~विमल कोइराला~
यो सहरमा
म अनागरिक भित्रिएँ भन्ने
भ्रान्ति भइरहेछ ।
चट्टान खोपेर निर्मित
गोडा मात्र अटाउने कहालीलाग्दा
भीरका बाटा पनि हुँदा रहेनछन्,
छ्वाङछ्वाङ्ती
आम्मै। पनि भन्न नपाइने
खहरे र खोला पनि हुँदा रहेनछन्,
त्यति सिस्नोका झ्याङ पनि देख्न पाइएन
बक्खु लाएर हिँड्नेहरू पनि देखिएनन्,
उँभो–उँभो उठेका महलहरू मात्र
काला चिल्ला सडकहरू मात्र
त्यहाँ कोही हामीजस्तो पनि देखिएन
रहेछन् एक जमात
जो फूल ओछ्याएर सुतिरहेछन्
अनि, अर्का
पेटीमा, सडकमा जताततै ‘भोक लाग्यो’ कराइरहेछन्
जो फूल ओछ्याएर सुतिरहेछन्
तिनलाई मैले यसअघि देखेको थिइनँ
जो ‘भोक लाग्यो’ कराइरहेछन्
सानैमा हराएका
ती त मेरै साक्खे भाइहरू पोरहेछन्
उनलाई पनि देखेको थिइनँ ।
कोही कसैलाई नदेखेको
कोही कसैलाई नचिनेको
बथानको बस्तुभाउ बगरेले किनेजस्तो
यस्तो लाग्दैछ
म अनागरिक
यो सहरमा अनधिकृत प्रवेश गरिरहेछु ।
ज्ञानेश्वर, काठमाडौं