~कात्यायन~
– मिस्टर ह्यारि र मिसेस् ज्वाय परदेश पलायन भएका केही वर्ष बितिसकेको थियो | अर्थात श्री हरिप्रसाद सेमिनारमा र श्रीमती जयादेवी विद्यार्थीको रुपमा केही महिना बिरायर गएका थिए |
– तीन महिने नातिनी र डेढ वर्षे नातिहरूको प्रगती विवरणहरू फोटोसहित आमाले प्रत्येक दिन जस्तै फेस-बुकमा पोष्ट गर्न शुरु गर्नुभएको पनि झन्डै सात वर्ष भइसकेको थियो |
– कहिले वामे सर्दाको त कहिले स्कूलका कार्यक्रम त कहिले रिजल्ट तथा कहिले अन्य क्रियाकलाप आदिका आफ्ना छोरा-छोरीहरूको आमाले गर्नुभएको पोष्टहरूमा उनीहरू निरन्तर ‘लाइक’, ‘व्वाउऊ’, ‘लभ् यु’ तथा ‘कंग्र्याट’ गर्न कहिले चुक्दैनन् थिए |
– एकदिन आमाले पोष्ट गर्नु भयो – “नाति-नातिनासहित हामी सबैलाई अलि सन्चो छैन !”
– उनीहरूले कमेन्ट-बक्समा गएर लेखे – “टेक-केयर !” – भुलिसकेको लाइकबक्समा गएर ‘स्याड’मा ‘क्लिक्’ पनि गरे |
– अलि दिनपछि आमाले पोष्ट गर्नु भयो – “बच्चाहरू सिकिस्त छन् !”
– मिष्टर ह्यारि र मिसेस् ज्वाय किन चुक्थे – “गेट वेल सुन !”
– आमाले फेरि पोष्ट गरिन् – “बच्चाहरू आइ.सि.यु.मा राखिएका छन् !”
– उनीहरू चुकेनन् – “शीघ्र स्वास्थ-लाभको कामना गर्दछौं !”
– केही दिनपछि आमाले; फूलको माला लगाएको नातिको फोटो पोष्ट गरिन् |
– मिष्टर ह्यारीले लेख्यो – “हार्दिक श्रध्दान्जली !”
– मिसेस् ज्वायले लेखिन् – “रिप !”
चाबहिल, काठमाडौँ – ७ |
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)