~रेशम वी.सी.~
सपना सजाउने रहरमा
यात्रा जिन्दगीको निरन्तर
साहूको भरिया बनिरह्यो
अल्झियो सपना
साहूकै खेतमा
बल्झियो सपना
तारे र माले नारिएको हलोसँगै
तर पनि थाकेन जिन्दगी
साहूको भारी बोकी
हिँडिरह्यो, हिँडिरह्यो
देख्छु आज सपना
साहूकै आँगनमा
फुलेको छ फलेको छ
चम्चमाउने दरवारमा
विराजमान भएको छ
तर पनि जिन्दगी
डाँडापारीको घामसरि
अस्ताउने तर्खरमा हुँदा पनि
कहिले पारी गाउँ
कहिले भीर पाखासँग
पौठेजोरी खेल्दै
बाच्ने रहरमा
खोला किनारको झुपडीलाई
साक्षी राखेर
एक मुठी अन्न थाप्न जिन्दगी
आज पनि पीडासँग
मितेरी लाउँदै
हिँडिरहेछ, हिँडिरहेछ
(स्रोत : हाँक विक्ली – वर्ष ३१, अंक १ – Nov. 13, 2013 – २०७० कार्तिक २७ गते, बुधबार)