~अविनाश श्रेष्ठ~
उमेर बिसाऊँ–बिसाऊँ झैँ लाग्छ
यी नीला शिरीषका फूलहरुमा । कसले पो
बुझेको छ र समयको लहड । अर्को छिनमै
कुन कोल्टे बसिदिने हो ।
आँखाहरुलाई टेकाउँदा–टेकाउँदै
जिन्दगी थेग्ने कुनै सबल धारणाको ढुङ्गामा
चिप्लिएर गए लेउमा खुट्टा झैँ । मनलाई
छोप्दा–छोप्दै, बाँद्धा–बाद्ध्रै इच्छाहरुले
फुत्किदियो खुकुलो सुर्के गाँठो झैँ ।
चिनाउँदा–चिनाउँदै रहरलाई मन
र मनलाई रहर । धपाउँदा–धपाउँदै आँखा अघिबाट
उमेरका सेता–काला परेवा । म सक्किएँ ।
तर न मनले रहर चिन्यो । न रहरले बुझिदियो मन ।
अझ पनि लाग्दै छ—
उमेर बिसाऊँ एक्कै छिनलाई भए पनि
यी नीला शिरीषका फूलहरुमा ।
बैँसले नेटो काटेर के भयो
मन त साबिकै छ !
(स्रोत : कविता सङ्ग्रह “परेवा : सेता-काला” बाट सभार)