकाशन गरी औपचारिक रूपमा तय गरेको काव्यिक यात्राले लगभग तीन दशकसम्म गतिशीलता लिइरहेको छ । भण्डारीले उत्पीडित जनतामाथिका शोषण, दमन र उनीहरूले खेप्नुपरेका दुःख कष्ट र उत्पीडनका विरुद्ध गरेको सङ्घर्षका साथै उत्पीडित वर्गका नयाँ सपनालाई कलात्मक रूपमा काव्यात्मक अभिव्यक्ति आरम्भकालीन कविता कृतिदेखि नै दिँदै आएका छन् । उनको २०४३ देखि देखिएको कविता यात्राले वि.सं. २०४५ सम्म निरन्तरता पाएको देखिन्छ भने २०४६ देखि २०६२ का बीचमा कुनै रचना आएका छैनन् अर्थात् सिर्जनाका दृष्टिले भण्डारीको यो समय सुषुप्त अवस्थामा रहेको छ । त्यस्तै वि.सं. २०६३ देखि यताको समय भण्डारीको कवित्व सिर्जनाका दृष्टिले ऊर्जाशील भएको र उनको कवित्व उत्कर्षमा पुगेको देखिन्छ । उनको कविता यात्राको क्रममा देखिएका विषयवस्तु र प्रवृत्तिलाई आधार मानेर समालोचक श्रमशीलले उनको काव्य यात्रालाई दुई चरणमा वर्गीकरण गरेरका छन् । (श्रमशील, २०६७ ः ४८९) ।यो वर्गीकरण नै विष्णु भण्डारीको काव्य यात्राको उपयुक्त वर्गीकरण हुँदा यसैलाई आधाार मानेर उनको काव्या यात्रा तथा प्रवृत्तिको निरूपण गर्न सकिन्छ ।
१. पहिलो चरण (वि.सं. २०४३–२०४५)
२. दोस्रो चरण (वि.सं. २०६३ देखि–हालसम्म)

४.२.१ पहिलो चरण (वि.सं. २०४३–२०४५)
वि.सं. २०४३ मा विद्रोहको छाल खण्डकाव्य प्रकाशन गरी नेपाली साहित्यमा पदार्पण गरेका विष्णु भण्डारीको कविता यात्राको प्रथम चरण (वि.सं. २०४३–२०४५) सम्म रहेको छ । उनको यस चरणभित्र विद्रोहको छाल (खण्डकाव्य, २०४४), आँधी तुफान (मुक्तक सङ्ग्रह, २०४४), कालो नाटक (लघुकाव्य, २०४५), ब्वाँसोको अन्त्यको खेल (खण्डकाव्य, २०४५) कविताकृतिहरू प्रकाशित भएका छन् । सामाजिक प्रकटीकरणका हिसाबले उनको यस चरणका कृतिहरूमा सामाजिक यथार्थताको प्रकटीकरणसँगै राष्ट्रप्रेम र स्वतान्त्रतालाई समेत विषयवस्तु बनाएका छन् । भण्डारीको यस चरणको विद्रोहको छाल, ब्वाँसोको अन्त्यको खेल र कालो नाटक कृति देशमा व्याप्त पञ्चायती दमन र त्यसले दिएको नाटकीय परिवर्तनसँगै जनविद्रोहको स्वर उरालिएको छ । सरकारी दमन तथा विभेदपूर्ण शासन प्रणालीको विरोध गर्दै परिवर्तनको स्वरलाई जनताको तहसम्म पु¥याउन चाहेका कवि भण्डारीका कविता कृतिमा २०४६ सालको राजनीतिक परिदृश्य पाइन्छ । आँधी तुफान (मुक्तक सङ्ग्रह) का मुक्तकहरूमा सामाजिक यथार्थताका साथै कम्युनिस्ट राजनीतिमा देखिएका ढोगी र पाखण्डी प्रवृत्तिको विरोध गरिएको छ । यस चरणका भण्डारीका कविता कृतिहरूमा झ्याउरे लय र गद्यलयको प्रयोग गर्दै सरल शब्द प्रयोग गरेको पाउन सकिन्छ । समग्रमा यस चरणका कृतिहरू विचारका हिसाबले उत्कृष्ट रहे पनि कलात्मक भन्दा पनि बढी मात्रामा नाराका रूपमा आएका छन् ।

४.२.२ दोस्रो चरण (वि.सं. २०६३ देखि हालसम्म)
विष्णु भण्डारीको कविता यात्राको दोस्रो चरण वि.सं. २०६३ देखि हालसम्म रहेको छ । यो चरण फेरि अर्को तारा खस्यो (कविता सङ्ग्रह, २०६३) को प्रकाशनबाट प्रारम्भ हुन्छ । कवि भण्डारीलाई साहित्यिक उचाई पनि यही चरणबाट प्राप्त भएको छ । यस चरणमा उनका विचारप्रधान कविता कृति रचना भएका छन् । यस अवधिमा उनको फेरि अर्को तारा खस्यो (कविता सङ्ग्रह, २०६३), देश जागेको बेला (कविता सङ्ग्रह, २०६३), उत्सर्ग (महाकाव्य, २०६७), घाइते ह्विलचियर (कविता सङ्ग्रह २०६९) प्रकाशित भएका छन् । उत्तरार्धका कविताहरुमा भने उनको कवित्व बिस्तारै परिपाकतिर उन्मुख हुन थालेको र उनी अन्तर्वस्तु र रुपका बिचमा सन्तुलन ल्याउने प्रयासमा लागेको भेटिन्छ (ज्ञावली, २०६९ ः ३६) । अघिल्लो चरण भन्दा यस चरणमा भण्डारीको विषयवस्तु प्रयोगगत विविधताका साथै कलापक्ष र विचारपक्षलाई प्रयोगवादका आधारमा अघि बढाएका छन् जसले गर्दा उनका सिर्जना समाज परिवर्तनका बाहक बन्न पुगेका छन् । नेपालको इतिहासमा नेपाली जनताले गरेको अभूतपूर्व १९ दिने जनआन्दोलनका झलकहरूको वर्णन गर्दै लेखेको देश जागेको बेला (कविता सङ्ग्रह) का कविताहरूमा कवि जनआन्दोलनमा आफ्नो सहभागिता र त्यस आन्दोलनको परिदृश्यलाई सबल रूपमा कवितामा उतार्न सफल भएका छन् । यो आन्दोलन कविता लेखन भण्डारीको कवितागत प्रवृत्ति हो । जनयुद्धका घटना सन्दर्भ, विषयवस्तुलाई आख्यानात्मक रूप दिएर यस चरणमा भण्डारीको नेपाली साहित्यकै एक नवीन महाकाव्य उत्सर्ग देखिएको छ । एउटै महाकाव्यात्मक कृतिभित्र युद्धजन्य आख्यान र प्रेमाख्यानको फ्यूजन गरिएको छ जुन भण्डारीको काव्य सामथ्र्य हो । उनी सामन्ती राज्यसत्ता विरोधी कविताहरूको सिर्जना गर्दै नेपाली जनतामा चेतनाको लहर फैलाउने चहाना राख्दछन् । समाजका विदू्रपतालाई काव्यमा उतार्दै विद्रोहको स्वर भर्ने काम गर्र्ने भण्डारी समाजवादी समाज निर्माणका पक्षमा उत्रिएका छन् । फेरि अर्को तारा खस्यो देखि घाइते ह्विलचियर (कविता सङ्ग्रह) का कवितासम्म पुग्दा कवि भण्डारीको कवि व्यक्तित्व र काव्यात्मक लक्षणा शक्ति उजागर भएको छ । पछिल्लो समयमा आस्थाको केन्द्रको गिर्दो अवस्था देखेर केही नैराश्यता र असन्तुष्टिमा कविताहरू घाइते ह्विलचियर मार्फत ल्याएका भण्डारीको यस सङ्ग्रह सशत्र क्रान्तिपछिको यथार्थ चित्र बनेर आएको छ । समाजभित्रका विदू्रपतालाई सहज रूपमा बोध गरेर त्यसलाई काव्यात्मक कसीमा उतार्ने काम आफैमा महत्त्वपूर्ण छ (श्रमशील : २०६७ : ४८८) । परम्परित काव्य मान्यतालाई पूर्णत पालना नगरिकन पनि नयाँ र गहन विषयमा उत्सर्ग जस्तो महाकाव्य लेख्नु उनको यस चरणको मूल प्राप्ति हो । यसै चरणमा उनको एक फुटकर कथा विश्वासमा अडिएको जीवन पनि प्रकाशित देखिन्छ । कथा उनको मूल विधा नभएका कारण उनको साहित्यिक यात्रा कविताका आधारमा निर्धारण गरिएको छ ।

समग्रमा विष्णु भण्डारीको कविता यात्राको तीन दशकको समय भए पनि उनको बीचको करिब १५ वर्षमा उनका कुनै साहित्यिक कृति र रचनाहरू नदेखिएको हुँदा यो समयलाई यहाँ गणना गरिएको छैन । उनको करिव १५ वर्षको सहित्यिक यात्रा र आठ वटा कविता कृतिका आधारमा उनको यात्रालाई दुई चारणमा बाँडेर अध्ययन गर्न सकिन्छ ।

४.३. कृतित्वको अध्ययन
विष्णु भण्डारीका हालसम्म आठ वटा कविता कृतिहरू प्रकाशित रहेका छन् । यिनै आठ वटा प्रकाशित कृतिहरूका आधारमा उनको कृतित्वको अध्ययन यस परिच्छेदमा गरिएको छ । उनका फुटकर रूपमा प्रकाशित एक मात्र कथाको पनि अध्ययन यस परिच्छेदमा गरिएको छ । उनका प्रकाशित कृतिहरू कालक्रमिक रूपमा यस प्रकार रहेका छन् विद्रोहका छाल (खण्डकाव्य) २०४३, आँधी–तुफान (मुक्तक सङ्ग्रह)२०४४, ब्वाँसोको अन्त्यको खेल (खण्डकाव्य) २०४५, कालो नाटक (लघुकाव्य) २०४५, फेरि अर्को तारा खस्यो (कविता सङ्ग्रह) २०६३, देश जागेको बेला (कविता सङ्ग्रह) २०६३, उत्सर्ग (महाकाव्य) २०६७, घाइते ह्विलचियर (कविता सङ्ग्रह) २०६९ इत्यादि पुस्तककार कृतिहरू विश्वासमा अडिएको जीवन (फुटकर कथा) २०६७ प्रकाशित छन् । यिनै कृतिहरूको कालक्रमिक अध्ययन यहाँ गरिएको छ ।

४.३.१ ‘विद्रोहको छाल’ खण्डकाव्यको विश्लेषण
एस.वि. विवेकले औपचारिक रूपमा साहित्ययात्रा यस विद्रोहको छाल (खण्डकाव्य– २०४३) बाट गरेका हुन् । उनको यो कृति प्रथम खण्डकाव्य तथा समग्र साहित्यकै पहिलो प्रकाशित रचना हो । वि.सं. २०४३ साल पूर्व नै रचना गरेको देखिने यस काव्यमा शोषक सामन्तहरूको चरम यातना एवं व्यवहार सहन नसकी जनताहरू प्रतिकारका लागि उत्रिएको भावात्मक चित्र आएको छ । देशमा व्याप्त पञ्चायती शासन व्यवस्थाको दबदवाका विरुद्ध प्रतीकारात्मक रूपमा निक्लिएको यो काव्यले जनताको चाहना बोकेको छ । प्रस्तुत खण्डकाव्य खण्डकाव्यकार स्वयं एस.वि. विवेकले प्रकाशन गरेका छन् । यस काव्यको विश्लेषण तल विभिन्न सैद्धान्तिक आधारहरूबाट गरिएको छ ।

४.३.१.१ संरचनाः
प्रस्तुत खण्डकाव्य लघु आकारमा रहेको छ । बाहिरी आवरणमा रातो र निलो रंगको संयोजन गरिएको छ । रातो रंगले नदीमा आएको छाल जस्तो देखाइएको छ भने सिरानमा सेतो रंगले ठूलो आकारमा विद्रोहको छाल भनी उल्लेख गरिएको र अन्त्यमा सेतो अक्षरमै एस.वि. विवेक भनी लेखिएको छ । त्यसपछिको भित्री पहिलो पानामा काव्यको नाम र कविको नाम उल्लेख गरिएको छ । त्यस्तै दोस्रो पानामा प्रकाशक, संस्करण, प्रति, सर्वाधिकार, मूल्य उल्लेख गरिएको छ । तेस्रो पानामा मेरो भन्नु शीर्षकमा कविता यस काव्य सम्वन्धी पृष्ठभूमि राखिएको छ भने अर्को पानामा कवि स्वयम्ले उपहार टक््रयाउँदै शीर्षकमा यो काव्य प्रकाशनार्थ सहयोग गर्ने तथा सम्पूर्ण पाठकहरूमा उपहार टक््रयाइएको कुरा व्यक्त भएको छ । त्यस्तै अर्को पानामा समर्पण शीर्षकमा झ्याउरे छन्दको तीन श्लोकमा वीर सहीदको सम्झना स्वरूप यो पहिलो कृति समर्पण गरेको बताइएको छ भने त्यसपछिका पानाबाट खण्डकाव्यको सुरुवात भएको छ ।

प्रस्तुत काव्यमा कुनै सर्ग योजना गरिएको छैन । तरपनि ठाउँ ठाउँमा तारक चिह्न  प्रयोग सँगै काव्यको भावप्रवाहलाई पूर्णता प्रदान गरिएको छ । अनुभूति तत्व (कवित्व) र आख्यान तत्वले सुगठित यो काव्य झ्याउरे लयका २०० श्लोक संख्यामा विस्तारित रहेको छ ।

४.३.१.२ कथावस्तुः
प्रस्तुत खण्डकाव्यको कथावस्तु निरंकुश पञ्चायती शासन व्यवस्थाको समयमा जनताहरू आफ्नो अधिकारको खोजीमा विद्रोहमा निक्लिन लागिरहेको समयको भावभूमिमा आधारित छ । यस खण्डकाव्यमा देशमा पञ्चायती शासन व्यवस्था निस्तेज गरी देशको स्वाधिनता र प्रजातन्त्रको स्थापनाका लागि विद्रोहको लहर जागिरहेको देखाइएको छ ।

यस खण्डकाव्यमा नायक निलम र उषाको बीच दाम्पत्य प्रेम र राष्ट्रप्रेमलाई कथावस्तु बनाउँदै निलम र उषाका बीचको दाम्पत्य प्रेमका अगाडि देश प्रेमको भावनालाई दृढ देखाइएको छ । प्रस्तुत काव्य प्रगतिवादी काव्य भएकाले एकातर्फ शोषक वर्गको निर्ममता आततायीपन र कर्तुतहरू प्रकटीकरण गरिएकोछ भने अर्कोतर्फ गरिब दुखीको यथार्थको प्रकटीकरण सँगै उनीहरूको विद्रोहको आवाज बुलन्द गरिएको छ । समग्र विश्वमा आएको जागरण सँगै नेपालीमा पनि जागरणको लहर आएको जसले सामन्ती व्यवस्थाविरुद्ध विद्रोहमा उर्लिएको अवस्था यस खण्डकाव्यको विषय बनेको छ । नवदम्पत्ती निलम र उषाको बीचको भावनात्मक प्रेमसँगै निर्दलीय पञ्चायती शासन व्यवस्थाको श्वेतआतङ्ककबाट ग्रसित राष्ट्र प्रेमलाई काव्यमा उजागर गरिएको छ ।

यस खण्डकाव्यमा नव विवाहित पति–पत्नी नीलम र उषाको जीवनको एक खण्डको प्रस्तुति सँगै नेपालको इतिहासको पञ्चायती कालको चित्रण गरिएको छ । यसमा नायक नीलम देशको परिवर्तनको निमित युद्धको मोर्चामा निक्लन चाहन्छ । पञ्चायती शासकहरूबाट जनतालाई उन्मुक्ति दिलाउन ऊ आगो भएर निक्लन चाहन्छ भने उषाले प्रारम्भमा निलमलाई नजान आग्रह गर्दछे । तर, निलमले बाघ र व्वासो रूपी सामन्तहरूको पञ्जाबाट देशलाई जोगाउन हामी लाग्नु पर्छ, पशु झैँ भएर बस्ने समय होइन भन्दै उषालाई यसरी सम्झाउँछ ः
के भनुँ बढी अवेला भयो संसार बुझे है
म हिँड्छु अब धैर्यता लिई पर्खेर बसे है
यात्रामा कतै हराएँ भने नरोई तिमीले
सामन्ती सत्ता नास्नका लागि मसाल समाए ।
=९६=

निलम जनतामा चेतना जगाउँदै सुकुम्बासी दुःखी गरीबका वस्तीमा क्रान्तिको विगुल फुक्दै हिँड्छ भने यता उषा पनि सामन्ती सत्ता परिवर्तनका लागि प्रेसमा काम गर्दछे । लामो समयपछि युद्धको मोर्चामा सामन्ती सेनाद्वारा निलमको हत्या गरिएको हल्ला चारैतिर फैलन्छ । यो खबरबाट उषा मर्माहित हुन्छे । तर, ऊ पुनः निलमका विचारलाई पूरा गर्न परिवर्तनका लागि निक्लदै भन्छे ः
यो रातो सिन्दुर शिरमा दल्छु मर डर मान्दिन
कपडा रातो लगाई भन्छु म राँडी बन्दिन
निलम मेरो ढलेता पनि तस्वीर साथी छ
तस्वीर भित्र अमर उस्को विचार बाँकी छ ।।
।। १९४ ।।

यसरी यस खण्डकाव्यमा निलम र उषाको दाम्पत्य प्रेमसँगै राष्ट्र प्रेमलाई पनि विषयवस्तु बनाइएको पाइन्छ ।

४.३.१.३ पात्र विधान
प्रस्तुत खण्डकाव्यमा नायक नीलम र नायिका उषा, नीलमका साथीहरू, सुकुम्बासीहरू, गरिवहरू पात्रका रूपमा आएका छन् । त्यस्तै सामन्ती राज्य व्यवस्थाका प्रतिनिधित्व गर्ने नाइकेहरू, आसेपासेहरू, सैनिकहरू पनि सांकेतिक रूपमा पात्रको रूपमा आएका छन् । यस खण्डकाव्यको मुख्य पात्र अर्थात् नायक निलम र नायिका उषा रहेका छन् । यी दुवै चरित्रको केन्द्रीयतामा काव्यको कथावस्तु अगाडि बढेको छ । निलम काव्यमा आरम्भदेखि नै क्रान्ति नायक, परिवर्तनकामी चाहना भएको पात्रका रूपमा आएको र आफ्ना विचारले उषालाई देशको परिवर्तनका लागि विद्रोहमा निकाल्न सक्षम छ र उसको चरित्रका कारण उषाको चरित्र पनि उजिल्लिइएको छ । पात्र विधानका दृष्टिले हेर्दा निलम र सुकुम्बासीहरू सत् पात्रका रूपमा आएका छन् भने सैनिकहरू असत् पात्रका रूपमा आएको पाइन्छ । उषालाई वर्गीय चरित्रका रूपमा लिइएको छ, जसका माध्यमबाट वर्ग संघर्षलाई देखाइएको छ । उषालाई प्रमुख, नारी, अनुकुल, वर्गीय, मञ्चिय, बद्ध, गतिशिल चरित्रका रूपमा देखाइएको छ भने निलमलाई पुरुष, प्रमुख, अनुकुल, वर्गीय, मञ्चिय, वद्ध, स्थिर चरित्रका रूपमा देखाइएको छ । त्यस्तै यस खण्डकाव्यमा सामन्तवादी शासन व्यवस्थाका मतियारहरूलाई बुझाउन गिद्ध, गोमन सर्प, खैराते स्याल, बाघ, ब्वाँसा जस्ता निकृष्ट प्रतीकात्मक शब्दहरूको चयन गरिएको छ, जुन सांकेतिक रूपमा आएका हुन् ।

प्रस्तुत काव्यमा उषा र निलमजस्ता वर्गीय प्रतिनिधित्व गर्ने पात्र, तिनीहरूको संघर्षको चित्रण गरिएको छ । जसले गर्दा प्रस्तुत काव्य प्रगतिवादी काव्यको कित्तामा पुग्न सफल भएको छ ।

४.३.१.४ परिवेशः
प्रस्तुत काव्यमा पञ्चायती निरङ्कुश शासन व्यवस्थाको सेरोफेरोको अवस्थालाई चित्रण गरिएको छ । नेपालको इतिहासमा रहेको पञ्चायती व्यवस्थाको कालिक सन्दर्भलाई कविनिवद्धवतृप्रढौक्ति(?) कथन ढाँचाबाट वर्णन गरिएको छ । पञ्चायती शासन व्यवस्थाको विरुद्ध उर्लिएको जनविद्रोह र विद्यार्थी आन्दोलनलाई यस काव्यमा प्रस्तुत गरिएको छ । संवादात्मक रूपमा अगाडि बढेको यो काव्यमा नेपालीहरूको ऐतिहासिक वीरता देखि वर्तमानको स्थिति र पश्चिमाहरूले गरेको प्रगतिका सन्दर्भहरूलाई काव्यमा लिइएको छ जसले गर्दा काव्यको समयसीमा निकै लम्बिएको छ । समग्रमा यस काव्यको समयसीमा पञ्चायती शासन व्यवस्थाको सेरोफेरो मान्न सकिन्छ । शोषक र शोषित बीचको संघर्ष साम्यवादको स्थापना नभएसम्म चलिरहने हुनाले यस काव्यको कालिक सन्दर्भलाई सर्वकालिक मान्न सकिन्छ ।

प्रस्तुत काव्यको स्थानिक सन्दर्भलाई हेर्दा नेपालको पञ्चायती शासन व्यवस्थाको चित्रण यसमा आए पनि शिक्षित जनताहरू पश्चिम नेपालको गरीब सुकुम्बासी बस्तीहरूमा विद्रोही चेतना फैलाउँदै हिँडेको भनी ग्रामीण स्थानहरूको चित्रण गरिएको छ । स्पष्ट तर स्थान तोकेर प्रस्तुत गरिएको छैन । वर्गीय द्वन्द्व साम्यवादको स्थापना नभएसम्म चलिरहने भाव पात्र निलम र उषाका माध्यमबाट प्रस्तुत गरिएको यो काव्य प्रगतिवादी काव्य हो । यस काव्यमा जस्तो वर्गीय द्वन्द्व जहाँ पनि हुनसक्ने भए पनि पात्रगत चयनका कारण यो काव्यले नेपालको स्थानगत परिवेश लिएको छ भनी थप प्रमाण पेश गर्छ ।

प्रस्तुत काव्यमा खासगरी आर्थिक विषमतालाई पात्र निलम र उषाका वार्तालापबाट देखाइएको छ । देशभर वर्गीय संघर्ष हुनुमा उत्पादनका साधनमाथि भएको सरकारको विभेदकारी वितरण र व्यवहार नै हो भन्ने निष्कर्ष कविको छ । नेपाली जनतामाथि भएको अधिकारको हनन र यातनाहरू पर्दाफास गर्दै विस्तारै चेतना फैलाएर पञ्चायती शासन व्यवस्थाको विरुद्धमा आन्दोलित हुने जागरण यस काव्यमा देखाइएको छ । ठाउँ ठाउँमा प्रकृतिको रोमान्टिक चित्रण सँगै वैचारिक प्रवाह व्यक्त गर्दै अघि बढेकोले यो काव्य सुन्दर बन्न पुगेको छ ।

४.३.१.५ लय विधानः
प्रस्तुत काव्य बद्ध लयात्मक ढाँचाको लोक लयमा संरचित छ । यो काव्य ६ पाऊको एक हरफ हुने जसमा सोह्र अक्षर रहने झ्याउरे छन्दमा रचिएको छ । यस काव्यमा पङ्क्तिहरूका बीच अन्त्यानुप्रास युक्तता हुँदाहुँदै पनि कहि कतै मुक्तताको अवस्था रहेकाले दोहोरै प्रवृत्ति भेटिन्छ । सुकोमल, सुललित, सङ्गीतमय पदावलीको प्रयोगले लयात्मकता थपेको छ । यसमा लोक छन्द अनुरूपकै पाउको योजना गर्दै चार हरफको एक श्लोकको वितरण गरिएको छ । जसले श्लोकको वितरणगत चौडाई र लमाई उपयुक्त नै देखिन्छ । तद्भव, तत्सम र आगन्तुक शब्दहरूको प्रयोगबाट नै अनुप्रासीय लयात्मकता सिर्जना गरेकाले काव्यको सौन्दर्य बढेको छ ।

४.३.१.६ भाषाशैलीः
प्रस्तुत खण्डकाव्यको भाषाशैली सौन्दर्यपूर्ण रहेको छ । यसमा अन्त्यानुप्रासीय शैलीको मधुरता सिर्जना गरेको छ । सरल दुई–तीन अक्षर संरचना भएका शब्दहरूको प्रयोग गर्दै लोकलयमा प्रारम्भ देखि अन्त्यसम्म काव्यलाई गुञ्जाईएको छ, जसले श्रुतिमधुरता र भाषिक मोहकता थप गरेको छ । तद्भव, तत्सम, आगन्तुक तथा झर्रा नेपाली शब्दहरूको औचित्यपूर्ण संयोजन गरिएको छ । प्रस्तुत काव्यको भाषा सरल हुँदाहुँदै ग्राम्य दोषबाट मुक्त भने हुन सकेको छैन :
दुष्ट हो अब ख्याल गर भार धर्तीका, चुसाहा ।
।। १४८ ।।

काव्यमा समापिका तथा असमापिका क्रिया, विचलनयुक्त वाक्य, प्रश्नार्थक चिह्नहरूको ठाउँ ठाउँमा प्रयोग गरिएको छ । त्यस्तै नामपद, विशेषणपद, क्रियाविशेषण, निपात र विस्मयादिवोधकको पनि भावव्यञ्जक प्रयोग पाइन्छ । यसरी प्रस्तुत काव्य भाषा सरल नै देखिन्छ ।

४.३.१.७ उक्ति ढाँचा र अलङ्कार
प्रस्तुत काव्यमा विषयवस्तुलाई प्रस्तुत गर्ने क्रममा कविले पात्र चयन गरी आफ्ना विचारको प्रकटीकरण गरेका छन् । यो काव्यमा कविनिवद्धवतृृप्रढौक्ति कथनपद्धति अंगालेर विषयवस्तुको वर्णन गरिएको छ ।

यस काव्यमा विभिन्न राजनीतिक सामाजिक, प्राकृतिक र विश्वपरिदृश्यबाट बिम्बहरू टिपी अलङ्करण प्रक्रिया अपनाइएको छ । यस काव्यमा विषयवस्तुलाई संवादात्मक रूपमा अघि बढाइएको छ । यस काव्यको शीर्षक विद्रोहको छालले क्रान्तिको उत्कर्ष रुपको अर्थ प्रतिध्वनित गरेको छ । यस काव्यमा विद्रोहको छाललाई किन निक्लँदै छ ? छालले के गर्छ त ? भन्ने अर्थ द्योतन गर्ने क्रममा दृष्टान्त अलङ्कार प्रश्नालङ्कार, अतिशयोक्ति अलङ्कारको आधिक्यता पाइन्छ । साथै यसमा उपमा तथा अर्थान्तरन्यासको प्रयोग भएको छ केही नमूना यस्तो देखिन्छ ।
आतङ्क सेतो कस्तो छ ? यहाँ अवस्था कस्तो छ ?
गरिबी यहाँ कस्तो छ ? भेल क्रान्तिको कस्तो छ ?
प्रश्नालङ्कार– २–

प्रेमको सार क्रान्तिमा निली बनोस नमूना
बाधक कैले नबनोस् हाम्रो क्रान्तिको बीचमा
मुक्तिको लागि मरेछु भने नरुनु बिहानी
पाउन मुक्ति लेखिनु पर्छ शहीदको कहानी ।।
अर्थान्तरन्यास ।।११।।

हृदय जल्यो मुटुमा घोच्यो बेचैनी बढ्दै गो
दीपको छवि भागेझैँ कोठा अँध्यारो हुादै गो
उपमा ।।१२।।

विदेशी दलाल, स्वदेशी डाँका मधेशी – पहाडी
फटाहा सबै मिलेर लुटी गरिबको सम्पति
रूपक ।।४०।।

पशुको जस्तो जीवन बित्छ जहाँका मान्छेको
दासकिो जस्तो जीवन बित्छ जहाँका नारीको
दृष्टान्त अलङ्कार ।।१०८।।

तिमी नै रोए यो देश रुन्छ, कर्तव्य भुलेर
मदन बनी रोएर हुन्न संघर्ष छोडेर ।
अनिशयोक्ति अलङ्कार ।।१८३।।

अलङ्कारको समुचित प्रयोग गरिएको प्रस्तुत काव्यमा प्राकृतिक सौन्दर्यको पनि सवल प्रयोग गरिएको छ । प्राकृतिक सौन्दर्यको चित्रणमा संयमता अँगाल्दै कवि प्रगतिवादी विचारको प्रकटनसँगै प्रकृतिको रूपको चित्रणमा सम्यमता अँगालेका छन् ।
प्रकृति छटा नभका तारा मलिन देखिन्थे
चाँदीका शैल, पहाड, पाखा दुखित देखिन्थे ।
रोमान्टिक चित्रण ।।२।।

उराड लाग्दो गर्मीको याम उजाड सारा छ 
घाम र माटो, ढुङ्गाले पोल्छ जीवन निराश
कोल्टा र कोल्टी गुराँस फुली सुवास छर्दछ
कोइली चरी हाँगामा बसी बिलौना पोख्दछ ।
प्रकृतिको कठोर र शुष्क चित्रण ।।११०।।

४.३.१.८ शीर्षक सार्थकताः
यस खण्डकाव्यको शीर्षक खण्डकाव्यमा रहेको मुख्य विषयवस्तु वा भावका आधारमा विद्रोहको छाल नामाकरण गरिएको छ, यो सार्थक देखिन्छ । यस खण्डकाव्यमा नायक नीलम र नायिका उषाको वार्तालापमा अघि बढ्दै देशमा व्याप्त शोषण, अत्याचार र विभेदको अन्त्यका लागि नायक विद्रोहमा निक्लिएको र त्यसमा नायिकाले पनि सहयोग गरेकी छे । गरिब सुकुम्बासी बस्तीहरूमा पनि चेतना फैलिँदै गएर विद्रोहका ज्वारभाटा निस्किदै गइरहेको छ । यस खण्डकाव्यको शीर्षकद्वारा खण्डकाव्यको मुख्य पक्ष निर्देशित वा सङ्केतित हुन पुगेको छ । यस खण्डकाव्यमा आदि भागदेखि अन्त्य भागसम्म नै नायक नायिकाका वार्तालापबाट विद्रोहबाट समरमा उत्रिएको भावाभिव्यक्ति भएकाले शर्षिक र खण्डकाव्य कृतिका बीच अधिकाधिक सम्बन्ध छ र सार्थक छ ।

एस.वि. विवेकको प्रस्तुत विद्रोहको छाल खण्डकाव्य प्रथम प्रकाशित कृति हो । आफ्नो प्रगतिवादी युवा जोश र जाँगरलाई पात्रका माध्यमबाट व्यक्त गर्दै यो काव्य पाठकसामु पु¥याउने साहस उनले गरेका छन् । प्रगतिवादी विचार धारालाई व्यक्त गर्ने ध्येयले लेखिएको यो काव्यमा कवित्व भन्दा घटनाको वर्णनातमकताले प्रधानता पाएको छ । वर्गीय पात्रको चयन गरी शोषक सामन्तको विद्रोहको लहर फैलिएको देखाउँदै लेखिएको यो काव्यबाट प्रगतिवादी साहित्यले योगदान प्राप्त गरेकै छ । सामाजिक परिप्रेक्ष्यबाट विषयवस्तुको छनौट गरी लेखिएको खण्डकाव्यमा आख्यानको प्रयोग गरिएको छ । परिवर्तनकामी पात्रलाई उभ्याउँदै विचारको प्रकटीकरण गर्नु, पञ्चायती शासन व्यवस्थाको विरोध गर्नु जस्ता कार्यले काव्यलाई उपलब्धीपूर्ण बनाएको छ । प्रस्तुत खण्डकाव्यलाई मापन गर्दै कवि विवेकको खण्डकाव्यकारीताको निरूपण गर्नु पर्ने देखिन्छ । खण्डकाव्य मापनका आधार अँगाली यसको मापन गर्ने क्रममा खण्डकाव्यात्मक आयामको खासगरी लमाई र गहिराइका आयामको पुष्टता, सवल खण्डकाव्यात्मक प्रवन्ध विधानको योजना र कवितामा भाव, लय, शैली, बिम्ब, प्रतीक, अलङ्कार व्यञ्जना आदिको समष्टि परिपाकमा आधारित कवित्व शक्तिबाट उनको खण्डकाव्यारिता मध्यम देखिनुका साथै खण्डकाव्य क्षेत्र उज्ज्वल रहने देखिन्छ ।

४.३.२ ‘आँधी तुफान’ मुक्तक सङ्ग्रह (२०४४) को अध्ययन
वि.सं. २०४४ सालमा विष्णु भण्डारीको लेखन यात्राको दोस्रो प्रकाशित कृतिका रूपमा यस ‘आँधी तुफान मुक्तक’ सङ्ग्रह एस.वि.विवेकका नामबाट प्रकाशित गरिएको छ । आवरण पृष्ठ सादा रहेको जसमा कृतिको र कृतिकार नाम उल्लेख गरिएको छ । मूल्य रू. १ राखिएको यस मुक्तक सङ्ग्रहभित्र समर्पण बाहेक २२ वटा मुक्तकहरू सङ्ग्रहित गरिएको छ ।

यस सङ्ग्रहभित्र निम्न मुक्तकहरू समावेश छन् ः नयाँ वर्षलाई शुभकामना, एशियाली मापदण्ड, माली, सडकदेखि सडकसम्म, नरेन्द्र दाइलाई सन्देश, पर्यावर्तन, जीवन, भन्सारै पर्खनुपर्ला, नवोदीप प्रदीप, कोठे क्रान्तिकारी, जिउँदै मरेको मान्छे, देश जर्जर बनेको छ, किल्ला ध्वस्त हुन्छन्, आँधी तुफान, व्याधा, तँ, अन्तर्वार्ता, रोगी घोडा, जूनकीरी, महाभूकम्प, म नेपाली हुँ र कलोदारी ।

यस सङ्ग्रहको पहिलो मुक्तक नव वर्षलाई शुभकामना शीर्षकमा रहेको छ । नव वर्ष बिहानी प्रभातसँगै अँध्यारोको पक्षमा आए पनि नयाँ वर्षलाई सुनौलो युग निर्माणको लागि शुभकामना प्रस्तुत गरिएको छ । यस मुक्तकमा कवि जनमत सङ्ग्रहको परिणाम पञ्चायतकै पक्षमा आए पनि प्रजातन्त्र ल्याउनका लागि शुभकामना दिएको छ ।

यस सङ्ग्रहको दोस्रो मुक्तक एसियली मापदण्ड शीर्षकमा रहेको छ । पञ्चायती शासकले नेपालको विकासका लागि ल्याएको नयाँ विकासे मोडल असफल भएकोमा त्यसलाई व्याङ्ग्य गर्दै यो मुक्तक लेखिएको पाइन्छ ।

यस सङ्ग्रहका सङ्ग्रहित माली तेस्रो मुक्तक हो । यस मुक्तकमा प्रकृतिको सुन्दर चित्रणका साथमा नेपाली वीरको गाथालाई सम्झना गरिएको छ । वीरहरूलाई राज्यको मालीका रूपमा प्रस्तुत गरिएको यस मुक्तकमा समान हरफको संयोजन अन्त्यानुप्रासको योजनाले लयात्मकता थपेको छ ।

सडकदेखि सडकसम्म चौथो मुक्तक हो । राजनीतिक विकृतिको चरम नमूना यस छोटो कविता (मुक्तक) मा आएको छ । सदन जनताको आवाज बुलन्द गर्ने ठाउँ भए पनि त्यो नेताको बिक्रीको थलो बनिरहेको कुरा कविले व्यङ्ग्यात्मक रूपमा यस मुक्तकमा प्रस्तुत गरेका छन् ।

यस सङ्ग्रहको पाँचौँ मुक्तक नरेन्द्रदाइलाई सन्देश शीर्षकमा रहेको छ । तत्कालीन निरङ्कुश शासकलाई दरबारको बन्दी घेरा र तारबाट बाहिर निकाल्ने र जनतालाई मुक्ति दिने आह्वान यस कवितामा गरिएको छ । जनताको पक्ष वा फाँसीमध्ये एक रोज्नको लागि आह्वान गरिएको छ ।

यस सङ्ग्रहको छैटौँ मुक्तक पर्यावर्तन शीर्षकमा रहेको छ । जनताका पक्षमा लड्दा लड्दै थुपै्र वीरयोद्धाहरूले शाहादत प्राप्त गरे पनि जनताको पक्षमा अहिलेसम्म शासन व्यवस्था ल्याउन र जनतालाई हँसाउन नसकिएको कवि भावना यस मुक्तकमा व्यक्त भएको छ ।
यस सङ्ग्रहको सातौँ मुक्तक जीवन शीर्षकमा रहेको छ । यस मुक्तकमा जीवनलाई सङ्घर्षका निमित्त लगाउनुपर्ने र पैसाको पछाडि दगुर्दा त्यो एक पक्षीय निराश र गन्तव्यविहीन हुने धारणा कविले व्यक्त गरेका छन् ।

यस सङ्ग्रहको आठौँ मुक्तक भन्सारै पर्खनुपर्ला भन्ने शीर्षकमा रहेको छ । यस मुक्तकले न्यूनवेतनवाला कर्मचारीको पीडा प्रस्तुत गरेको छ । तलब नबढ्नु, महँङ्गीले आकाश छुनुले पीडामा परेको र कर्मचारीहरू बाध्य भएर कमाइ हुने ठाउँ भन्सार रोज्न बाध्य हुनु परेको भाव यस मुक्तकमा पाइन्छ ।

यस सङ्ग्रहको नवौँ मुक्तक नवोदित प्रदीप शीर्षकमा रहेको छ । एक हरफमा आधा पाउँ राखी ६ हरफमा फैँलिएको यस मुक्तकमा अन्त्यानुप्रास योजनाले लयात्यमकता सिर्जना गरेको छ । यस मुक्तकमा स्वतन्त्रता, उज्यालो र नव उत्साहमा आफूलाई लगाउन आग्रह गरिएको छ । मुक्तककार अँध्यारो र उज्यालो बुझ्ने भैसकेको र आफू स्वतन्त्रता उज्यालोको पक्षमा लाग्ने चाहना यस मुक्तकमा व्यक्त भएको छ ।

यस सङ्ग्रहको दसौँ मुक्तक कोठे क्रान्तिकारी शीर्षकमा रहेको छ । कम्युनिस्ट आन्दोलनभित्र देखिएको जड्सूत्रवादी प्रवृत्ति र सङ्घर्षको मैदानबाट भाग्ने र सिद्धान्तका ठेलीमा रमाउने, पद प्रतिष्ठा चाहिँ सबै खोज्ने तर आन्दोलनमा प्रतिवद्ध नहुने प्रवृत्तिलाई यस मुक्तकमा व्यङ्ग्य गरिएको छ ।

यस सङ्ग्रहको एघारौँ मुक्तक ज्युँदै मरेको मान्छे शीर्षकमा रहेको छ । गद्यलयका पाँच हरफमा तन्किएको यस मुक्तकमा अन्त्यानुप्रास योजना गरिएको छ । नेपाली राजनीतिक आन्दोलनमा नेताहरू पहिले वचन दिने, बाचा बाँध्ने तर पछि पैसा तथा सत्ताका लागि बिक्ने गरेकाले नेताहरू ज्युँदै मरेतुल्य भएको र त्यस्ता नेतालाई यहाँको माटोले धिक्कारी रहेको धारणा यस मुक्तकमा व्यक्त भएको छ ।

देश जर्जर बनेको छ यस सङ्ग्रहको बाह्रौँ मुक्तक हो । देश जर्जर भएको समयमा हाम्रो काँधमा देशको जिम्मा छ र हामीमा शक्ति र सामथ्र्य छ, हामीले वैरीहरूसँग लड्दै देशको रक्षा गनुपर्छ भन्ने भाव यस मुक्तक मार्फत व्यक्त भएको छ ।

यस सङ्ग्रहको तेह्रौँ मुक्तक किल्ला धस्त हुन्छन् शीर्षकमा रहेको छ । गद्यलयका सात हरफमा संरचित यस मुक्तकमा एक क्रान्तिकारी योद्धाका हुँङ्कार व्यक्त भएको छ । जस्तोसुकै परिस्थिति आए पनि डटेर सामना गर्ने र त्यसका निम्ति मर्न परे पनि तयार रहेको तर आपूm मरे पनि दुस्मनको किल्ला ध्वस्त गरेरै छाड्ने प्रतिबद्धता यस मुक्तकले प्रस्तुत गरेको छ ।

यस सङ्ग्रहको चौधौँ मुक्तक आँधी–तुफान शीर्षकमा रहेको छ । गद्यलयमा अन्त्यानुप्रास योजना सहित चार हरफमा लेखिएको यो मुक्तक यस सङ्ग्रहकै उत्कृष्ट मुक्तक हो । आन्दोलनको नयाँ आँधीले शोषक, सामन्त, अत्याचारी, दलालहरूको शासन अन्त्य गरी नयाँ युगको निर्माण हुने धारणा व्यक्त गरेको यस मुक्तकमा विदेशीको दलाली गरी मातृभूमि बेच्नेहरूलाई खबरदारी गरिएको छ ।

यस सङ्ग्रहको पन्ध्रौँ मुक्तक व्याधा शीर्षकमा रहेको छ । गद्यलयमा संरचित यस मुक्तकमा विभिन्न चराचुरुङ्गी र जीवजन्तुका माध्यमबाट पञ्चायतकालीन शासन र नेपाली जनताले उन्मुक्ति खोजेको र पञ्चायतकालीन शासकहरू शिकारी बनेर जनताका स्वतन्त्रताका चाहना माथि बन्दुक तेर्साइरहेको धारणा व्यक्त भएको छ ।

यस सङ्ग्रहको सोह्रौँ मुक्तक तँ शीर्षकमा रहेको छ । आन्दोलनदेखि पलायन हुने पार्टीदेखि पलायन हुने ‘तँ’ पात्रलाई उद्देश्यविहीन भई ऊ जीवनदेखि नै भागेको धारणा यस मुक्तकमा कविले व्यक्त गरेका छन् । भाग्दाभाग्दै ‘तँ’ पात्र आफैबाट भागेको कुरा व्यङ्ग्यात्मक रूपमा यस मुक्तकमा प्रस्तुत भएको छ ।

यस सङ्ग्रहको सत्रौँ मुक्तक अन्तर्वार्ता शीर्षकमा रहेको छ । गद्यलयका पाँच हरफमा संरचित यस मुक्तक संवादात्मक शैलीमा संरचित छ । यस मुक्तकमा सिद्धान्तमा राम्रा कुरा भएपनि संविधानमा शोषण विहीन समाज र स्वतन्त्रताको पक्षमा लेखिए पनि त्यो समाजमा र व्यवहारमा लागू हुन नसकेको र त्यसको उलङ्घन नेताहरूबाटै भएको धारणा ‘म’ पात्र र मन्त्रीज्यूका संवादबाट कविले व्यक्त गरेका छन् ।
यस सङ्ग्रहको अठारौँ मुक्तक रोगी घोडा शीर्षकमा रहेको छ । यस मुक्तकमा पञ्चायती शासनलाई रोगी घोडा र कर्मचारी नेताहरूलाई किर्ना र जुम्राका रूपमा प्रस्तुत गरिएको छ ।

यस सङ्ग्रहको उन्नाइसौँ मुक्तक जूनकीरी शीर्षकमा रहेको छ । यस मुक्तकमा गरीब, शोषित, पीडितहरू एकजुट भएर नयाँ युगको निर्माणमा लागेका देशमा रहेको सामन्ती शासनको अँध्यारो हटेर प्रजातन्त्रको उज्यालो घाम उदाउने छ भन्ने धारणा व्यक्त भएको छ ।

यस सङ्ग्रहको बिसौँ मुक्तक महाभूकम्प शीर्षकमा रहेको छ । चाकडी चाप्लुसी गरेर मन्त्री बनी व्यक्तिगत स्वार्थमा भुल्ने र जनताका पक्षमा नतमस्तक रहने नेपाली राजनीतिक दलका नेताहरूमाथि कटाक्ष गर्ने काम यस मुक्तकले गरेको छ । गद्यलयका चार हरफमा फैँलिएको यस मुक्तकमा पूर्ण अन्त्यानुप्रास योजना गरिएकोले लयात्मकतामा सिर्जना गरेको छ ।

यस सङ्ग्रहको एक्काइसौँ मुक्तक म नेपाली हुँ शीर्षकमा रहेको छ । नेपालीले जस्तो सुकै विषम परिस्थिति आइलागे पनि आफ्नो गास, बास र कपास खोसिए पनि आफ्नो सर्वस्वहरण भए पनि आपूm नेपाली हुँ भन्न छाड्दैन भन्ने राष्ट्रिय भावले यो मुक्तक ओतप्रोत भएको छ ।
यस सङ्ग्रहको बाइसौँ तथा अन्तिम मुक्तक कलो दारी शीर्षकमा रहेको छ । नुनको सोझो गर्ने प्रवृत्तिले मान्छे र कुकुरमा कुनै फरक नभएको कुकुर भुक्नु र मान्छे बोल्नुमा कुनै अन्तर नभएको र यी दुवै आफ्नो नजरमा वरावरि भएको भाव यस मुक्तकमा आएको छ । व्यङ्ग्यात्मक रूपमा रहेको यस मुक्तक गद्यलयका असमान पाउँका पाँच हरफमा संरचित छ ।

आँधी–तुफान मुक्तक सङ्ग्रह विष्णु भण्डारीको आभ्यासिककालीन रचना कृति हो । यस मुक्तक सङ्ग्रहमा निर्दलीय पञ्चायतकालीन समयका निरङ्कुशता र व्यथितिका विरुद्ध युवा प्रगतिवादी जोश जागर मुक्तकमा झङ्कारेका छन् । पञ्चायती शासन व्यवस्था विरुद्धका विद्रोही भाव, पञ्चायत शासन व्यवस्था टिकाइरहन गरिएको चलखेलप्रति व्यङ्ग्यात्मक वाण प्रहार गरिएको छ । यस सङ्ग्रहमा तत्कालीन समयको यथार्थता, जीवन जगत् हेर्दै, भोग्दै र अनुभव गर्दै कविका अन्तष्करणमा प्रकट भाव र विचारको लहर यस सङ्ग्रहका मुक्तकमा प्रकट हुँदै जाँदा लमाइगत आयामका नियमभन्दा टाढा पुग्न गएको पाइन्छ । गद्यलयमा संरचित यस सङ्ग्रहका सम्पूर्ण मुक्तकहरूमा पूर्ण अन्त्यानुप्रास योजना देखिँदैन । नव मुक्तकका केही मान्यताका साथ देखापरेको यो सङ्ग्रह मुक्तक सिद्धान्तको दोषबाट मुक्त हुन सकेको देखिँदैन ।

४.३.३ ‘ब्वाँसोको अन्त्यको खेल’ खण्डकाव्यको विश्लेषण
एस.वि. विवेकले आफ्ना अघिल्ला दुई कृतिहरूको प्रकाशन गरिसकेपछि प्राप्त भएको काव्यात्मक अनुभवलाई समेटी ब्वाँसोको अन्त्यको खेल शीर्षकको काव्य प्रकाशन गरेका छन् । विद्रोहको छाल खण्डकाव्य सार्वजनिक रूपमा प्रकाशनमा ल्याइसकेपछिको अनुभवपछि यो काव्यकृति प्रकाशनमा आएको हो । प्रस्तुत खण्डकाव्यको रचना उनको २०४५ सालपूर्व गरेको देखिन्छ । ‘ब्वाँसो’ लाई सामन्ती शासकको प्रतीक बनाउने प्रयास कविले गरेका छन् । ‘ब्वाँसो’लाई सामन्त र शोषणको प्रतीकका रूपमा लिएका छन् । सामन्त र शोषक नै शासक भएको तथ्य यस काव्यमा निरूपण गरिएको छ । यस खण्डकाव्यलाई स्वयम् एस.वि. विवेकले नै प्रकाशन गरेका छन् । यस काव्यको विश्लेषण तल विभिन्न सैद्धान्तिक आधारहरू अँगाली गरिएको छ ।

४.३.३.१ संरचना
प्रस्तुत खण्डकाव्य लघु आकारको रहेको छ । यस काव्यको पृष्ठभूमि सेतो, मुखपृष्ठको सिरानमा ठूलो र काला अक्षरमा ब्वाँसोको अन्त्यको खेल भनी उल्लेख गरिएको छ । त्यसपछि लामा–लामा तीनवटा धर्काहरू तानिएको छ र तल कविको नाम एस.वि. विवेक भनी उल्लेख गरिएको छ । भित्रि पृष्ठमा सबैभन्दा माथि काव्यको नाम, त्यसपछि विधा, त्यसभन्दा तल साथसाथै कालो नाटक लघुकाव्य भनी उल्लेख गरिएको छ र सबैभन्दा तलतिर कविको नाम दिइएको छ । त्यसपछिको पानामा प्रकाशक, संस्करण, प्रति, सर्वाधिकार र मूल्य उल्लेख गरिएको छ । त्यसपछिको पृष्ठमा समर्पण भनी प्रस्तुत काव्य आफ्ना मातापिताप्रति समर्पण गरिएको छ । त्यसपछिको पानामा उद्गमतिर खोतल्दा भनी कविको भनाइ राखिएको छ । त्यसपछिको पानामा खण्डकाव्यको नाम, विधा र रचनाकाल दिइएको छ ।

प्रस्तुत काव्य दुई सर्गमा संरचित छ पहिलो र दोस्रो सर्गमा काव्यको विषयवस्तुलाई पूर्णता प्रदान गरिएको छ । दुवै सर्गहरू एक आपसमा सम्बन्धित भएर आएका छन् र खण्डकाव्यात्मक संरचनालाई पूर्णता प्रदान गरेका छन् ।

४.३.३.२ विषयवस्तु
प्रस्तुत काव्यको विषयवस्तु आख्यान विकल्पी विचारका रूपमा आएको छ । यस काव्यमा कुनै कथानक योजना छैन । कविको माक्र्सवादी यथार्थवादसँग सम्बन्धित भावचेतनालाई नै काव्यको विषयवस्तुका रूपमा प्रस्तुत गरिएको छ । प्रस्तुत काव्य प्रगतिवादी काव्य भएकाले यहाँ शासकको निर्ममता र आततायीपनलाई चित्रण गर्ने प्रयास गरिएको छ । यो काव्य लेखिरहँदा नेपालमा निर्दलीय पञ्चायती शासनव्यवस्था चलिरहेको र त्यसका विरुद्धमा मानिसले आवाज बुलन्द गरिरहँदा तत्कालीन राज्यसत्ताले त्यसलाई रोक्न वा दबाउन गरेको प्रयासलाई यस काव्यले आफ्नो विषयवस्तु बनाएको छ । पञ्चायती शासक र यसका हरूवा–चरुवाहरूप्रति प्रस्तुत काव्यमा व्यङ्ग्य र आक्रोश व्यक्त गरिएको छ । पञ्चायती शासन व्यवस्थाले जनाधिकारको उदाहरण र हनन् गरेका तथ्य उजागर गरिएको छ । काव्य नेपालको पञ्चायती शासन व्यवस्थामा मात्र सीमित नरहेर संसारका निरङ्कुश देशका राजतन्त्र वा सामन्तवादी व्यवस्था एकपछि अर्को गर्दै ढल्दै गएकाले संसारमा अब सामन्तवादको अन्त्य निकट भविष्यमा हुने र सर्वहारा वर्गको शासनव्यवस्था स्थापित हुने तथ्यलाई उनले यस काव्यका माध्यमबाट निरूपण गरेका छन् । प्रस्तुत काव्यमा ब्वाँसोरूपी नेपालका पञ्चायती शासनव्यवस्था र त्यसका नाइकेहरूले जनताको शक्तिका अगाडि टिक्न नसकेर जनतालाई नै एकआपसमा जुधाउने उपाय रचेकोतर्फ सङ्केत गरेका छन् । विद्यार्थी आन्दोलनका अगाडि घुँडा टेक्न बाध्य भएको तल्कालीन पञ्चायती शासनले जनताको आँखामा छारो हाल्न र जनताको मुक्तिको सङ्घर्षलाई शिथिल बनाउन जनमत सङ्ग्रह जस्तो नाटक रची जनताको अदम्य साहस र परिवर्तनप्रतिको चाहनामा कुठाराघात गरेको तथ्य निरूपण गरिएको छ । तर पनि कवि आशावादी छन् । उनी भन्दछन् –
तर पनि
सधै जीवन कसरी मुर्झाउन सक्छ ?
मान्छे आँसुको पोखरीमा
सधै कसरी डुब्न सक्छ ?
त्यसैले समयको गतिसँगै
बज्न थालोको छ विगुल सङ्घर्षको
ब्वाँसो विरुद्धको नयाँ खेलसँगै
बज्न थालेको छ शङ्ख बिद्रोहको ।

तर पनि ब्वाँसोरूपी शासकहरूले जनताको अगाडि घुँडा टेक्नै प¥यो । जनताको अविजय शक्तिका अगाडि उनीहरू निरीह भए । जनतालाई शासकले फुटाएर आपूmले राज्य गर्न खोजे पनि आखिरमा जनताहरू एकजुट भए । उनीहरूले ब्वाँसोरूपी सामन्तवादी सत्ताले गरेका अन्याय, अत्यचार, ठगी, छली जस्ता कुकृत्य बुझे । त्यसपछि उनीहरू सङ्गठित भई द्वन्द्वमा उत्रिएको प्रसङ्ग प्रस्तुत काव्यमा छ ।

प्रस्तुत काव्यले दोस्रो सर्गमा पुग्दा क्रान्तिको सर्वव्यापकतालाई बहन गर्न पुगेको छ । संसारका धेरै देशमा भएका मुक्तिका गाथाहरूको यथोगान गरिएको छ । यसरी पहिलो सर्गमा नेपालको सामन्तवादी निर्दलीय पञ्चायती शासन र अर्कोतिर समग्र विश्वमा आइरहेको जागरणको लहर र त्यसले ल्याएको सामन्तवादी व्यवस्था विरुद्धका लहरहरूलाई प्रस्तुत महाकाव्यले आफ्नो विषय बनाएको छ । यति हुँदाहुँदै पनि प्रस्तुत महाकाव्यको प्रतिपाद्य विषय भने वर्गसङ्घर्ष नै हो ।

४.३.३.३ पात्र विधान
प्रस्तुत काव्यमा व्यक्ति पात्रहरूको प्रयोग गरिएको छैन । मानवेत्तर प्राणीहरू जो निष्कृयताका प्रतीक हुन् । तिनीहरूलाई प्रतीकात्मक रूपमा उभ्याइएको छ । काव्यको शीर्षक नै ब्वाँसोको अन्त्यको खेल भएकाले यहाँ ब्वाँसोलाई निरङ्कुश शासकको प्रतीकका रूपमा लिइएको छ । त्यस्तै यस काव्यमा सामन्तवादी समाज व्यवस्थाका हरूवा–चरुवा र मतियारलाई बुझाउन गिद्ध स्याल, कुकुरजस्ता निकृष्ट प्रतीकात्मक शब्दहरूको प्रयोग गरिएको छ । यस काव्यमा सूक्ष्म रूपमा त कुनै पात्रहरू विश्लेष्य रूपमा आएका छैनन् तर स्थूल रूपमा शासक र शाषित गरी दुई थरी पात्रहरू स्पष्ट रूपमा आएका छन् । यहाँ ब्वाँसो, गिद्ध, स्याल, गोमन सर्पजस्ता प्रतीकात्मक नामहरूले शोषक र सामन्ती व्यवस्थाका नाइकेलाई बुझाइएको छ भने तिनीहरू, जनता आदि शब्दले शोेषित वा जनअधिकारका लागि आन्दोलित भएका पात्रहरूलाई बुझाएको छ । पात्रलाई प्रस्तुत गर्ने क्रममा शोषक र सामन्ती पात्रहरूको गिर्दो मनस्थिति र जनआन्दोलनबाट हतास भएको अवस्थाको चित्रण छ भने शोषित वा जनाधिकारका लागि आवाज बुलन्द गर्ने पात्रहरूमा क्रमशः जोश, जाँगर, आफ्नो अधिकारप्रतिको सजगतामा क्रमशः वृद्धि हुँदै गएको देखाइएको छ । यहाँ शोषक र सामन्ती व्यवस्थाको नाइकेलाई खलनायक, खलपात्र, असत् चरित्र, जनअधिकार कुण्ठित गर्ने, जनतालाई अधिकारका सट्टा शोषण, दमन र अत्याचार दिने पात्रका रूपमा चित्रण गरिएको छ । प्रस्तुत काव्यमा प्रयुक्त ब्वाँसो पात्र निर्दलीय निरङ्कुश पञ्चायती व्यवस्थाको तत्कालीन नाइकेका रूपमा चित्रित छ । ऊ सामन्ती र शोषक चरित्र हो । ऊ असत् चरित्र हो । ऊ वर्गीय चरित्र हो । त्यस्तै यस काव्यमा प्रयुक्त जनता मुक्तिका लागि आफ्नो अधिकारका लागि लड्न चाहने अधिकार प्राप्त गर्न चाहने पात्रका रूपमा आएका छन् । त्यसैले यी मुक्तिकामी जनताहरू सार्वभौम र सर्वजनीन छन् ।

दुईथरी समूह पात्रको सिर्जना गरेर प्रस्तुत काव्यलाई प्रगतीवादी काव्यको कित्तामा पु¥याइएको छ । यहाँ शोषक र शोषित गरी दुई वर्गका पात्र उभ्याएर तिनीहरूका बीचमा सङ्घर्ष गराइएको छ । त्यसैले यस काव्यको पात्र योजना परम्परागत काव्यको भन्दा भिन्न रहेको छ । प्रस्तुत काव्यमा पात्र योजना पनि वैचारिक मानसिक धरातलमै निरूपण गरिएको छ ।

४.३.३.४ परिवेश विधान
प्रस्तुत काव्यमा पञ्चायती निरङ्कुश शासन व्यवस्थाको सेरोफेरोको अवस्थालाई चित्रण गरिएको छ । वर्णनात्मक शैली रहेको प्रस्तुत काव्यमा २०४५ सालभन्दा अगाडिको पञ्चायती व्यवस्थाको कालिक सन्दर्भलाई प्रस्तुत गरिएको छ । २०३६ सालको आन्दोलनको प्रसङ्ग पनि यस काव्यमा आएको छ । तर दोस्रो सर्गमा पुगेपछि भने प्रस्तुत काव्यको परिवेश विधानमा व्यापकता आएको छ । स्मृति सन्दर्भका माध्यमबाट पेरिसमा कम्युन स्थापना भएको, रूसमा जार शासन समाप्त भएको प्रसङ्ग ल्याएको छ । यसले गर्दा प्रस्तुत काव्यको समयावधि निकै अगाडिसम्म तन्किएको पाइन्छ । तर पनि यस काव्यको खास कालावधि नेपालमा पञ्चायती शासन व्यवस्थाको सेरोफेरो नै रहेको मान्न सकिन्छ । प्रगतिवाद काव्य भएकाले शोषक र शोषितबीचको निरन्तर युद्ध साम्यवाद कायम नभएसम्म भइरहने हुनाले यसको कालिक सन्दर्भमा उदारता देखाउँदै सर्वकालिक पनि मान्न सकिन्छ ।

प्रस्तुत काव्यको स्थानिक सन्दर्भ हेर्दा नेपालको पञ्चायती शासन व्यवस्थाको चित्रण यसमा आएको छ । यसमा कुनै स्थानहरू किटेर÷तोकेर प्रस्तुत गरिएको छैन । वर्गीय द्वन्द्व साम्यवादी व्यवस्थाको स्थापना नभएसम्म जहाँ पनि चल्ने हुनाले यसको स्थानलाई सर्वजनीन मान्न सकिने आधार भने प्रस्तुत काव्यले दिएको छ ।

प्रस्तुत काव्यमा खासगरी आर्थिक विषमतालाई मुख्य रूपमा उठाइएको छ । उत्पादनका साधनमा भएको चरम विभेदीकरणले नै वर्गसङ्घर्षलाई निम्तिएको हो भन्ने निष्कर्ष कविको छ । नेपाली जनताहरू कठोर र निरङ्कुश पञ्चायती शासनव्यवस्थाको चङ्गुलमा बन्दी भएर बाँच्न विवश भएको प्रसङ्ग देखाइएको छ । चरम गरिबी, अधिकारको हनन, स्वतन्त्रताको चाहना आदिले विस्तारै मानिसमा चेतना पलाउँदै गई शासन व्यवस्थाको विरुद्धमा आन्दोलित हुने रणनीति जागरण वा नागरिक जागरणको लहरलाई पनि प्रस्तुत काव्यले देखाएको छ । यस बाहेक अन्य सांस्कृतिक, धार्मिक तथा प्राकृतिक दृश्यावलीको चित्रणमा कविले रुचि देखाइका छैनन् । प्रस्तुत काव्यमा प्रकृतिको चित्रण सामान्य रूपमा मात्रै गरिएको छ । समाजिक विषयको काव्य हुनाले यसमा प्रकृतिको उपस्थिति निम्न देखिनु पनि स्वभाविक लाग्दछ ।

४.३.३.५ लय विधान
प्रस्तुत काव्यमा मुक्त किसिमको गद्यढाँचाको प्रयोग भएको छ । स्वर व्यञ्जन वर्णका विभिन्न उच्चारण स्थानबाट उच्चरीत हुने वर्णको कतिपय साम्यता र कतिपय वैषम्यताबाट प्रस्तुत काव्यमा आन्तरिक अनुप्रास झल्किएको छ । प्रस्तुत काव्यमा मुक्तलय ढाँचा नै व्याप्त छ । यसका लयात्मक पङ्क्तिहरूबीच अन्त्यानुप्रासको युक्तता र मुक्तताका दोहोरै प्रवृत्ति पाइन्छन् । सुकोमल, सुललित र सङ्गीतमय कतिपय पदपदावलीको प्रयोगले गर्दा यसको गद्यलय मिठासपूर्ण नै बनेको छ वा रसमय नै बनेको छ । यसका गद्यात्मक पङ्क्तिहरूको न्यूनतम र अधिकतम शब्दहरूको विस्तारलाई हेर्दा यसले सन्तुलितता नै देखाएकाले यसको शब्द र आगन्तुक शब्दका शब्दात्मक, पदावलीगत, वाक्य, खण्डात्मक एवम् वाक्यात्मक घटकका विविधतापूर्ण चयन विचलनका क्रमबाट कही मन्द र कहीँ तीव्र अनुप्रासीय लयात्मक प्रसार र सङ्गीतात्मकताले प्रस्तुत काव्यको सौन्दर्यमा वृद्धि गरेको छ ।

४.३.३.६ भाषाशैली
भाषाशैलीका हिसाबले प्रस्तुत काव्य मध्यम खालको रहेको छ । यसमा नेपाली भाषाका तद्भव, संस्कृत भाषाबाट आएका तत्सम तथा विभिन्न विदेशी भाषाबाट आएका आगन्तुक शब्दहरूको औचित्यपूर्ण संयोजन गरिएको छ । प्रस्तुत काव्यमा कविले प्रथम प्रकाशित र लिखित काव्य पनि भएकाले यसको भाषामा केही कसरमसर देखिन्छ । भाव अनुकूलको भाषा प्रयोग गर्न कविलाई हम्मे–हम्मे परेको देखिन्छ । छोटा छरिता सुकोमल लाग्ने शब्दहरूको जुन सान्दर्भिक प्रयोग गरिएको छ, त्यसले यसको शैलीलाई रोचक र आकर्षक बनाएको छ । यसमा नेपाली भाषाका शब्दको प्रयोग, पदावली प्रयोग, वाक्यखण्डगत प्रयोग र वाक्यगत प्रयोगका तहमा कतिपय स्थलमा त्यस्तो व्याकरणात्मक एवम् अर्थतात्विक सार्थक विचलन पनि गरिएको देखिन्छ । प्रस्तुत काव्यको भाषा सरल नै रहेको देखिन्छ । त्यसैले यसको भाषा निम्न मध्यम प्रयुक्तियुक्त रहेको देखिन्छ ।

४.३.३.७ बिम्बालाङ्कार योजना
प्रस्तुत काव्यमा केही बिम्ब र प्रतीकहरूको औचित्यपूर्ण संयोजन गरिएको छ । जसले काव्यका भाव पक्षलाई उचाइ प्रदान गर्ने काम गरेको छ । यस काव्यको शीर्षक नै ब्वाँसोको अन्त्यको खेल रहेकाले ब्वाँसो भनी कविले कसलाई सम्बोधन गरेको होला, ब्वाँसोले के ग¥यो होला भन्ने एकप्रकारको कौतुहल उत्पन्न हुन्छ साथसाथै यस काव्यमा प्रयुक्त ब्वाँसो, गधा, स्याल, गोमन सर्प जस्ता जीव र पन्छीबाट टिपिएका प्रतीकात्मक अर्थवहन गर्न सक्ने शब्द वा नामले शासक वर्गलाई सङ्केत गरिएको कुरा पाठकले काव्यको आस्वादनका क्रममा पाउछन् । त्यसैले प्रस्तुत काव्यमा यिनै वनस्पति, जीवजन्तु, पन्छी तथा समाज र राजनीतिक क्षेत्रबाट टिपिएका विभिन्न बिम्ब र प्रतीकले उपमा, रूपक, सन्देह, अत्युक्ति, विरोध, आदि जस्ता अलङ्कारहरूको सिर्जना हुन पुगेको छ । प्रस्तुत काव्यको केन्द्रीय भाव र शीर्षकका बीचमा पनि व्यञ्जनात्मक अर्थ सम्बन्ध रहेकाले यसको शीर्षक पनि सार्थक रहेको छ ।

प्रस्तुत ब्वाँसोको अन्त्यको खेल भन्ने काव्य कवि एस. वि विवेकको दस्रो प्रकाशित खण्डकाव्य हो । उनले यसमा आफ्ना युवा प्रगतिवादी जोश र जाँगरलाई काव्यात्मक विषय बनाएर एउटा वैचारिक काव्य लेख्ने अदम्य साहस देखाएका छन् । तर वैचारिकता अत्यन्तै हाबी भएर आएकाले उनको काव्यमा काव्यात्मक दुर्बलता प्रशस्त रहेका छन् । सर्वप्रथम उनमा विषयवस्तु वा विचारलाई प्रस्तुत गर्ने कवित्वको अभाव रहेको छ । त्यसैले उनको प्रगतिवादी चेतना कवित्व र विषयको चास्नीमा डुबेर आउनुभन्दा बढी नारा वा विचारको प्रबलतामा आएको छ । तर पनि शोषक र शोषित जस्ता दुई थरि सार्वभौम प्रगतिवादी पात्रलाई उभ्याउनु, पञ्चायती शासन व्यवस्थाको विरोध गर्नु जस्ता कार्यले काव्यलाई उपलब्धिपूर्ण नै बनाएका छन् । प्रस्तुत काव्यबाट प्रगतिवादी साहित्यले योगदान प्राप्त गरेकै छ । प्रस्तुत खण्डकाव्यलाई पनि मापन गरेर कवि विवेकको खण्डकाव्यकारिता निरूपण गर्नुपर्ने हुन्छ । प्रस्तुत खण्डकाव्यको मापनका आधार अँगाली यसको मापन गर्ने क्रममा खण्डकाव्यात्मक आयामको खास गरी लम्बाइ र गहिराइका आयामको पुष्टता, खण्डकाव्यात्मक प्रबन्ध विधानको परिपाकमा आधारित कवितात्मक संरचनाको प्रभावकारिता र कविताका भाव, लय, शैली, बिम्बालङ्कार व्यञ्जना आदिको समष्टि परिपाकमा आधारित कवित्वशक्तिको खण्डकाव्यात्मक प्रसार र गहिराइका आधारलाई लिन सकिन्छ । यी सबै आधारमा उनको खण्डकाव्यकारिता निम्न मध्यम स्तरको मात्र देखिन्छ ।

४.३.४ ‘कालो नाटक’ काव्यको विश्लेषण
प्रस्तुत लघुकाव्य वि.सं. २०४५ सालमा ब्वाँसोको अन्त्यको खेल शीर्षकमा संयुक्त काव्यसङ्ग्रहका रूपमा प्रकाशित भएको हो । यस सङ्ग्रहभित्र ब्वाँसोको अन्त्यको खेल र कालो नाटक गरी दुईवटा काव्यहरू प्रकाशित छन् । ब्वाँसोको अन्त्यको खेल काव्यको विभिन्न शीर्षकहरूमा विश्लेषण भइसकेको छ । यस लघुकाव्यको विश्लेषण पनि विभिन्न शीर्षकमा तल प्रस्तुत गरिएको छ ।

४.३.४.१ विषयवस्तु
प्रस्तुत लघुकाव्यको विषयवस्तु सामन्तवादी पञ्चायती व्यवस्थाले ल्याएको पन्ध्रवर्षे सुधारको कार्यक्रमसँग सम्बन्धित छ । जनताको आन्दोलनको उभारबाट डराएको तत्कालीन निरङ्कुश पञ्चायती सामन्तवादी व्यवस्थाले जनताको आँखामा छारो हाल्दै जनआन्दोलनलाई निस्तेज पार्न अगाडि सारेको रणनीति वा चलाखीका रूपमा यसलाई चित्रण गरिएको छ । यसको मूल विषय नै यही हो । यति सानो छोटो विषयलाई कविले अनुष्टुप छन्दमा ९५ श्लोकसम्म तन्काएर लघुकाव्यात्मक विषयको विस्तार गरेका छन् । यसमा कविले जनआन्दोलनबाट डराएर तत्कालीन शासनसत्ताले ल्याएको यस सुधारको कार्यक्रमलाई आन्दोलन निस्तेज पार्ने र जनताको अभिमतलाई विभाजित बनाउने प्रयासका रूपमा वा षड्यन्त्रका रूपमा चित्रण गरेका छन् । यसको विषयवस्तु खण्डकाव्यापेक्षी आख्यान योजना वा आख्यान विकल्प वैचारिक योजनाका दृष्टिले दुर्बल छ ।

४.३.४.२ पात्र विधान
यस काव्यमा कुनै कथानक नभएकाले वा आख्यान तत्त्व नभएकाले कुनै पनि पात्रहरू प्रयोग भएका छैनन् । यसमा शासनसत्ताको प्रतिनिधित्व गर्ने पञ्चायती शासन व्यवस्थाका नाइकेहरू र त्यसको विरोध गर्ने जनताहरू अप्रत्यक्ष रूपमा पात्रको भूमिकामा आएका छन् ।

४.३.४.३ लय विधान र भाषाशैली
प्रस्तुत काव्यमा बद्धलय ढाँचाको प्रयोग गरिएको छ । यसमा १६ वर्णको अक्षर वा वर्ण संख्यामा हुने अनुष्टुप छन्दको प्रयोग गरिएको छ । यस लघुकाव्यका सबै श्लोकहरू अनुष्टुप छन्दमा नै रहेका छन् । यस काव्यमा जम्मा ९५ वटा श्लोकहरू रहेका छन् । अनुष्टुप छन्दका अन्त्यानुप्रासविहीन छन्द योजना यस काव्यको लय विधानमा देख्न सकिन्छ । यसमा भाषिक वर्णयोजनाका तहमा ध्वनि÷वर्ण साम्यद्वारा आन्तरिक अनुप्रास भने मिलाइएको छ । यसबाट काव्यमा लयगत मिठास र सङ्गीतको उत्पत्ति भएको छ । यसले भाषिक शैलीगत रमणीयतामा पनि बृद्धि गरेको छ ।

यस काव्यमा ज्यादा जसो छोटा छरिता शब्दको प्रयोग गरिएको छ । कही–कही समासयुक्त शब्द देखिए तापनि ती नगन्य मात्रामा रहेका छन् । खास गर नाम, सर्वनाम, विश्लेषण, क्रियाविशेषण र क्रियापद जस्ता शब्दरूको प्रयोग यस काव्यमा भेटिन्छ । त्यसै गरी यस काव्यमा तद्भव र तत्सम शब्दको प्रयोगाधिक्य देखिन्छ भने कतिपय आगन्तुक शब्दहरूको प्रयोग पनि देखिन्छ । यस काव्यमा कही–कही समानान्तरता, छोटा छरिता वाक्य, पदक्रम विचलन र कही–कही लोप जस्ता भाषिक प्रवृत्ति पनि देख्न सकिन्छ । यसले काव्यको भाषिक सौन्दर्यलाई अभिवृद्धि गरेको छ । समग्रमा यस काव्यको लयविधान र भाषिक एवम् शैलीगत योजना सफल नै रहेको निष्कर्ष निकाल्न त सकिन्छ तर कविको प्रथम प्रकाशित काव्य भएको हुनाले प्रशस्त कसर–मसरको सामना भने पाठकले र समालोचकले गर्नैपर्ने हुन्छ ।

४.३.४.४ उक्ति ढाँचा र अलङ्कार
प्रस्तुत काव्यमा विषयवस्तु प्रस्तुत गर्ने क्रममा कवि स्वयम् नै कथयिताका रूपमा उपस्थित भएका छन् । प्रस्तुत काव्य स्वयम् कविको प्रौढोक्तिका रूपमा आएको छ । कहीँ–कहीँ सम्बोधनको ढाँचा पनि यसमा अपनाइएको छ । यसले गर्दा सम्बोधनात्मक दृष्टिबिन्दुको प्रयोग भएको पाइन्छ । यसको उदाहरण –
बितेर सदियौँ जाँदा सम्मन उसले यहाँ
गरेन उन्नति आफ्नो सिवाय अरू निम्तिमा । तृतीय पुरुष १/१

नाटक रच वा खेल उपाय जति नै गर
तैपनि मुक्तिको खेल रुक्दैन कहिल्यै पनि । पृ. ८६ सम्बोधनात्मक वा द्वितीय पुरुष दृष्टिबिन्दु

यसरी तृतीय पुरुष र द्वितीय पुरुष कथनपद्धतिमा कविले विषयवस्तुलाई प्रस्तुत गरेका छन् । त्यसैले यसमा मूलतः कविनिबद्ध प्रौढोक्तिका ढाँचाको प्रयोग भएको छ । यहाँ कवि स्वयम् समाख्याता भएर विषयवस्तुको वर्णन गरेका छन् ।

प्रस्तुत काव्यमा राजनीतिक, सामाजिक र प्राकृतिक सन्दर्भबाट बिम्बहरू टिपी अलङ्करण प्रक्रिया अपनाइएको छ । यसको विषयवस्तुलाई वर्णनात्मक शैलीमा प्रस्तुत गरिएको खास गरी प्रस्तुत काव्यको शीर्षक कालो नाटक भएकाले ‘कालो’ र ‘नाटक’ शब्द नै प्रतीकात्मक भएर आएका छन् । ‘कालो’ को अभिधात्मक अर्थभन्दा पनि व्यञ्जनात्मक अर्थमा यसले जोड दिएको छ भने नाटकले ‘कलुषित प्रपञ्च’ लाई सङ्केत गरेको छ । यही कालो नाटकका भित्री रहस्यलाई खोल्ने क्रममा कविले दृष्टान्त अलङ्कारको ज्यादै प्रयोग गरेका छन् । यसमा सँगसँगै प्रश्नालङ्कारको पनि आधिक्यता पाइन्छ । अत्युक्ति र उपमा जस्ता अलङ्कार पनि यस काव्यमा आएका छन् ।

चाहियो किन पो पट्ठो बछेडो बेकारै यहाँ ?
चाहिए किन ती जेट, रकेट व्यर्थमै यहाँ ? २३ – प्रश्नालङ्कार

छल हो केवल धोका, दुःखीको अभिशाप हो
विकास कसरी गथ्र्यो सोसने नयाँ रूप हो । १६ – रूपक

फिस्टोले बाँसको टुप्पो नुहाइ नुहिने भए
बिरालो सिद्राको माला लगाई चोखिने भए
गर्दथ्यो रूसमा ठूलो उन्नति जारले पनि
झुन्डिनु किन पथ्र्यो र छोडेर सुख सम्पत्ति ? ३१ – दृष्यान्त

प्रस्तुत काव्यमा प्रकृति सौन्दर्यको प्रयोग भने गरिएको छैन । काव्यलाई प्रकृति सौन्दर्यको प्रयोगबाट विमुख गराउनु उनको काव्यात्मक दुर्बलता हो ।

एस.वि. विवेकको प्रस्तुत खण्डकाव्य ब्वाँसोको अन्त्यको खेल शीर्षकको काव्यसङ्ग्रहमा सङ्गृहित लघुकाव्य हो । यसले खण्डकाव्यसम्बन्धी परम्परागत लमाइ त प्राप्त गरेको छैन; तर खण्डकाव्यात्मक विस्तार र संरचना भने प्राप्त गरेको छ । वि.सं. २०४५ सालमा प्रकाशित प्रस्तुत काव्यमा कविको केही अपरिपक्व र काव्यात्मक अल्लारेपन भने देखिन्छ । यस काव्यमा विवेक यथेष्ट मात्रामा पोखिएका छैनन् । छन्द भङ्ग हुने दोषबाट विवेक प्रस्तुत काव्यमा एक सिकारु कविका रूपमा खेस्रा तयार पारिरहेझैँ देखिन्छ । उनका काव्यात्मक तरलता र चपलता तथा उच्च काव्यात्मक मूल्यको प्रवाह भईनसकेको देखिन्छ । तत्कालीन पञ्चायती शासनव्यवस्थालाई टिकाइ राख्न तथा त्यसको विरुद्धमा उर्लिएको जनलहरलाई रोक्न तत्कालीन सरकारले अगाडि सारेको प्रन्ध्र वर्षे सुधार कार्यक्रमलाई उनले काव्य लेखनको विषय बनाएको देखिन्छ । खण्डकाव्यापेक्षी विषयवस्तुका दृष्टिले त एकातिर यो काव्य कमजोर नै छ; आख्यान विकल्पी वैचारिक योजनाका दृष्टिले पनि प्रस्तुत काव्य एउटा नाराबाजी जस्तो मात्र हुन पुगेको छ । तथापि प्रगतिवादी वा माक्र्सवादी मान्यतालाई जुन काव्यात्मक स्वरूप प्रदान गर्ने हिम्मत विवेकले गरे त्यो भने प्रसंशायोग्य पक्ष हो । समग्र रूपमा उनको खण्डकाव्यकारिता र उनको कालो नाटक काव्यको मूल्याङ्कन र लेखाजोखा गर्नुपर्ने हुन्छ । खण्डकाव्यात्मक आयामको खास गरी लमाइ र गहिराइका आयामको पुष्टता, आख्यान विकल्पी खण्डकाव्यात्मक प्रबन्ध विधानको परिपाकमा आधारित कवितात्मक संरचनाको प्रभावकारिता तथा कविताका लय, भाव, शैली, बिम्बालङ्कार, व्यञ्जना आदिको समष्टि परिपाकमा आधारित कवित्व शक्तिको खण्डकाव्यात्मक प्रसार र गहिराइका आधारमा उनको प्रस्तुत खण्डकाव्य मध्यम स्तरको ठहर्छ र यस खण्डकाव्यमार्फत उनको खण्डकाव्यकारिता पनि प्रारम्भिक स्तरमै रहेको निरूपित हुन्छ ।

४.३.५ ‘फेरि अर्को तारा खस्यो’ कवितासङ्ग्रहको विश्लेषण
यस कृतिको लेखन तथा प्रकाशन वि.सं. २०६३ सालमा भएको देखिन्छ । जम्मा ८१ पृष्ठमा संरचित फेरि अर्को तारा खस्यो कवितासङ्ग्रहमा जम्मा ३५ वटा कविताहरू सङगृहीत छन् । आवरण पृष्ठमा मानिसहरूले विरोधको आवाज बुलन्द गर्दै अघि बढिरहेको, त्यसको बीचमा एक व्यक्ति रग्ताम्य भएर लडेको र उसको रगत ताराको आकारमा बगेको चित्र राखिएको छ । गाढा रगतजस्तो रातो रङको आवरणमा सेतो रंगले शीर्षक लेखिएको यस सङ्ग्रहको मूल्य रु. ५०।– राखिएको छ भने यसको प्रकाशन शैलवी प्रकाशनले गरेको छ ।यस कृतिको लेखन तथा प्रकाशन वि.सं. २०६३ सालमा भएको देखिन्छ । जम्मा ८१ पृष्ठमा संरचित फेरि अर्को तारा खस्यो कवितासङ्ग्रहमा जम्मा ३५ वटा कविताहरू सङगृहीत छन् । आवरण पृष्ठमा मानिसहरूले विरोधको आवाज बुलन्द गर्दै अघि बढिरहेको, त्यसको बीचमा एक व्यक्ति रग्ताम्य भएर लडेको र उसको रगत ताराको आकारमा बगेको चित्र राखिएको छ । गाढा रगतजस्तो रातो रङको आवरणमा सेतो रंगले शीर्षक लेखिएको यस सङ्ग्रहको मूल्य रु. ५०।– राखिएको छ भने यसको प्रकाशन शैलवी प्रकाशनले गरेको छ ।

यस कवितासङ्ग्रहभित्र आज फेरि अर्को तारा खस्यो, आगो, अग्निशिखा, आकाश गर्जिदैछ, अभिशप्त जिन्दगीका नमीठा क्षणहरू, ऊ हाम्रो चाहना र विश्वास हो, उज्यालो खोज्न निस्किएको म, के धनेश्वर हेर्दैन तिमीलाई, खै हामीले कहाँ जित्याँै, गोरेटा र बाटाहरू, चील उडेर कावा खायो, जब सहिदले गिजाउने गर्छ, जुनकिरी आगो बाल्दै थिए, जनकविको सम्झनामा, जनता जनताकै कविता लेख्छन्, जुरे ढुङ्गो र छल्दीको छाल, जब तिम्रो कविता पढँे, तिम्रो उपस्थितिले जागेका हुन् गाउँहरू, तिम्रो हत्या गरेँ, तिम्रो सत्ता कति बलवान्, देशले खुन मागेको बेला, देश रोइरहेको बेला, देश दुखिरहेछ, निर्जन बस्तीमा एउटा मान्छे, नदी बग्दैछ निरन्तर, प्यारो बाबा, प्रेम र प्रगतिका कविताहरू, बन्द परिवेश र ऊ, मेरो पहाड, म कसरी हसाउने कविता लेखूँ, म तिम्रो मुक्तिको लागि हिँडे, मलाई वनपूmलसँगै नाँच्न नभन्, मलाई युद्धको कथा भन्नुहोस्, मन पर्दैनन् लामखुट्टेहरू, रात अघाउँदैनन् रातभर, रक्तिम आभा, समाजसेवी, सुनसान मेरो गाउँ– १, सुनसान मेरो गाउँ– २ र सालिक ढल्दै गर्दा शीर्षकका ४० वटा कविता रहेका छन् ।

यस सङ्ग्रहको पहिलो कविता आज फेरि अर्को तारा खस्यो शीर्षकमा रहेको छ । वि.सं. २०५९ साल काठमाडौंमा लेखिएको यस कवितामा नेपाली प्रगतिवादी कविता क्षेत्रका विशिष्ट प्रतिभा कृष्ण सेन ‘इच्छुक’ को हत्याबाट सिङ्गो देशसँगै प्रकृति पनि स्तव्ध भएको भाव व्यक्त भएको छ । गद्य लयमा रचिएको यस कवितामा प्रगतिवादी स्वर झल्किएको छ । यस कवितामा कविले क्रान्तिबाट विचलित नभई आफ्नो अधिकार लिनका लागि निरन्तर संघर्ष गर्न आग्रह गरेका छन् । यसै कविताको शीर्षकबाट कवितासङ्ग्रहको शीर्षक राखिएको छ ।

आगो शीर्षकमा रहेको कविता यस सङ्ग्रहको दोस्रो कविता हो । आंशिक अन्त्यानुप्रासको योजना पाइने यस कवितामा सदियौँदेखिको अन्याय अत्याचारलाई चिर्दै उज्यालो ल्याउनका लागि क्रान्तिरूपी आगोको आह्वान गरिएको छ । वि.सं. २०६२ माघमा काठमाडौंमा लेखिएको प्रस्तुत कविता प्रथम पुरुष दृष्टिविन्दुमा आगोको महिमालाई व्यञ्जनात्मक रूपमा वर्णन गरिएको छ ।

अग्निशिखा शीर्षकको कविता यस सङ्ग्रहको तेस्रो कविता हो । गद्य लयमा लेखिएको यो कवितामा पुरातन सोच र सामन्ती हैकमहरू माथि अब जनताका विद्रोहका स्वरहरू अग्निशिखा बनेर फैलन्छन तब तब सामन्ती सत्ताहरू ढल्नेछन् भन्ने भाव व्यक्त गरिएको छ । देशमा शोषण, उत्पीडन र अन्यायबाट मुक्तिका लागि आगो अपरिहार्य छ भन्ने भाव पनि यस कवितामा व्यक्त भएको छ । प्रथमपुरुष एकलापीय शैलमिा लेखिएको यस कवितामा आंशिक अन्त्यानुप्रास योजना भेटिन्छ ।

आकाश गर्जिदैछ शीर्षकको कविता वि.सं. २०६१ मा काठमाडौंमा रचिएको र यस सङ्ग्रहको चौथो कविता हो । राजतन्त्र विरुद्धको अन्दोलन चर्कन लाग्दै गर्दाको अवस्थाको चित्रण यस कवितामा गरिएको छ । देशमा आन्दोलनको आँधी उठ्न सुरु गर्दैगर्दाको सामान्ती सत्ताका नायिकेहरूले समयलाई पछाडि फर्काउन गरेको प्रयत्नको चित्रण गर्दै परिवर्तनको पक्षमा आवाज बुलन्द पार्ने काम गरेका छन् ।

‘अभिशप्त जिन्दगीका नमीठा क्षणहरू’ कविता यस सङ्ग्रहको पाँचौँ कविता हो । यस कवितामा उनले युद्धजन्य समयको चित्रण गरेका छन् । कविले यस कवितामा युद्धजन्य समय र त्यसबाट आक्रान्तहरूको मनोभावना, पीडा र वेदनालाई देखाउने काम गरेका छन् । साथै आमा पात्रका माध्यमबाट एउटा छोराको हत्या भए पनि हजारौं छोराहरू जन्माउने र क्रान्तिको यात्रालाई पूरा गर्ने अठोट यस कविताले लिएको छ ।
यस सङ्ग्रहको छैटौँ कविता ‘ऊ हाम्रो चाहना र विश्वास हो’ शीर्षकमा रहेको छ । वि.सं. २०५९ मा काठमाडौंमा लेखिएको यस कविता गद्य लयका सात अनुच्छेदमा विस्तार भएको छ । यस कवितामा अन्धकारको निस्पटतालाई चिर्न क्रान्ति पुरुष आउँनेछ भन्दै कविले क्रान्ति जनताकै चाहना र विश्वास रहेको वास्तविकतालाई प्रस्तुत गरेका छन् ।

‘उज्यालो खोज्न निस्किएको म’ शीर्षकको कविता यस सङ्ग्रहको सातौँ कविता हो । यस कवितामा कवि विचारको ज्यावल लिएर अन्धकारका विरुद्ध  लागिरहने तथ्य प्रस्तुत गरेका छन् । संवादात्मक शैलीमा प्रस्तुत गरिएको यस कवितामा महान् लक्ष्य बोकेर हिँडे पनि सीमित स्वार्थमा भुल्ने कम्युनिष्टहरूप्रति व्यङ्ग्य प्रहार गरिएको छ ।

‘के धनेश्वर हेर्दैन तिमीलाई’ शीर्षकको कविता यस सङ्ग्रहको आठौँ कविता हो । गद्य लयका पाँच अनुच्छेदमा संरचित यस कवितामा कविले ईश्वरीय अस्तित्वका पक्षधरता माथि प्रश्न गरेका छन् । भगवान् माथि प्रश्न गर्दै लेखिएको यस कविता कविले भगवान् भक्तिका नाममा अन्धभक्त भई नलाग्न आग्रह गरेका छन् ।

यस सङ्ग्रहको नवौँ कविता खै हामीले कहाँ जित्यौँ ? शीर्षकमा रहेको छ । यो कविता जनआन्दोलन २०६२/६३ को अन्तिम दिन अर्थात् वैशाख ११ गतेलाई इंगित गरेर लेखिएको देखिन्छ । जनताका मागहरू पूरा नहुँदै किन यो आन्दोलन शान्त पारियो ? भनी शीर्ष नेतृत्वमाथि प्रश्न गर्दै लेखिएको यस कवितामा जनताको क्रान्तिको यात्रा निरन्तर रहेको भाव अथवा लडाई भिन्दै मोर्चाबाट जारी रहने भाव व्यक्त भएको छ ।

यस सङ्ग्रहको दशौँ कविता गोरेटा र बाटाहरू शीर्षकमा रहेको छ । यस कवितामा कविले आन्दोलनको गन्तव्य एउटै भए पनि हि“ड्ने बाटाहरू फरक फरक भएको र ती फरक फरका बाटोमा हिँडे पनि पुग्नु पर्ने ठाउँ एउटै रहेको छ । कुनै बाटोबाट हि“ड्दा कम क्षतिमा गन्तव्यमा पुगिन्छ भने कुनै बाटो हि“ड्दा बढी क्षति व्योहोर्नु पर्ने हुन्छ भनेर क्रान्तिका विभिन्न बाटाहरूलाई यस कवितामा सङ्केत गरिएको छ । कोलम्बस लगाएतका मिथकहरूको प्रयोग यस कवितामा गरिएको छ ।

‘चील आएर कावा खायो’ शीर्षकको कविता यस सङ्ग्रहको एघारौँ कविता हो । यस कवितामा जनयुद्धकालीन समयमा सामन्ती सत्ताले जनतामािथ गरेको नृशंस व्यवहारलाई व्यङ्ग्यात्मक रूपमा प्रस्तुति गरिएको छ । विभिन्न बिम्ब तथा प्रतीक योजनाबाट मूल कथ्यको प्रस्तुति दिइएको यो कविता गद्यलयका नौँ अनुच्छेदमा विस्तारित भएको छ ।

‘जब सहिदले खिजाउने गर्छ’ शीर्षकको कविता यस सङ्ग्रहको बाह्रौँ कविता हो । वि.सं. २०५९ मा काठमाडौंमा लेखिएको यस कविता असमान नौँ अनुच्छेदमा विस्तारित रहेको छ । यस कवितामा संकटकालीन नेपाली राजनीतिक अवस्था र नेपाली वाम राजनीतिमा देखिएको छेपारोले झैँ रङ्गफेर्ने प्रवृत्तिमाथि व्यङ्ग्य प्रहार गरिएको छ । आफ्नो अनुकूल दिनलाई रात र रातलाई दिन बनाएर सत्यताको हत्या गर्ने र बनावटी एवम् भ्रामक प्रचारवाजीमा रमाउने प्रवृत्तिमाथि शालीन व्यङ्ग्य यस कवितामा आएको छ ।   सहिदको रगतले ल्याएको परिवर्तनमा आफ्नो नाम बेच्दै बुर्कुसी मारेर सत्ता सम्हाल्ने र सहिदको योगदानको अबमूल्यन गर्ने नेतृत्वप्रति आक्रोश पनि यस कवितामा व्यक्त भएको छ ।

यस सङ्ग्रहको तेह्रौँ कविता जुनकीरी आगो बाल्दै थिए शीर्षकमा रहेको छ । यो वि.सं. २०६२ माघमा रचना गरिएको गद्यलयको कविता हो । यस कवितामा जनताहरू जागरुक भई शोषण, अन्याय र अत्याचारका विरुद्ध परिवर्तनका लागि जुनकीरीझैँ शरीरमा क्रान्तिको आगो बोकेर हिँडिरहेको भाव व्यक्त भएको छ ।

यस सङ्ग्रहको चौधौँ कविता ‘जनकविको सम्झनामा’ शीर्षकमा रहेको छ । यो कविता जनकवि गोकुल जोशी विचारको निर्माता भएको र उनी आफ्नो विचारबाट कहिल्यै विचलित नभई काव्य यात्रालाई निरन्तरता दिएको यथार्थलाई यस कवितामा प्रस्तुत गरिएको छ । जनकवि भोको पेटमा जनताका लागि कविता लेख्दै क्रान्तिको विगुल फुक्दै हिँडेको तर आफू सुखसयलमा रम्दै कविता लेखेर जनताका कविताको नाम दिएको धारणा यस कवितामा कविले व्यक्त गरेका छन् । यस कवितामा कविका कलमले विचारको यात्रालाई अगाडि बढाउने वीरहरूप्रति असीम आस्था र श्रद्धा प्रकट गरेका छन् ।

जनता जनताकै कविता लेख्छन् यस सङ्ग्रहको पन्ध्रौँ कविता हो । यस कवितामा कविले भोको पेटको सिर्जना अमूल्य हुने र अधाएको पेटमा रचिएको कविताले जनताको नभई शासकको सेवा गर्ने हुँदा त्यस्ता कविताको ओज नहुने धारणा व्यक्त गरेका छन् । जनता भोक, रोग र शोकमा छन्, उनीहरूका लागि त्यही नै कविता हुन्छ, त्यही नै सिर्जना हुन्छ भन्ने भाव यस कवितामा आएको छ । कविताले व्यक्त गर्न खोजेको भाव पूर्ण नहुँदै कविता टुङ्गिएकोले कविता जति दमदार बन्नु पर्ने हो त्यति बन्न सकेको नदेखिए पनि अन्त्यानुप्रास मिलेर आएका कारण कविता लयात्मक बन्न पुगेको छ ।

यस सङ्ग्रहको सोह्रौँ कविता जुरे ढुङ्गो र छल्दीको छाल शीर्षकमा रहेको छ । जुरे ढुङ्गालाई सामन्तवादको प्रतीकका रूपमा उभ्याइएको यस कवितामा जुरे ढुङ्गाको अन्त्यका लागि छल्दीमा छाल आउनु पर्ने भएझैँ सामन्तवादको अन्त्यका लागि महान् जनविद्रोहको आवश्यकता पर्ने भाव यस कवितामा व्यक्त भएको छ । कविले मसानघाटमा पोलिने लाससँग गाँसेर जुरे ढुङ्गालाई मानवीय रूप प्रदान गर्दै देशको बूढो तर निरङ्कुश सामन्तवादका प्रतीकका रूपमा प्रस्तुत गर्दछन् । साथै छल्दीमा आएको असमेल बाढीले जुरे ढुङ्गोलाई बगाएर पाखामा फालिदिएको आह्लादक चित्र प्रस्तुत गर्दछन् (पाण्डे : भूमिका) । वि.सं. २०६३ वैशाखमा काठमाडौंमा लेखिएको यस कवितामा प्राकृतिक बिम्बका सहायताले समसामयिकता गद्य लयका बाह्र अनुच्छेदमा व्यक्त गरिएको छ ।

‘जब तिम्रो कविता पढेँ’ शीर्षकको कविता यस सङ्ग्रहको सत्रौँ कविता हो । यो कविता वि.सं. २०६२ को असोजमा काठमाडौंमा रचना गरिएको हो । यस कवितामा जनताका मर्म नबुझेका शहरका आलिसान महलमा बसी सामन्ती सरकारको पछौटे  भई लेखिएका कविता र कवितहरूप्रति व्यङ्ग्य एवम् उपहास गरिएको छ । जन चाहना  र मर्मलाई समेट्न नसक्ने  साहित्यको कुनै अर्थ नहुने भाव यस कवितामा व्यक्त भएको छ ।

‘तिम्रो उपस्थितिले जागेका छन् गाउँहरू’ शीर्षकको कविता यस सङ्ग्रहको  अठारौँ कविता हो । गद्य लयका आठ अनुच्छेदमा विस्तारित यस कविता २०६२ वैशाखमा काठमाडौंमा लेखिएको हो । निरङ्कुश सत्ता परिवर्तनका लागि जनताहरू विद्रोहमा निक्लिएको समयको यथार्थताको प्रकटीकरण गरिएको यस कवितामा वर्गीय प्रेम र श्रमले नै विश्वलाई जित्न सक्छ भन्ने महान् भाव अभिव्यक्त भएको छ ।

यस सङ्ग्रहको उन्याइसौँ कविता ‘तिम्रो हत्या गरेँ’ शीर्षकमा रहेको छ । यस कवितामा कविले जव मान्छे सबै तिरबाट पेलिन्छ, शोषित हुन्छ र उत्पीडनमा पर्दछ ऊ सँग अन्तिम विकल्प भनेको हतियार उठाउनु बाहेक अरु केही नहुने र ऊ हतियार उठाएरै भए पनि आफ्नो अधिकार लिएरै छाड्ने भाव व्यक्त गरेका छन् ।

वि.सं. २०६३ बैशाखमा रचिएको ‘तिम्रो सत्ता कति बलवान्’ शीर्षकको कविता यस सङ्ग्रहको बीसौँ कविता हो । यस कविता निरङ्कुश सत्ता परिवर्तनका लागि जनताहरू बन्दुकका विरुद्ध खाली हात लड्दै गरेको यथार्थताको प्रकटीकरण सँगै जनताको जीत अवश्य छ भन्ने भाव भएको छ । निरङ्कुश सत्तालाई कति बलवान् भनी व्यङ्ग्य प्रहार गरिएको यस कविता गद्य लयका असमान आठ अनुच्छेदमा लेखिएको सरल कविता हो ।

वि.सं. २०६३ साउनमा काठमाडौंमा लेखिएको भो ‘देश रोइरहेको बेला’ शर्षिकको कविता यस सङ्ग्रहको बाइसौँ कविता हो । यस कवितामा क्षणिक भौतिक प्रेममा नभुली नेपाल आमाको रक्षार्थ क्रान्तिमा लाग्नु पर्ने भाव व्यक्त भएको छ । सरल शब्द चयन हुँदा हुँदै पनि गहन अर्थ दिन सफल देखिएको यो कविता गद्यलयको आठ अनुच्छेदमा संरचित छ ।

‘देश दुखिरहेछ’ शीर्षकको कविता यस सङ्ग्रहको तेइसौँ कविता हो । गद्यलयमा लेखिएको यो कविता वि.सं. २०६२ फागुनमा काठमाडौंमा लेखिएको हो । यस कवितामा सामन्ती राज्यव्यवस्थाले देश जर्जर बनेको र त्यसबाट मुक्तिका लागि अन्तिम लडाइँमा जानका लागि जनतासँग अपिल गरिएको छ । बिम्ब प्रयोगले भावमा गाम्भीर्य थपेको यस कवितामा देश शब्दको बारम्बार पुनरावृत्ति भएको हुँदा पुनरावृत्ति अलङ्कारको प्रयोग भएको छ ।

यस सङ्ग्रहको चौबीसौँ कविता निर्जन वस्तीमा एउटा मान्छे शीर्षकमा रहेको छ । मानव मुक्तिको गीत गाइएको यस कवितामा समाजमा स्वतन्त्रताका लागि र सर्वहारा वर्गको मुक्तिका लागि एक युग परिवर्तक क्रान्तिकारी मानिस उज्यालोको खोजिमा हिँडिरहने छ भन्ने भाव व्यक्त भएको छ । वि.सं. २०६२ बैशाखमा काठमाडौंमा लेखिएको यो कविता गद्य लयका सात अनुच्छेदमा विस्तारित रहेको छ ।

वि.सं. २०६२ असारमा काठमाडौंमा लेखिएको नदी बग्दैछ निरन्तर शीर्षकको कविता यस सङ्ग्रहको पच्चिसौँ कविता हो । समानता, भातृत्व तथा न्यायको निमित्त गरिएको विद्रोहात्मक साहसिक यात्रा निरन्तर एवम् सशक्त बनेको भाव यस कविताको रहेको छ ।

प्यारो बाबा शीर्षकको कविता यस सङ्ग्रहको छब्बिसौँ कविता हो । वि.सं. २०५९ मा भोटेबहाल काठमाडौंमा लेखिएको यो कविताले गद्य लयको नौँ अनुच्छेदको आयाम लिएको छ । जनयुद्धका समयमा जनतामािथ शाही सेनाद्वारा गरिएको अमानवीय तथा नृशंस हत्याको चित्रण यस कवितामा पाइन्छ । सहिदकी छोरीको वात्सल्य अवस्थाको बुबाप्रतिको प्रेमको चित्रण गरिएको यस कविता करुण रस प्रधान रहेको छ ।

यस सङ्ग्रहको सत्ताइसौँ कविता ‘प्रेम र प्रगतिका कविताहरू’ शीर्षकमा रहेको छ । यस कवितामा कवि जनताका सुख–दुःख, पीर व्यथालाई कविताका विषय बनाइनु पर्छ अर्थात् त्यस समयको जनताको जीवन र जीवन सङ्घर्षको छाप देखिनुपर्छ भन्दछन् । प्रेम र प्रगतिका कविताहरू कठोर हुन्छन् भन्दै कविले यथार्थताको उपस्थापन गराउन नसकेका कविताकृति माथि व्यङ्ग्य प्रहार गरेका छन् । गद्यलयका आठ अनुच्छेदमा आयाम विस्तार भएको यो कविता २०६२ असोजमा काठमाडौंमा लेखिएको हो ।

वि.सं. २०६१ वैशाखमा काठमाडौंमा लेखिएको बन्द परिवेश र ऊ शीर्षकको कविता यस सङ्ग्रहको अठ्ठाइसौँ कविता हो । जटील शब्द प्रयोगले पङ्क्तिपुञ्जगत अर्थ भन्दा समग्रमा भाव बोध हुने यस कवितामा कविले आफ्नो मार्गमा अडिग रहने क्रान्तिकारी युवक जेलमा बन्दी हुँदा पनि निडर भई मानवमुक्तिको गीत गाइरहेको वास्तविकताको चित्रण गरेका छन् । विभिन्न बिम्ब तथा प्रतीकले कविताको भाव जटील भई प्रवुद्ध पाठकको अपेक्षा गरेको पाइन्छ ।

मेरो पहाड शीर्षकको कविता वि.सं. २०६२ बैशाखमा काठमाडौंमा लेखिएको यस सङ्ग्रहको उनन्तिसौँ कविता हो । शीर्षकमा नै प्रतीकात्मक अर्थ बोकेको यस कवितामा क्रान्तिको विशाल रूपलाई पहाडको संज्ञा दिइएको छ । जनताको महान् विद्रोह नजिकै आएको र त्यसका लागि सबै जना तयार रहेको भन्ने भाव व्यक्त एको यस कविताले माओवादी जनयुद्धकालको केही घटनाको स्मरण गराउँछ । सरल शब्दहरूको प्रयोग गरेर पनि गहन अर्थ व्यक्त गर्न सफल यस कविता गद्य लयको आठ अनुच्छेदमा विस्तारित छ ।

यस सङ्ग्रहको तीसौँ कविता म कसरी हँसाउने कविता लेखुँ ? शीर्षकमा रहेको २०६२ भदौ काठमाडौंमा लेखिएको हो । साहित्य सन्ध्या कार्यक्रमका सिलसिलामा लेखिएको यस कवितामा देश जर्जर बन्दै आतंकको मारमा परेको समयमा खुशीको भाव व्यक्त गर्ने खालका कविताहरू सिर्जना गर्न कहाँ सकिन्छ भनी प्रश्न गर्दै लेखिएको छ । अत्यन्त सरल एवं सरस यस कविता गद्य लयका सात अनुच्छेदमा फैलिएको छ ।

यस सङ्ग्रहको ‘म तिम्रो मुक्तिको लागि हिँडेँ शीर्षकको कविता एकतीसौँ स्थानमा रहेको कविता हो । जनआन्दोलन २०६२÷०६३ को परिवेशलाई चित्रण गरी लेखिएको यस कवितामा देशको नियतिप्रति चिन्ता व्यक्त गर्दै कविले नयाँ वर्षलाई युद्ध मोर्चाबाट स्वागत गर्दै देशको रक्षार्थ निक्लिएको बताउँछन् । संवोधनात्मक शैलीमा लेखिएको यस कवितामा बिम्ब प्रयोग र अन्त्यानुप्रास योजना गरिएको पाइन्छ ।

मलाई वनफूलसँग नाँच्न नभन शीर्षकको कविता यस सङ्ग्रहको बत्तिसौँ कविता हो । राष्ट्रभक्तिले ओतप्रोत यस कवितामा मुठीभरका शासकले असङ्ख्य जनतामाथि गरेको शोषणबाट मुक्तिका लागि जाग्नु पर्ने भाव व्यक्त भएको छ । प्रथम पुरुषीय दृष्टिविन्दुमा रचिएको यस कवितामा कविले देश दुखिरहेको समयमा क्षणिक आनन्दमा भुल्न नहुने सन्देश दिएका छन् ।

‘मलाई युद्धको कथा भन्नुहोस्’ शीर्षकको कविता यस सङ्ग्रहको तेत्तिसौँ कविता हो । वि.सं. २०६२ असोजमा काठमाडौंमा लेखिएको यो कवितामा एउटा छोराले बाबासँग युद्धवर्णन सुन्न चाहेको प्रसङ्गलाई कवितात्मक रूप दिइएको छ । यस कवितामा आफ्नो देशका लागि संघर्ष गर्दागर्दै सहिद भएकाहरूको वीरतागान, महिमागानको भाव व्यक्त भएको छ । वीर सहिदप्रति समर्पित यो कविता गद्य लय ढाँचामा सरल शब्द संयोजन गरी लेखिएको एक उत्कृष्ट कविता हो ।

वि.सं. २०६२ भदौमा काठमाडौंमा लेखिएको ‘मन पर्दैनन् लामखुट्टेहरू शीर्षकको कविता यस सङ्ग्रहको चौतिसौँ कविता हो । यस कवितामा कविले लाम्खुट्टेको रूपमा नेपाली शासक वर्गलाई र आफूलाई सोझो जनताको रूपमा उभ्याएका छन् । पटक पटक आन्दोलन गरेर सामन्ती शासकहरूलाई ठीक ठाउँमा राख्दा पनि उनीहरू पुनः आफ्नो सीमा मिचेर जनतालाई सताउने गरेको भाव यस कवितामा आएको छ । वैचारिक हिसाबले यो कविता यस सङ्ग्रहकै उत्कृष्ठ कविता मध्येको एक हो ।

यस सङ्ग्रहको पैतिसौँ कविता ‘रात अघाउँदैन रातभर’ शीर्षकमा रहेको छ । गद्य लयमा वि.सं. २०६२ जेठमा काठमाडौंमा लेखिएको यस कवितामा रातको अँध्यारोलाई अस्वीकार गर्दै त्यसका विरुद्ध घृणा पोखिएको छ । अँध्यारो रातको कर्तुतलाई फाल्ने क्षमता आगोमा भएकाले आगोलाई नियन्त्रण यस कवितामा गरिएको छ । यसमा अध्यारो रातको प्रतीक सामन्ती शासन व्यवस्था र क्रान्तिको प्रतीकको रूपमा आगोलाई प्रयोग गरिएको छ ।

रक्तिम आभा यस सङ्ग्रहको छत्तिसौँ कविता हो । यस कवितामा कविले जनताले परिवर्तनका लागि पटकपटक आन्दोलन र क्रान्ति गरे पनि जनताको परिवर्तको आशामा माथि कुठाराघात भएको र अन्दोलन पछिको उपलब्धि सीमित व्यक्तलाई बन्न पुगेको धारण राखेका छन् । र अन्तमा जनताको परिवर्तको चाहना नमरेको भन्दै एक दिन जनताका अपेक्षा पूरा हुनेछन् भन्ने आशावादी भाव व्यक्त गरेका छन् ।

यस सङ्ग्रहको सैतिसौँ कविता ‘समाजसेवी’ शीर्षकमा रहेको छ । यस कवितामा कविले समाजसेवा गर्नका लागि पनि अध्ययन र परिवर्तनकारी सोचको आवश्यकता रहेको कुरा व्यक्त गर्दै इतिहासका विभिन्न व्यक्तिहरूबाट पाठ सिकेर त्यसलाई व्यवहारमा रूपान्तरण गर्न सक्नुपर्ने धारणा व्यक्त गरेका छन् । समाज सेवाका नाममा पैसाको खेती गर्ने ढोँगी समाजसेवीप्रति सचेत हुने आग्रह यस कवितामा गरिएको छ । गद्य लयको तीन अनुच्छेदमा संरचित यो कविता २०६१ सालमा लेखिएको हो ।

सुनसान मेरो गाउँ –१ यस सङ्ग्रहको अठ्तिसौँ कविता हो । यस कवितामा कविले युद्धले गर्दा सुनसान बनेको गाउँको वस्तुस्थितिको चित्रण गरेका छन् । कतिका कोख रित्तिएका, कतिका सिउँदो उजाडिएका कारण गाउँ सुनसान र उदास बनेको र आफू आमाको काख खोज्दै गाउँमा पुगेको भावना यस कवितामा कविले व्यक्त गरेका छन् ।

सुनसान मेरो गाउँ –२ यस सङ्ग्रहको उन्चालिसौँ कविता हो । यस कवितामा पनि कविले गाउँले वातावरणको चित्रण गर्ने काम गरेका छन् । युद्धका कारण गाउँले विश्वास टोडिएको, माया ममतामा कृत्रिमता आउन थालेको र विश्वासमाथि घात हुन थालेको कुरा यस कवितामा व्यक्त भएको छ । यति हुँदा हुँदै पनि गाउँले आमाहरू अझै पनि क्रान्तिप्रति आस्थावान् र आशावान रहेको भावना यस कवितामा व्यक्त गरेका छन् । तत्सम शब्दको अत्याधिक प्रयोग गरिएको यो कविता गद्यलयको नौँ अनुच्छेदमा संरचित रहेको छ ।

‘सालिक ढल्दै गर्दा’ २०६२/६३ को जनआन्दोलनलाई विषयवस्तु बनाएर लेखिएको यस सङ्ग्रहको अन्तिम कविता हो । यस कवितामा सामन्ती शासनका विरुद्ध जनताहरू सडकमा ओर्लिएको र एक जनाको हत्याका विरुद्ध हजारौँले बलिदान दिन तयार रहेको भाव व्यक्त गरिएको छ  । जनआन्दोलनमा सहादत प्राप्त गरेकी सेतु विक र उनले सहादत प्राप्त गरेको स्थान पुष्पवाटिकालाई स्थानिक परिवेशका रूपमा ल्याएर सहिदप्रति सम्मान भाव पनि यस कवितामा व्यक्त गरिएको छ ।

यसरी प्रस्तुत कविता सङ्ग्रह फेरिअर्को तारा खस्यो कवि विष्णु भण्डारीले देखेका, भोगेका र वातावरणबाट प्राप्त गरेका अनुभूतिहरूलाई समेटेर गद्य लयमा कविताको रचना गरेका छन् । तत्कालिन समयमा देश जर्जर बनेको थियो भने जताततै सामन्ती सत्ताको विरुद्ध परिवर्तनका स्वर गुञ्जिँदै गइरहेको थियो, विद्रोह एवं जनयुद्ध चलिरहेको थियो । समय सापेक्ष रूपमा जनताको कविले जनताकै कविता लेख्नु पर्ने धारणा बोकेका भण्डारीका कवितामा पनि त्यस समयको कठोर यथार्थताको चित्रण पाइन्छ । उनका यस सङ्ग्रहका कवितामा जनताका परिवर्तनकामी चाहनाहरू सलबलाएका छन् । उनका सम्पूर्ण कविता दासता, उत्पीडन र अन्यायबाट मानव मुक्तिका लागि उदात्त चाहना अभिवृद्धि गर्ने खालका र छन्दका कठोर नियमबाट नआई निष्फिक्री रूपमा गद्य लयमा प्रस्तुत भएका छन् । यस सङ्ग्रहका कवितामा तत्कालिन यथार्थताको प्रकटीकरण सँगै राष्ट्रभक्तिको भावना प्रवल रूपमा आएको देख्न सकिन्छ । कवि भण्डारी यस सङ्ग्रहमा जनताका कविका रूपमा देखिएका छन् । तत्कालिन जनयुद्ध तथा जनआन्दोलनका कारण राजनीतिक परिवर्तन सम्भव भएको धारणा प्रस्तुत गर्न कवि सफल देखिएका छन् । यस सङ्ग्रहका सम्पूर्ण कवितामा प्रगतिवादी विचार पाउन सकिन्छ ।

कतै–कतै प्रकृतिलाई मानकीकरण गरेर प्रस्तुत गर्न पनि सफल देखिएका भण्डारीले कविता विभिन्न बिम्ब र प्रतीकको पनि प्रयोग गरेको पाइन्छ । कवितामा जनउत्साह र जनभावना व्यक्त गर्दागर्दै कतै भावुक भई विचारमा अलमल भएको पनि पाइन्छ । समाज परिवर्तनको विचारले सिँञ्चित यस सङ्ग्रहका कवितामा कतै–कतै आक्रोश पोख्न खोज्दा शैलीगत कमजोरी भने देखिन्छ । समग्रमा यस सङ्ग्रहका कविता प्रगतिवादी र समाजवादी दृष्टिका हिसाबले उत्कृट नै देखिन्छन् ।

४.३.६ ‘देश जागेको बेला’ कविता सङ्ग्रहको अध्ययन
देशमा चौतर्फी रूपमा जनआन्दोलन (२०६२/६३) को आँधीहुरी चलिरहेको समयमा देश जागेको बेला कृतिको लेखन तथा प्रकाशन भएको देखिन्छ । जम्मा ७४ पृष्ठमा संरचित यस कृतिको प्रकाशन २०६३ सालमा गरिएको हो र यसको मूल्य ४० रूपैया राखिएको छ । यस सङ्ग्रहको आवरणमा विभिन्न रङ्गहहरूको संयोजन गरी अर्मूत पानी रङको चित्र राखिएको छ । सङ्ग्रहभित्र निम्न शीर्षकका ३० वटा कविताहरू समावेश गरिएका छन् : सपना र कीर्तिपुर, कीर्तिपुर भन्दै थियो, बलिदानको एउटा कविता हो पोखरा, बनेपा अर्को सहिद बन्यो, डाक्टर ! वर्तमान जल्दैछ ……, गोङ्गबु ! म गाउला तिम्रो गीत, न कलम झुक्यो न रङ्ग सुक्यो, परासी र विष्णुका पद चापहरू, एउटा बुख्याँचा र न्यायमूर्तिका आवाज, गुल्मी ! म तिमीसँगै उभिएको छु, कालो पुलको अन्तव्र्यथा, डसिए सूचनाका सम्बाहकहरू, सहिदको रगतमा सिञ्चिएको अर्घाखाँची, चाबहिल ! तिमीलाई बधाई छ, अनाहूत ! मलाई माफ गरिदेऊ, तातो निजगढ रगतमा रातो भयो, गोरखा र आधा आकाश, जुलुस बोकेर हिँडेको छु, म तिम्री सेतु बिक, वीरताको ज्यूदो कहानी हो झापा, जागे कलङ्कीका स्वजनहरू, जनता जागेको दिन, वीरतापूर्ण उत्सर्गको कथा लेखिएको दिन, जोमसोम तातो–तातो बन्यो, पर्वतका सम्बेगहरू, चितवन उठ्यो चेलीका आवाजसँगै, चिबेचरा र बिरालाहरू, कलङ्की म फर्किन बेला भयो, असन त्यसै बसिरह्यो, मेरो मन उद्देलित र क्रुद्ध छ यस सङ्ग्रहमा समावेश कविताका शीर्षकहरू हुन् ।
यस सङ्ग्रहको पहिलो कविता सपना र कीर्तिपुर शीर्षकको रहेको छ । महान् जनआन्दोलनमा जागेको कीर्तिपुरको चैत २४ को वास्तविक घटनालाई समेट्दै लेखिएको यो कविता २८ गद्य अनुच्छेदमा फैलिएको छ । सामन्ती राजतन्त्रविरुद्धमा जागेका कीर्तिपुरवासीलाई उनले यस कवितामा सम्बोधन गरेका छन् । जनताका अगाडि निरङ्कुष शासकहरूले घु“डा टेक्नुपर्ने भाव यस कवितामा आएको छ ।

कीर्तिपुर भन्दै थियोे यस सङ्ग्रहको दोस्रो कविता हो । वि.सं. २०६२÷६३ को जनआन्दोलनको चैत २५ गतेका दिनमा जुर्मुराउँदै उठेको कीर्तिपुरको वास्तविकतालाई गद्य लयमा १३ अनुच्छेदमा यो कविता लेखिएको छ । जनताका वैरीलाई खेदिरहेको समरका भाका गुञ्जाउँदै नयाँ इतिहासका कथा रचिरहेको वास्तविकतालाई कविले वीर तथा रौद्र रसमा यो कविताको सिर्जना गरेका छन् । यस कवितामा दासना, दासी बनाउँदा दासत्व नस्वीकारेको, पराजितको माला नपहिरिएको, आफ्नो अस्मिता गुमे पनि शिर नझुकाएको कीर्तिपुरको वीरतालाई लाक्षणिक रूपमा प्रस्तुत गरिएको छ ।

यस सङ्ग्रहको तेस्रो कविता बलिदानको एउटा कविता हो पोखरा शीर्षकमा रहेको छ । चैत–२६ गते त्राटनको विरुद्ध उर्लेको पोखराको चित्रण गरिएको यस कविता गद्य लयको असमान ८ श्लोकमा फैलिएको छ । जनआन्दोलनका सहिद भीमसेन दाहालको शाहादतको कारुणीक क्षणमा यो कविताको सिर्जना भएको पाइन्छ । प्रथम पुरुषीय शैलीमा हामी पोखरा बासी रक्त बीजमा वंशज हौँ, मुटु दह्रो पारी पहाड फुटाउन तयार छौं भन्ने भाव व्यक्त गरिएको करुण र रौद्र रसले मिश्रित परिपाकमा पुगेको यस कवितामा जनआन्दोलनमा पोखरा बासीहरूले देखाएको वीरताको वर्णन गरिएको छ ।

यस सङ्ग्रहको चौथो कविता बनेपा अर्को सहिद बन्यो लक्षणार्थक शीर्षकमा रहेको छ । चैत २७ गते कालो रात चिर्न उठेको बनेपा मुक्ति र स्वाधीनताको नारा बोकी वैरीका विरुद्ध धावा बोलेको विषयलाई कविले गद्यलयका ६ श्लोकमा संरचित गरेका छन् । यस कवितामा वैरीहरूले लाठी बर्साउँदै गोली चलाउँदै आएका तर बनेपाबासी निरङ्कुश सत्ताविरुद्ध छाती खोलेर मृत्युसँग नडराइ सडकमा उठेको यथार्थलाई प्रथम पुरुषीय शैलीमा कलात्मक रूपले प्रस्तुत गरिएको छ ।

यस सङ्ग्रहको पाँचौँ कविता डाक्टर वर्तमान जल्दै छ… शीर्षकमा रहेको छ । जनआन्दोलनका दौरानको समय चैत २८ गतेका दिन लेखिएको यस कविता गद्यलयमा ५ अनुच्छेदमा संरचित छ । यस कवितामा डाक्टरलाई सदियौँदेखि देशमा लागेको निरङ्कुशताको रोगलाई निर्मूल पार्नको लागि आह्वान गरिएको छ ।

यस सङ्ग्रहको छैटौँ कविता गोंगबु ! म गाउला तिम्रो गीत शीर्षकमा रहेको छ । जनआन्दोलनकै क्रममा चैत २९ गते काठमाडौंको मुटु मानिने गोंगबुमा भएको क्रुरतापूर्ण दमनलाई समेट्दै गद्यलयको असमान ८ श्लोकमा फैलिएको यो कविता प्रथम पुरुष शैलीमा रचिएको छ । पत्थर जस्तै छाती भएको शासकको प्रतिनिधि पात्र माधव ( गोली हान्न आदेश दिने प्रहरी अधिकृत) ले निहत्था मान्छे माथि गोली बर्साउन आदेश गरिएको घटनालाई कवितामा बाँधिएको छ । २१ औँ शताब्दीका देशलाई रणभूमि बनाए पनि दूरदराजका गाउँहरूबाट आएको तुफानले जनतालाई जगाउदै सामन्ती शक्तालाई ढाल्न लागिपरेको भन्दै कविद्वारा यस कवितामा गोंबुलाई मानवीकरण गर्दै सान्त्वना प्रकट गरिएको छ ।

यस सङ्ग्रहको सातौँ कविता न कलम झुक्यो न रङ्ग सुक्यो शीर्षकमा रहेको छ । गद्यलयका १० श्लोकमा रचिएको यस कविता चैत ३० मा रचिएको हो । जनआन्दोलनको समयमा साहित्यकार, कलाकार माथि निरङ्कुश शाही सेना आक्रमक रूपमा जाइलागेको घटना प्रसङ्गदेखि विभिन्न साहित्यिक साङ्गीतिक मोर्चाको आन्दोलनको चर्चा यस कवितामा गरिएको छ । प्रथम पुरुषीय ढाँचामा रचिएको यस कवितामा जनताको वैरीहरूले स्रष्टा तथा सर्जकहरूलाई झुण्डाए पनि, गोली ठोके पनि उनीहरूका आदर्श, सिर्जना र विचारको हत्या गर्न नसक्ने भाव यस कवितामा आएको छ ।

यस सङ्ग्रहको आठौँ कविता परासी र विष्णुका पदचापहरू शीर्षकमा रहेको छ । चैत ३० गते हुरीका गीतहरू गुञ्जाउँदै बस्ती–बस्तीबाट उठेको परासी र त्यसमाथि बर्बरतापूर्ण दमन गरी विष्णु पाण्डेको हत्या गरिएको घटनालाई कविले यस कवितामा गद्यलयको १० अनुच्छेदमा विस्तारित छ । आफ्नो काला अँध्याराहरू चिर्न र धर्तीमातालाई खुसी पार्न साहसका साथ अगाडि बढेको विष्णुको जिन्दगी ढलेपछि परासी मातालाई हतोत्साहित नहुन र आफ्नो रगत पछ्याउँदै अरू सन्तान अघि बढ्ने सङ्केत यस कवितामा गरिएको छ ।

एउटा बुख्याँचा र न्याय मूर्तिका आवाज यस सङ्ग्रहको नवौँ कविता हो । आन्दोलनकै क्रममा चैत ३१ गते स्वतन्त्र न्यायप्रेमीका आवाज माथि बहुला कुकुरको आक्रमणले सिङ्गो न्यायका रक्षकलाई डसेको घटनालाई आधार मानी लेखिएको यो कविता साना ठूला १० गद्य अनुच्छेदमा संरचित छ । आन्दोलनमा दमनका लागि निरङ्कुश सत्ता, निर्जीव बुख्याँचा भई तर्साइरहेको र कानुनलाई कुल्चँदै आफ्नो प्रभुत्व कायम राख्न टुकुचाको फोहोर बनी गनाउँदै गरेको प्रसङ्ग यस कवितामा उठाइएको छ । धेरै ठाउँमा अन्त्यानुप्रास योजनाले लयात्मकता थपेको यस कविता बिम्बप्रतीक प्रयोगका दृष्टिले उच्च देखिन्छ ।

यस सङ्ग्रहको दसौँ कविता गुल्मी ! म तिमीसँगै उभिएको छु शीर्षकमा रहेको छ । वैशाख १ गते लेखिएको यस कवितामा गुल्मीका जानताहरू अन्याय अत्याचारको विरुद्धमा रेसुङ्गा भन्दा अग्लो पर्खाल बनेर उभिएको भाव व्यक्त गरिएको छ । कहीँकतै अन्त्यानुप्रास योजना गरिएकोले लयात्मकता थपिएको यस कवितामा विभिन्न स्थानिक बिम्बप्रतीक योजना गरिएको छ । यस कवितामा गुल्मीबाट हजारौँ नरनारी सङ्घर्ष उत्रिएको यो समयमा कवि पेट भर्नका लागी जन्मस्थानदेखि टाढा पुगेकोमा क्षमा याचना गर्दै आपूm टाढा भए पनि गुल्मी सामिप्यमा रहेको भन्दै कलात्मक रूपमा गुल्मेलीहरूको वीरताको व्याख्या गरेका छन् ।

यस सङ्ग्रहको एघारौँ कविता कालो पुलको अन्तव्र्यथा शीर्षकमा रहेको छ । वैशाख–२ गते स्वाधीनताको नारा बोकी उर्लिएको कालोपुल जहाँ कालो मसान उत्पन्न भएर कुर्लिएको र बागमती रक्ताम्य भएको घटनालाई सात गद्य श्लोकमा बाँधिएको छ । कालोपुललाई मानकीकरण गर्दै यस कवितामा कविले कालोपुल रगतका धाराले पोतिएको कङ्कालहरूले घेरिएको अवस्था विह्वल बनी पल्टिरहेको जहाँ स्यालको स्वर गुञ्जिरहेको, मसान उठेर ताण्डव नृत्य गरेको यथार्थलाई प्रकट गर्दै लाक्षणिक रूपमा कालोपुलमा वैशाख–२ गते सरकारले गरेको दमनको चित्रण गरेका छन् ।

यस सङ्ग्रहको बाह्रौँ कविता डसिए सूचनाका संवाहकहरू शीर्षकमा रहेको छ । वैशाख २ गते गौशालामा धर्ना बसेका पत्राकारहरू माथि निर्ममतापूर्वक गरिएको फौजी आक्रमणलाई विषयवस्तु बनाई लेखिएको यस कविता गद्यलयका असमान १४ अनुच्छेदमा संरचित छ । वार्तालापीय शैलीमा लेखिएको यस कवितामा जनआन्दोलनको कदर नगर्ने ती हिटलर र मुसोलिनी अस्ताएर गए जनताको जीत हुने यथार्थ कविताका प्रकट गरिएको छ । बिम्बप्रतीक योजनाका साथै विभिन्न चिह्न प्रयोगले कविता भावगाम्भीर्य बन्न पुगेको छ ।

यस सङ्ग्रहको तेह्रौँ कविता सहिदको रगतमा सिञ्चिएको अर्घाखाँची शीर्षकमा रहेको छ । आन्दोलनका दौरानमा वैशाख ३ मा अर्घाखाँचीमा उर्लेको जनमानस र त्यसमाथि भएको निरङ्कुश बर्बरतापूर्ण दमन र त्यसबाट रङ्गिएको अर्घाखाँचीको घटनालाई विषयवस्तु बनाइ लेखिएको यो कविताको रचना गरिएको छ । २०५९ मा सयौँ सन्तानलाई सहिदको रूपमा स्वीकारेको अनि सुन्दर भविष्य र सुनौलो प्रभातीय किरणको पर्खाइमा रहेको अर्घाखाँची र त्यसको यथार्थलाई कवितामा प्रकट गरिएको छ ।

यस सङ्ग्रहको चोधौँ कविता चाबहिल तिमीलाई बधाई छ शीर्षकमा रहेको छ । वैशाख ४ मा हातमा हात मिलाउँदै बन्दुक र लाठ्ठीसँग नडराई गाउँ–गाउँ र टोल–टोलबाट समावेस भई उर्लिएको चाबहिललाई बधाई दिँदै गद्यका ६ अनुच्छेदमा कविता प्रबन्धन गरिएको छ । चाबहिललाई मानवीकरण गर्दै सैनिकद्वारा चाबहिलको छात्तीमाथि बुटले कुल्चेको र गोलीले अङ्गभङ्ग पारेको यथार्थलाई प्रकट गर्दै कवि आपूm पनि चाबहिल जस्तै वीर कर्मठयोद्धा बन्ने विचार प्रकट गरेका छन् ।

यस सङ्ग्रहको पन्धौँ कविता अनाहूत ! मलाई माफ गरिदेऊ शीर्षकमा रहेको छ । वैशाख–४ नेपाली संस्कृति, सम्पदा र प्राकृतिक सौन्दर्यको मनोरञ्जन लिन नेपाली भूमि प्रवेश गरेका पर्यटक माथि काठडमाडौंको ठमेल क्षेत्रमा भएको दमनलाई कविले नेपाल आमाका तर्फबाट गरेको पुकार यस कविताको विषयवस्तु हो ।

यस सङ्ग्रहको सोह्रौँ कविता तातो निजगढ रगतमा रातो भयो शीर्षकमा रहेको छ । जनविद्रोहकै क्रममा वैशाख ४ गते विद्रोहका स्वरूपहरू फेरिँदै शङ्ख बजाउँदै गरिएको निजगढको विरोधमा मारिएका हिरालालको वीरताको बयान यस कविताको मुख्य विषयवस्तु हो । गद्यलयका असमान ८ अनुच्छेदका रचिएको यस कवितामा बिम्ब प्रयोगले झन उच्च बनेको छ । कविले प्रचण्ड गर्मीमा आन्दोलनले थप तातिरहेको निजगढमा बहुला दानवीय शासकले बर्बर दमन गरी निमुखा जनताको हत्या गरी रगताम्य पारेको वस्तुयथार्थलाई कवितामा टिँप्दै तातो निजगढ रगतमा रातो भयो शीर्षकमा प्रस्तुत गर्न सफल देखिएका छन् ।

यस सङ्ग्रहको सत्रौँ कविता गोरखा र आधा आकाश शीर्षकमा रहेको छ । जनविद्रोहकै क्रममा वैशाख पाँच गते मनासलुको काखमा अवस्थित गोरखामा उन्मुक्तिको र विद्रोहको गीत गाउँदै काला अतीतका कृत्यहरू हटाउन उर्लेको जनलहरको विषयलाई यस कवितामा गद्यलयका नौँ अनुच्छेदमा पङ्क्तिबद्ध गरिएको छ । आफ्ना प्रिय सन्तानको रगतको बदला लिन राजतन्त्रका विरुद्ध लखन थापा बनेर र दासताको विरुद्ध आगो बनेर होमिएको भन्ने गोर्खालीको भावना यस कवितामा व्यक्त गरिएको छ । बिम्ब प्रयोगले विषयवस्तुलाई गहन बनाएको यस कवितामा वीर तथा रौद्र रसको अधिक्य पाउन सकिन्छ ।

यस सङ्ग्रहको अठारौँ कविता जुलुस बोकेर हिँडेको छु शीर्षकमा रहेको छ । जनविद्रोहकै क्रममा वैशाख ५ गते गृहमन्त्रालयका सम्पूर्ण कर्मचारी आफ्नो र सम्पूर्ण देशको समस्याका लागि जुलुस बोकेर शाही सत्ताको विद्रोहमा हिँडेको घटनालाई विषयवस्तु बनाई कवितात्मक रूप दिइएको छ ।

यस सङ्ग्रहको उन्नाइसौँ कविता म तिम्री सेतु विक शीर्षकमा रहेको छ । जनआन्दोलनको चरम रूप लिँदै गइरहेकै समयमा वैशाख ५ मा नेपालगञ्जमा उर्लिएको जनमानसले कालो सालिकलाई भत्काएने क्रममा सेनाको गोलीबाट आन्दोलनकारी सेतु विकको हत्या हुन पुगेको कारुणिक तथा वीरताको यथार्थतालाई यस कवितामा वर्णन गरिएको छ ।

यस सङ्ग्रहको बिसौँ कविता वीरताको ज्यूँदो कहानी होे झापा शीर्षकमा रहेको छ । यसमा परिवर्तनका लागि विद्रोहका आवाज उराल्दै अगाडि बढ्दा झापाली भूमिमा दुई–दुई जना होनाहार सपुतको शाहदतको कारुणिक घटनालाई कवितात्मक रूप दिइएको छ ।

यस सङ्ग्रहको एक्कासौँ कविता जागे कलङ्कीका स्वजनहरू शीर्षकमा रहेको छ । वैशाख ७ गते कलङ्कीमा प्रहरीको गोलीलाई हत्केलाले छेक्दै उठेका कलङ्कीका स्वजनहरूको छाललाई यस कवितामा वर्णन गरिएको छ । देश पूरै वधशाला बन्दै गएको अवस्थामा सम्पूर्ण जनताहरू विद्रोहमा होमिएको तथ्य कवितामा उल्लेख छ । विभिन्न बिम्बहरूको प्रयोगले कवितात्मक भाव प्रवाह उच्च भएको यस कविता गद्यलयको १० श्लोकमा लयबद्ध गरिएको छ । सरल शब्द संयोजन गरिएको यस कविता वीर रस र करुण रसले परिपाकपूर्ण देखिन्छ ।

यस सङ्ग्रहको बाइसौँ कविता जनता जागेको दिन शीर्षकमा रहेको छ । वैशाख ८ गते २० लाख जनताले तानाशाही सरकारको विरुद्धमा चक्रपथ परिक्रमा गरेको र नयाँ बिहानी जन्माउन लठ्ठी र गोलीसँग सिगौरी खेलेको घटना वस्तुलाई यस कवितामा काव्यात्मक रूप दिइएको छ । सरल भाषा शैलीको माध्यमबाट गद्यलयको २३ श्लोकमा संरचित यस कवितामा देशमा परिवर्तनको लागि सबै जनता जागेका छन् भनी कवि व्यक्त गर्दछन् ।

यस सङ्ग्रहको तेइसौँ कविता वीरतापूर्ण उत्सर्गको कथा लेखिएको दिन शीर्षकमा रहेको छ । वैशाख ९ गते शाही सत्तालाई घुँडा टेकाउन उपत्यका बाहिरबाट हजारौँ जनमानसको काठमाडौंमा आगमन र निरङ्कुश तानाशाही सरकारलाई धिकार्दै तिनका शक्ति किल्ला ढाल्दै अघि बढेको जनविद्रोहको विषयवस्तुलाई कवितात्मक रूप दिएको छ । गद्यलयका असमान २२ श्लोकमा संरचित यस कविता करुण र रौद्र रस पाउन सकिन्छ । सरल भाषा शैलीको माध्यमबाट जनआन्दोलनको वस्तुस्थिति चित्रण गर्न यो कविता सफल छ ।

यस सङ्ग्रहको चौबिसौँ कविता जोमसोम तातो–तातो बन्यो शीर्षकमा रहेको छ । वैशाख १० गतेका दिन क्रान्तिका स्वरहरूले जोमसोमको चिसो हावापानीलाई तताउँदै गरेको वस्तुस्थितिको चित्रण गरिएको यस कविता गद्यलयमा संरचित छ । असमान पङ्क्तिका सात अनुच्छेदमा रचिएको यस कवितामा सरल शब्दको चयनले सुबोद्य बन्न पुगेको छ । जोमसोम चिसा–चिसा शिखरलाई ताता क्रान्तिका उच्छबासले धक्का दिँदै दासताका सिक्री चुडाउन र नयाँ युगको आह्वान गर्न जागिरहेको अभिव्यक्ति यस कवितामा कविको रहेको छ ।

यस सङ्ग्रहको पच्चिसौँ कविता पर्वतका संवेगहरू शीर्षकमा रहेको छ । वैशाख १० मा परिवर्तन भएको जनआन्दोलनका घटनाहरूलाई प्रथम पुरुषीय म पात्रका माध्यमबाट कवितात्मक प्रस्तुति यस कवितामा गरिएको छ । निरङ्कुश सत्ताले दिएको बर्बर यातना र पीडाका विरुद्ध पर्वत, बाग्लुङलगायतका सुदूरका जनताहरू शासकलाई शिर झुकाउने मनोकांक्षा बोकेर विद्रोहमा उत्रिएको भाव उनको यस कवितामा पाइन्छ । विभिन्न मिथकीय बिम्ब प्रतीक तथा सरल शब्द संयोजन गरिएको यो कविता गद्यलयका असमान ९ श्लोकमा संरचित छ ।

यस सङ्ग्रहको छब्बिसौँ कविता चितवन उठ्यो चेलीको आवाजसँगै शीर्षकमा रहेको छ । जनआन्दोलनको दौरानमा वैशाख १० मा लेखिएको यस कवितामा देशमा सबैतिर विद्रोहका छालहरू छचल्किरहेकै समयमा चितवनका नारीहरूले घरबाट बाहिर विद्रोहमा निक्ली सामन्ती सत्तालाई चुनौती दिएको घटना सन्दर्भलाई कवितामा प्रस्तुत गरिएको छ । सरल शब्द संयोजन गरी गद्यलयको ६ श्लोकमा लेखिएको यस कविता बिम्ब प्रयोगका दृष्टिले उत्कृष्ट छ ।

यस सङ्ग्रहको सत्ताइसौँ कविता चिबेचरा र बिरालाहरू शीर्षकमा रहेको छ । यो बविता जनआन्दोलन चलिरहेकै अवस्थामा वैशाख ११ लेखिएको हो । शासकका सालिक तोड्दै घोरही, पाटन, रूपन्देही अघि बढिरहेको र सामन्ती शासकका मतियारहरू हार स्वीकार्दै लुक्न थालेको वास्तविकतालाई यस कवितामा उठाइएको छ । प्रतीकात्मक रूपमा प्रस्तुत यस कविता गद्यलयका ५ श्लोकहरूमा संरचित छ । तराइ, पहाड, हिमाल एक साथ आगो बनी विद्रोहमा जागिरहेका समयमा बिरालारूपी सामन्ती निरङ्कुशसत्ताका षड्यन्त्रकारीहरू जाल बुनिरहेका र सत्ताको स्तुतिगान गरिरहेको विषयलाई व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गरिएको यो व्यङ्ग्यात्मक कविता हो भन्न सकिन्छ ।

यस सङ्ग्रहको अठ्ठाइसौँ कविता कलङ्की म फर्किने बेला भयो शीर्षकमा रहेको छ । वैशाख १२ गते लेखिएको यस कवितामा जनआन्दोलनको समयमा कलङ्कीले खेलेको भूमिकाको महिमा गान गाइएको छ ।

असन त्यसै बसिरह्यो यस सङ्ग्रहको उन्तीसौँ कविता हो । नेपालमा हुने हरेक आन्दोलनमा मौन रहने असन २०६२÷६३ को जनआन्दोलनमा पनि मौन बसेको यथार्थलाई यस कवितामा व्यक्त गरिएको छ । असन साहु महाजनहरूको बसाइ थलो हो र यो सितिमिति नजाग्ने भए पनि आफु असन जाग्ने आशमा बसेको कुरा कविले यस कवितामा व्यक्त गरिएको छ ।

मेरो मन उद्वेलित र क्रुद्ध छ कविता यस सङ्ग्रहको अन्तिम कविता हो । यस कवितामा कविले समग्र देश नै सामन्ती शासनका विरुद्ध आन्दोलित भइरहेको भइरहेको समयमा आफू पनि चुप बस्न नसकेको भाव व्यक्त गरेका छन् ।

प्रगतिवादी विचाराख्यानले गर्विभूत कवि विष्णु भण्डारीद्वारा रचिएको देश–जागेको बेला, शीर्षकको कविता सङ्ग्रहमा तिसवटा कविताहरू संग्रहित रहेका छन् । आमूल परिवर्तन र कालरात्रीहरूलाई चिर्दै प्रभाती किरण झुल्काउन चलेको जनआन्दोलन २०६२/६३ को वास्तविक झलकलाई कविले कवितावद्ध गर्न सफल रहेका छन् । यसरी जनआन्दोलनका घटनात्मक दैनदिन्यको प्रस्तुति रहेको यो कविता सङ्ग्रहले ऐतिहासिक कृतिका रूपमा पनि विशेषता बोकेको देखिन्छ । निरङ्कुश राजतन्त्रका विरुद्ध उठेका हिमाल, पहाड, तराईबासीलाई प्रतीकात्मक रूप दिँदै रचना गरिएको यस कृतिमा विभिन्न अलंकार, रस, र विम्बले सजिएको छ । लक्षण तथा व्यञ्जनको प्रयोग भएका यस सङ्ग्रहका कविता निकै सरल, सरस र गद्य लयमा सिर्जना गरिएको जनता विषयवस्तुलाई टिपेर जनताकै पक्षमा लेखिएको र राष्ट्र भक्तिले सुसोभित हुँदा हुँदै यस कविता सङ्ग्रहका कवितामा कवित्व भन्दा घटनावस्तुको वर्णनले भने उच्चता पाएको देखिन्छ । समग्रमा प्रगतिवादी विचारका कोणबाट हेर्दा यो सङ्ग्रह उत्कृष्ट नै देखिन्छ ।

४.३.७ ‘उत्सर्ग’ महाकाव्यको विश्लेषण
उत्सर्ग महाकाव्य २०६७ जेठमा प्रकाशित भएको महाकाव्य हो । उनले मुक्तक, कविता र खण्डकाव्य कृतिहरूको प्रकाशित गरेसकेपछि महाकाव्य लेखनमा हात हालेका हुन् । प्रस्तुत महाकाव्य प्रकाशन हुनुपूर्व नै उनका विद्रोहको छाल, ब्वाँसाको अन्त्यको खेल र कालो नाटक जस्ता खण्डकाव्यहरू प्रकाशित भइसकेका छन् । खण्डकाव्यको साधनापछि उनले २०६७ सालमा महाकाव्य प्रकाशन गर्ने हिम्मत गरेका छन् । यसमा दशवर्षे माओवादी जनयुद्धको महागाथा गाइएको छ । वि.सं. २०५२ सालदेखि २०६३ सम्म चलेको जनयुद्धमा आधारित भएर महाकाव्य लेख्ने विष्णु भण्डारी प्रथम महाकवि पनि हुन् । महाकाव्यलाई विश्लेषण गर्ने आफ्नै मान्यता र सिद्धान्त छन् । यस महाकाव्यको विश्लेषण विभिन्न शीर्षकहरूमा तल गरिएको छ ।

४.३.७ ‘उत्सर्ग’ महाकाव्यको विश्लेषण

४.३.७.१ संरचना
विश्लेष्य महाकाव्य उत्सर्गको मुख पृष्ठमा रातो, सेतो, नीलो र हरियो रङ गरी चार वटा रङको समायोजन गरिएको छ । रातो पृष्ठभूमिमा उत्सर्ग भनी महाकाव्यको शीर्षक ठूलो अक्षरमा लेखिएको छ । सूर्योदय हुँदै गरेको प्रतीकात्मक सङ्केत पनि आवरणमा राखिएको छ । सबैभन्दा मुनि बायाँतिर प्रकाशक संस्थाको लोगो राखिएको छ र दायाँतर्फ लेखकको नाम सेता अक्षरमा विष्णु भण्डारी भनी लेखिएको छ । अगाडिको बाहिरी गाताको भित्रपट्टिको एक पाना खाली छ । त्यसपछिको पानाको तल महाकाव्यको शीर्षक, त्यसको विधा र महाकविको नाम दिइएको छ । त्यसपछिको पानामा महाकाव्यको शीर्षक, विधा, सर्जक, प्रकाशक, संस्करण, सर्वाधिकार, मुद्रक आदिको जानकारी दिइएको छ । त्यसपछिको पानामा समर्पण शीर्षकमा आपूm जलेर र संसार रच्नेलाई भनी सम्बोधन गरिएको छ । त्यसपछि एक पाना खाली राखिएको छ । त्यसपछिको पानामा शुभकामना र मन्तव्य शीर्षकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ को शुभकामना राखिएको छ । अर्को पानामा नयाँ युगको नयाँ महाकाव्य शीर्षकमा चैतन्यको लामो विश्लेषणात्मक लेख राखिएको छ । त्यसपछि क्रमशः जनयुद्धको महाबिम्ब प्रस्तुत गरेको एउटा महाकाव्य शीर्षकमा ईश्वरचन्द्र ज्ञावलीको मन्तव्य, पृथक पहिचान बोकेको महाकाव्य शीर्षकमा घनश्याम ढकालको मन्तव्य, उत्सर्गजनयुद्धको गाथा शीर्षकमा जगदीशचन्द्र भण्डारीको मन्तव्य, महाकाव्यको द्रोणाचल बोक्दै कवि भण्डारी शीर्षकमा ताराकान्त पाण्डेयको विश्लेषणात्मक लेख, विद्रोहको सजीव बिम्ब शीर्षकमा अमर गिरीको लेख राखिएको छ । त्यसपछिको पानामा प्रकाशकीय शीर्षकमा प्रकाशकका तर्फबाट डोलिन्द्रप्रसाद शर्माको मन्तव्य राखिएको छ । त्यसपछिको पानामा जीवनको नयाँ क्षितिज उघार्दै शीर्षकमा महाकवि भण्डारीको विशेष लेख राखिएको छ । त्यसपछिको पानामा खण्ड–एक लेखिएको छ । त्यसपछिको पानामा खाली छ अर्को पानाबाट उद्बोधन शीर्षकमा महाकाव्य सुरू भएको छ ।

प्रस्तुत महाकाव्य पृष्ठ १ देखि २८८ पृष्ठसम्म फैलिएको छ । यसमा उद्बोधन, सम्झौता जीवन हैन, माटो भावनामा चम्किँदैन, देश उत्सर्गको प्रतीक्षामा छ, जीवन रङहरूको समविष्ट हो, जीवनको नवीन गोरेटोमा, सम्झानाको तरेलीमा, नीलिमाको प्रत्यागमन, उदात्त जीवनको पथमा, वीरतापूर्ण लडार्इं, कोरा भावना चियाको उफान जस्तै हो, प्रेमले भरिएको सुमधुर साँझ, प्रत्याक्रमणको महान् अभियानमा गरी जम्मा १३ वटा सर्गहरूमा प्रथम खण्डलाई विभाजित गरिएको छ । त्यस्तै महाकाव्यको खण्ड–दुईमा मृत्युको विरुद्धमा, दुश्मन विरुद्धको गर्जन, आत्मविश्वास भरिएको नयाँ मान्छे, समीरको खोजीमा, विद्रोह अधिकार हो, साँचो प्रेम सिमलको भुवा होइन, जीवन तुफानको सङ्गीत रहेछ, महान् छलाङ र उपसंहार गरी नौवटा शीर्षक वा सर्गहरू रहेका छन् । यसरी प्रस्तुत महाकाव्य जम्मा २१ सर्गमा संरचित छ ।
प्रस्तुत महाकाव्य मुक्तलय छन्दमा लेखिएको गद्य महाकाव्य हो । महाकाव्यमा श्लोकहरू गद्य ढाँचामै छन् वा यी श्लोकहरू अव्यवस्थित क्रममा भने छैनन् । सुव्यवस्थित आन्तरिक संरचनामा नै यी श्लोकहरू संरचित छन् । दुई पाउदेखि १४÷१५ पाउसम्म विस्तारित श्लोकगत लमाइले महाकाव्यमा संरचनागत विविधता थपेको छ ।

४.३.७.२ प्रबन्ध विधान
प्रस्तुत महाकाव्यको प्रबन्ध विधान अन्तर्गतको कथावस्तु तत्कालिन ने.क.पा. माओवादीद्वारा सञ्चालित महान् जनयुद्धसँग सम्बन्धित विषयवस्तुलाई समावेश गरिएको छ । प्रस्तुत महाकाव्यको कथानक योजना दुई खण्डमा विन्यस्त छ । पहिलो खण्डमा १३ वटा सर्गरूपी शीर्षकहरूमा महाकाव्यको कथावस्तु अगाडि बढेको छ भने दोस्रो खण्डमा ९ वटा शीर्षकमा महाकाव्यले पूर्णता प्राप्त गरेको छ । अन्त्यमा उपसंहार भनी महाकाव्यको अन्त्य गरिएको छ । प्रस्तुत महाकाव्यको उठान कवि पात्रद्वारा गरिएको छ । शोषण र उत्पीडनका विरोधमा जनयुद्धको थालनी भएको कुरा दर्साएको छ । कथावस्तुले गुल्मी जिल्लाका विभिन्न गाउँलाई आफ्नो क्रीडास्थल बनाएको छ । प्रस्तुत महाकाव्यको सुरूवात नै वस्तुको छल्दीखोला आसपास(गुल्मी स्थिति)को कुनै ठाउँमा युद्धका क्रममा घाइते भएकी छापामार युवती नीलिमाले समीरको कोठामा सेल्टर लिएर बसेसँगै भएको छ । बसाइको क्रममा एकातिर जनयुद्ध तीव्र गतिमा अघि बढिरहेको देखाइएको छ भने अर्कोतिर समीर र नीलिमाका बीचमा बिस्तारै भावनात्मक प्रणय सम्बन्ध स्थापित भइरहेको देखाइएको छ । नीलिमासँगको भावनात्मक सम्बन्धकै आधारमा समीर जस्तो निराशावादी व्यक्ति पनि जनयुद्धमा प्रवेश गरी अन्याय र शोषणको विरोध गर्ने कसम खाएको छ । त्यसपछि जनयुद्धकै क्रममा गुल्मीका विभिन्न गा.वि.स.स्थित प्रहरी चौकीमा माओवादी छापामारहरूले आक्रमण गर्ने कार्य गर्दछन् । यही युद्ध टोलीमा नीलिमा र समीर पनि समावेश भएका हुन्छन् । नीलिमाले कमाण्डरको भूमिका निर्वाह गरेको देखाइएको छ । बिस्तारै नीलिमा र समीरका बीचमा प्रणय सम्बन्ध चुलिँदै गएको देखाइएको छ । विभिन्न सुरक्षा निकायमा आक्रमण गर्ने तयारी भइरहेको परिपेक्षमा महाकाव्यको प्रथम खण्ड समाप्त गरिएको छ ।

महाकाव्यको दोस्रो खण्डमा समीर र स्वयम् कविको जेल जीवन, जेलजीवनका कष्टप्रद क्षणहरू, बन्दी जीवनका पीडाहरू अन्त्यमा कविले गुल्मी जिल्लाको विभिन्न क्षेत्रहरूमा गरेको भ्रमण आदिलाई देखाइएको छ । अन्त्यमा नीलिमाद्वारा समीरका बारेमा गरिएको टिप्पणी ऊ मर्ने छैन सँगै महाकाव्यको कथानक समाप्त भएको छ । यस महाकाव्यको आदि भागका रूपमा नीलिमा घाइते भई समीरको घरमा बस्न र समीरसँग नीलिमाको प्रणयी भाव कायम भई समीर जनयुद्धमा लाग्नुलाई लिन सकिन्छ । त्यस्तै मध्य भागमा जनयुद्धको उत्कर्ष, समर र नीलिमाको प्रेमको उत्कर्ष र समीर जेल पर्नुसम्मलाई मान्न सकिन्छ भने अन्त्यमा नीलिमाले समीरलाई ऊ मर्ने छैन भन्ने प्रगतिवादी यथार्थवादी वाक्यसँगै भएको मानिन्छ ।

प्रस्तुत महाकाव्यको कथानक योजना महाकाव्यपेक्षी भव्य, उदात्त र युग जीवनका समग्र छायाँ छविहरूलाई समेट्न सक्ने महान् आख्यानको अपेक्षामा दुर्बल प्रतीत हुन्छ । नीलिमा र समीरको प्रेम प्रसङ्ग र जनयुद्धको सामान्य चर्चामा नै साहित्यको सर्वाधिक समृद्धिपूर्ण भव्योदात्त विधा मानिने महाकाव्यलाई टुङ्ग्याउनुबाट यो महाकाव्यको प्रबन्ध विधान मध्यम खालको बन्न पुगेको छ । यस महाकाव्यमा परम्परागत महाकाव्यका लागि आवश्यक पर्ने कथानक योजनाको अभाव छ ।

त्यस्तै प्रबन्ध विधानअन्तर्गत पर्ने पात्र विधानका दृष्टिले पनि प्रस्तुत महाकाव्यको विश्लेषण गर्न सकिन्छ । यस महाकाव्यमा नीलिमा, समीर, कवि वा पत्रकार, सिमरान, विक्रम, मनिष, सङ्ग्राम, मेजरलगायतका पात्रहरू आएका छन् तर पनि यस महाकाव्यमा मुख्य पात्रहरू नीलिमा र समीर नै हुन् । नीलिमा र समीरकै प्रेमकथामा सुरू भएको प्रस्तुत महाकाव्य नीलिमाको प्रणय सम्बन्धका कारण समीर पनि जनयुद्धमा लागेको छ । त्यसैले नीलिमाको चरित्रले समीरको चरित्रलाई उजिल्याएको छ । अन्त्यमा समीर बन्दी बनाइएको छ । नीलिमा एकातिर जनयुद्धको कमाण्डरका नाताले र अर्कोतिर प्रेमिकाका नाताले ऊ मर्ने छैन भनेकी छे । अन्य चरित्रहरू सहायक रूपमा आएका छन् । गौण पात्रहरू पनि यस महाकाव्यमा प्रयुक्त छन् । पात्र विधानअन्तर्गत हेर्दा समीर र नीलिमालाई वर्गीय चरित्रका रूपमा उठाइएको छ । उनीहरूको वर्ग सङ्घर्षलाई देखाइएको छ । नीलिमालाई नारी, प्रमुख, अनुकूल, वर्गीय, मञ्चीय, बद्ध, स्थिर चरित्रका रूपमा देखाइएको छ भने समीरलाई पुरुष, अनुकूल, बद्ध, वर्गीय, मञ्चीय, स्थिर चरित्र योजनाको सफल निर्वाह भने हुन सकेको छैन । प्रस्तुत महाकाव्यमा महाकाव्यले अपेक्षा गर्ने किसिमको महत् र महान् चरित्र योजनाको सफल निर्वाह भने हुन सकेको छैन । प्रस्तुत महाकाव्यको विषयवस्तु एकातिर दुर्बल र कमजोर छ भने अर्कोतिर त्यसलाई बोकेर परिणतिसम्म पु¥याउने पात्र योजनामा शिथिलता हुँदा महाकाव्यको प्रबन्ध विधानमा क्षति पुग्न गएको छ । प्रगतिवादी यी उपयुक्तताका दृष्टिबाट मूल्याङ्कन गर्दा यी दुवै उपकरणहरू फिक्का नै भएको महसुस हुन्छ ।

प्रबन्ध विधानअन्तर्गत नै आउने अर्को योजना परिवेश विधान हो । प्रस्तुत महाकाव्यको परिवेश विधान गुल्मी जिल्ला र यस वरपरका विभिन्न क्षेत्रसँग सम्बन्धित बनाएर प्रस्तुत गरिएको छ । महाकाव्यको सुरूवात नै गुल्मी जिल्लाको छल्दी खोलाको सिस्तुङ फाँटकको एउटा घरबाट सुरू भएको छ; जहाँ नायक र नायिकाको सुरूवाती परिचय दिइएको छ । प्रस्तुत महाकाव्यको काव्यिक सन्दर्भलाई हेर्दा २०५२ सालपछिको माओवादी जनयुद्धदेखि उक्त जनयुद्धको समापन हुँदै २०६३ सालसम्मको समयावधिलाई समेटेको छ । परिवेश चित्रणका क्रममा प्रस्तुत महाकाव्यमा आर्थिक र सामाजिक परिवेशलाई मूल रूपमा चित्रण गरिएको छ । कवि माक्र्सवादी द्वन्द्वलाई मूलभूत रूपमा उठाइएको छ । यहाँ निम्न वर्गले आफ्नो अधिकार र उत्पादनका साधनमा समान पहुँचको विस्तारका लागि गरेको सशस्त्र सङ्घर्षलाई मूल मुद्दाका रूपमा उठाइएको छ । यस महाकाव्यमा सामन्तवादी समाज व्यवस्थाले ल्याएको नकारात्मक प्रवृत्तिका विरुद्धमा आवाज बुलन्द गरिएको छ । खास गरी रूग्ण र जर्जर एवम् दीनहीन नेपाली समाजको वीभत्स र ज्यादतीयम अवस्थाको चित्रण र त्यस्तो दासताबाट मुक्तिका लागि गरिएको आह्वान यस महाकाव्यका मुखरीत छ । प्रस्तुत महाकाव्यको परिवेश विधानकै कारणले गर्दा वाच्यार्थमा यो महाकाव्य आञ्चलिक बन्न पुगेको छ, तर पनि प्रस्तुत महाकाव्यमा प्रतिपाद्य वर्ग सङ्घर्ष र त्यसका नाममा भएका क्रान्ति कुनै एक ठाउँमा मात्र नघटेर हाल विश्वका सबै देशमा स्वतन्त्रता र अधिकारका लागि यस्ता आन्दोलन र क्रान्ति भएको हुनाले प्रस्तुत महाकाव्यले सर्वजनीन र सर्वकालीन विषयवस्तुलाई एकातिर उठाएको मान्न सकिन्छ भने अर्कोतिर यसको परिवेश पनि सर्वकालिक र सर्वजनीन नै रहेको ठान्नु पर्छ ।

समग्रमा प्रस्तुत महाकाव्यको प्रबन्ध विधान महाकाव्यात्मक महिमा, गरिमा र महाकाव्यको गुणस्तर मापनका दृष्टिले दुर्बल नै प्रतीत हुन्छ । महाकाव्यले अपेक्षा गर्ने आख्यान योजना, त्यो आख्यान योजनालाई बोकेर फलागमसम्म पु¥याउने पात्र विधान पनि महाकाव्यापेक्षी हुन आवश्यक छ; जसको निर्वाह प्रस्तुत महाकाव्यमा भएको छैन । त्यस्तै महाकाव्यले अपेक्षा गर्ने व्यापक परिवेश विधान, समग्र युगजीवनका छाया छविलाई समेट्न सक्ने परिवेश विधानका दृष्टिले पनि प्रस्तुत महाकाव्य कमजोर नै प्रतीत हुन्छ, कथावस्तु, पात्र विधान र परिवेश विधानसँगै त्यसलाई बोकेर हिँड्ने कवित्वको महाप्रवाह हुन जरुरी छ । महाकाव्य लेखनका क्रममा विराट कल्पना आवश्यक पर्छ । युग जीवनलाई समग्र रूपमा बुझ्न सक्ने प्रचुर ज्ञानराशी, भाषा माथिको असाधारण पहुँचको पनि आवश्यकता पर्छ । यी सबै उपकरणका दृष्टिले प्रस्तुत महाकाव्य मध्यम स्तरको मात्रै रहेको छ । समग्रमा यस महाकाव्यको प्रबन्ध विधान दुर्बल रहेको छ ।

४.३.७.३ भाषाशैली
महाकाव्य कविता विधाको बृहत्तम रूप हो । यसका लागि भाषाशैली पनि भव्योदात्त र अलङ्कृत हुन जरुरी छ । महाकाव्यमा समग्र युग जीवनका विविध छायाँ छविहरूलाई प्रस्तुत गरिने हुँदा त्यसलाई प्रस्तुत गर्ने भाषाशैली पनि उच्च प्रयुक्तियुक्त हुन जरुरी छ (अवस्थी, २०६४ ः २६) । प्रस्तुत महाकाव्य जनताको महाकाव्य, माओवादी जनयुद्धलाई केन्द्रमा राखेर लेखिएको महाकाव्य भएको हुँदा यी सबै भाषिक पक्षहरू प्रस्तुत महाकाव्यमा त छैन तर जनताको महाकाव्य लेखनका दृष्टिले तथा माओवादी जनयुद्धमा आधारित भएर महाकाव्य लेख्ने प्रथम प्रयासका दृष्टिले भने यो महाकाव्य सफल छ । यसमा परम्परागत आडम्बरयुक्त अलङ्कृत र झङ्कृत किसिमको भाषाको प्रयोग गरिएको छैन । कतिपय सन्दर्भमा स्थानीय भाषिकाको पनि प्रयोग गरेर महाकाव्यात्मक भाषालाई थप विविध कृत्रिम र आडम्बरयुक्त नभएर सरल, सहज र प्राकृतिक किसिमको नै रहेको छ । तर पनि कविलाई भावअनुसारको शब्द चयनमा समस्या वा अभाव खड्किरहेको देखिन्छ । प्रस्तुत महाकाव्यमा तत्सम शब्दको प्रयोगमा कवि बढी नै सक्रिय रहे जस्तो देखिए पनि तद्भव र आगन्तुक शब्दहरूको यथोचित प्रयोगले महाकाव्यको भाषिक समृद्धिमा बिस्तार भएको देखिन्छ । महाकाव्यापेक्षी भावधिक्य, कल्पनाको विचित्रता, विचारको दार्शनिक धरातल र गहिराइ, शैलीको व्याप्ति आदिका दृष्टिले भने प्रस्तुत महाकाव्य उत्तम नै प्रतीत हुन्छ । वेगमान भावविस्तारका सहज प्राकृत सौन्दर्यको र छद्मानवेद्य रसमयताको सञ्चार आदिका दृष्टिले प्रस्तुत महाकाव्यको भाषाशैली मध्यम प्रयुक्तियुक्त रहेको छ । यसमा समासयुक्त क्लिष्ट शब्दको प्रयोग गरिएको छैन । सरल र सहज किसिमकै भाषाशैलीको आयोजनाले प्रस्तुत महाकाव्य नरिवलको फल जस्तो क्लिष्ट र दुरुह नभएर सरल र सम्प्रेष्य बन्न पुगेको छ ।

४.३.७.४ उक्ति ढाँचा
उत्सर्ग महाकाव्यको उक्ति ढाँचा मूलतः समाख्यानात्मक किसिमको देखापर्छ । कवि भण्डारीका आफ्नै उक्ति वा कविनिबद्ध प्रौढोक्तिका साथै कवि कल्पित घटना तथा पात्रको चित्रण वर्णनमूलक समाख्यानात्मक उक्ति वा कविनिबद्धवत्तृm प्रौढोक्तिबाट नै मूलतः यो महाकाव्य सङ्घटित देखापर्छ । यसले गर्दा यस महाकाव्यमा भण्डारीलले भावविस्तारको सहज क्षमता देखाउन सफल भएका छन् । यस महाकाव्यमा कतिपय स्थानमा पात्रका आफ्नै मनोगत तरङ्ग वा एकसुरेपन र एकालापको अनि कतिपय स्थलमा पात्र–पात्रका बीचमा वार्तालापको प्रयोग गरी यसको मुख्य समाख्यानात्मक उक्ति ढाँचामा नाट्योक्तिका ढाँचाको पनि मिश्रण गरिएको छ ।

४.३.७.५ लयविधान
प्रस्तुत उत्सर्ग महाकाव्यमा मुक्तलय ढाँचाको प्रयोग भएको छ । यो गद्य महाकाव्य हो । यस महाकाव्यमा एक्काइस वटा सर्गमा कविले आफ्नो महाकाव्यात्मक अनुभूतिको विस्तार गरेको छन् । यी सबै सर्गहरूमा अन्तः सङ्गीतात्मक गद्यको प्रयोग भेटिन्छ । यस महाकाव्यमा गद्यलय ढाँचाको प्रवाहमय एवम् श्रुतिमाधुर्ययुक्त प्रयोग भेटिन्छ । प्रस्तुत महाकाव्यको वर्ण, शब्द, पद, पदावली योजनामा त्यति धेरै विशृङ्खलता पाइँदैन । प्रस्तुत महाकाव्यमा बाह्य छन्दोबद्ध लय नभए तापनि आन्तरिक संरचनामा श्रुतिमधुर गेयात्मक गद्य सङ्गीतको संबृद्धिपूर्ण प्रयोग भने रहेकै छ । यस महाकाव्यको गद्यलय ढाँचा अन्तः सङ्गीतमय, भावविचारवाही र आंशिक अनुप्रासीय श्रुतिमाधुर्य युक्त नै रहेको छ । प्रस्तुत महाकाव्यमा भाषिक चयनका क्रममा कही विचलन पनि देखापरेको छ । यसले महाकाव्यको गरिमा वृद्धि नै गरेको छ ।

४.३.७.६ बिम्बालाङ्कार विधान
बिम्बालङ्कार विधानका दृष्टिले हेर्दा प्रस्तुत उत्सर्ग महाकाव्यमा विभिन्न अलङ्कारहरूको पनि सौन्दर्यपूर्ण प्रयोग पाइन्छ । प्रकृति, समाज, दर्शन, ज्ञानविज्ञान, माक्र्सवादी जीवनचेतना आदिबाट टिपिएका विभिन्न बिम्ब सन्दर्भहरू पनि यस महाकाव्यको शोभापरक तत्वका रूपमा आएका छन् । साथसाथै कवि स्वयम्का सारपूर्ण उक्ति, तन्द्रा, अतिरेकीकरण, न्यूनीकरण, समासोक्ति, अतिशयोक्ति, उपमा, रूपक, उत्प्रेक्षा, दृष्यन्त, सन्देह, विरोध आदि अर्थालङ्कारको प्रयोगद्वारा सादृश्यविधान र शीर्षकीकरण एवम् कथ्य विषयबीच ‘क्रान्तिका लागि त्याग वा बलिदान’ भन्ने अर्थमा प्रस्तुत महाकाव्यको शीर्षक उत्सर्ग रहेको छ । शीर्षक, केन्द्रीय कथ्य र त्यसका लागि प्रयुक्त बिम्बालङ्कार योजना एकअर्कासँग अन्तर्सम्बन्धित भएकाले प्रस्तुत महाकाव्यको अलङ्कार विधान महाकाव्यपेक्षी नै रहेको छ ।
उत्सर्ग महाकाव्य जनयुद्ध सिर्जित परिवेश, घटना र पात्र विधानद्वारा निर्मित छ । जनयुद्ध पनि एउटा आफैमा आख्यान नै हो । यसकै स्पर्श उत्सर्ग महाकाव्यमा रहेको छ । नेपाली जीवनमा आएका उथलपुथल नवनवचेत, मुक्तिका निम्ति भएका अकल्पनीय सङ्घर्ष, वर्गीय युद्धका तरिकाहरू, पुराना र परम्परागत संरचनाका विरुद्ध भएका सङ्घर्षहरू, उत्पीडित, दलित जाति, जनजातिका विद्रोही चेतना, सार्वभौमिक र काव्यिक विशेषतायुक्त क्रान्तिचेत आदिलाई कविले आख्यान सामग्री बनाएका छन् । यसमा युद्धमय जीवनका अनुभूतिलाई अङ्कित गर्ने प्रयास गरिएको छ । तिनै अनुभूतिलाई आख्यानका माध्यमबाट संयोजन, व्यवस्थापन गर्न आख्यानात्मक स्वरूपको शिल्प–प्रविधिको सहयोग लिइको छ । महाकाव्यमा प्रत्येक सर्गलाई अलग–अलग शीर्षक दिएर सर्ग विधानमा नवीनता ल्याइएको छ । साथसाथै मूल आख्यानलाई प्रकटन गर्न सह आख्यानहरूको पनि व्यवस्था गरिएको छ । प्रस्तुत महाकाव्य युद्धचेतनालाई देखाउन सक्षम एक सशक्त महाकाव्य पनि हो । यसमा युद्धचेतना सशक्त भएर आएको छ । वर्गीय विषम समाजमा रहेका वर्गीय असमानताहरूलाई देखाइएको छ । यसमा द्वन्द्वरत नेपाली समाज, युद्ध, सर्वहारा वर्ग, मानवता, आमूल रूपान्तरण एवम् मुक्तिको भावविन्यास एवम् प्रबन्धन गरिएको छ । युद्ध साहित्यका दृष्टिले पनि प्रस्तुत महाकाव्य एक उपलब्धिका रूपमा नै रहेको निष्कर्ष निकाल्न सकिन्छ । साथसाथै प्रस्तुत महाकाव्य जनताको महाकाव्यका रूपमा रहने तथ्य पनि विदितै छ । अर्को महत्वपूर्ण पक्षका रूपमा प्रस्तुत महाकाव्य माओवादी जनयुद्धमा आधारित भएर लेखिएको महाआख्यान वा प्रथम महाकाव्य बन्ने श्रेय पनि प्रस्तुत महाकाव्यले नै प्राप्त गरेको छ । समग्रमा भण्डारीले महाकाव्यकारिता यस महाकाव्यको अध्ययनपछि निरूपण गर्नुपर्ने हुन्छ । महाकाव्यको गुणस्तर मापनका आफ्नै महाकाव्यात्मक कसौटीहरू रहेका छन् । प्रस्तुत महाकाव्य पनि महाकाव्यात्मक लमाइ र गहिराइका आयामको पुष्टता, बृहत आख्यान संरचना र कविता संरचनाको सन्तुलनमा आधारित महाकाव्यात्मक प्रबन्धको परिपाकपूर्ण प्रभाकारिता र कविताका लय, उक्ति, भाव, भाषाशैली, बिम्बालङ्कार, प्रतीक व्यञ्जनका समष्टि परिपाकमा आधारित कवित्व व्यक्तिको महाकाव्यात्मक प्रसारका दृष्टिले मध्यम स्तरको मात्रै मान्न सकिन्छ । त्यसैले भण्डारीको महाकाव्यकारिता मध्यम स्तरको रहेको छ ।

४.३.८ ‘घाइते ह्विलचेयर’ कविता सङ्ग्रहको विश्लेषण
वि.सं. २०६९ सालमा कवि विष्णु भण्डारीले घाइते ह्विलचियर कविता सङ्ग्रहको प्रकाशन गरेको देखिन्छ । जम्मा १३१ पृष्ठमा संरचित प्रस्तुत कवितासङ्ग्रहमा घाइतेलाई ह्विलचियरमा राखेर धकेल्दै हिँडिरहेको हावाहुरी चली मुसलधारे पानी पर्न लागेको जस्तो स्पष्ट देखिने सादा चित्र र साथमा अमूर्त चित्र पनि मिसिएको तस्बिर आवरण पृष्ठमा राखिएको छ । मूल्य रु.१५०।– राखिएको यस कविता सङ्ग्रहभित्र जम्मा ४६ वटा कविताहरू सङ्ग्रहीत गरिएको छ ।

यस सङ्ग्रहको पहिलो कविता बाटो शीर्षकमा २०६४ सालमा लेखिएको हो । प्रस्तुत कवितामा कर्ममा विश्वास गरी हिँड्ने योद्धाका सपना जस्तै नयाँ बाटोको निर्माण गरी यात्रा गर्दा गर्दै आस्थाको शिखरमा पुग्ने कविको चाहना प्रथम पुरुषीय गद्य लय ढाँचाका नौ अनुच्छेदमा व्यक्त भएका छन् । ऐतिहासिक बिम्ब विधानले भाव तथा विचारमा सघनता थपेको यस कवितामा प्रगतिवादी विचार पाउन सकिन्छ ।
दिग्भ्रमित बटुवा शीर्षकको कविता यस सङ्ग्रहको दोस्रो कविता हो । वि.सं. २०६९ सालमा लेखिएको यस कविता गद्यलय ढाँचाका ६ अनुच्छेदमा संरचित रहेको छ । नेपाली राजनीतिभित्र रहेका गुट, उपगुट र फुटको मानसिकताले ग्रसित भएको वामपन्थी आन्दोलनमा सिर्जना भएको नकारात्मक परिस्थितिको चित्रण यस कवितामा गरिएको छ । ऊ पात्रलाई सम्वोधन गर्दै लेखिएको यस कवितामा पौराणिक विम्व तथाप्रतीक योजनाले भाव गाम्भीर्यता सिर्जना गरेको छ ।

माटो यस सङ्ग्रहको तेस्रो कविता हो । यस कवितामा कविले माटोको महत्व र माटोमा पसिना बगाउने दलित किसानको महिमा गाउँदै किसानको विद्रोही चेतनालाई प्रस्तुत गरेका छन् । जसले माटोप्रति न्याय गर्न सक्दैन त्यसले माटो माथि आफ्नो हक दावा नगर्न चेतावनी दिएका छन् । यस कवितामा कतै कतै वैचारिक विरोधाभाष पनि भेटिन्छ भने अनावस्यक ठाउ“मा पनि संस्कृत शब्दको प्रयोग गरी कविले आफ्नो तत्सम शब्दप्रतिको मोह प्रस्तुत गरेको भान समेत हुन्छ ।

उसले चुमेको माटो यस सङ्ग्रहको चौंथो कविता हो । यस कवितामा हाम्रो धार्मिक मान्यताको एक केन्द्र गौरीशङ्कर हिमाललाई बिम्बका रूपमा प्रस्तुत गर्दै माटो, क्रान्ति र क्रान्तिनायकको गुणगान गाएका छन् । गौरीशङ्कर क्षेत्रमा थुप्रै योद्धाहरूले रगत बगाएको, क्रान्तिको नायकले त्यही बाटोको प्रयोग गरेको हु“दा त्यसको महत्व अझ उचो बनेको कुरा उल्लेख गर्दै आफूले सहिदले देखाएको त्यही बाटोलाई पच्छ्याउने धारणा समेत यस कवितामा व्यक्त गरेका छन् ।

चप्पल लगाएको मान्छे शीर्षकमा रहेको कविता २०६७ मा रचना गरिएको यस सङ्ग्रहको पाँचौँ कविता हो । वर्गीय पक्षधरतालाई पुष्टि गर्ने यो कतिवामा जनवादी स्वर बिम्बात्मक रूपमा आएको छ । सीमान्तकृत व्यक्ति जब सभ्य र सम्भ्रान्त नागरसभ्यतामा प्रवेश गर्छ ऊ आतङ्क र सन्त्रासको पर्याय भई जनसाधारणको प्रतिनिधि र सामन्ती संस्कारविरुद्धको आगो बन्दछ भन्ने भाव यस कवितामा व्यक्त भएको छ ।

यस सङ्ग्रहको छैटौँ कविता आस्थाको सगरमाथा शीर्षकमा रहेको छ । यस कवितामा कविले क्रान्तिका लागि आफ्नो आदर्श नायकको अनुशरण गर्दै सबै त्याग्दै गएको र अन्तमा क्रान्ति विसर्जन भएको र गलत बाटोमा पुगेकाले गन्तव्यमा पुगिनेमा शङ्का व्यक्त गरेका छन् । राजनीतिक विचलनको डरलाग्दो मोडलाई उद्घाटन गर्दै कविले आक्रोश पनि व्यक्त गरेका छन् ।

यस सङ्ग्रहको सातौँ कविता आगोको रङ हो । नेपाली र विशेष गरेर प्रगतिवादी साहित्यका क्षेत्रमा आगोलाई क्रान्तिबिम्ब मान्य गरे पनि यस कवितामा कविले आगोलाई एक अमूर्त बिम्बका रूपमा प्रकट गरेका छन् र आगोलाई पानीको रङ, आमाको मन, मानवीय समवेदना आदिसँग तुलना गर्दा कविता अमूर्त बन्न पुगेको छ ।

अनेकोट यस सङ्ग्रहको आठौँ कवितारहेको छ । भोका पेटहरूबाट निशालाई चिर्दै उज्यालोका लागि निक्लिएको विद्रोहको ध्वनी सुन्न नसकी युद्धविरामको समयमा सैनिकद्वारा निर्ममतापूर्वक हत्या गरिएका महान् कलकर्मी र त्यो हत्या गरिएको स्थान अनेकोटलाई बिम्बका रूपमा प्रस्तुत गर्दै कविले विद्रोही स्वर व्यक्त गरेका छन् । यथार्थ घटनालाई नै बिम्ब तथा प्रतीकका रूपमा प्रयोग गरिएको यस कवितामा तत्सम शब्दको आधिक्यता पाइन्छ ।

समय र घोडाहरू यस सङ्ग्रहको नवौँ कविता हो । यसमा कविले समय गतिशील भएको र समयको यही गतिशीलतासँगै मानिसमा पनि परिवर्तन आउने र मानिस चेतनशील प्राणी भएको हुँदा घोडा बन्न इन्कार गर्ने कुरा व्यक्त गरेका छन् । ऊ आवश्यकता अनुसार आफ्नो चेतनाको प्रयोग गर्न सक्दछ भन्ने धारणा कविले यस कवितामा व्यक्त गरेका छन् ।

कविराम यस सङ्ग्रहको दशौँ कविता हो । यस कवितामा कविले वर्तमानप्रति असन्तुष्टि जनाउँदै वर्तमानको अन्यौलत, अराजकता र असन्तुष्टि सधैलाई नटिक्ने र क्रान्तिको रातो झण्डा फहराउनका लागि कुनै पनि शक्तिले रोक्न नसक्ने धारणा व्यक्त गरेका छन् । गद्यलयका चार असमान अनुच्छेदमा संरचित यस कवितामा तत्सम शब्दको प्रयोग बढी मात्रामा भएको पाइन्छ ।

इस्पातले बनेका मान्छेहरू यस सङ्ग्रहको एघारौँ कविता हो । यो कवितामा कविले आफू थकित र निराश भए पनि क्रान्तिवीरहरूले आफूलाई थाक्न र सुस्ताउन नदिएकोे भावना व्यक्त गरेका छन । यस कवितामा कविले प्रयोगवादी शैली अपनाउँदा कविता भावपूर्ण हुँदाहुँदै पनि अमूर्त बन्न पुगेको छ ।

यस सङ्ग्रहको बाह्रौँ कविता विश्वास शीर्षकमा रहेको छ । यस कवितामा कविले आफू ढले पनि आफ्नो आस्था र विश्वास नढलेको र आफूजस्ता हजारौँ योद्धाहरू लाडाइँको मैदानमा रहेको हुँदा लडाइँ जितेर विजयको शिखरमा पुगिने भाव व्यक्त गरेका छन् । फेवालाई क्रान्ति मैदान र हिमाललाई विजयको शिखरका प्रतीकका रूपमा प्रयोग गरिएको यो कविता वैचारिक हिसाबले उत्कृष्ट रहेको छ ।

शान्ति शीर्षकमा रहेको २०६७ मा रचिएको यो कविता यस सङ्ग्रहको तेह्रौँ कविता हो । मृत्युवोध र जीवनवोधप्रति वैचारिकता प्राप्त हुने यस कवितामा शान्तिप्रतिको चाहनालाई संकेत गर्दै शान्तिको अवस्थाको चित्रण गरिएको छ । बिम्बको उत्कृष्ट प्रयोग भएको यो कविता गद्य लय ढाँचाको सात अनुच्छेदमा विस्तारित रहेको छ ।

यस सङ्ग्रहको चौधौँ कविता अनुत्तरित प्रश्न शीर्षकमा रहेको छ । विश्वस्त नेतृत्वप्रति घृणा र सहिदको सपनामाथि नयाँ नयाँ खेल खेल्ने नेताहरूको चारित्रिक पतनप्रति आक्रोशित भाव अभिव्यक्त भएको छ । यस कवितामा थुप्रै वैचारिक अनुत्तरित प्रश्नहरू आएका छन् । गद्य लयमा लेखिएको कवितामा कठीन तत्सम शब्दहरूको प्रयोगले सामान्य पाठकका लागि दुर्वोध्य बनेको छ ।

आदेश शीर्षकको कविता यस सङग्रहको पन्ध्रौँँ कविता हो । यस कवितामा कविले जतिसुकै बारजेल गरे पनि जनताको ताकतका आगाडि सामन्ती सत्ताले घुँडा टेक्नुपर्छ, जनताको क्रान्तिको यात्रामा उनीहरूको आदेशले कुनै काम नगर्ने धारणा व्यक्त गरेका छन् । दमनको जतिसुकै घटिया हतकण्डा अपनाए पनि जनताको अगाड केही नलाग्ने र सामन्ती सत्ता ढल्लैपर्ने र जनविरोधी फरमान जारी गर्नेहरू सत्ता छोडेर भाग्नु पर्ने भाव यस कवितामा आएको छ । जनताको क्रान्तियात्राका अगाडि कसैके केही नचल्ने यस कविताको मूल भाव हो ।

यस सङ्ग्रहको सोह्रौँ कविता डुडेझारीको कर्मवीर शीर्षकमा रहेको छ । यस कवितामा कविले सुकुम्वासीको वस्ती उजाडने लोकतान्त्रिक सरकारले गरेको बर्वर दमनको चित्रण गरेका छन् । परिवर्तनको सम्वाहक तल्लो वर्गका जनतामाथि, अझ त्यसमा पनि भूमिहीनहरूमाथि गरिएको यो दमनले नयाँ नेपालको खिल्ली उडाएको र नयाँ नेपाल आम शोषित उत्पीडितको बन्न नसकेको विचार यस कवितामा व्यक्त भएको छ ।

यस सङ्ग्रहको सत्रौँ कविता अन्तिम बन्दरगाह शीर्षकमा रहेको छ । यस कवितामा कविले क्रान्तिको यात्रा परिवर्तन भए पनि क्रान्ति पूरा नभएको भाव व्यक्त गरेका छन् र आफुले यस लडाइलाई अन्तिम लडाइँ नभनेको र अन्तिम लडाइँ बाँकी रहेको भावनाबाट यो कविता समावादी यथार्थवादी भाव प्रस्तुत गर्ने कविता बन्न पुगेको छ । आफ्नो शीर्ष नेतृत्वलाई कप्तान भनि उनले सम्बोधन गरेका करण कविताको शैली सम्बोधनात्मक बनेको छ भने प्रत्येक पङ्क्तिको अन्तिम हरफ दोहो¥याएका कारण लयात्मकता सिर्जना भएको छ । यस कवितामा कविल बिभिन्न बिम्बहरूको सन्तुलित प्रयोग गरेका कारण कविता उत्कृष्ट बन्न पुगेको छ ।

स्वाभिमान शीर्षकमा रहेको कविता यस सङ्ग्रहको अठारौँ कविता हो । राष्ट्रप्रेमले ओतप्रोत भएको यस कवितामा नेपाली शक्ति अन्य विदेशी शक्तिदेखि नडर्ने यथार्थताको प्रकटीकरण गर्दै आफ्नो स्वाभिमान कायम राख्न ज्यानको बाजी राखि लड्ने छौँ भन्ने भाव व्यक्त भएको छ । प्रश्नवाचक चिह्न र अन्त्यानुप्रास योजनाले थप लयात्मकता सिर्जना गरेको यस कवितामा सरल शब्द चयन गरिएको छ ।

श्रीअन्तु शीर्षकको कविता यस सङ्ग्रहको उन्याइसौँ कविता हो । यस कवितामा कविले नेपालमाथि भारतबाट हुने पटकपटकको अतिक्रमणले आफूलाई दुःखी बनाएको भाव व्यक्त गरेका छन् । यस कवितामा श्रीअन्तुलाई एक बिम्बका रूपमा प्रस्तुत गर्दै नेपालकै अग्लो डाँडो मध्येको एक रहेको श्रीअन्तु सूर्याेदय हेर्नका लागि प्रसिद्ध रहेको र यो नेपालको गौरवको छेवैमा रहेको पशुपतिनगरमा भारतको अतिक्रमण भएकोले त्यसले कविलाई मात्र नभएर राष्ट्रिय स्वाधीनतामा समेत चोट गुगेको धारणा यस कवितामा व्यक्त भएको छ । गद्यलयमा संरचित यस कवितामा तत्सम शब्दको प्रयोग पाइए पनि त्यो उपयुक्त नै रहेको छ ।

स्वीकारोक्ति शीर्षकको कविता यस सङ्ग्रहको बीसौ कविता हो । यस कवितामा कविले शोषित उत्पीडित दलित जातिले गरेको विद्रोहको घोषलाई विषय बनाएका छन् । मालिक भनि सम्बोधन गरेको हुँदा यस कविताको शैली सम्बोधनात्मक रूपमा आएको छ । आफ्नो अधिकारका लागि आफ्ना पुर्खाहरूले सहेको अत्याचार आफूले नसहने र त्यसका लागि विद्रोह गर्न आफ्ना छोराछोरीलाई पनि हौस्याएको, मालिकको आदेश नमानेको र आफ्नो अधिकार प्राप्तिका लागि बन्दुक समेत बोकेको स्वीकार गरिएकाले कविताको शीर्षक सार्थक बन्न पुगेको छ । कवितामा चन्द्रमाको ठाउँमा कविले इन्दुको प्रयोग जवर्जस्ती गरेर आफ्नो तत्सम मोह प्रकट गरेका छन् ।

मृत जीवन यस सङ्ग्रहको एक्काइसौँ कविता हो । यस कवितामा कविले आन्दोलन र क्रान्तिदेखि भाग्दै हिँड्ने कायरहरूको जीवनलाई मृत जीनका रूपमा चित्रण गरेका छन् । क्रान्तिविनाको जीवन जीवन नभएको भन्दै उनी लाछी जीवनको आलोचना गर्नमा पनि अघि सरेका छन् र आफू क्रान्तिको यात्रमा निस्केको भाव कवितामा व्यक्त गरेका छन् । गद्य लयमा संरचित यस कवितामा कुम्भकर्ण, कुसुमाकरको छाया जस्ता प्रतीकको प्रयोग गरेका छन् । कविता मध्यम खालको रहेको छ ।

आगो यस सङ्ग्रहको बाइसौँ कविता हो । यस कवितामा कविले आगो क्रान्ति हो भन्दै क्रान्तिको यो यात्रालाई कसैले रोक्न नसक्ने बताएका छन् । लासको भ¥याङ चढेर नेताहरू सत्तामा पुगेपनि जनतामा केही परिवर्तन नभएको भन्दै यतिबेला सबैतिर आगो बलिरहेको धारणा कविले यस कवितामा व्यक्त गरेका छन् ।

वदिनी यस सङ्ग्रहको तेइसौँ कविता हो । यस कवितामा कविले उत्पीडनमा परेको वादी जातिका महिलाको हुँकारलाई प्रस्तुत गरेका छन् । आफ्नो इज्जत र संवेदना दाउमा राखेर आफ्नो शरीरलाई खुल्ला आकाशमुनि बिटुल्याउन आह्वान गर्ने वदीनीको यो हुँकार आफैमा विद्रोही हुँकार बनेर प्रस्तुत भएको छ । आफ्नो भोक र तृष्णा मेटनका लागि रात विरात खेलौना बनाउने तर अधिकार दिन नमान्ने शासक वर्गको उछितो काडिएको यस कवितामा उत्पीडित जाति र समुदायको आवाजलाई प्रस्तुत गरिएको छ ।

सडक पेटीको एकान्त यस सङ्ग्रहको २४ औँ कविता हो । यस कवितामा कविले सडकमै जन्मीहुर्की सडकमै मर्न बाध्य सडक मान्छेको बाध्यताको चित्रण गर्ने काम गरेका छन् । सडक आन्दोलनको थलो बनिरहेको वर्तमान परिस्थितिमा कविले सडकलाई एकान्त थलोका रूपमा चिनाउने काम गरेका छन् । यहाँ कति मान्छे जन्मन्छन् र अकाल मृत्युवरण गर्न बाध्य हुन्छन् त्यसको कुनै लेखाजोखा नरहेको भाव कवितामा आएको छ ।

यस सङ्ग्रहको पच्चिसौँ कविता यहाँ नटेक काला मनहरूले शीर्षकमा रहेको छ । यस कवितामा कविले क्रान्तिका विरोधीहरूलाई खवरदार मात्रै गरेका छैनन् यो रक्तरञ्जित भूमिमा टेक्न समेत निषेध गरेका छन् । किङसाङकाङ पहाडलाई क्रान्तिको बिम्बको रूपमा प्रस्तुत गर्दै हाम्रो जलजला पहाडलाई पनि त्यसैसँग तुलना गरेका छन् । वैचारिक र कलात्मक हिसाबले यो सङ्ग्रहको उत्कृष्ट कवितामध्ये यो पनि एक हो ।

यस सङ्ग्रहको छब्बिसौँ कविता नयाँ नेपालको क्यान्भासमा कर्णाली शीर्षकमा रहेको छ । यस कवितामा कविले कर्णालीको पीडालाई प्रस्तुत गरेका छन् । कर्णाली पनि यही मुलुक भए पनि यही मुलुकदेखि बेखवर छ, हेपिएको दविएको र विकासमा पछाडि पारिएको छ भन्ने धारणा व्यक्त गरेका छन् । क्रान्ति र परिवर्तनका लागि रगत बगाए पनि मुलुक कुन दिशामा जाँदैछ भन्ने कुरादेखि बेखवर कर्णालीको कारुणीक कथा प्रस्तुत गरिएको यस कवितामा तत्सम शब्दको प्रयोग बढी मात्रामा पाइन्छ ।

यस सङ्ग्रहको सत्ताइसौँ कविता विद्रोही मनहरू शीर्षकमा रहेको छ । यस कवितामा कविले वर्तमानमा परिवर्तनको आन्दोलन सुस्ताए पनि यो सधै यतिकै नरहने र मान्छेहरू क्रान्तिका लागि बलिदानी भावना बोकेर सडकमा ओर्लने र क्रान्तिलाई पूर्णता दिने र चुपचाप बसेकाहर पनि सडकमा ओर्लने भाव व्यक्त गरिएको छ । गद्यलयका सात अनुच्छेदमा संरचित यस कवितामा क्रान्ति चेतना अत्याधिक मात्रामा रहेको पाइन्छ ।

माटोको गीत यस सङ्ग्रहको अठ्ठाइसौँ कविता हो । यस कवितामा कविले सहिदको रगतले रंगिएको यो माटोमा फुलेका फुलहरू, लता झरनाहरू हाम्रो आस्थाका बीजहरू हुन भन्ने भाव यस कवितामा व्यक्त गरेका छन् । प्रकृतिको मानवीकरण गरिए तापनि प्रकृतिको चित्रणमा कविता उत्कृष्ट रहेको छ । तत्सम शब्दको प्रयोग अन्य कवितामा जस्तै यस कवितामा पनि बढी मात्रामा गरिएको पाइन्छ ।

पानी यस सङ्ग्रहको उन्तिसौँ कविता हो । यस कवितामा कविले पानीको वेगलाई क्रान्तिको वेगका रूपमा प्रस्तुत गरेका छन् । जसरी पानी गतिवान् र वेगवान् छ, त्यसलाई कसैले रोक्न सक्दैन त्यसैगरी क्रान्किोगति र वेगलाई पनि कसैले रोक्न नसक्ने भन्दै क्रान्ति गतिवान रहेको धारणा व्यक्त गरेका छन् । जसरी पानीले किनारमा रहेका अनावश्यक चीजहरूलाई बगाउँदछ त्यसैगरी क्रान्तिले पनि हाम्रो समाजमा रहेका विदू्रपतालाई बगाउने भाव यस कवितामा आएको छ ।

घाइते ह्विलचेयर यस सङ्ग्रहको तीसौँ कविता हो । समग्र कवितासङ्ग्रहको शीर्षक समेत यसै कविताको शीर्षकबाट राखिएको छ । यस कवितामा कविले एउटा घाइते योद्धाको मनोदशालाई प्रस्तुत गरेका छन् । हामीले जित्यौँ कि हा¥यौँ भन्ने कुराको फैसाला नहुँदै सारा सहर विजय जुलुस मनाउन व्यस्त रहेको छ भन्दै प्रत्येक युद्धमा अग्रमोर्चामा लड्ने घाइते योद्धा विजय र पराजयको दोधारमा रहेको आवस्थाको चित्रण यस कवितामा गरिएको छ । वर्तमान विदू्रप राजनीतिले उब्ज्याएको समस्यालाई यस कविताले उठाएको छ । गद्य लयढाँचामा संरचित यस कवितामा तत्सम शब्दको प्रयोग अत्याधिक मात्रामा भएको पाइन्छ ।

मेरो गोञ्जालो यस सङ्ग्रहको एकतिसौँ कविता हो । यस कवितामा कविले पेरुका क्रान्ति नायक गोञ्जालोका क्रान्ति यात्रा र उनी पक्राउ परेपछिको अवस्थालाई चित्रण गर्दै गोञ्जालोलाई जेलको बन्द खोर नसुहाउने धारणा व्यक्त गरेका छन् । विभिन्न लोभ, धाक, धम्की, आदिका अगाडि नझुकी क्रान्ति यात्रालाई अगाडि बढाउने गोञ्जालो कतै हराउने छैन भन्दै उनले क्रान्ति निरन्तर अगाडि बढ्ने भाव यस कवितामा व्यक्त गरेका छन् ।

जीवनयात्रा शीर्षकको कविता यस सङ्ग्रहको बत्तिसौँ कविता हो । अभिधात्मक अर्थसापेक्ष यस कवितामा कविले जीवनमा विभिन्न हण्डर ठक्कर खाएर पनि अगाडि बढ्नु पर्ने, कैले कहाँ कैले कहाँ डुल्नु घुम्नु पर्ने, विना खुसी पनि हाँस्नु पर्न जस्ता भावनाअरू व्यक्त गरेका छद्धन् । यस सङ्ग्रहका कवितामध्ये यो कविता औसत खालको रहेको छ ।

एउटा कवि शीर्षकको कविता यस सङ्ग्रहको तेत्तिसौँ कविता हो । यस कवितामा कविले एउटा कविका माध्यमबाट समग्र परिवर्तनका लागि आफ्नो अमूल्य जीवन बलिदानी गर्ने, घाइते हुने आदि कविका पीडाहरूलाई प्रस्तुत गरेका छन् । हरेक परिवर्तनका लागि अग्र भागमा लड्ने कवि कसरी राज्यद्वार प्रताडित छ र परिवर्तन दबाउनेहरू विभिन्न नाममा सुख सुविधाहरू भोगिरकेका छन् भन्ने यथार्थको चित्रण यस कवितामा गरिएको छ । गद्यलयका असमान पाँच पङ्क्तिमा कविता संरचित रहेको छ ।

यस सङ्ग्रहको चौतिसौँ कविता ओथारो बसेको समय शीर्षकमा रहेको छ । कविले यस कवितामा वर्तमान विदू्रप राजनीतिक अवस्थाको चित्रण गरेका छन् । परिवर्तनलाई स्वीकार गर्न नसक्नेहरू नै अग्रगतिको बाटो छेकेर बसेको हुँदा समयले गति लिन नसकेको र त्यसलाई बढार्ने आन्दोलन वा क्रान्तिवेग पनि उठन नसकेको यथार्थलाई कविले ओथारो समयसँग तुलन गर्दे यस कवितामा प्रस्तुत गरेका छन् । पुराण सम्बन्धी पात्रहरूलाई विभिन्न प्रतीकका रूपमा यस कवितामा प्रस्तुत गरिएको छ ।

यस सङ्ग्रहको पैतिसौँ कविता बन्दुक शीर्षकमा रहेको छ । बन्दुकलाई परिवर्तनको वाहकका रूपमा प्रस्तुत गर्दै कविले यस कवितामा जब विकृति र विसङ्गतिले सीमा नाग्न थाल्छ तब विद्रोहका लागि बन्दुकको आवश्यता पर्ने कुरा व्यक्त गरेका छन् । गद्यलयको सात अनुच्छेदमा संरचित यस कवितामा जव आस्था र विश्वासमाथि धोका हुन्छ तव बन्दुकको आवश्यकता पर्दछ भन्ने भाव व्यक्त गरिएको छ ।

देउसी र सपनाहरू शीर्षकको कविता यस सङ्ग्रहको छत्तिसौँ कविता हो । यस कवितामा कविले कविले परिर्वतनलाई संस्थागत गर्न नसकिएको, सहिदको रगतको उचित मूल्याङ्कन गर्न नसकिएको भन्दै यस्तो समयमा देउसी खेल्नु र रमाउनु औचित्यपूर्ण नभएको धारणा व्यक्त गरेका छन् । देउसी महलमा वस्नेहरूका लागि मनोरञ्जनको साधन भए पनि झुपडीमा त्यसको कुनै अर्थ नभएको भन्दै कविले हाम्रो सांस्कृतिक परम्परामाथि समेत प्रश्न चिन्ह उठाउने काम गरेका छन् । गद्यलय ढाँचाका असमान ६ अुच्छेदमा संरचित यस कवितामा कविले अनावस्यक ठाउँमा पनि तत्सम शब्दको प्रयोग गरी आफ्नो तत्सम शब्दप्रतिको मोह प्रकट गरेका छन् ।

नालिस शीर्षकको कविता सैतिसौँ कविता हो । यस कवितामा कविले सबैखाले असमानताको विरुदमा क्रान्तिको यात्रा अगाडि बढेको भावना प्रस्तुत गरेका छन् । कविले सबैखाले विभेद, विसङ्गति र विकृतिको विरोध गर्दै विद्रोहको उद्घोष गर्दछन् । प्रगतिवादी चिन्तन उनको दर्शन हो । सामाजिक न्याय उनको अभीष्ट हो । वर्गहीन समाज उनको सपना हो (घिमिरे , २०६९ : ६०) । कविले यस कवितामा साम्यवादी भावधारा प्रस्तुत गरेका छन् ।

टावर शीर्षकको कविता यस सङ्ग्रहको अठ्तिसौँ कविता हो । यस कवितामा कविले टावरलाई सक्ताका रूपमा प्रस्तुत गरेका छन् । अनन्त सङ्घर्षपछि सत्ता प्राप्ति हुने र यो जनताको पसिना चुसेर मोटाउने धारणा कविले व्यक्त गरेका छन् । मान्छे सत्ताका लागि निरन्तर सङघर्षको मैदानमा रहेको र यही सत्ता सत्ता भन्दाभन्दै एकदिन पतीत भएर जाने भावना समेत यस कवितामा आएको पाइन्छ । टावर अमूर्त विम्वको प्रयोग गरिएको यो कविता प्रयोगशीलताका नाममा सही अर्थ दिन चुकेको देखिन्छ । टावरलाई सक्ता र क्रान्ति दुबै अर्थमा अथ्र्याउन मिल्नेगरी कविले प्रस्तुत गरेका छन् ।

यस सङ्ग्रहको उन्चालिसौँ कविता विखण्डित सपनाहरू शीर्षकमा रहेको छ । यस कवितामा कविले आन्दोलनमा निरन्तर लाग्ने रामविलास पात्रका माध्यमबाट आन्दोलन सफल भएपछि कसरी पार्टीमा अवसरवादी झुण्डहरू प्रवेश गरेर आन्दोलनको दिशालाई नै मोडिदिए भन्ने भावना व्यक्त गरेका छन् । बन्दुकको नालमा पनि जीवनको गति देख्ने, अग्नियात्रमा निरन्नर शिरमा कफन बाँधेर लड्नेहरू कसरी पाखा लगाइदैछन् भन्ने यथार्थलाई यस कवितामा प्रस्तुत गरिएको छ ।

यस सङ्ग्रहको चालिसौँ कविता नायक शीर्षकमा रहेको छ । यस कवितामा कविले पिरवर्तनको आन्दोलनमाथि यथास्थितिवादीहरूको निरन्तर प्रहार भइरहँदा पनि मौन रहेको आफ्नो आदर्श नायकमाथि प्रश्न गरेका छन् । समय यथास्थितिमा रुमलिएको बेला फेरि पनि हाम्रा सपनामाथि बलत्कार हुँदैछ भन्दै कविले खवरदारी व्यक्त गरेका छन् र आफ्नो नायकलाई अगाडि बढ्न घच्घचाइरहेका छन् । पौराणिक बिम्बका रूपमा अर्जुन र उनको गाण्डिव धनुष र ऐतिहासिक बिम्ब स्पार्टाकसको प्रयोगले कवितालाई ओझपूर्ण बनाउने काम गरेको छ ।

यस सङ्ग्रहको एकचालिसौँ कविता लज्जाको लिलाम शीर्षकमा रहेको छ । यस कवितामा कविले नारीलाई विभिन्न रूपमा प्रस्तुत गर्दै नारीमाथि हुने अमानवीय व्यवहारको विरोध गरेका छन् । वि.सं. २०६३ मा काठमाडौँमा क्याविन होटेल बन्द गर्न नाममा दुई युवतीलाई नाङ्गै बनाई दुव्यवहार गरेको घटनामा आधारित यस कवितामा होटेलमा काम गर्नुपर्ने बाध्यता भएको र त्यो पनि काम भएको हुँदा कामका आधारमा हुने भेदभावको अन्त्य हुनु पर्ने धारणा यस कवितामा व्यक्त भएको छ ।

पौवागढी शीर्षकको कविता यस सङ्ग्रहमा समावेश बयालिसौँ कविता हो । यस कवितामा कविले नेपालका राजनीतिक नेताहरू दिल्लीको आर्शीवाद थाप्न दौडिरहेको बेला अंग्रेजलाई लडाइको मैदानमा हराउँने पौवागढीको महत्व अझ बढेको छ भन्दै पराधीनतालाई अस्वीकार र राष्ट्रिय स्वाधीनतामा जोड दिइएको छ । ऐतिहासिक बिम्बका रूपमा विभिन्न स्थान र पात्रहरूको प्रयोग यस कवितामा भएको पाइन्छ ।
कठपुतली शीर्षकको कविता यस सङ्ग्रहको त्रिचालिसौँ कविता हो । यस कवितामा कविले वि.सं. २०६६ मा माधबकुमार नेपालको सरकार भारतले प्रत्यक्ष हस्तक्षेप गरेर निर्माण गरेको भन्दै यो सरकार नेपाली जनताप्रति भन्दा पनि भारतीय शासक वर्गप्रति बफादार बनेको र नेपालमा हरेक क्षेत्रमा वैदेशिक हस्तक्षेप बढेको कुरालाई प्रस्तुत गरेका छन् । हाम्रो देशका नेताहरूमा दिल्लीको आर्शीवाद थाप्ने प्रवृत्ति हावी हुँदै गएकोले हाम्रो राष्ट्रिय स्वधीनता खतरामा परेको भाव यस कवितामा व्यक्त भएको छ ।

यस सङ्ग्रहको चवालिसौँ कविता स्मृति शीर्षकमा रहेको छ । यस कवितामा कविले पटकपटक आन्दोलनहरू भए पनि क्रान्ति विभिन्न रूप र रङमा सम्पन्न भए पनि त्यसबाट जनताले उपलब्धि हाँसिल गर्नुको सट्टा गुमाउँदै मात्र गएको र शासकहरू जनताका खुसीहरू खोसेर उन्मुक्त बनिरहेको यथार्थलाई कविले यस कवितामा व्यक्त गरेका छन् । कविले आफूले इतिहासबाट पाठ सिक्दै क्रान्तिलाई बेग्लै यात्रामा अगाडि बढाउन खोजेको र शिखर चुम्ने दिशामा पुगेको भाव यस कवितामा व्यक्त गरेका छन् ।

यस सङ्ग्रहको पैचालिसौँ कविता दुःस्वप्न शीर्षकमा रहेको छ । यस कवितामा कविले क्रान्ति भर्खरै सम्पन्न भए पनि प्रतिक्रान्तिको खतरा अझै बढेर गएको हुँदा क्रान्तिकारीहरू सेलाउन नहुने भाव व्यक्त गरेका छन् । क्रान्ति पूरा नहुँदै योद्धाहरूमा निरासा आउन थालेको प्रति कविले सचेत बनाउने काम यस कवितामा गरेका छन् ।

खामबन्दी शीर्षकको कविता यस सङ्ग्रहको छयालिसौँ र अन्तिम कविता हो । यस कवितामा कविले बेपक्ता योद्धाको परिवारको पीडालाई प्रस्तुत गरेका छन् । क्रान्ति आमूल परिवर्तनका लागि गरिएको भए पनि सम्झौतामा टुङ्ग्याइएकोले सहिद, घाइते तथा बेपत्ता योद्धाको सपनालाई पूरा गर्न नसकिएको भन्दै कविले यस कवितामा आफ्नो नेतृत्वमाथि समेत व्यङ्ग्य प्रस्तुत गरेका छन् । व्यङ्ग्यात्मक शैलीमा लेखिएको यस कवितामा क्रान्ति पूर्ण बन्न नसकेकोमा दुःख व्यक्त गरिएको छ ।

४.३.९ ‘विश्वासमा अडिएको जीवन’ फुटकर कथाको विश्लेषण
साहित्यका विधामध्ये कथा लोकप्रिय विधा कथा हो । कथा विभिन्न तत्वहरूको योगबाट बन्दछ अर्थात् यो आफैमा पूर्ण रूप होइन । कथामा मुख्य रूपले कथानक, पात्र विधान, परिवेश, भाषाशैली, दृष्टिबिन्दु र उद्देश्य जस्ता तत्वहरू एक अर्कासँग सम्बद्ध भएर आउँछन् र एउटा कलात्मक संरचनाका रूपमा देखापर्दछन् (गौतम र अधिकारी, २०६९ : १२) । यस्तो कलात्मक विधा कथाको विश्लेषण विभिन्न आधारबाट गर्न सकिन्छ ।
यस विश्वासमा अडिएको जीवन कथालाई कथा तत्वका आधारमा विश्लेषण गरिएको छ जुन यसप्रकार उल्लेख गरिन्छ :

४.३.९.१ कथानक
जनयुद्धकालीन समयमा माओवादी कार्यकर्ता भई जनविद्रोहका लागि चेतना फैलाउँदै हिँडेको अभियोगमा सेनाद्वारा श्रीमान् बेपत्ता पारिएको धनकुमारीको सङ्घर्षमय पारिवारिक जीवनका साथै धनकुमारी र उसको छोरो दिवशको अन्तर्मनको उद्घाटन गर्नु यस कथाको मुख्य विषयवस्तु हो । कथामा घटने घटनावलीहरुको कार्यकारण सम्बन्ध नै कथानकमा हुन्छ (गैरे, २०६६ : ९) । यस कथामा पनि जीवन गुजारा गर्नका लागि धनकुमारीले यन्त्रमानव झैं सङ्घर्ष गर्नु, छोराले जीवन आयु लम्बाउन मृत्युसँग सङ्घर्ष गर्नु, सामन्ती वर्गको शोषण, दमन र सामाजिक कुसंस्कारको अन्त्य गरी बन्ने नयाँ नेपालप्रति विश्वस्त भई सङ्घर्ष गर्दागर्दै सेनाद्वारा बेपत्ता पारिएको घटनाको संस्मरण आमा छोराले गर्नु, देशमा गणतन्त्रको हल्ला चल्नु, आमा छोराले पनि सुन्नु, बेपत्ता नागरिकका पक्षमा पनि गणतान्त्रिक सरकारले केही व्यवस्था गर्छ भनेर आमा धनकुमारी र छोरो दिवश विश्वस्त हुँदै गरेको अवस्थामा कथानक टुङ्गिएको छ ।

विश्वासमा अडिएको जीवन कथाको कथानको स्रोत जनयुद्धकालिन समयको नेपाली समाजको यथार्थ पक्ष हो । यस कथाको कथावस्तु आदि, मध्य र अन्त्यको सुगठित संयोजन गरिएको छ । त्यसैले कथानक ढाँचा रैखिक रहेको छ । धनकुमारी दिनभर साहूकोमा ढुङ्गा, गिट्टीसँग यन्त्रमानवझैँ पौठेजोरी खेल्दै थकित भएर घर फर्किनु कथानकको आदि भाग, कोठाको भित्ते घडीसँगै रहेको परिवारको फोटोको खोजी र प्रसङ्ग, बुबालाई क्रान्तिकारी भएको अभियोगमा सेनाद्वारा बेपत्ता पारिएको घटनाको स्मृतिसम्म कथाको मध्य भाग र श्रीमान् देशमा परिवर्तन गर्न सकिनेमा विश्वस्त भई लागेको पूर्वस्मृति, छोरो दिवशले देशमा गणतन्त्र आएकाले अब आमाका अभावसँगका जीवन सङ्घर्ष र आफ्नो मृत्युसँगको सङ्घर्षमा जीत अवश्य हुन्छ भनी विश्वास लिएर कथा टुङ्गिएको कथानकको अन्त्य भागका रूपमा आएको छ ।

४.३.९.२ पात्र
यस कथामा धनकुमारी, उसको छोरो दिवश, उसको श्रीमान्, सैनिकहरू, छिमेकी अन्टी, डाक्टर, सहरबाट फर्किने मानिसहरू पात्रका रूपमा उपस्थित छन् । धनकुमारी र उसको छोरो दिवश यस कथाको मुख्य पात्र हुन् । धनकुमारीको श्रीमान् सहायक पात्रको रूपमा उपस्थित देखिन्छन् । सैनिक, छिमेकी अन्टी, सहरबाट फर्किएका मानिसहरू, डाक्टर गौण पात्रहरू हुन् । यिनै प्रमुख, सहायक र गौण पात्रहरूको उपस्थितिले कथाको कार्य व्यापारलाई अगाडि बढाउन मद्दत गरेको छ ।

यस कथाकी धनकुमारी प्रमुख स्त्री पात्र हो । ऊ सङ्घर्षशील नारी एवम् आमाका रूपमा यस कथामा आएकी छे । उसले यस कथामा बेपत्ता परिवारको प्रतिनिधित्व गरेकी छ र वर्गीय पात्र हो । कथामा प्रत्यक्ष रूपमा सुरुदेखि अन्त्यसम्म उपस्थित यो एक मञ्चीय र हटाउँनै नमिल्ने बद्ध पात्र हो । छोरो दिवश पनि यस कथाको प्रमुख बाल पात्र हो । ऊ परिवर्तित गणतान्त्रिक सरकारप्रति विश्वस्त भई आमालाई समेत विश्वस्थ गराउन प्रतिबद्ध र सफल अनुकूल र बद्ध एवम् मञ्चीय पात्र हो । दिवश गरिबीका कारण जीवनमरणको दोसाँधमा मृत्यु कुरिरहेकोले गरिबहरूको प्रतिनिधित्व गरेको छ । सामन्ती व्यवस्थाको अन्त्य भएमा जनताको जीवन सुखमय हुनेमा विश्वस्त भई जनयुद्धमा लाग्ने क्रान्तिकारी पुरुष धनकुमारीको श्रीमान्ले सम्पूर्ण क्रान्तिकारी बेपत्ता नागरिकको प्रतिनिधित्व गरेको छ । ऊ पनि यस कथामा वर्गीय पात्रका रूपमा देखिएको अनुकूल सहायक पात्र हो । छिमेकी अन्टी, सैनिकहरू, गाउँलेहरू गौण भूमिकामा यस कथामा आएका हु“दा उनीहरू कथामा मुक्त पात्रका रूपमा आएका छन् ।

४.३.९.३ परिवेश
यस कथामा सहरको प्रभाव रहेको ग्रामीण नेपाली समाज स्थानगत परिवेशका रूपमा आएको छ । कथाको सम्पूर्ण कार्यव्यापार नेपाली समाजको कुनै एउटा गाउँको घर र त्यसको कुनै एउटा सुत्ने कोठाभित्रै सम्पन्न भएको छ । यस कथामा नेपाली समाजमा जनयुद्धकालीन समयमा देशमा परिवर्तनका लागि सक्रिय क्रान्तिकारी पुरुषलाई सैनिकद्वारा वेपत्ता गरिएपछिको वेपत्ता परिवारको कारुणिक सङ्घर्षशील अवस्था नै परिवेशको रूपमा आएको छ ।

यस कथाको वातावरणमा सुख दुःख दुवै भाव मिश्रित भएर आएको देखिन्छ । वेपत्ता परिवारको सङ्घर्षपूर्ण जीवन दुःखद वातावरणका रूपमा छ । देशमा परिवर्तन ल्याउने विश्वासका साथ सक्रिय भई लाग्दा श्रीमान्, सैनिकहरूद्वारा बेपत्ता पारिएको भए पनि अब देशमा गणतन्त्र आइसकेको छ । सरकारद्वारा बेपत्ता नागरिकहरूले जनयुद्धमा गरेको अदम्य साहसको कदर गर्दै बेपत्ता नागरिक र तिनको परिवारका सम्बन्धमा राम्रो काम गरिनेछ भनी धनकुमारी र दिवश विश्वस्त हुँदा सुखद वातावरण पाइन्छ ।

४.३.९.४ भाषाशैली
यस कथामा नेपाली समाजका वर्ग विशेषका पात्रहरूको प्रतिनिधित्व गर्ने कथा भएकाले सोही अनुरूपको भाषाको प्रयोग गरिएको छ । पात्र अनुसार सहज र गाउँले बोलीचालीको भाषाका साथै सहरिया प्रभावपूर्ण केही शब्दहरूको प्रयोग पाइन्छ । कथामा धेरै ठाउँमा विचलनयुक्त वाक्यको प्रयोग देखिन्छ ।

आर्थसापेक्ष अभिधात्मक रूपमा रहेको यस कथामा संक्षेपात्मक र केही मात्र दृश्यात्मक पद्धतिको उपयोग गरिएको छ । कथाको आरम्भ संक्षेपात्मक पद्धतिबाट गरिएको छ र केही दृश्यको उपस्थापन गरिएको छ ।

४.३.९.५ दृष्टिबिन्दु
वर्णनात्मक शैलीमा तृतीय पुरुष ढाँचामा लेखिएको यस विश्वासमा अडिएको जीवन कथामा बाह्य दृष्टिबिन्दुको प्रयोग भएको छ ।
ग्रामीण जीवनको चित्रण, जनयुद्धको समाप्तिसँगै जनचाहना, आशा र उनीहरूको योगदानसँग सम्बन्धित विषयवस्तुलाई वर्णन गर्दै पात्र धनकुमारी र दिवशका माध्यमबाट पात्रीय संवाद प्रस्तुत गरिएको छ । यस कथाका कथाकारको वर्णनात्मक शैली र पात्रीय संवादको प्रयोग गरिएकाले तृतीय पुरुष दृष्टिबिन्दुको प्रयोग भएको छ । तृतीय पुरुष दृष्टिबिन्दुमै कथाकारद्वारा माओवादी जनयुद्धका समयमा सरकारद्वारा बेपत्ता पारिएका परिवारको सङ्घर्ष र गणतन्त्रात्मक सरकारप्रतिको आशा एवम् विश्वासको चित्रण गरिएको र सोहीप्रति समर्थन जनाएकाले कथामा समाजवादी यथार्थवादी दृष्टिकोण प्रस्तुत भएको छ ।

४.३.९.६ उद्देश्य
माओवादी जनयुद्धका समयमा सरकारद्वारा बेपत्ता पारिएका परिवारको दयनीय र पीडादायक कारुणिक स्थितिको चित्रण गर्दै जनयुद्धको मर्मलाई सत्तामा पुगेपछि भुल्न नहुने सन्देश दिनु नै यस कथाको मुख्य उद्देश्य हो । श्रीमान्लाई बेपत्ता पारिएपछि सङ्घर्षपूर्ण जीवन भोगेका पात्र धनकुमारी र उसको छोरो दिवशका माध्यमबाट देशमा गणतन्त्र स्थापना भएपछि परिवर्तनसहित बाँच्न चाहेको देखाइएको छ ।

सोझा, सिधा, गरिब, निमुखा, दुःखी जनताहरूको रगत चुस्ने शोषक सामन्तीको अन्याय अत्याचारविरुद्ध आवाज उठाउँदा निरङ्कुश सरकार पक्षबाट बेपत्ता पारिएका नागरिकका परिवारले अब गणतन्त्रको स्थापना भएको समयमा सत्तामा पुगेको नेताहरूले बेपत्ता परिवारका सम्बन्धमा पनि सम्बोधन गरिनुपर्छ भन्ने भाव नै प्रस्तुत कथाको उद्देश्य हो ।

४.४ भण्डारीका फुटकर प्रकाशित रचनाहरुको विवरण

क्रस                            शीर्षक                                                       विधा          पत्रिका                      मिति/वर्ष/अङ्क
१   पात                                                                                         कविता        मधुपर्क                     २०७० असोज
२   माग                                                                                          कविता     दायित्व                     २०७०
३   भ्रम                                                                                           कविता     सुनाखरी सन्देश        २०७० साउन–भदौ
४   भग्नावशेषमा उभिएर                                                                 कविता    नेपाल                       साउन २०
५  सांस्कृतिक नीति नयाँ नेपाल निर्माणको बहसमा छुटको पाटो      लेख      अभिज्ञान                   २०६७ कार्तिक–पुस
६ सांस्कृतिक रुपान्तरण बारे उब्जिएका केही प्रश्न                             लेख      जनज्वार                    २०६८ जेठ
७ संस्कृति बारे केही कुरा                                                                  लेख       लालरक्षक                 २०६६ कार्तिक–मंसिर
८ कलामा नयाँ नेपालको प्रतिबिम्बन                                               लेख        जनदिशा                   २०६५ पुस १२
९ सांस्कार, संस्कृति र रुपान्तरणको सवाल                                     लेख        जनदिशा                    २०६५ कार्तिक १९
१० वुद्धिजीवी र उसको दायित्व                                                        लेख           महिमा                      २०६२ भदौ १५
११ अग्रागामी रुपान्तरणमा स्रष्टाको दायित्व                                    लेख           महिमा                      २०६३ साउन
१२ सांस्कृतिककर्मीको सांस्कृतिक छलाङको रूप                             लेख          महिमा                       २०६३ साउन
१३ बृहत गणतान्त्रिक मोर्चाको आवश्यकता र औचित्य                  लेख           महिमा                       २०६३ फागुन
१४ प्रसङ्ग सांस्कृतिक भेटघात सान्दर्भ सांस्कृतिक आन्दोलन      लेख        नेपाल आवाज                २०६३ पुस २

४.५ निष्कर्ष
प्रस्तुत चौथो परिच्छेदमा विष्णु भण्डारीको काव्ययात्रा र प्रवृतिदेखि लिएर उनका फुटकर रचनाहरु सम्मलाई प्रस्तुत गरिएको छ । भण्डारीको काव्ययात्रालाई पूर्वाध र उत्तरार्ध गरी दुई चरणमा बाँडेर अध्ययन गरिएको छ चालिसको दशकलाई उनको पूर्वाध चरण बीचको पचासको दशक लुप्त अवधि भएको हुँदा काव्ययात्रामा यस समयलाई उल्लेख गरिरएको छैन भने साठीको दशक उनको उत्तरार्ध चरण मानिएको छ । त्यस्तै भण्डारीको काव्य प्रवृत्तिमा प्रगतिवादी प्रवृत्ति नै प्रमुख रहेको देखिन्छ । त्यसपछि यसै परिच्छेदमा उनका समग्र कृतित्वको सङ्क्षिप्त अध्ययन गरिएको छ भने उनका फुटकर रचनाहरुलाई पनि यसै परिच्छेदमा उल्लेख गरिएको छ ।


परिच्छेद : पाँच
विष्णु भण्डारीको साहित्यिक योगदान

नेपाली साहित्यको कविता विधाको मझौलो रूप विद्रोहको छाल खण्डकाव्य लिएर देखा परेका विष्णु भण्डारीका हालसम्म सातवटा कविता कृतिहरु प्रकाशित रहेको पाइन्छ । कविता विधाको लघुरुप मुक्तकदेखि बृहत रुपको महाकाव्यसम्मको सिर्जना विष्णु भण्डारीबाट भएको देखिन्छ । त्यसमा पनि प्रगतिवादी विचारधारालाई अँगालेर कविता लेख्ने कविका रूपमा यिनको परिचय स्थापित भएको छ । प्रगतिवादी विचारधाराको आलोकमा नेपाली समाज, यसको विकासप्रक्रिया र यसमा देखा परेका असङ्गति अनि यसले लिनुपर्ने मार्गका बारेमा विमर्श गर्दै कविता लेख्ने कविहरूको शक्तिशाली उपस्थिति वर्तमान समयमा देखा परेको छ । यस्तै प्रवृत्ति बोकेका र कविता सिर्जनमा लागेका नेपाली कविहरूका बीचमा विष्णु भण्डारी पनि आफ्नो निजी व्यक्तित्व र पहिचान लिएर देखा परेका छन् (ज्ञावली, २०६९ : ३३) । चालिसको दशकमा नेपाली साहित्यको कविताका क्षेत्रमा देखापरेका भण्डारीकोे काव्ययात्राले तीन दशक पार गरिसकेको छ । यिनै प्रकाशित सातवटा कृति र तिनको प्रभाव, विष्णु भण्डारीको कविता यात्राको निरन्तरता, साहित्यिक सङ्घसंस्था र आन्दोलनमा सहभागी भएर उनले खेलेको भूमिका आदिका आधारमा उनको योगदानको मूल्याङ्कन गर्ने प्रयास यस शोधकार्यको यस अध्यायमा गरिएको छ ।
विष्णु भण्डारी विशेषत कविता विधामा कलम चलाउँदछन् । उनले फुटकर रुपमा मात्रै होइन कृतिगत रुपमा कविताको लघुरूप मुक्तक र कविता, मझौलो रूप खण्काव्य र बृहत् रूप महाकाव्य सिर्जना गरेका छन् । कविताका सबै रूपमा उत्तिकै जमेका उनको पछिल्लो समय माकाव्यका कारण र त्यसपछि कविताका कारण चर्चामा रहेका छन् । कवता विधाका सबै रूपमा कलम चलाउनु र कृति दिनु उनको प्रमुख योगदान हो । चालिसको दशकमा लेख्न थालेका भण्डारी पचासको दशकमा भने गुमनाम देखिन्छन् । तर साठीको दशकमा भने उनी जुर्मुराएर उठेका छन् । चालिसको दशकमा विद्रोहको छाल खण्डकाव्य (२०४३), आँधी–तुफान मुक्तक सङ्ग्रह (२०४४) र ब्वाँसोको अन्त्यको खेल खण्डकाव्य (२०४५) गरी तीनवटा कृतिहरू प्रकाशित गरेपछि केही सुस्त देखापरे पनि साठीको दशकमा आएर उनका फेरि अर्काे तारा खस्यो कवितासङ्ग्रह (२०६३) देश जागेको बेला कविता सङ्ग्रह (२०६३), उत्सर्ग महाकाव्य (२०६७) र घाइते ह्लिचेयर (२०६९) गरी चारवटा कृतिहरु प्रकाशित रहेको देखिन्छ । सबैजसो कृतिहरूमा उनले यथास्थितिको विरोध र परिवर्तनको चाहना स्पष्ट रूपमा राखेका छन् । कम्युनिस्ट राजनीतिक पृष्ठभूमिबाट साहित्यमा छिरेका कारण पनि उनका कवितामा परिवर्तनको छाप स्पष्ट परेको हुन सक्छ ।
जनयुद्ध मै नलागे पनि पछिल्लो समय माआोवादी आन्दोलनमा जोडिएका उनी माओवादी आन्दोलनलाई नै विषयवस्तु बनाएर उत्सर्ग महाकाव्यको सिर्जना गरेका छन् । माओवादी आन्दोलनको सिङ्गो १२ वर्षको अवधिको चित्रण उनको महाकाव्यमा भएको पाइन्छ । जनयुद्धभित्र हुने सबैखाले घटनालाई उनको महाकाव्यले समेटेको छ । माओवादी आन्दोलनको विषयमा सिङ्गो काव्य सिर्जना गर्नु उनको अर्काे विशेषता एवम् योगदान हो । त्यस्तै जनआन्दोलनका बेला प्रत्येक दिनको घटना सन्दर्भलाई जोडेर लेखिएको कविता सङ्ग्रह देश जागेको बेला हो । यस सङ्ग्रहमा उनले आन्दोलनको अवधिमा प्रत्येक दिनका घटना सन्दर्भलाई कवितामा उन्नु अर्थात अआन्दोलनलाई कवितामा ढाल्नु पनि उनको अर्काे विशेषता हो । उनको काव्ययात्रा वैचारिक र कलात्मक हिसाबले क्रमशः विकसित हुँदै उत्कर्ष मै पुगेको मान्न सकिन्छ । महाकाव्य, खण्डकाव्य, कविता र मुक्तक सङ्ग्रह गरी सात पुस्तकमार्फत उनले काव्यिक परीक्षा उत्तीर्ण गरेजस्तो लाग्छ  । (बानियाँ, २०६९ :४७) ।

त्यस्तै साहित्यिक पत्रकारका रूपमा हल्कारा पत्रिकाको सहसम्पादक, चन्द्रगिरी प्रत्रिकाको र संस्कृति प्रदान पत्रिका अभिज्ञानको पनि सम्पादक भएर उनले काम गरेका छन् । प्रगतिशील लेखक संघ, साहित्यिक पत्रकार संघ, सिर्जना अभियान लगायतका साहित्यिक सङ्घ संस्थामा सहभागी भएर साहित्यक आन्दोलनलाई अगाडि बढाउन पनि उनले महत्वपूर्ण योगदान पु¥याएका छन् भने साहित्यिक पुस्तक प्रकाशन गर्नका लागि शैलवी प्रकाशनको पनि उनले आरम्भ गरेका छन् । यसरी साहित्य लेखनदेखि लिएर प्रकाशनसम्मको कार्य गरी उनले नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान दिएका छन् ।

कविता क्षेत्र उनको विशेष रुचीको क्षेत्र भए पनि उनले फुटकर रूपमा संस्मरण, निबन्ध, सांस्कृतिक लेखरचना, राजनीतिक लेखरचनाहरू पनि लेख्ने गरेका छन् । उनका त्यस्ता रचनाहरू विभिन्न पत्रपत्रिकाहरूमा फुटकर रूपमा प्रकाशित भए पनि सङ्ग्रहका रूपमा भने आउन सकेको देखिँदैन । तथापि उनको यो योगदानको पाटो पनि स्मरणीय नै रहेको छ ।

समग्रमा नेपाली साहित्यका क्षेत्रमा कविताको लघुदेखि बृहत आयामका र भिन्नभिन्न विषयवस्तुका सातवटा कविताकृतिहरू नेपाली साहित्यलाई दिनु विष्णु भण्डारीको प्रमुख योगदान हो ।


परिच्छेद छ
उपसंहार तथा निष्कर्ष

५.१ उपसंहार
गुल्मी जिल्लाको वस्तु धुर्कोटमा वि.सं. २०२० साल फागुन २९ गतेका दिन जन्मिएका विष्णु भण्डारी बुबा स्व. परमानन्द भण्डारी र आमा बिन्तादेवी भण्डारीका दोस्रो सन्तान हुन् । उनले आफ्नो बाल्यकाल तथा किशोरावस्थासम्म गुल्मीकै रमणीय ग्रामीण परिवेशमा बिताएका हुन् । वि.सं. २०४८ सालमा पार्वता भुसालसँग जनवादी विवाह गरेका विष्णु भण्डारी आफ्ना तीन सन्तानसहित काठमाडौंको कोटेश्वरमा रहँदै आएका छन् । बाल्यकालदेखि नै साहित्यप्रति अभिरुचि राख्ने तथा बाल्यकालदेखि नै निकै मेधावी र लगनशील व्यक्तित्वका धनी भण्डारीले जीवनमा निकै सङ्घर्ष गरी अघि बढेका छन् । आफ्नै आन्तरिक चाहना, घरपरिवारका सदस्यहरूको प्रेरणा, हौसला र सहयोगबाट साहित्यमा संलग्न भई नेपाली साहित्यलाई समृद्ध तुल्याएका भण्डारीले औपचारिक रूपमा सर्टिफिकेट तहसम्मको अध्ययन गरेका छन् । उनले समाजमा विभिन्न सामाजिक विभेद, अभाव, शोषण, दमन, गरिबीविरुद्ध साहित्यमार्फत क्रान्तिकारी भाव व्यक्त गरेको पाइन्छ । सानै उमेरबाट फुटकर रूपमा कविता तथा कथाहरू लेख्दै आए पनि वि.सं. २०४३ सालमा विद्रोहको छाल खण्डकाव्य प्रकाशन गरी औपचारिक रूपमा साहित्य यात्रामा हेलिएका विष्णु भण्डारीले कविता तथा कथा विधामा कलम चलाए पनि उनको ऊर्जाशील र सर्वाधिक सफल विधा कविता नै देखिन्छ । साथै माक्र्सवादी सौन्दर्यप्रति रुचि राख्ने भण्डारीले सांस्कृतिसम्बन्धी लेख रचनाहरू विभिन्न पत्र पत्रिकाहरूमा प्रकाशित भएका छन् । पूmर्सदको समयमा साहित्य लेखन र अध्ययनमा लागिपर्ने भण्डारी साम्यवादी समाजको पक्षमा रहेका छन् । साहित्यका अलवा अन्य राजनीतिक तथा सामाजिक संघसंस्थामा संलग्न भई सक्रिय रूपमा लागिपरिरहेको देखिन्छ ।

मझौला कद, गहुगोेरो वर्ण, कसिलो शरीर, हँसिलो मुखाकृति, विनम्र बोली र सामान्य पोशाकमा रमाउने विष्णु भण्डारी शालिन, सौम्य र मृदुभाषी व्यक्तित्व हुन् । सरल, मिलनसार, निर्भिक उनमा रहेका गुण हुन् । उनलाई सर्वहारा वर्गीय पक्षधरताका साथै अन्याय, अत्याचार, शोषण, दमन र दुराचारका विरुद्ध निर्भिक रूपमा आवाज उठाउन गाह्रो छैन । साहित्यका साथै विभिन्न संघसंस्थाहरूमा आबद्ध भई सक्रिय भूमिका निर्वाह गर्दै आइरहेका भण्डारी सिद्धान्त र व्यवहारमा सन्तुलित एवम् वैचारिक आस्था र निष्ठामा अविचलित देखिन्छन् । त्यसैले उनका व्यक्तित्वका विभिन्न आयामहरू देखिन्छन् । उनका व्यक्तित्वका आयामहरूलाई साहित्यिक व्यक्तित्व र साहित्येतर व्यक्तित्व भनी वर्गीकरण गरी छुट्याउन सकिन्छ । उनको साहित्यिक व्यक्तित्व उनले साहित्यका क्षेत्रमा गरेका योगदानबाट निरूपण हुन्छ । उनले नेपाली साहित्यिको कविता विधाका सबै रूपमा कलम चलाउँदै आफ्नो पहिचान बनाउन सक्षम देखिन्छन् भने कथा विधाका क्षेत्रमा धेरैपछि वि.सं. २०६७ सालमा विश्वासमा अडिएको जीवन एउटा मात्र फुटकर कथा प्रकाशन गरी आफ्नो यात्रा प्रारम्भ गर्न खोजेको देखिन्छ । यसरी समग्रमा विष्णु भण्डारीको साहित्यिक व्यक्तित्वमा कवि व्यक्तित्व र कथाकार व्यक्तित्व रहेका छन् । त्यस्तै उनको साहित्येतर सामाजिक सम्लग्नता एवम् प्रभावका आधारमा साहित्येतर व्यक्तित्व, शिक्षक व्यक्तित्व, कर्मचारी व्यक्तित्व, अध्ययनशील व्यक्तित्व, व्यापारिक व्यक्तित्व, सामाजिक व्यक्तित्व, सांस्कृतिकर्मी व्यक्तित्व, सामाजिक व्यक्तित्व, अभिप्रेरक व्यक्तित्व र बहुभाषिक व्यक्तित्व रहेका छन् ।

वि.सं. २०४३ सालबाट साहित्य सिर्जनाका क्षेत्रमा औपचारिक रूपमा प्रवेश गरेका विष्णु भण्डारीको साहित्यिक व्यक्तित्व समाजवादी यथार्थवादी दृष्टिबाट निर्मित रहेको प्रस्ट छ । उनी जनताका हितमा साहित्य सिर्जना गर्ने जनवादी साहित्यकार हुन् । प्रगतिवादीका कित्तामा पर्छन् । उनका विद्रोहको छाल (खण्डकाव्य), ब्वाँसोको अन्त्यको खेल (खण्डकाव्य), कालो नाटक (लघुकाव्य), आँधी तुफान (मुक्तक सङ्ग्रह), उत्सर्ग (महाकाव्य), देश जागेको बेला (कविता सङ्ग्रह), फेरि अर्को तारा खस्यो, (कविता सङ्ग्रह), घाइते ह्विलचेयर’ (कविता सङ्ग्रह) र विश्वामा अडिएको जीवन फुटकर कथाले भण्डारीलाई प्रगतिवादी साहित्यकारका रूपमा नेपाली साहित्यमा स्थापित गराएको छ । कविता विधाको लघुत्तम रूप मुक्तकदेखि बृहतरूप महाकाव्यसम्मको यात्रा गरेका भण्डारीले आफ्ना रचनाबाट समकालीन युग र समाजका विकृति र विसङ्गतिविरुद्ध विद्रोह र जीवन भोगाइका जटिल यथार्थहरू प्रस्तुत गरेका छन् । उनका कविताहरूमा उत्पीडित जनतामाथिको शोषण, उनीहरूले खेप्नु परेको कष्ट, त्यसविरुद्धको सङ्घर्षको काव्यात्मक अभिव्यक्ति उच्च रूपमा प्रस्तुत भएको देखिन्छ । निर्दलीय पञ्चायती शासनव्यवस्था हुँदै निरङ्कुश शासनव्यवस्थाले जनतामाथिको शोषण, उनीहरूले खेप्नुपरेका कष्ट, त्यसविरुद्ध विद्रोह र जीवन भोगाइका जटिल यथार्थहरू प्रस्तुत गरेका छन् । पञ्चायत शासनव्यवस्था हुँदै निरङ्कुश शासन व्यवस्थाले जनता माथि अनेक शीर्षकमा गरेको शोषण यातना विरुद्ध जनविद्रोहको पराकाष्ट जनयुद्धको घटना तथा जनयुद्धको मर्मलाई कवितात्मक भावभूमि बनाउँदै कविता, खण्डकाव्य तथा महाकाव्यको समेत रचना गरेको देखिन्छ । जनयुद्धको घटनावस्तुलाई उठान गर्दै, त्यसको पुष्टि र समापनको सन्तुलन कायम राखी आफ्नो क्रान्तिकारी विचारलाई कति पनि नखजमजाइकन उत्कृष्ट महाकाव्य सिर्जना गरेकाले भण्डारीको कवित्व शक्ति उच्च रहेको देख्न सकिन्छ । आरम्भकालीन काव्यकृतिहरूमा विषयवस्तु वा विचारलाई मूल रूपमा प्रस्तुत गर्ने कवित्वको कमी भई नारा वा विचारको प्रबलताका रूपमा आएका देखिए पनि पछिल्ला रचनाहरूमा विषयवस्तु वा विचार कवित्वको सन्तुलन मिलेर आएको देखिन्छ ।

समग्रमा विष्णु भण्डारी शोषित, पीडित वर्गका समस्याको चित्रण, वर्गीय विभेदको अन्त्य तथा न्यायमूलक समाज निर्माणमा जोड दिने जनकवि हुन् । उनले आफ्ना रचनामा शोषण, दमन, अत्याचार, परनिर्भरताविरुद्ध विद्रोहको उद्घोष गर्दछन् । उनको विचार स्वाभिमान, राष्ट्रियता र अभिमानलाई विषय बनाएर साहित्यका कविता तथा कथा विधामार्फत् प्रष्फुटित भएका छन् । भण्डारीले कविता विधाका सबै रूपहरूमा कलम चलाउँदै आफ्नो बहुविद् व्यक्तित्वको प्रकटीकरणसँगै प्रगतिवादी नेपाली साहित्यको विकासमा योगदान पु¥याएका छन् ।

५.२ निष्कर्ष
साहित्यकार विष्णु भण्डारीको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन शीर्षकमा गरिएको शोधपत्रको समग्र अध्ययन विश्लेषणबाट निम्नलिखित निष्कर्ष प्राप्त भएका छन् :
— गुल्मी जिल्लाको वस्तु धुर्कोटमा निम्न वर्गीय परिवारमा वि.सं. २०२० फागुन २९ मा जन्मिएका भण्डारीले जीवनका २० औँ वसन्त धुर्कोटमा बिताएको र उच्च शिक्षाको क्रममा जन्मस्थानबाट टाढिएर काठमाडौं कोटेश्वरमा बसी साहित्यिक सिर्जनामा संलग्न हुँदै समकालीन समयका उल्लेख्य साहित्यकारका रूपमा स्थापित हुन पुगेको देखिन्छ ।
—नेपाली साहित्यमा वि.सं. २०४३ सालमा कविता विधामा विद्रोहको छाल खण्डकाव्य र वि.सं. २०६७ कथा विधामा विश्वासमा अडिएको जीवन कथा प्रकाशनबाट प्रवेश गरी हालसम्म निरन्तर सक्रिय रहँदै आएका विष्णु भण्डारीको कवि व्यक्तित्व नै बढी प्रभावपूर्ण देखिन्छ ।
—विष्णु भण्डारीको विधागत लेखनलाई अवलोकन गर्दा अभ्यासकालीन लेखन कविता विधा भएको र यसै विधामा उनलाई साहित्यिक सफलता मिलेको पाइए तापनि कथा विधामा पनि उनका राम्रै भविष्य देख्न सकिन्छ ।
—विष्णु भण्डारीका रचना सङ्ख्यात्मक र गुणात्मक दृष्टिमा उच्च मध्यम कोटीका रहेका छन् ।
—उनको सूक्ष्म रूपदेखि वृहत रूप महाकाव्यसम्मको विषय सन्दर्भलाई केलाउँदा उनी मूलतः परिवर्तनको पक्षमा लेखिरहने स्रष्टा हुन् ।
—शोषित पीडित जनताका पक्षमा भण्डारीका काव्यधार केन्द्रित रहेकाले प्रगतिवादी कविका रूपमा परिचित बन्न पुगेका छन् ।
—विष्णु भण्डारीका प्रायः कविता कृतिहरूमा सामन्ती राज्यव्यवस्थाप्रति खरो रूपमा प्रस्तुत हुँदै आफ्नो हक अधिकारका निम्ति सङ्घर्ष गर्न उत्प्रेरणा जगाइएका छन् ।
—माओवादी जनयुद्धकालीन समयको जनताको त्याग, बलिदान र सङ्घर्षलाई उनले उत्सर्ग महाकाव्यमा प्रतिबिम्बिन गर्दै विषयवस्तुको उठान, त्यसको पृष्टि र समापनको सन्तुलन कायम राख्न सफल छन् ।
—माओवादी जनयुद्धकालीन समयमा राज्यद्वारा बेपत्ता पारिएको यथार्थताको प्रकटीकरण विश्वासमा अडिएको जीवन कथाले गरेको छ ।
—नेपालको इतिहासमा १९ दिनसम्म जनताले सामन्ती राज्यसत्ता परिवर्तनका लागि गरिएको जनआन्दोलनको दैन्दिन्यहरूको कलात्मक प्रस्तुति देश जागेको बेला कविता सङ्ग्रहका कविताले गरेकाले यो सङ्ग्रह एउटा ऐतिहासिक दस्तावेज बन्न सफल देखिन्छ ।
—देश गरिबी, शोषण, रोग, भोक, अशिक्षा, बेरोजगारी जस्ता समस्याबाट आक्रान्त बनिरहेको बेलामा, राजनीतिक तथा सामाजिक विकृति र विसङ्गति आदिबाट आक्रान्त भई छट्पटाइरहेको अवस्थामा उनका कविताले सामाजिक रूपान्तरणका लागि आवाज उठाएका कारण उनमा प्रगतिवादी चेतना रहेको प्रस्ट हुन्छ ।
—द्वन्द्वरत नेपाली समाज, युद्ध, सर्वहारा, मानवता, आमूल रूपान्तरण एवम् मुक्तिको भावविन्यास एवम् प्रबन्धन गरिएको उनको उत्सर्ग महाकाव्यले युद्ध चेतनालाई देखाउन सशक्त एवम् सफल देखिएको छ ।
—नेपाली राजनीतिमा देखिएको विद्रूपताको चित्रण घाइते ह्विचेयरमा गरिएको छ । क्रान्ति गरेको पार्टी सत्तामा पुग्नु त्यसले जनताका आधारभूत आवश्यकता पूरा गर्न नसकेको र दलहरू मिलेर वेलैमा संविधान दिन नसकेको अवस्थामा सिर्जित परिस्थितिलाई यस सङ्ग्रहका कविताले समेटेका छन् ।


सन्दर्भग्रन्थसूची

अवस्थी, माहदेव, (२०६४), आधुनिक नेपाली महाकाव्य र खण्डकाव्यको विमर्श, काठमाडौं : इन्टिलेक्चुअल प्रकाशन ।
आचार्य, राधिका, (२०६९) साहित्यकार शशिप्रसाद बजगाईंको जीवनी, व्यक्तित्व र कृतित्व अप्रकाशित स्नतकोत्तर शोधपत्र, ललितपुर : त्रि.वि., पाटन संयुक्त क्याम्पस ।
श्रमशील (२०६७) माक्र्सवादी साहित्य र जनयुद्धको सौन्दर्य, काठमाडौं : अखिल नेपाल लेखक सङ्घ(सम्पा. ढकाल, घनश्याम र अन्य) ।
गौतम , लक्ष्मण (२०६७), ‘महाकाव्यमा माओवादी युद्ध’ मिर्मिेरे ( वर्ष ?, पूर्णाङ्क ३०६) ।
गौतम, लक्ष्मणप्रसाद र ज्ञानु अधिकारी, (२०६९), नेपाली कथाको इतिहास काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठान ।
घिमिरे, ऋद्धिरमण, (२०६८) ‘एउटा महाकाव्यमा जनयुद्धको गाथा’ गरिमा (वर्ष ३०, अङ्क ३, पूर्णाङ्क ३५०)
घिमिरे, माधव (२०६७), ‘उत्सर्ग महाकाव्य माहासमारको जीवन्त प्रतिबिम्ब, शृङ्खला (वर्ष ३२, पूर्णाङ्क ३७)
घिमिरे, मुक्तिनाथ, (२०६७) ‘विवेचनात्मक आलोकमा उत्सर्ग महाकाव्य’ चन्द्रागिरी (वर्ष १, अङ्क १)
घिमिरे, मुक्तिनाथ, (२०६९) ‘प्रश्नहरुको क्याराभानमा बिम्बहरुको जुलुस’ कलम, (वर्ष २१ अङ्क ३, पूर्णाङ्क ५८)
घिमिरे, रमण, (२०६७), ‘एकतर्फी बयान’ नेपाल साप्ताहिक (वर्ष ११, अङ्क ७)
ढकाल, बन्दना, (२०१० ई.), ‘उत्सर्ग ः जनयुद्धमा आधारित पहिलो महाकाव्य’, रातो झिल्को (वर्ष २, संयुक्तङ्क ४–५) ।
न्यौपानै, छायादत्त ‘बगर’ (२०६८), ‘नया“ मूल्यको महाकाव्य’ हाम्रो नौलो बिहानी, (वर्ष ३, अङ्क १)
पोखरेल, जि.के., (२०६७), ‘माक्र्सवादी सौन्दर्यशास्त्रीय काव्यचेतको उत्कर्ष : उत्सर्ग महाकाव्य’, लालरक्षक (वर्ष २, अङ्क १०)
भट्टराई, तारा प्रकाश, (२०११ ई.) रिप्रिजेन्टेसन अफ द रिभोलुसनरी कन्सियसनेस इन भण्डारीज् उत्सर्ग अप्रकाशित स्नतकोत्तर शोधपत्र, काठमाडौं : त्रि.वि., अङ्ग्रेजी केन्द्रीय विभाग ।
भण्डारी, कृष्णप्रसाद, (२०६७) ‘दशवर्षे जनयुद्धको कथाव्यथा’ मधुपर्क (वर्ष ४३, पूर्णाङ्क ४९६, असोज)
शर्मा, मोहनराज र खगेन्द्रप्रसाल लुइँटेल (२०६६), शोधविधि, ललितपुर : साझा प्रकाशन ।
सिलवाल, केशव, (२०६७) ‘नयाँ यथार्थको नयाँ महाकाव्य’ कलम (वर्ष १८, पूर्णाङ्क ५४)
सुवेदी, राजेन्द्र, (२०६७) ‘उत्सर्ग महाकाव्यको वैचारिक पक्ष र यसमा अभिव्यक्त कलात्मक संवेदनाहरू’, अन्वेषण (वर्ष १, अङ्क १) ।
ज्ञावली, रामप्रसाद, (२०६९), ‘घाइते ह्विलचेयर : आशाले गरिएको बलिदान र निराशाले भरिएको वर्तमानको काव्यिक प्रतिबिम्बन, अभिव्यक्ति (वर्ष अङ्क )

परिशिष्टाङ्क
अन्तर्वार्ता

विष्णु भण्डारीको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन विषयमा ध्रुवराज ढकालले गरेको शोधपत्रका लागि शोत्रकर्ताद्वारा लिएको अन्तर्वाता :

तपाईंको जन्म कहाँ र कस्तो परिवारमा भयो ?
मेरो जन्म गुल्मी जिल्लाको धुर्कोट वस्तु गाविस वडा नं. ४ मा सामान्य परिवारमा भयो ।

तपाईंको शिक्षादिक्षाका बारेमा बताइदिनुहोस् न ।
मैले एस.एल.सि. सम्मको शिक्षा आफ्नै गाउँमा रहेको हिमालय माध्यमिक विद्यालयबाट प्राप्त गरेँ । उच्च शिक्षााका लागि बुटबल बहुमुखि क्यामसमा विज्ञान तर्फ भर्णा भएँ । तर विविध कारणले पढाइलाई बिचमै छोड्नु प¥यो । पछि काठमाडौंको रत्नराज्य क्याम्पसमा भर्णा भएता पनि प्राइभेट तर्फबाट सर्टिफिकेट लेवल पास गरेँ । रत्नराज्यमै व्याचलरमा पढ्न सुरु गरेता पनि पढाइलाई निरन्तरता दिन सकिन ।

तपाईंले प्रेरणा पाएका साहित्यकारहरूमध्ये कोसँग राम्रो चिनजान थियो ?
मैले विद्यालयमा पढ्दै गर्दा प्राप्त साहित्य पढेर प्रेरणा पाएका साहित्यकारहरूमध्ये भानुभक्त आचार्य, लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौडेल, गोर्की, मोदनाथ प्रश्रित, पारिजातमध्ये काठमाडौं आएपछि पारिजात दिदीसँग राम्रो चिनजान र अलि पछि मोदनाथ प्रश्रितसँग भेट भयो ।

साहित्य लेखनमा परिवारको सहयोग कस्तो रहेको छ ?
विवाह गरेदेखि आजसम्म निरन्तर १७—१८ घन्टा कडा श्रम गरेर पनि न्यानो माया र लेख्न सहयोग मात्र होइन घचघचाइ रहने मेरीजस्ती जीवनसाथी कमैका हुन्छन् ।

तपाईंलाई मन पर्ने विधा के हो ?
कविता ।

कविता लेखनको बलियो पक्ष के हो जस्तो लाग्छ ?

कला र विचार दुबै उत्तिकै सशक्त पक्ष हुन ।

माक्र्सवादी लेखनको दरिलो पक्ष के हो ?
माक्र्सवादी लेखनको महत्वपूर्ण तत्व भनेको विचार नै हो । चेतनाका विभिन्न रूपमध्ये कला साहित्यले समाज रूपान्तरण प्रक्रियामा मान्छेहरूमा भावनात्मक उद्वेलन पैदा गरी कुरूपताप्रति घृणा पैदा गराइदिन्छ । समाजको केन्द्रीय आवश्यकतालाई उजागर गर्छ र मानव उपयोगी सुन्दर अन्तरवस्तुको माध्यमद्वारा मान्छेमा रूपान्तरणकारी चेतना आभिवृद्धि गर्छ । साथै प्रगतिवादी कला साहित्यले मान्छेलाई सुसंस्कृत, उच्च विचारयुक्त र नैतिकवान बनाई अधिक मानवीय र संवेदनशील हुन समेत प्रेरित गर्छ । यसरी सिङ्गो मानव सभ्यतालाई प्रभावित गर्न सक्ने कला साहित्यमा विचार पक्ष कमजोर भयो र रूप पक्षमात्र सवल भयो भने त्यस्तो कला साहित्य कलावादमा फस्न पुग्छ र त्यसले आफ्नो भूमिका निभाउन सक्दैन । त्यसकारण माक्र्सवादी लेखनको मुख्य पक्ष भनेको विचार नै हो ।

प्रगतिवादी लेखन कत्तिको जटिल छ र किन ?
स्वच्छन्दतावादी, यथार्थवादी, यौनवादी अथवा यस्तैयस्तै कुनै वाद वा दर्शनबाट नबाँधिइकन लेखिने साहित्य सिर्जना गर्नुभन्दा खास विचार वा दर्शनबाट निर्देशित भएर लेखिने साहित्य सिर्जना गर्ने काम निश्चय पनि जटिल हुन्छ नै । प्रगतिवादी साहित्य समाजवादी यथर्थवादी साहित्य भएकोले यसका आफ्नै मूल्य मान्यता र दृष्टिकोण छन् । द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोण नबुझ्नेले अथवा माक्र्सवाद नबुझ्नेले प्रगतिवाद बुझ्दैन । माक्र्सवाद बुझ्नका लागि सिङ्गै दर्शनशास्त्र, समाजशास्त्र, मानवशास्त्र, अर्थशास्त्र, इतिहास, राजनीति र समकालीन विश्वलाई बुझ्नुपर्छ । यस अर्थमा प्रगतिवादी साहित्य सिर्जना गर्ने भनेको सामान्य कुुरो होइन ।

प्रगतिवादी लेखनको मुख्य केन्द्रविन्दु के हो ?
प्रगतिवादी लेखनको मुख्य उद्देश्य समाज रूपान्तरण हो । जनताका लागि त्यसमा पनि श्रमशील जनताका लागि लेखिने भएकोले यस्को केन्द्रविन्दु भनेको जनता र समाज नै हो ।असल र सुसंस्कृत मान्छेहरू भएको समतामूलक संसारको निर्माण गर्ने उद्देश्य भएकोले पनि आम शोषित वर्गको उन्मुक्ति र आशावाद यसका आधारभूत पक्ष हुन् ।

प्रगतिवादी लेखनमै किन जुट्नु भो ?
सानैदेखि गरिवी, अन्याय, अत्याचारमा पिल्सिनु परेकोले समाजका ठूला ठालु, साहू महाजन, जिम्माल मुखिया र फटाहासँग घृणा छँदै थियो । अलि बुझ्ने भएपछि आफ्ना छरछिमेक, नातागोता र पढाउने गुरुहरूको संसर्ग र संगतले म विस्तारै वामपन्थी राजनीतितिर आकर्षित भएँ । सानैमा विदेशिनु परेको, हेपिनु र तिरस्कृत हुनुको पीडाबाट उन्मुक्ति खोज्ने क्रममा सायद यही राजनीतिले मलाई प्रगतिवादी लेखनतिर डो¥यायो ।

कविता लेख्नुको मुख्य उद्देश्य के हो जस्तो लाग्छ ?
सिर्जना भनेको समाजमा घट्ने यावत घटना र मान्छेभित्रको अन्तरविरोधले मनभित्र पैदा हुने दुख, सुख, हाँसो, आँसु, पीडा, हर्ष, विस्मात, जस्ता भाव व्यक्त गर्ने माध्यम हो जस्तो लाग्छ मलाई । सुरुमा आफूलाई अरूभन्दा अलग्गै देखाउन वा कुनै वस्तुप्रतिको राग, आकर्षण वा घृणाभाव व्यक्त गर्न कला सिर्जना गरिन्छ होला । तर लेख्दै र सिर्जना गर्दै जाँदा विस्तारै परिपक्वता र सोद्देश्य पनि सँगसँगै आउँछ । सहित्यका सबै विधामध्ये कविता मान्छेभित्रका भावना, उद्वेलन र संवेदनाको उच्छलन व्यक्त गर्ने सबैभन्दा उत्तम विधा हो । यसमा भावनाको अधिक्यता हुन्छ । बिम्ब र प्रतिकद्वारा संसारलाई हँसाउन र रुवाउन सक्ने शक्ति हुन्छ । त्यसैले त हजारांैले कविता लेखे पनि असाध्यै कम मात्र असल कविमा दरिन्छन् । कविता लेख्नका लागि कविले सवैतिर कविता देख्नु पर्छ र साँच्चिकै कवितामय बन्नसक्नु पर्छ ऊ । लोभी पापी कवि बन्न सक्दैनन् । सत्यम्, शिवम् र सुन्दरम्को भावलाई ग्रहण गर्न नसक्नेहरू आउँछन् केही लेख्छन् र हराउँछन् । यसकारण मेरो विचारमा कविता लेख्नुको उद्देश्य संसारलाई कवितामय बनाउने अभियान हो ।

राजनीति र साहित्यबिच अन्तरसम्बन्ध हुन्छ कि हुँदैन ? सम्बन्ध हुन्छ भने किन र हुनु हुँदैन भने किन हुनुहुँदैन ?
राजनीति र साहित्यबिच अन्तर सम्बन्ध हुन्छ । हुनत धेरैजसो लेखक साहित्यकारहरूले राजनीतिबाट साहित्य अलग्गै हुनुपर्छ भन्ने पनि गरेको पाइन्छ । तर त्यसो भनिए पनि साहित्य खासमा राजनीतिकै वरिपरि घुमेको हुन्छ । समाजको परिवर्तन, समाजका अन्तरविरोधको हल राजनीतिले नै गर्छ । चाहे अर्थनीति होस वा सामाजिक सांस्कृतिक सबै मुद्दाहरू राजनीतिकै कमाण्डमा हुने भएकोले राजनीति बेगरको साहित्य फोस्रो गफ हुन जान्छ । तर चाहे विचार होस् वा राजनीतिक विषय होस् साहित्यमा आउँदा कलासँग अन्तरघुलित भएर आउनु पर्छ नकि नाराको रूपमा ।

तपाईंले राजनीतिक विषयवस्तुमा आधारित साहित्य सिर्जना गर्नुको उद्धेश्य के हो ?
समकालीन समस्या भनेका गरिबी, उत्पीडन, हत्या, हिंसा, महङ्गी, भ्रष्टाचार, बेथिति, अकर्मण्यता, आदि हुन् । राष्ट्रिय मुद्दा भनेका अग्रगमन, विकास, राज्यको पुनसंरचना, सङ्घीयता, गणतन्त्र, आदि हुन् । यी सबै विषय भनेका राजनीतिसँग सम्बन्धित छन् । साहित्य भनेको समाजको प्रतिबिम्बन र पुनर्सिजन भएकोले साहित्यमा राजनीति केन्द्रीय बिषय भएर आउँछ । सबै विषय राजनीतिकै वरिपरि घुमेका छन् भने के साहित्यकारले राजनीतिबाट अलग्गै र शुद्ध कुराको कल्पना गर्न सक्छ ? एउटा इमान्दार साहित्यकारको कर्तव्य भनेको तत्कालीन समस्या, अन्तरविरोध र मुुद्दाहरूलाई कलाको माध्यमबाट उजिल्याउनु हो । मैले त्यही धर्म निभाएको हुँ ।

अहिलेसम्म सरकारी पक्षबाट सम्मान र सहयोग पाउनु भएको छ ?
सरकारी अथवा गैरसरकारी पक्षबाट पाइने सम्मान र सहयोगको पछि नलाग्ने लेखक हुँ म । सायद त्यसैले होला अहिलेसम्म यस्ता सहयोग र सम्मानबाट बिटुलिने सौभाग्य पाएको छैन ।

वर्तमान समयमा साहित्यको कुन विधामा कलम चलाइरहनु भएको छ ?
अहिलेसम्म कविता बाहेक केही फुटकर संस्मरण, कथा र सांस्कृतिक लेख लेखेको छु । तर मेरो अहिलेसम्मको लेखनको मुख्य विधा भनेको कविता नै हो ।

कविता भन्दा अरू विधामा कलम नचलाउनुको खास कारण के हो ?
सानैदेखि कविता लेख्ने गरेको हुनाले पनि कविता नै मेरो मुख्य विधा बनेर आयो । फेरि कवितामा जस्तो मनभित्रका उद्वेलन, भावना र पीडा बिम्बको माध्यमबाट व्यक्त गर्न अरू विधामा सहज नहुने भएकोले पनि यही विधा नै बढी प्रिय भयो ।पहाड रोएको, जून हाँसेको र मान्छेले समयसँग पैठेजोरी खेलेको कुरा कविलेमात्र अनुभूत गर्न र व्यक्त गर्न सक्छ । सायद साहित्यका अन्य विधामा मैले यति गहिरोसँग समय, मान्छे र समाजसँग अन्तरघुलन हुन सक्दिन जस्तो लागेर पनि अरू विधामा कलम चलाउन नखोजेको हुँ ।

छिट्टै प्रकाशनमा आउने कृतिहरू के के हुन् ?
एउटालामा कविताहरूको सङ्ग्रह तयार भएको छ । अर्को सालसम्म एउटा उपन्यास तयार हुन्छहोला ।

नेपाली साहित्यलाई विकास गर्न के गर्नु पर्ला ?
विश्वका धेरै भाषा साहित्य हाम्रो भाषा साहित्यभन्दा धेरै विकसित र उन्नत छन् । हामी विकासका हरेका सुचाङ्कमा अरूभन्दा धेरै पछि परेकोले कला साहित्यमा पनि धेरै पछि छौं । त्यसकारण सामाजिक, आर्थिक र सांस्कृतिक विकासका साथसाथै नेपाली साहित्यको विकासका लागि हामी सबै गुटगत मानसिकता छोडेर, विचार र वादका तगारा भत्काएर एकतावद्ध भै लाग्नुपर्छ । यसका लागि पहिले त सांस्कृतिक नीति, भाषा नीति र दीर्घकालीन योजना बनाउनु पर्छ । नेपाली भाषालाई शिक्षाका सबै तहमा अनिवार्य बनाइनु पर्छ, विद्यालय, सङ्घ सस्था, सरकारी कार्यालय र सम्पूण गाविसमा पुस्तकालयको व्यवस्था गर्नु पर्छ । लेखक र साहित्यकारलाई राज्यबाट प्रोत्साहन र सहयोग हुनु पर्छ ।

तपाईंका तिन कृति प्रकाशन भएपछि लामो समय साहित्य यात्राबाट ओझेल पर्नाको कारण के होला?
विद्यार्थी राजनीति गर्दा सरकारी नोकरी छोडें पढाइ बिगारेँ तर जब बहुदल आयो टाठा बाठा र लोभी पापीहरू माथि पुगे हामी कवि, लेखक भनाउँदाहरू जहीँको तहीँ रह्यौँ । त्यसपछि के गर्ने त ? जानेको सानैदेखि व्यापार थियो । असफल व्यापारीको छोरो लागेँ व्यापारतिर ।

राजनीति पनि गर्नुहुन्छ साहित्य पनि सिर्जना गर्नुहुन्छ । तपाईंलाई कसरी चिन्ने ? सहित्यकार कि नेता?
ड्डअहिलेलाई परिचयविहीन विष्णु भण्डारी । साहित्यकार बन्ने महादौडमा दौडिदै गरेको एक सङ्घर्षशील व्यक्ति ।
(असोज, २०७०, शोधपत्रः ध्रुवराज ढकाल)

समाप्त

This entry was posted in शोधपत्र and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.