बाल एकाङ्की : अपाङ्ग मैत्री स्कूल

~एकु घिमिरे~

( एउटा कक्षामा केही विद्यार्थीहरु बसिरहेका देखिन्छन् । उनीहरु एक आपसमा गफ गरिरहेका हुन्छन् । )

मीरा : आज एन्जिला आउँदिन कि क्या हो ?

समीक्षा: को एन्जिला हौ ? हाम्रो कक्षामा एन्जिला भन्ने को छ र ?

मीरा : ल तिमीलाई त्यति पनि थाहा छैन ? हिजो हामी टिफिन खाँदैगर्दा एकजना बुडासँग आउने केटी आजदेखि हाम्रै कक्षामा आउने रहिछिन् नि त । म सँग पिन्सिपल सरले हिजै परिचय गराइदिनुभयो नि ।

समिक्षा : ए , त्यो लङ्गडी त पढ्न पो आएकी रे ? म त माग्ने पो होला भन्थेँ । त्यसलाई किन एन्जिला भनिरहनु पर्‍यो त ?लङ्गडी नै भने भइगयो नि ।

मीरा : त्यस्तो भन्नु हुँदैन नि, उस्को चित्त दुख्तैन ?

पूजा : बा त्यो लङ्गडीको खुट्टा नभए जस्तै चित्त पनि छैन कि, चित्त नै रहेनछ भने के दुख्छ मीरा ?

(सवैजना हाँस्छन् । केटाहरुले ‘त्यै त के दुख्छ?’ भन्दै सही थाप्छन् ।)

मीरा : तिमीहरु कस्तो कुरा गर्छौ ? बिचरा एउटा खुट्टा नभएर उसलाई कति दु:ख लागेको होला अनि हामी साथीहरूले उसलाई होच्याएर थप अन्याय गर्नु हुन्छ ? हामीले त उसलाई हौसला पो दिनुपर्छ त ।

अशोक : लु त्यो हौसला चाहिँ तिमी नै दिनु मीरा । म त खुट्टा नभएकीलाई लङ्गडी नै भन्छु । कृष्ण भगवान्लाई त काले भन्दा रिसाउँदैनथे, हामी लङ्गडी रिसाउँछे भनेर किन डराउने ?

प्रतीक :त्यै त । रिसाए के नाप्छे त्यो लङ्गडीले ? भाग्दै जिस्काउँदै गर्नुपर्छ । भेट्ने डर पनि हुँदैन । मजा आउँछ ।

बिशाल : हैट π त्यसरी अर्कालाई जिस्काएर पनि मजा लिन पाइन्छ ? मानव अधिकारको हनन हुँदैन ?

अशोक : फेरि अर्को निस्कियो मानव अधिकारवादी नेता π त्यसोभए तँ मजा नलिनु नि त । हामी रमाइलो गर्छौँ । मीरा र विशाल जे सुुकै गर, हैन साथी हो ?

(सबैजना हो भनेर कराउँछन् । यत्तिकैमा बैसाखी टेक्दै एन्जिला आउँछिन् । )

एन्जिला : गुड मर्निङ साथीहरु ।

(मीरा र बिशाल बाहेक सबैजना उठेर ‘ गुड मर्निङ लङ्गडी’ भन्छन् । मीरा र बिशाल उनीहरुको मुख थुन्न खोज्छन् तर सवैले उनीहरुलाई ठेल्छन् । एन्जिला भित्तामा अडेस लागेर रुन थाल्छे ।)

मीरा : (एन्जिलाको आँशु पुछिदिँदै, अरुपट्टि फर्किएर ) तिमीहरु बाँदर हौ कि कक्षा नौ मा पढ्ने बिद्यार्थी ?आफ्नो कक्षामा आएकी नयाँ साथीलाई स्वागत गर्ने तरिका यही हो ?

अशोक : हामी बाँदर नै हौँ भयो ? तँ पनि त बाँदरको साथी बाँदर नै त होस् ।

विशाल : म यो कक्षाको तर्फवाट माफी माग्छु एन्जिला, आऊ बेन्चमा बस । परिचय पनि गरौँ, म चाहिँ बिशाल न्यौपाने ।

अशोक : अँ, यो हाम्रो कक्षाको गार्जियन हो नि त, त्यै भ‘र माफी माग्छ । हामीले जे गरेपनि हुन्छ, गार्जियन छँदैछ ।

बिशाल : के भनिस् ? (अशोक तिर रिसाउँदै जान्छ । ) आज म तिमीहरूसँग नभिडी छोड्दिन । ( काता देखाउँदै) यस्तै परेको बेला हो मैले सिकेको कराँतेको प्रयोग गर्ने । ( भ्वाक –भ्वाक हानेर प्रतीक र अशोकलाई लडाइदिन्छ । पूजा र समीक्षाको पनि कपालमा समातेर एन्जिलाको छेउमा ल्यायो )

बिशाल : (रिसाएर चर्किदै )माफी माग् नत्र……….

(तुरुन्तै पूजा र समीक्षाले एन्जिलाको अघि हात जोड्छन् र माफी माग्छन् ।)

बिशाल : कहाँ त्यसरी माफी मागेर हुन्छ, घुँडा टेकेर माफी माग् नत्र मेरो कराँतेको ब्ल्याक बेल्टको प्रयोग गर्नु नपरोस् नि ।

(समीक्षा र पूजा बिशालले भनेजस्तै घुँडा टेकेर एन्जिलाको अघि माफी माग्छन् । एन्जिला आफ्नो ब्यागबाट केही निकाल्न खोज्छिन् । मीराले सहयोग गर्छिन् । एकैछिनमा एन्जिलाले एउटा चर्चित बालपत्रिका निकालेर हातमा लिन्छिन् ।)

(केटाहरु अररो परेर उठ्छन् , बिशाल तिनीहरूतर्फ काता देखाउँदै जान्छ ।)

बिशाल : अझै थप्नै छ यी मूर्खहरूलाई ।

प्रतिक : अब नथप् बिशाल पुग्यो, तँ जे भन्छस् त्यही गर्छु ।

अशोक : माफी पाउँ विशाल, अब यस्तो गर्दिन ।

(बिशाल दुबैलाई घिसार्देै एन्जिलाकै अघि पुर्‍याउँछ ।)

बिशाल : माफी म सँग हैन क्या, एन्जिला सँग माग्ने । ल तिमीहरु पनि घुँडा यहाँ टेक ।

एन्जिला : (आँशु पुछ्दै) यो वाल पत्रिकामा मेरो गीत छापिएको छ । यो गीत सुनाएर म तिमीहरूलाई माफी दिन्छु । गीतको वोल छ : दशा लागि……….

दशा लागी सद्धे पनि हुन्छन् अपाङ्ग
हेला होचो हुँदामात्र रुन्छन् अपाङ्ग ।

झमकको चमक हेर फैल्यो कहाँसम्म ?
स्टेफेन हकिनको छ आविष्कार अचम्म
हेलेन केलर, जोहन नास, कृष्टि ब्राउन पनि
अपाङ्ग हुन् तर पनि प्रतिभाका धनी ।
दशा……………………………………….

मान्छे हुन मान्छेलाई मान्छे ठान्नुपर्छ
सवै मानव समान हुन् भन्ने जान्नुपर्छ
सकेसम्म सवैलाई सहयोग गरी हाँसौँ
सवैलाई समान ठानी स्वच्छ जीवन बाँचौँ ।
दशा………………………………………….।

(बिशाल र मीराले तालि बजाए । अरूले घोप्टे मुन्टो लगाएर घुँडा टेकिरहे ।)

एन्जिला : रचना सुनाउने बाताबरण मिलाइदिएकामा मीरा र बिशाललाई धन्यवाद । (घुँडा टेकिरहेका साथीहरूतिर हेर्दै ) ल अब तिमीहरुलाई जे भनेर माफी माग्नुछ माग । मैले गीत मार्फत मेरा कुरा राखिसकेँ ।

असोक :(उठेर हात जोड्दै) मैले तिमी र तिमीजस्ता थुप्रै शारीरिक अपाङ्ता भएकालाई आजसम्म धेरै अन्याय गरेँछु । आज मेरो आँखा खुल्यो । मलाई अज्ञानी ठानी माफी गरिदेऊ एन्जिला ।

समीक्षा : शारीरिक अपाङ्ता भएकालाई घृणा गर्ने हामी मानसिक अपाङ्ग रहेछौँ, मैले गरेको गल्तिले म लज्जित छु । मलाई माफ गरिदेऊ एन्जिला ।(हात जोड्दै उठेर निहुरिन्छे )

पूजा : मान्छे त मनले र ब्यवहारले पो ठूलो हुने रहेछ । आजसम्म मैले अपाङ्ता भएका पनि मानिस हुन् र उनीहरूलाई हामीले हेपेर ब्यवहार गर्नु हुँदैन भन्ने बुझेकै थिएन । सरी एन्जिला , अवदेखि म यस्तो गल्ति गर्दिन ।(उठेर हात जोड्छे )

प्रतीक : म त आज दिभरी घुँडा टेकिरहन चाहन्छु । म कति असभ्य रहेँछु भन्ने बल्ल आज बुभेँm । मैले गरेको गल्तिका लागि माफी देऊ एन्जिला, म यस्को सजाय दिनभर घुँडा टेकेर लिन चाहन्छु । (घुँडा टेकिरहन्छ ।)

एन्जिला : (प्रतीको छेउमा गएर उठाउँदै) पर्दैन उठ । (सवैलाई इसारा गर्दै ) तिमीहरु सवैलाई माफी भयो । जाऊ आ–आफ्नो बेन्चमा बस ।

समीक्षा : कहाँ हामी पहिला बस्छौँ त ? बरु तिमी पहिला बस ।(एन्जिलालाई समाउन खोज्दै बेन्चतिर जान इसारा गर्छिन् ।)

पूजा :(एन्जिलातर्फ फर्किएर ) एन्जिला त हामीसँग रिसाएकी होला, मीरा सँग बस ल । उस्ले तिम्रो चित्त पनि दुखाएकी छैन ।

एन्जिला : कहाँ रिसाउनु , सवैसँग खुशी छु अव । मैले माफी नै गरिसकेँ नि अघि । म त तिमीसँगै बस्छु नि । अझ धेरै कुरा सुनाउनु छ तिमीलाई ।

पूजा : (तालि बजाउँछे ।) हुन्छ । ल हिँड । (एन्जिलाई समाएर बेन्चतिर लैजान्छे ।)

(दुवैजना बेन्चको नजिक पुग्छन् । अरु उनीहरू तिर नै हेरिरहन्छन् । एक एक गर्दै उनीहरू बसेपछि अरु पनि आ–आफ्नो बेन्चमा गएर बस्छन् तर मीरा एन्जिलाको छेउमा जान्छिन् ।)

मीरा : (एन्जिला तर्फ फर्किएर )एन्जिला तिमीलाई एउटा कुरा सोधौँ है , तिमीले एउटा खुट्टो कसरी गुमायौ ? मिल्छ भने भन न ।

एन्जिला : तिमीहरुले आज पहिलो दिन यो कुरा सोद्छौ भन्ने लागेर मैले यो अर्को पत्रिका ल्याएकी छु । यहाँको माथिल्ला तीन अनुच्छेद पढ त मीरा तिम्रो प्रश्नको उत्तर पाइहाल्छौ । (एउटा पत्रिका ब्यागवाट निकालेर मीरालाई दिन्छे ।)

समीक्षा : ( मीराको हातबाट पत्रिका खोस्दै ) खै लेऊ म पढेर सबैलाई सुनाइदिन्छु । (पत्रिका पढ्न थाल्छे , सबैजना उत्साहित भएर सुनिरहन्छन् ।)

मेरो अपाङ्ताको कारण
–एन्जिला श्रेष्ठ

मेरो एउटा खुट्टो छैन । कक्षा तीनमा पढ्दाको कुरो हो । कक्षाको सतह नमिलेको ओवडखावड थियो । म दोस्रो बेन्चमा बस्थेँ । पहिलो घण्टीमा सर पस्ने बित्तिकै हामी सवै उठ्यौँ । अगाडिका साथीहरुको पिडुलामा ठोकिएर बस्ने बेन्च लडेर मेरो गोलिगाँठामा लाग्यो । म दुखेर बेहोश नै भएँछु । पछि ब्युँझदा म स्कूलको अफिसमा थिएँ । खुट्टो सुन्निएर भालुवाँस जत्रै भएछ । ‘कक्षामा बेन्च लड्ने जानेपछि याद गर्नुपथ्र्यो ’ भन्दै हेडसरले धेरै सम्झउनुभयो । मलाई पनि आफूले गल्ति गरेँछु भन्ने लाग्यो । पालेदाइले बोकेर घर पुर्‍याइदिनुभयो । घरमा आमाले मट्टीलेल लगाएर खुट्टो मालिस गर्दै सेकिदिनुभयो । सुन्निएको जाति भएपनि मेरो खुट्टो दुख्न छोडेन । धेरै धामी र झाँक्री लगाए पनि खुट्टो निको भएन । ज्योतिषीले बताए अनुसार ग्रहजप पनि गरियो तर खुट्टो फेरि सुन्नियो अनि घुँडा नजिकबाट पीप वग्न थाल्यो । तवमात्र मलाई अस्पताल लगियो । अस्पतालमा डाक्टरले वुवालाई गालि गरेको अनि आमा मलाई सुमसुम्याउँदै रोएको आजसम्म झलझली याद आउँछ । त्यसपछि मलाई अस्पतालको हरियो लुगा लगाइदिएर हरियै तन्ना भएको ओछ्यानमा सुताएको सम्म याद छ । त्यसपछि थाहा पाउँदा मेरो खुट्टो थिएन । उपचार गर्न ढिलो गरेर यस्तो भएको भन्दै घर आएपछि मलाई हेर्न आउँदा हेडसरले बुवाको सातो लिनुभयो । मलाई पनि गालि गनुहुन्छ कि भन्ने डर थियो तर केही नभनी जानुभयो । मेरो त्यो वर्षको आधा पढाई छुट्यो ।

म बैशाखी टेक्दै छ महिनापछि स्कूल पुगेँ । सबैले मलाई हेरेर खस्याकखुसुक गरे । कक्षाको भुइँमा हेडसरले सिमेन्ट लगाइदिनुभएछ । अव बेन्च नलड्ने भएछ तर म चाहिँ खुट्टो नभएर लडिरहने भइसकेकी थिएँ । हेडसर आएर मलाई छुट्टै कुर्सीमा एक्लै बस्न निर्देशन दिनुभयो । पाले दाइले ल्याइदिइको कुर्सीमा म एक्लै बसेपछि साथीहरू तालि बजाएर कराए

‘एक्ले ढेडु – वनढेडु ।’

‘एक्ले ढेडु – वनढेडु ।’

म दु:ख लागेर रोएँ अनि पहिलाकै साथीहरूसँग बस्न गएँ । तर उनीहरूले मलाई बस्न दिएनन् । फोहर छुन घिन मानेजस्तै म सँग तर्किए । म दिनभरी रोएर बसेँ । मीसले त्यसै रोएर अलच्छिन लगाएको भनेर हकार्नुभयो । टिफिनपछि सवैलाई लिएर टुँडिखेलमा मन्त्रिको भाषण सुन्न जाने कार्यक्रम रहेछ । मलाई हेडसरले सोझै घर जानु । अपाङ्ले भीडभाडमा जानुहँदैन भन्नुभयो । साथीहरू रमाउँदै कार्यक्रम स्थलतर्फ कुदे । म रुँदै घर फर्किएँ । खुट्टो गुमेपछि मैले आफ्ना मिल्ने साथी पनि कसरी गुमाएँ भन्ने आजसम्म बुझेकी छैन ।

एन्जिला : लु भयो अव । (सबैतिर हेर्दे ) सबैले बुΣयौ त ?

(केहीले वुΣयौ भन्छन् ।)

प्रतीक : हेर स्कूलको भुँइ पहिला नै सम्म बनाइदिएको भए यस्तो नहुने रहेछ नि । बेन्च नलड्ने गरी जोडिदिएका भए पनि हुने ।

मीरा : (प्रतीकको कुरामा सही थाप्दै ) हो त नि । ए साँच्ची यो ‘ अपाङ्ग मैत्री स्कूल’ शीर्षक लेख पनि तिमीले नै लेखेर छपाएकी रहिछौ हैन ?(मीरा आफ्नो ब्यागबाट झिकेर अर्को पत्रिका एन्जिलालाई देखाउँछे ।)

एन्जिला : हो त ।

मीरा : हिजो तिमीसँग चिनजान भएपछि मेरो घरमा भएको यो पत्रिका लिएर आएकी तिमीहरू सवैले बुझिराख, एन्जिला राम्रो साहित्यकार पनि हो । उनका थुप्रै रचना पत्रिकामा छापिएका छन् । अस्ति भखरै उनले एउटा ठूलो पुरस्कार पनि पाएकी थिइन्, हैन एन्जिला ?

एन्जिला : पुरस्कार पाएको चाहिँ हो तर राम्रो साहित्यकार चाहिँ हैन है ।

मीरा : ल सुन यो लेखमा के रहेछ । (लेख पढ्छे । )

अपाङ्ग मैत्री स्कूल
–एन्जिला श्रेष्ठ

बिद्यालय सबै बालबालिकाको साझा ठाउँ हो । नेपालको संविधान २०७२ को भाग–३, धारा–३१ को उपधारा–३ बमोजिम अपाङ्ता भएका बिद्यार्थीलाई राज्यले नि:शुल्क शिक्षा दिने ब्यवस्था गरेको छ तर अपाङ्ग मैत्री स्कूलहरुको स्थापनामा भने राज्यले चासो देखाएको पाईँदैन । फलस्वरुप वर्षेनी थुप्रै अपाङ्गता भएका कलिला मनहरु बिद्यालयमा गएर पढ्नबाट बन्चित भइरहेका छन् । ‘त्यत्रो आर्थिक सहयोग गरिदिँदा पनि फलानोले पढेन, अपाङ्गहरूको पढ्ने मन नै हुँदैन ’ जस्ता कथन यत्रतत्र सुनिन्छन् तर कुनैपनि अपाङ्ता भएको वालकले किन स्कूल छोड्यो भन्ने कुरा पत्ता लगाउन कुनैपनि सरोकारवाला निकाय अघि सरेको देखिँदैन । अत: यस लेखमा अपाङ्ग मैत्री बिद्यालय नहुँदा विद्यार्थीलाई पर्ने समस्या र निराकरणका लागि अपाङ्ग मैत्री स्कूलको संरचनाबारे चर्चा गर्ने प्रयास गरिन्छ ।

अपाङ्ता भएका बिद्यार्थीका लागि बिद्यालयको गेटवाट नै समस्या शुरु हुन्छ । जस्तै म जस्ता बैशाखी टेक्ने अथवा खुट्टामा समस्या हुनेले पुरै नखोलिकन नाघेर जानुपर्ने गेट कसरी पार गर्ने ?सधैँ अरुको भर पर्नु पनि भएन । बरु स्कूल नै नजाऊँ जस्तो भावनाको बिकाश गरिदिन्छ त्यस्तो स्वागत द्वारले । आँखा नदेख्ने साथीका लागि पनि त्यस्तो गेट अनुपयुक्त हुन्छ । सबैको साझा ठाउँ भनिएता पनि , ‘वेल–कम ’ लेखेर टाँसिएका त्यस्ता गेटले हामी अपाङ्हरूलाई सधैँ विदाइको हात हल्लाएर ‘बाई–बाई ’ भनिरहेका हुन्छन् । त्यस्तै आपत पर्छ प्रर्थना सभामा जान । लाइनमा हिँड्न । कान नसुन्ने साथीले ‘हेन्डस् अप’ भनेको कसरी सुन्ला ? कोही कम सुन्ने पनि हुन्छन् भनेर नबुΣने शिक्षकका कति लौराको डाम होलान् त्यस्ता विद्यार्थीको जीउमा ? अनि कसरी अपाङ्हरू जाउन् स्कूल ?फेरि यस्तो समस्या बुझे झै गर्नेले हामीलाई झन् धेरै दु:ख दिन्छन् । उनीहरूले हामीलाई या त प्रार्थना सभामा नै बस्नु पर्दैन भन्छन् वा अगाडि गएर बोल्ने, भाषण दिने आदि कामवाट बन्चित गर्दछन् । यसरी विभेदमा परेपछि दुखेको हामी अपाङ्गरूको मन चिनी रोगीको घाउजस्तै कहिल्यै जाति हुँदैन ।

अब कक्षामा पुग्न त्यस्तै कठिन हुन्छ । सबैको साझा भनिएका हाम्रो देशका कति शैक्षिक संस्था होलान् जस्का हरेक कोठा, चर्पी अनि पुस्तकालयमा ‘वील चेयर’ पुगोस् ? प्रत्येक विद्यालयका शिक्षकलाई मरो प्रश्न छ कि म जस्ता बैसाखी टेक्ने विद्यार्थी तपाईँका प्रत्येक कक्षामा पुग्न सक्छन् ? मलाई थाहा छ तपाईँले उत्तर दिनुभन्दा अघि आफ्नो स्कूलको साँघुरो अनि ठाडो भर्‍याङ् सम्झिनुभयो होला, हैन ? तपाइँ सपाङ् नै सचेत बनेर हिँड्दा समेत पटक पटक लडेको ठाउँमा म अपाङ्ग कसरी चड्न सक्छु र पढ्न सक्छु ? अनि कसरी भयो तपाइँको स्कूल साझा ?

भौतिक संरचना मात्र अपाङ्ग मैत्री भएर पुग्दैन । बिद्यालय भनेको एउटा समाज हो । त्यसैले त्यहाँको सामाजिक वातावरण पनि राम्रो हुनुपर्छ । एक दिन नेपालीको घण्टीमा एकजना साथीले सरलाई खोरण्डो शब्दको अर्थ सोध्यो । सरले जिस्कँदै ‘ तिम्रो साथी एन्जिला जस्तो खुट्टो खल्च्याङ् गरी हिँड्ने मान्छेलाई खोरण्डो भनिन्छ ’ भनिदिनुभयो । मलाई मेरो उदाहरण दिएकोमा ज्यादै दु:ख लाग्यो । भोलिपल्टदेखि कक्षामा मलाई सवैले खोरण्डो भन्न थाले । अनि मैले त्यो स्कूल नै छोडेँ । यो अपाङ्ग मैत्री सामाजिक वाताबरण नभएको स्कूलको कुरा हो । सरले त्यो दिन ‘ खल्च्याङ् – खल्च्याङ् गरिहिँडे पनि खोरण्डाहरूले उचित वाताबरण पाए सगरमाथा चड्न सक्छन् भनिदिएको भए कति राम्रो हुन्थ्यो । बिद्यालयमा कसैको कमजोरी हेरेर नाम राखिनु हुँदैन बरु सबल पक्षलाई केलाएर नाम राख्दा सवैले गर्वको महशुस गर्दछन् ।

अन्त्यमा म सबै शैक्षिक संस्थालाई अपाङ्ग मैत्री बनाउन सकेमात्र शिक्षाको राष्ट्रिय उद्देश्य पुरा हुने र ‘सवैका लागि शिक्षा ’ भन्ने अन्तराष्ट्रिय शैक्षिक कार्यक्रम सफल हुने कुरामा जोड दिन चाहन्छु ।

(लेख पढिसके पछि सबैले तालि बजाउँछन् । एन्जिला उठेर अगाडि आउँछे र सोध्छे )

एन्जिला : के बुΣयौ त साथी हो ?

(सबैले उठेर एकैस्वरमा भन्छन् )

समूह : अपाङ्ग मैत्रि स्कूल ।

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in बाल एकाङ्की and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.