~डी.वी. संघार~
नसम्झनु यो, चिठ्ठी मात्र हो भनेर
आफ्नै मन पटाएर खाममा पठाएको छु
पाखा पखेरामा गला खोले झैं खोल्नु
र विरहका भाका सुसेल्नु
मन अमिल्लिएपछि
दही घोप्टाएर ठेकी सफा गर्ने झैं
शरीर बिछ्यौनमा घोप्टाएर
हृदय सफा कहाँ हुँदो रहेछन् र ?
पुस–माघमा रातभरको सहनै नसक्ने चिसोले
जुनसँगै म पनि हृदय पखाल्न रुँदा
आँसुका छिटा परेको यो चिठी
नाड्ड्गो जिउमा सिस्नु बनेर
च्वास्स हृदयमा पोल्ला ¤
सान्त्वनाको, पाती दल्ने प्रयास गर्नु
हलेदो हो चिनेर फेरि अतितले, मन नकोट्याउनु
नमिठो दुखाइले सताउला बेसरी
गैरी खेतमा धान भुले झैं
आमाले झुला भुलाउँदा
डोरी चुडिएर पछारिंदाको
हतास पन मेटाउने आमाको कोमल आवाज
सयौं गुना फरक कडा र निर्मम बन्दै
विदेशी झ्याउँकिरीको आवाज मिसिएको
यो चिठ्ठी,
सुटुक्क छातीमा नच्यापनु
विक्षिप्त यो तन पग्लिए झैं
पसिनाले पग्लेला
प्रमाण पत्रहरुको गुलेलीमा आफू
मट्याड्ड्ग्रा भएर हुत्तिंदै प्रदेशमा पुग्दाको झट्का
बिजुलीको भन्दा कम कहाँ छ र ?
बिरानो पाते विच्छीले झुक्काएर स्वभिमानलाई छुँदा
दाग लागेर टट्टाइरहेको यो मनमा
तातो हावा, तातै पानीमा, मन पाकेपछि
पसिना बनेर बगेको यो शरीर
धेरै धन कमाउने सपना
तिम्रै रुपमालमा पोको परी
सित्तैका दुई चार थोपा आँसु बटुल्न नसकी
अलकत्र पग्लिएको सडकमा
भोको पेट लिएर
आफू पौडी खेल्दाको अनुभव मिसिएको
यो चिठ्ठी मात्र नसम्झनु
यो त विदेशिन बाध्य
नेपालीको जीवन हो
ती कर्मठ युवाको जीन्दगी हो
– बुटवल, रुपन्देही
(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक ३८ – Aug. 14, 2013 – २०७० श्रावण २९ गते, बुधबार)