कविता : जुटौं सारा

~दुर्गा शर्मा~

मेचिकाली तराई हिमाल चौकिल्ला हाम्रो देश
फरक जाति, भाषा धर्म फरक नै छ भेष ।

सामाजिक सद्भावमा नै जोडिएको नाता
कोही बस्छौं हिमाल पहाड कोही तराई फाँट ।

जहाँ हामी बसे पनि भए भए जुनै जाति
एउटै वर्ग हम्रो यहाँ सबै हौं नेपाली ।

अन्तरजातीय विवाह र छ्यास्मिस् बसोबास
रूपान्तरण गरौं समाज सबै एकैनाश ।

पिछडिएको समुदायलाई दिउँ अवसर
जातीय सीमा छुट्टाएर हुन्न बराबर ।

केन्द्रीकृत शासनलाई विकेन्द्रीकृत गरौं
टुक्रिन्छ देश संघीयताले यस्को भर नपरौं ।

आफ्नै देशको यथार्थमा निर्णय गर्ने गरौं
इसारामा विदेशीको भर पर्ने नगरौं ।

कोही चाहन्छन नेपालमा जातीय युद्ध भाको
कोही चाहन्छन् सिंगो तराई टुक्रिएर गाको ।

त्यसैले त भारू अनि डलर भित्रीराको
रिजाउन विदेशीलाई संघीयता ल्याको ।

लगाएर जनताको भावनामा चोट
उखेल्दैछन् समाजमा एकताको बोट ।

चिन्नुपर्छ जनताले यिनको सबै खोट
यातिदिउँ शासकको विदेशी यो कोट ।

जुटौं सारा मेचिकाली एकताको मसाल बाली
निश्तेज पार्न देश टुक्राउने सबको चालबाजी ।

(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक ३७ – Aug. 7, 2013 – २०७० साउन २३ गते, बुधबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.