पुस्तक अंश : भूतप्रेत, भगवान र विश्वास

~झमक घिमिरे~

उमेरले अलिकति माथिल्लो खुड्किलो उक्लिए पनि ममा अझै बाल अबोधपन सकिएको थिएन । चेतनाका अंकुरहरू अलिअलि टुसाउन थाले पनि ती पूर्ण वयस्क हुुन अझै धेरै समय लाग्थ्यो । त्यतिबेला हाम्रो घर वरिपरि नजिक पानीको स्रोत थिएन, निकै पर एउटा कुवा थियो । त्यहीँबाट बोकेर आमाहरूले ल्याउँथे पानी । म भने घरमा काम चलाइसकेको फोहोर पानी खेल्थेँ । कहिलेकाहीँ आमाले माया गरेर अलिकति सफा पानी खेल्न दिन्थिन् । पानी पाएर खुशीले सानो चुल्हो बनाउँथे, बाँसका मसिना सिन्का गाडेर फालेका प्लास्टिकको छानो लाएर गोठ पनि बनाउँथे । अलि पर घिस्रिदै बारीका कान्लामा पुगेर कचिया दुईटा खुट्टाले समातेर टुप्पोले खोतलेर ससाना चार कुना भएका खोपाहरू बनाउँथे र मैलो फोहोर पानीले भए पनि माटो मुछेर माटाका भाँडाहरू बनाउँथे र तिनलाई त्यही खोपामा राख्थे, पानी परे भने पनि हतपत भिज्दैन्थे मेरा भाँडाहरू, चुलो पनि साने गोठमा हुन्थ्यो । त्यो पनि भिजेको हुँदैन्थ्यो, सुरक्षित हुन्थ्यो र म भोलीपल्ट पनि आनन्दले खेल्थे । मैले त्यही कचियाको टुप्पाले भुँइ खनेर डन्डी–बियो खेल्ने दुलो बनाउँथे । डन्डीले हानेर गजबले खेल्थे एक्लै डन्डी–बियो । गुच्चा र खोपी पनि खुट्टाले नै हानेर खेल्थे । पाठकहरूको मनमा प्रश्न उब्जियो होला– “के यो सम्भव छ ?” सम्भव छ, तपाइको हात जति क्रियाशील हुन्छ, मेरा खुट्टा पनि त्यति नै क्रियाशील हुन्छन् भन्ने कल्पना गर्नुहोस्– सम्भव छ कि छैन ? मलाई याद छ –“यो केटीले त छोरा मान्छेले खेल्ने खेल खेल्दैछे । यो कलियुगमा के के देख्नु परेको ।” भन्दै हाम्रो घरको बाटो खरको भारी बोकेर उकालो लाग्थे । हो मैले बच्चापनमै गोठ बनाउने, खोपा बनाउने, गुच्चा डन्डी–बियो, खोपी खेल्ने जस्ता खेलहरू केटाहरूले मात्र खेल्नुपर्छ भन्ने मान्यता बोकेकाहरूको मानसिकता विरूद्ध पाइलाहरू चालीसकेकी रहिछु ।

त्यती बेला मैले पुतली बनाउने, चुल्हो बनाउने पनि नखेलेकी होइन तर बालपनमा मान्छेले जती बढी स्वतन्त्रता पायो त्यहाँ त्यो समाजको केटाले यस्तो खेल्नु पर्छ केटीले यस्तो खेल्ने पर्छ भन्ने मान्यताका पर्खालहरू भत्किएर नवीन खालका समानताका मान्यताहरू आफै निर्माण हन जाने रहेछन् । देख्नेहरूमध्ये कोही खरका भारी बिसाएर मैले खेलेको रमिता हेर्थे । कसैले त मुख च्व–च्व गर्दै कठैवबरी घ् साथी कोही नभए पनि खेलिरहँदी रहिछ भन्थे । खर र दाउराका भारी बोकेर उकालो लाग्ने भरिया को हुन् ? अहिले मलाई याद छैन । तर उनिहरूले भारी बिसाएर वा भारीसँगै निकै बेर ठिड्ड उभिएर हेर्ने वस्तु मै थिएँ । निकै बेर उभिएर एक टकले हेरिसकेपछि च्व च्व गर्दै “अघिल्लो जन्मको कर्मको फल” भन्दै लस्करै उकालो लाग्थे । बालमन मस्तिष्कभरि यो अघिल्लो जन्मको फल भनेको के होला भन्ने प्रश्न उठिरहन्थ्यो ।

बाबाले एउटा राजको कथा भनेका थिए । त्यस कथामा राजका तीनवटी रानीमध्ये माइली रानीलाई कुलामा काटेर भोग दिएपछि त्यस देशमा सहकाल लागेको थियो । काटिएकी रानी हरीयो चरो भएर भर्र उडेकी थिइन् । ती पात्राले बालमन मस्तिष्कभरि प्रभाव जमाइन् । अघिल्लो जन्ममा मान्छे थिइन्, पछिल्लो जन्ममा हरियो चरो भएर भुर्र उडिन् ।

हाम्रा कथ्य पौराणिक साहित्यमा यस्ता पात्रपात्राहरूले एकछत्र प्रभाव जमाएका छन्, जसले जन्म जन्मान्तरको जिन्दगी पाउँछन् र कुनै न कुनै रूपमा दीर्घकालसम्म जीवित हुन्छन भन्ने त्यसभित्र एउटा भ्रम छरिएको हुन्छ, यो भ्रम जन्म जन्मान्तरको हो । एक जन्मका पापहरू, कुर्कमका फलहरू अर्को जन्ममा दिन्छन् भगवानले भन्ने मान्छेको परम्परागत विश्वास छ र म पनि त्यही विश्वासको पर्खाल भित्रकी मान्छे, जसलाई भत्काउन एकैचोटि असम्भव थियो । तर मलाई कहिलेकाँही भगवान भन्ने वस्तुसँग साह्रो रिस उठ्थ्यो । किनभने मैले भगवान्लाई आपत्–विपत्मा जति पुकारे पनि त्यो भगवान भन्ने जन्तु कहिल्यै मेरा सामु उपस्थित भएर मलाई “तथास्तु” भनेर आशिर्वाद दिएन । त्यसैले मैले आफैले भगवान मानेर विभिन्न खालका झार पातका फूलहरू र माटोले पुजेका भगवान (ढुड्डा) हरूलाई धेरै पटक फालिदिएकी छु र कान्लाका भित्ता खोपेर बनाएको भगवानको मन्दिरलाई भेरै पटक भत्काइदिएकी छु । भाइबहिनीहरू भएको बेलामा उनीहरूसँगै खेल्थे, उनीहरू नभएको बेला म एक्लै पर्थे । उनीहरू ठूला मान्छे हुन भन्दै स्कुल जान्थे । म त घरमा बस्ने मान्छे, सानै मान्छे भए पनि मलाई पनि स्कुल जान मन लाग्थ्यो । तर म सँग स्कुलसम्म हिँडेर पुग्ने बर्गत खुट्टामा थिएन । म घिस्रिएर अलि परभन्दा कहिल्यै पुगिन अर्थात् स्कुलमा कहिल्यै पुग्न सकिनँ ।

भगवान्ले यस्तै बनाएको थियो । मलाई सबै देख्ने मान्छेहरू यसै भन्थे । त्यो भगवान् भन्ने वस्तु कस्तो होला भन्ने प्रश्न उठिरह्यो मनमा । मैले भगवान्का कथाहरू राम, कुष्ण, शिव, पार्वती, दुर्गा, राक्षसका कथाहरू रावण, हिरण्यकश्यप, कंश शुम्भ, निशुम्भहरूको बारेमा पनि आफूभन्दा ठूला मान्छेको मुखबाट सुनेकी थिएँ । ती कथाका पात्रहरूले मनमा एक खालको भगवान्माथि विश्वास जगाएका थिए । मलाई पनि भगवानको तपस्या गर्न मन लाग्थ्यो किनभने भगवान् मेरो सामु उपस्थिति भएर लोभलाग्दो वरदान दिउन् भन्ने लाग्थ्यो । हो म प्रलादजस्तै भगवान्को भक्त बन्न चाहन्थेँ या त बालक धुव्रजस्तै भगवान्को प्रिय । त्यसैले म एक्लै घर कुरूवा बसेको ढुड्डा मिलाइमिलाई फुटाएर तीन चोसे भएपछि दूवाको लामो लहरो एउटा चोसेमा माला बनाइदिन्थेँ, अँगारले कोरेर ठया्क्कै मान्छेको आकृति दिएर कान्लाके भित्तामा सिन्काले या कचियाले खोपो बनाएर त्यहाँ राखेपछि मेरो शाश्वत मन्दिर र शाश्वत भगवान् त्यही हुन्थ्यो ।

त्यही मन्दिर र भगवान्लाई माटो झारपातका फूलहरूले पूजा गरेर ढोगेर रून्थेँ, भगवान् मलाई पनि अरू जस्तै बनाइदेऊ न भन्दै हरेक दिन बिलाप गर्थे । तर त्यो मैले अगाध विश्वास गरेको निर्जिव भगवानले न त मेरो बिलौना सुन्यो न त शाश्वत भगवान सामु उपस्थित भयो । अनि म भक्त धु्रवजस्तो कहिल्यै बन्न सकिन न त प्रल्हादजस्तो बन्न सके । सायद मैले उनीहले जस्तो ढुंगाको मूर्तिलाई भक्तिभाव, विश्वास, आस्था राख्नु बालअबोधपन नै थियो । उनीहरूले जस्तो एकोहोरो विश्वास राखे पनि त्यो साक्षत् भगवान प्रकट भएर कहिल्यै मनावाञ्छित फल दिएन । अहिले बुझ्दा पो के देओस् फल । त्यसको अस्तित्व भएपो देओस् त फल । तर पनि ती मान्छेले भगवान भनेका पात्रपात्राहरूले कोमल बाल मनमस्तिष्कमा गहिरो छाप छोडिदिए जसले पछिसम्म विचार र जीवनपद्धतिमा असर पा¥यो । रावण, हिरण्यकशिपु, शुम्भ, निशुम्भजस्ता पात्रहरूले मानसपटलभरी एक खालको सन्त्रास भरिदिएका थिए । साँच्चै म त्यतिबेला घरभित्र पस्न डराउँथे, उहिलेको घर दुम्सीको दुलोजस्तो अँध्यारो हुन्थ्यो । हाम्रो घर पनि कहाँ ठूलो थियो र । खरको छानो, ढुंगा माटाले बनेको, भुइँमा परेको, अगाडितिर एउटा ढोका राखिएको र सानो दलान तल्लोपट्टी एउट जस्केलो थियो । टाँडमा एउटा झ्याल भएको घर थियो ।

आमाले कहिलकांही पानी परेको बेला हामी केटाकेटीहरूलाई टाँडमा लगेर राख्थिन । हाम्रो घरको टाँड ठ्याक्कै दुम्सीको दुलोभन्दा फरक थिएन । केटाकेटीको जात त हो त्यो अँध्योरो टाँडमा बस्न के मान्थ्यो र ? टाँडमुनि पनि गतिलो उज्यालो भएको घर थिएन । मैले बाहिरबाट हेर्दा भूत निस्कियो भने घ् मेरीबास्सै के गर्नु ? मनमा यस्तै सन्त्रास भरिएको हुन्थ्यो । त्यसैले पानीपानी भएर घरभित्र पसिहाले पनि डरले आत्तिएर बाहिर निस्किन्थे र दैलो लाइहाल्थें । हाम्रा संस्कार र संस्कृतिमा कति नराम्रा कुराहरू छन् भने मरेका मान्छेहरू सजिव बनेर आउँछन् अनि उनीहरूका कुममा आँखा हुन्छन्, पेटमा दाह्रा हुन्छन्, पिठ्यूँ खोक्रो हुन्छ, टाउको हुँदैन र खुट्टा पछाडिपट्टी फर्केको रूपमा आउँछन् । मलाई आफूभन्दा ठूलाहरूले यस्तै खालका सन्त्रासजन्य कुरा सिकाइदिएका थिए । एक्लै हुँदा लाग्थ्यो कतै हजुरआमा त्यस्तै भूत बनेर आउँदिनन् ? यही त्रासले मनमा सताइरहन्थ्यो । कहिलेकहीं त म घर पर पुगेर खेल्थे । यसो गर्दा मैले घरबाट निस्किने भूतको त सामना गर्नु पर्दैनथ्यो । म राक्षस र भूतमा केही फरक पाउँदिनथें । दुवैले मलाई भेटे एकै गासमा निल्थे । जीवनको माया केटाकेटीलाई पनि हुँदोरहेछ । नभए म घरभन्दा पर पुगेर खेल्ने थिइन होला, आमाका थोत्रा फाटेका पछ्यौराले ढाकेर खाटमुनि लुक्ने थिइन होला, राक्षसले खाने डरले धेरै पटक खाटमुनि छिरेर बसेकी छु । ती आपतका क्षणहरूमा मैले भगवानलाई धेरै पटक मनमनै पुकारेर रोएकी छु ।

साँच्चै बाल्यकालको त्यो एक्लोपनालाई साथ दिने सुन्यताभन्दा अर्को चीज थियो भने आफैले स्थापना गरेको ढुंगाको भगवान । म मैले बनाएर ढुंगाका भगवानहरूले कुनै प्रतिक्रिया नदिएपछि आक्रोशित हुन्थें, क्रोधित हुन्थें । यो भगवानले मलाई बालक धु्रवलाई जस्तो, प्रह्लादलाई जस्तो माया किन गर्दैन ? यो भगवान पनि मान्छेमान्छेमा किन भेद गर्छ ? यस्ता प्रश्नहरू गरिरह्यो मेरो मनले भगवानसँग । एक किसिमको अविश्वास पोखिरह्यो । मैले भगवानलाई पटकपटक फालिदिंदा पनि मलाई केही नगरेकाले मेरो मनमा भएको भगवानप्रतिको आस्था, विश्वास पनि बिस्तारै अनास्था, अविश्वासमा परिणत हुँदै गएको हो । त्यतिबेला मेरो स्वभाव अनौठो खालको थियो । त्यो भगवान बनाएको ढुंगा एकछिन रिसले फाले पनि फेरि नानी बनाउन टिपेर ल्याएर थाङ्नाहरूमा बेरेर त्यसलाई ओछ्यान बनाएर सुताउँथे । यस्ता नानीहरू बोतलका वा ढुंगाका बनाउँथे, थोत्रा थाङ्नाका पनि टाउके नानीहरू बनाउँथे ।

ती नानीहरू मान्छेजस्तै खाना खाऊन् भन्ने म चाहन्थे तर त्यो निर्जिव वस्तुमा मान्छेमा जस्तो क्रियाप्रतिक्रिया हुँदैन । मैले त्यो चाहना गर्नुपनि स्वाभाविकै हो । किनभने केटाकेटीको मनोविज्ञान प्रत्येक चीज आफूजस्तै होउन् भन्ने चाहना हुन्छ । मैले बनाएका नानीहरूले मलाई आमा भनेर बोलाइदिऊनभन्ने चाहना गर्थे । म मान्छेकै जस्तो दिसा, पिसाब ओछ्यानमा गरून् भन्ने चाहना गर्थे किनभने मान्छेका बच्चाहरूले यसो गरेको देखेकी थिएँ । तर मेरा नानीहरूले कहिल्यै यसो गरेनन् । विकसित देशमा जन्मिएकी भए मसँग रूने, हाँस्ने यान्त्रिक गुडियाहरू खेलाउन पाउँथे होला । म अल्पविकसित देशमा जन्मिएकी थिएँ, त्यसमाथि मसँग जोडिएको शारीरिक दुर्बलतालाई मान्छेले हरेक क्रियाकपाललाई त्यससँग जोडेर हेर्थे र पनि मैले उनीहरूको सोच, चिन्तनलाई बेवास्ता गर्दै खेलें निर्धक्क सिसाका बोतल, ढुंगा र थाङ्नाका टाउके नानीहरू । मैले खेलेको देख्दा यो यो लाटीको खेल यस्तै हुन्छ,हेर, नानी सुताएकी भन्थे मान्छेहरू । त्यही ठाउँमा अरू बच्चाहरूले खेल्दा सामान्य मानिन्थ्यो तर मप्रति त्यो दृष्टिकोण राखिएन । जसले जुन खालको सोच चिन्तन राखे पनि त्यो समय मेरा बालापन साँच्चै सुन्दर थियो, जसलाई मैले भोगें ।

(स्रोत : “जीवन काँडा कि फूल” बाट)

This entry was posted in पुस्तक अंश and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.