~मञ्जुश्री गिरी~
सर्वत्र पीरका अविरल झरी परिरहेका बेला
जीवन नामको बाक्लो घुम ओडेर म नागरिक
देश खोज्न निस्किएकी छु
कहिले चुहिने पालमा रुझिरहेको देख्छु मेरो देश
कहिले अभावका चुलाहरुमा दुखिरहेको देख्छु
कहिले यातनाका आँखाहरु सर्वत्र ओछ्याएर
अपेक्षाका सुन्दर तलाउमा पौडी खेलिरहेको देख्छु
कहिले देशलाई माया गर्ने मनहरुले
दुखेको छाती सुमसुम्याइरहेको देख्छु
कहिले शालीन, स्निग्ध र शान्त मेरो देशलाई
स्वार्थका रापले डामिरहेको देख्छु
ओ महाशय, तपाईंले कतै मेरो देश देख्नुभयो?
फुल्न त भीरपहराहरुमा फुल्छन् गुराँसहरु-
खुसी फुल्दैनन्
फुल्न त हिमालका छातीमा फुल्छन् सौन्दर्य-
आकांक्षा फुल्दैनन्
एउटा नागरिकलाई देशभन्दा ठूलो के हुन सक्छ?
राष्ट्रियताभन्दा ठूलो अरु के हुन सक्छ?
सुन्दर मुस्कान बोकेका कलिला नानीहरुका कोमल पदचापसँगै
यसबेला म भविष्य खोज्न निस्किएको छु
अनुहारमा उदासीनता बोकेका बाआमाका निराश आँखाका
ज्योतिर्मय सपना खोज्न निस्किएको छु
देश भनेको उज्यालो हो
म उज्यालो खोज्न निस्किएको छु
जुलुसमा हराएको छोरा खोज्दै अतासिएकी एउटी आमाजस्तै
सिउँदोको सिन्दुर पखालिएकी निरीह भाउजूजस्तै
भगवान् खोज्न निस्किएको एउटा भक्तजस्तै
म देश खोज्न निस्किएको छु
ओ नागरिक,
जोगाउनु उम्रिनुअघि माटोमा हामीले छरेका
स्वाधीनताका बीजहरु जोगाउनु
चारहरुले टिप्लान्
उम्रिएपछि साँढेहरुले कुल्चेलान्
फलेपछि बाँदरहरुले नास्लान्
म मेरा प्रिय सहिदहरुको आदेश खोज्न निस्किएको छु
ओ महाशय,
तपाईंले देख्नु भो?
अन्योलको काला बादल र
सेता कुहिरोबीच अलमलिएको
म मेरो देश खोज्न निस्किएकी छु।
(“राष्ट्रिय कविता महोत्सव- २०७३”मा तृतीय पुरस्कार प्राप्त गरेको कविता)