~गिरबहादुर महतारा~
सिङ्गो देश बनाउँदै अघि बढे ती धीर पुर्खाहरू
पानी मात्र पनि पिएर लडेथे ती बीर पुर्खाहरू
छातीमा ममता किन हो देशको आज हराउँदै गयो
बिर्सदै गयो मानीस आफुलाई अत्यन्त स्वार्थी भयो
जंगल फाँट हिमाल पहाड रहेको हाम्रो देश यो
जाती भाषा संस्कृति अनेकौं भएको हाम्रो देश यो
¥यालै काढ्छन् विदेशीहरू पनि त यो देश देखीकन
थाक्दैनन् साहित्यकार पनि त यसको महिमा लेखीकन
जाती, धर्म विच थिएन भेद्भाव वात्सल्य अति नै थियो
यस्तो सदभाव विथोल्न हामीमा जाल कस्ले फ्याँकी दियो
हामी बर्वाद हुँदैछौं विदेशी संघीय जालोमा परी
जातिय राज्य हुनेछ मुटुमाझ विझेको काँडा सरी
वाचा विर्सिकन नेताजीहरू पनि विदेशकै पछि परे
राखेनन् रतिभर नी बाँकी केही गर्नै नहुने गरे
पार्नै पर्ने टुक्रा नपारी नहुने यो देश त निल्ने भए
टेक्ने छौं कहाँ ? ए बुज्रुकहरू हो आधारै गुम्न गए
जाती जाती लडाइकन यहाँ नेपाल बिगार्नै लाग्यौ
घातै घात ग¥यौ संविधान पनि जन्म नदिई मा¥यौ
खायौ खोक्रो बनायौ ऋणमा डुवायौ देश पनि
लाजै छैन बोल्दैछौ निच हो पानी विच ओभानो वनी
आशा हरायो विवाद चुलीयो विश्वास नी गुम्दै गयो
खन्ड खन्ड हुन्छ की देश भन्ने चिन्ता असाध्यै भयो
धर्ती यो फुटाई होइन् जुटेर बन्दछ स्वर्गसरी
राष्ट्र अखन्ड बनाउन नेपाली लागौं है सधैभरी
–प्यूठान
(स्रोत : हाँक विक्ली – वर्ष २९, अंक ३९ – Aug. 15, 2012 – २०६९ श्रावण ३१ गते, बुधबार)