~लक्ष्मण बेल्बासे~
मरे भनी श्राद्ध गरिएकाहरू
स्वर्गवासी ठानी पिण्डदान गरिएकाहरू
तिनी कहिल्यै नमर्दा रहेछन्
चिहानघारीबाटै जुरुक्क जुरुक्क उठ्दा रहेछन्
सहादत प्राप्त गर्नेहरू
सङ्गीनले सिरमै रोपे पनि
निधारमै गोली ठोके पनि
व्यक्ति मर्दो रहेछ
व्यक्तित्व कहिल्यै नमर्दो रहेछ
सहादत प्राप्त गर्नेहरू
गङ्गालाल पनि मारिएकै हुन्
दशरथ चन्द पनि
त्यहीँबाटै मारिएका हुन्
कृष्ण सेनदेखि अनिसकसम्म
सबै मारिएकै हुन् सकेसम्म
तर सहिद गेटमा लामबद्ध छन्
आफै मर्नेहरू पनि
तर कहिले नमर्दा रहेछन्
वीरगति प्राप्त गर्नेहरू
चिल्लो जरी कपाल जति कोरे पनि
सेता–काला जुङ्गा जति माडे पनि
दिनदिनै मर्दा रहेछन्
नमरी पिण्ड खानेहरू
मुक्तिका सपना देखाएर
आफै मुक्तिनाथ भएकाहरू
कमजोर मनमा भय थोपरेर
आफै भगवान भएकाहरू
तिनकै जिउँदै श्राद्ध गरी दिँदा रहेछन्
कहिल्यै नडर्ने निर्भयहरू
बन्दुकको निशाना छलेर
चरी गुँडमा पुगे सरी
कमिला जस्तै कर्म गरी
लक्ष्य भेदन गर्दा रहेछन्
सच्चा मुक्तिकामी क्रान्तिकारीहरू
ती कहिल्यै नमर्दा रहेछन्
क्रान्तिकारीहरू ।
(स्रोत : हाँक विक्ली – वर्ष ३३, अंक २३ – May 4, 2016 – २०७३ बैशाख २२, बुधबार )