कविता : डम्बरी

~जयन्ता पोखरेल~

चर्चाको चौतारीमा
खुम्चितरहन्छे
लाजवन्ती झै डम्बरी
शर्मका कुनाकुनी खोतल्ने
ऊ नै हुनुपर्छ

रात जोतेर एकाविहानै
खबरको आगो जोर्ने
रंगको सेतो सर्जरीमा
कालो मसी चोबेर
आँखामा छारो भर्ने
ऊ नै हुनुपर्छ

चासोले काउकुती लाउने
अरू को होला र डम्बरीलाई ?
दुश्मन विरूद्ध
अग्लो थुम्को बनाएर
फेरि खसाउने
कलमको धारले
हित रेटी सिध्याउँने
उ नै हुनुपर्छ

कुराको दाहीमा
मियो बनाएर डम्बरीलाई
खलबल गरिरहन्छन् सवालहरू
अखवारलाई
खबरको चटनी पिँध्ने
ऊ नै हुनुपर्छ

नितम्बको तस्कर हुनु अघि
कुन ओछ्यानमा
निदाउँदै थिए अधिकारवादी ?
डम्बरीको संवेदना पिएर
जागिर हुर्काउने
ऊ नै हुुनुपर्छ

विश्वासको बन्धकीमा
प्रश्नको उदांगो चलचित्र बन्नुबाहेक
अरू के नै पो हुन सकी डम्बरी ?
कलिहे नछिनिने
मुद्दाको तारिख भिडाउने
ऊ नै हुनुपर्छ

कलिहे पाउँली डम्बरीले
सम्मानको एक थुंगा फूल?
कागजको कथामा
न्याउलीझै एक्लै
सारंगी सुक्क सुक्क रून्छ
रंगमञ्चमा
डम्बरी रूवाउने खलनायक
ऊ नै हुनुपर्छ
चुपचाप
किन बस्छन् साक्षीहरू ?
सुरक्षाको आँखा मुनि
डम्बरीको आङछुने
लेखकहरूको गस्तीमा
विषको प्याला दिने
ऊ नै हुनुपर्छ

सतीको सरापबाट
कहिले फुत्किएला देश ?
रात ओर्लिएर जुनले
डम्बरी भेट्न पर्छ ।

(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक ३२ – June 26, 2013 – २०७० आषाढ १२ गते, बुधबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.