~योगेन पौडेल~
पशुपति परिसरबाट पूर्वतिर बागमती मनग्गे ठोस लिएर बग्दै गरेको हेर्दैथिएँ। नदीबाट पशुपति मन्दिर चढ्ने सिँढी छेउको सानो मन्दिरमा पशुपति परिसरबाटै मान्छेहरु सिक्का फ्याँक्दै थिए, आ-आफ्नो भाग्य जाँच गर्दै थिए।
सोह्र-सत्र बर्ष जति लागेकी नातिनी र पैंसठी- सत्तरी जति लागेकी हजुरआमा म उभिरहेको छेउमा आए। नातिनीले ४-५ वटा सिक्का हातमा बोकेकी थिईन, हजुरआमाले पुजाको थाली। मन्दिरको छानामा अड्याउने गरी नातिनीले सिक्का फ्याँक्न थालिन्। पहिलो सिक्का मन्दिरको छानामै अडियो, नातिनी खुसीले एक बित्ता उफ़्रीईन। तिनलाई भाग्य अझै बढाउन मन लागेछ क्यारे, अर्को सिक्का फ्याँकीन। सिक्का छानाको गोलाकारभित्रको बिचमै ठोकियो, अनि उफ्रिएर छेउको मन्दिरको भित्ता छुँदै बागमती किनारको पेटीमा झर्यो। एउटा फुच्चे दगुर्दै आएर पैसा टिप्यो। तिनले अरु दुइवटा सिक्का त्यसरी नै फ्याँकीन, तल उभिएको फुच्चेले त्यसरी नै पैसा बटुल्यो। नातिनीले अब हार खाईछन् क्यारे, “आमाको पालो” भन्दै बाँकी रहेको सिक्का हजुरआमातिर बढाईन्। तिनलाई अब हजुरआमाको भाग्य जाँच्न मन लागेछ।
हजुरआमाले सिक्का लिईनन्, बरु पुजाको थालीबाट अलिकती फूल लिईन। मन्दिर भन्दा पर बागमतीतिर पुग्ने गरी फूल फ्याँकीन। फूल मान्छे जलाउने चिताको छेउमा केही वर खस्यो। हजुरआमाले पहिले चितालाई अनी फूललाई पालै पालो हेरीन, हेर्दा-हेर्दै तिनको आँखा रसायो। त्यसपछि आँखा चिम्लीइन् अनि हात जोडेर बागमतीलाई प्रणाम गरीन्।
नातिनीले चाँही मन्दिरको टाउकोको बिचमै अड्याउन बाँकी रहेको अर्को सिक्का फ्याँकीन्।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)