कविता : कहिले, कुनै दिन

~राजेन्द्र शलभ~

धेरै दिन लगाएर
आफुसँग बटुलेका
साना—साना खुशीहरू
आफन्तलाई
बाँड्न बसेकै बेला
एउटा ठूलो दुःख
फेरि टुप्लुक्क आइपुग्छ ।

मैले बटुलेका खुशीहरू
मैल बाँड्नै नपाई हराउँछन्
र, सदाझैँ म
त्यो दुःखबाट पार पाउन
त्यससँग जुध्न थाल्छु ।

मलाई दुखाउन नसकेपछि
दुःख आफै दुखी भएर
दुःख मनाउ गर्दै भाग्छ
र म, एकछिन् सुस्ताएर
फेरि खुशीहरू बटुल्न थाल्छु ।

बटुल्न थाल्छु खुशीहरू
कुनै पटक त
खुशीहरू बटुलिसकेको बेला
दुःख आउन बिर्सेला
या, दुःख आउनुअघि नै
म खुशी बाँडि सकुँला ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.